१२ बुँदे राजनीति सम्धि भोज मै सकिने भोे

0
217

शान्ति, समृद्धि, सामाजिक अग्रगमन तथा स्वतन्त्र सार्वभौम नेपालको प्रमुख बाधक भनेको राजतन्त्र नै हो भनि किटानीकासाथ निर्णय गरेर २०६२ । ०८ । ०५ मा सात राजनैतिक पार्टीका वीच १२ बुँदे सहमती भएको हो । लोकतन्त्र शान्ति समृद्धि अग्रगामी आर्थिक सामाजिक परिवर्तन तथा देशको स्वतन्त्रता अखण्डता सार्वभौमकता र स्वाभिमानलाई केन्द्रमा राखेर राज्यले दिशा निर्देश गर्ने लक्ष थियो । त्यतिबेला पनि बिगतमा भएका सम्झौता, सहमती र आचारसंिहता राज्य सञ्चालनका लागी अभिन्न अङ्गको रुपमा स्वीकारिएको पनि हो । देशमा आर्थिक र सामाजिक परिवर्तन सुनिश्चित गर्ने, राजनैतिक दलहरुका क्रियाकलापमा पारदर्शिता र जवाफदेहिता, जनसहभागिता निष्पक्ष, सक्षम तथा स्वच्छ प्रशासनतन्त्रका अबधारणाहरुको पुर्णपालना गर्ने राजनैतिक चरित्र अबलम्बन गर्ने प्रतिबद्धता पनि हो । राष्ट्रिय उद्योग धन्दा र साधनश्रोतको संरक्षण र प्रबर्धन गर्ने नीति अनुसरण गर्ने लक्ष हो । स्वीकारोक्ति पनि हो ।

जुनसुकै पार्टी सत्तामा पुगे पनि शिक्षा स्वास्थ्य आवास रोजगारी र खाद्य सुरक्षामा सबै नागरिकको अधिकार स्थापित गर्ने, सुकुम्बासी हलिया हरवाचरवा लगायतका आर्थिक सामाजिक रुपले पछाडि परेका बर्गलाई जग्गा लगायत आर्थिक सामाजिक सुरक्षाको व्यबस्था गर्ने, सरकारी लाभको पदमा रहेर भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गर्नेहरु उपर कडा कारवाही गरी दण्डित गर्ने, श्रमिकका पेशागत अधिकारको सुनिश्चितता गर्दै उद्योगधन्दा व्यापार निर्यात प्रबर्धन आदिका लागी लगानी बृद्धि गरी रोजगारी एबं आय आर्जनका अवसरहरुको व्यापक वृद्धि गर्ने र देश र जनताको भबिश्यप्रतिको जिम्मेवारी बोध गर्ने राजनैतिक पार्टीहरुको आचारसंहिता हो । बाधक बनेको राजतन्त्रलाई समाप्त पारेको पनि आज १३ बर्ष बितिसकेछ । यिनीहरुले गरेका सहमती, सम्झौता र आचारसंहिताहरु सम्धीको गफ भन्दा अरु देखिएन ।

सम्धी पाहुना गर्भिलो मान्ने हाम्रो परंपरा नै हो । छोरीको घर र माइतको बाबु वीचको सम्धी नाता हो । कतिपय जनजातीहरुमा सम्धी सम्धी भेट भए आपसी सुख र समृद्धिका कुरा बाहेक अरु आउँदैन । आफनै बखानमा एक आपसमा मख्ख पर्ने अबस्था रहन्छ । एकले अर्कोलाई आदर सत्कार सकुञ्जेल गर्ने गर्दछन । घरमा भएका कोषेलीहरु पनि बाँडी चुडी गर्ने गर्दछन । नया पुजा आजा होस वा कुनै पनि शुभ कार्यमा भेट हवस भन्ने चाहना पनि हुन्छ । अझ जनजातीहरुमा त सम्धी सम्धी भेट भए जाँड रक्सी खाने अबस्था श्रृजना भैहाल्छ । रक्सी खाने अबस्था कतिसम्म पनि हुन सक्छ भने घैंटोमा भएको पनि सबै स्वाह । बोतलको पनि सबै स्वाहः । एकले अर्को भन्दा उच्च र बिज्ञ भएको सम्झन्छन । चर्को कुरा कानीमा एउटाले अर्कोको कद निकै सानो देख्ने र प्रतिउत्तरमा अर्कोलाई देख्दै नदेख्ने अबस्था श्रृजना हुन्छ । घरका सबै यिनीहरुको सेवासत्कारमा सहयोगी बन्छन । शुरुमा भएका सबै सत्कारहरु एक पछि अर्को गर्दै भत्कदै जान्छन । क्रमशः आदर सम्मान सबै भताभुङ्ग हुँदै जान्छन ।

