११ जना लघु उद्यमी, २ वटा संस्था सम्मानित

0
252

कविराज खत्री/दैलेख । उद्योग दिवसको अवसरमा ११ जना लघु उद्यमी, २ वटा संस्था सम्मानित गरिएको छ । तेस्रो उद्योग दिवस २०७५ को अवसरमा दैलेख जिल्लाका ११ जना लघु उद्यमी तथा २ वटा संस्थालाई सम्मान गरिएको थियो ।

घरेलु तथा साना उद्योग विकास समिति, दैलेखको आयोजनामा आयोजित कार्यक्रममा सम्मान गरिएको हो । आईतबार दैलेख उद्योग वाणिज्य संघको हलमा आयोजित कार्यक्रममा दैलेख जिल्लामा निरन्तर आफ्नो उद्यम सञ्चालन गरी लघु, घरेलु तथा साना उद्यम क्षेत्रमा योगदान पु¥याए वापत लघु उद्यमीहरुलाई सम्मान गरिएको हो भने संस्थागत रुपमा लघु, घरेलु तथा साना उद्यम क्षेत्रमा योगदान पु¥याए वापत जिल्ला लघु उद्यमी समूह संघ (डिमेगा), दैलेख र आत्मनिर्भर लघु उद्यम कृषि सहकारी संस्था नारायण नगरपालिका, दैलेखलाई सम्मान गरिएको छ ।

सम्मानित हुने उद्यमीहरुमा चामुन्डाविन्द्रासैनी नगरपालिका २ का अल्लो कपडा बुनाई लघु उद्यमका बसन्ता थामी मगर, दुल्लु नगरपालिका ११ का होमस्टे प्रमूख सञ्चालक उद्यमी कृष्ण थापा मगर, नारायण नगरपालिका १ का बाँस निगालो लघु उद्यमी लछुमन खडकी, नौमूले गाउँपालिकाका हातेकागज उद्यमी तिखे रोका मगर, नारायण नगरपालिका ३ का मेसिन होजियारी उद्यम पूर्ण आचार्य, नारायण नगरपालिका ९ का तरकारी उद्यमी भक्तबहादुर रावल, भगवतीमाई गाउँपालिका ७ का सिलाईकटाई उद्यमी सीता थापा, गुराँस गाउँपालिकाका दालमोठ उद्यमी चनिमाया वुढा, नौमूले गाउँपालिकाका ढाका उद्यमी अमृता सलामी, चामुण्डाविन्द्रासैनी नगरपालिकाका सिलाईकटाई उद्यमी रिदम शाही, नारायण नगरपालिका १ का ढाका ब्याग उद्यमी गिता बस्याल रहेकाछन ।

सो अवसरमा आयोजित कार्यक्रमका प्रमूख अतिथि सांसद रवीन्द्रराज शर्माले दैलेख उद्यम क्षेत्रमा अघि बढेकाले सबै प्रकारका सहयोग गर्ने, केन्द्रीय तहबाट नीति, बजेट र कार्यक्रमका लागि पहल गर्ने बताउनुभयो । उहाँले, ‘लगानीका अभावमा कुनै पनि उद्यमीले आफ्नो उद्यम बन्द गर्ने वातावरण बन्न नदिन स्थानीय सरकार तथा जिल्ला समन्वयले पहल गर्नु पर्ने’ बताउनु भयो ।

कार्यक्रमका विशेष अतिथि नारायण नगरपालिकाका प्रमूख रत्नबहादुर खडकाले स्थानीय सरकार उद्यम क्षेत्रमा लगानी गर्न प्रतिवद्ध भएको र सरकारको नारा समृद्ध नेपाल सुखी नेपालीलाई कार्यान्वयन गर्न लागि परेको बताउनु भयो ।

सोही कार्यक्रममा दैलेख उद्योग वाणिज्य संघका कार्यवहाक अध्यक्ष कविराज खत्री, उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका उपाध्यक्ष शान्तिप्रसाद शर्मा, प्रमूख जिल्ला अधिकारी लक्ष्मिप्रसाद वास्कोटाले पनि आ–आफ्ना धारणाहरु राख्नु भएको थियो ।

यसै गरी घरेलु तथा साना उद्योग विकास समिति, दैलेखका वरिष्ठ उद्योग अधिकृत परशुराम आचार्यले स्वागत गर्दै आयोजकका तर्फबाट कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यपत्रमा दैलेखमा लघु, घरेलु, साना उद्योगको वर्तमान अवस्था, संचालित उद्योगहरु, संभावना, चुनौती र निश्कर्ष प्रस्तुत गर्नुभएको थियो । सो कार्य पत्रमा ब्यापक छलफल भए पश्चात कार्यपत्र सान्र्द्भिक भएकाले सोही अनुसार उद्यम क्षेत्रलाई अघि बढाउने प्रतिवद्धता सबैले गर्नु भएको थियो ।

कार्यक्रमलाई समापन गर्दै जिल्ला समन्वय समितिका प्रमूख प