निर्वाचन अगाडि केपी, प्रचण्ड, देउवालाई ब्रह्मा, बिष्णु, महेश्वरको रुपमा लिए । सबै बिषयको छुमन्तर गर्छन भन्ने नै थियो । एकले अर्कोलाई देख्दा तर्सने र झम्टने अबस्थालाई बिर्सजन गर्दै ब्रह्मा बिष्णु महेश्वरकोे अबतारको रुपमा नया रुपमा प्रकट भएको अनुभुत गरे । बाजागाजा साजसज्जाका साथ निर्वाचन अगाडि एकजुट भए । राष्ट्रवादी बने, योजनाकार बने समृद्धि र बिकास भनेको पुष्पक बिमानबाट पुष्प बर्षा भए झैं एकै पटक जताततै लहर ल्याउने घोषणा पत्र बाचे । निर्वाचनमा बिबाह घर झै जताततै झिली मिली बनाए । खसिबोका, कुखुरा, पाडा, सुगुरको बध गरे । कति धेरै त्यसैमा रमाए । सधै खान पाइने जसरी गाउँटोल पहाड कुना कन्दरामा मान्छेको धुइरो । सबै दौडेका दौडयै । बिश्वका लोकतान्त्रिक मुलुकहरुमा बर्तमान अबस्थामा पाइने झण्डै दुइ तिहाइको अबस्था आयो । भुइका मान्छेहरु बुरुक्क बुरुक्क उफ्रन थाले । हाँगो समात्नेको झुण्ड अर्कै भयो, फेंद समात्नेहरुको होडबाजी नै चल्यो । निर्वाचन पछाडि संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समाबेशिता जस्ता संस्थागत हुने कुरामा अत्यन्त उत्साहित बने २०६३ मा भएको संम्झौता अहिले पनि ओर्काइ फर्काइ गर्न थाले । तर भुइका मान्छेहरु भुइमा नै लटपटिएका छन । फेद समात्नेले फेद छोडेका छैनन । रुख चढेकाहरुले तल ओर्लन मान्दैनन । हाँगा समातेकाले हाँगा पनि छाडदैनन । केही गरी हाँगो फुत्कियो भने अर्को हाँगो समाति हाल्छन ।

निर्वाचन अगाडि एउटै घोषणा पत्र लिएर निर्वाचनमा होमिएकाहरुसंग स्पष्ट जवाफ आवस भन्छन तर यिनीहरु दिन सक्दैनन । सत्ता साझेदारीको अबस्था एक अर्कामा गुथिएरै जसरी पनि बस्ने रमाउने नीती पारित गरेका छन । निरङकुशताको बलिबेदीमा चढनेहरुको परिवारले नयाँ ढाचा पनि पाएका छैनन । खाका पनि पाएनन । लोकतान्त्रिक व्यबस्थाले दिलाउने प्रत्याभुती के हो ? यिनीहरुले राजनैतिक, आर्थिक, सामाजिक, साँस्कृतिक सबै क्षेत्रका बर्गीय, जातीय, लिङ्गीय, क्षेत्रीय आदि समस्याहरुको समाधान गर्न राज्यको अग्रगामी पुर्नसंरचना गर्दै पुर्ण लोकतन्त्रको अबधारणालाई कार्यान्वयन गर्ने अपरीहार्य आबश्यक्ता हो भन्ने कुरा नै सम्झेका छैनन ।

भुइका मान्छेहरु नत शक्ति प्राप्त गरेका छन न युद्ध जितेका छन । त्रासै त्रासमा बाँचेकाहरुलाइ नत राहत छ न सुबिधा छ । नालीबेली खोतल खोताल पार्नेलाई दुश्मनको व्यबहार गर्दछन । ब्रह्मा बिष्णुले कहिले लखेटछन कहिले जाल हान्छन कत्रो बिडम्बना । पीडाको घाउमा माम्री पनि राम्रोसंग बसेको छैन फेरी पनि आश्वासन बाँडदैछन । सरकारी सम्पत्तिमा भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाउनेहरु यिनैका सल्लाहकार छन । लगानी बृद्धि गरी रोजगारीका अबसर श्रृजना गर्ने आचारसंहितामा बसेका राजनीतिक नेताका युवाहरु बिदेशी अस्पत्तालको कोमामा आफनो मृत्यु कुरीरहेका छन । आर्थिक, सामाजिक परिवर्तनको आशा राखेकाहरु बास स्थान नै परिवर्तन गर्न थालेका छन । गरिवीको अबस्था दिन प्रतिदिन जरजर भैरहेको छ । डाँडा थुम्काका बस्तीहरु दिनप्रतिदिन खण्डहर बन्दैछ । राज्य त्याहा बसोबास गर्ने नागरिकहरु प्रति जिम्मेवार बनेको देखिदैन । रेमिटान्सलाई प्रमुख आयश्रोत मान्नेहरुलाई नया उद्योग र इलमको कुनै व्यबस्था भएको पाएका छैनन ।

१२ बर्षमा त खोलोले पनि आफनो स्थान लिन्छ भन्ने लोकोक्ति थियो । नागरिक समाजलाई देखाउँदै गरेको १२ बुँदे सम्झौता, ८ बुँदे सहमती र २५ बुदे आचारसंहिताले अहिले पनि गतिलिन नसकेको सबैले महसुष गरेका छन । इतिहासबाट सिकेर बर्तमानको योजना बनाउने हो तर योजनाहरु आमनागरिकले महशुष गर्ने खालको केही पाइदैन । नागरिक स्तरबाट गरिएका सम्झौता सहमतीहरु नवराजाहरुले आफुलाई स्थापित गराउन मात्र अग्रसर देखिएको अनुभुत हुँदैछ । बर्षौं देखि सामन्तबादले गाँजिएको भनिएको देशको राज्यसंयन्त्र नत रुप फेरिएको छ न सार फेरिएको छ । अनवरत बगेका नदीहरु त्यसरी नै बगिरहेको छ हाम्रो प्रबिधि के हो ? आबश्यक्ताको पहिचान पनि गराउन सकेका छैनन । सम्धि सम्धिको भेट जस्तै आफनो औकात र अबस्था परिवर्तन गरेको अनुभुत गरिरहेका छन यिनीहरुले बाँडेका सपनामा सम्धीको सत्कार गरे झै सबै परिवार आदर सदभावकासाथ पछि लागे झै यिनैले बाँडेका भोटका कार्यकर्ता यिनका पछि लागेकै छन । कोही रोजगारीको आशामा भौंतारिएका छन । दुइ तिहाइको सरकार गठन हुदा पनि आम नागरिकले शान्तिको शास फेर्न सकेका छैनन । निर्मला पन्तहरु आफना अस्मिता लुटाउँदै मरेका छन । हत्यारा को हो ? पत्ता पाउन सक्दैनन । आफनो भलो नै सबैको भलोको रुपमा हेर्ने र आफनै सुरक्षाको घेरालाई मात्र मजबुत बनाउन कै लागी हो भने १२ बुदे सम्झौता, ८ बुँदे सहमती र २५ बुँदे आचारसंहिता कस्को लागी गरेको हो । आफनै पद प्रतिष्ठामा मात्र रुमल्लीएका राजनीतिक अभियन्ताहरु सम्धि भोजमा रमाउने बाहेक अरु देखिएन । आफैलाई मात्र ठुलो देख्ने अरुलाई देख्दै नदेख्ने यो प्रबृतिको अन्त्य कहिले होला ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here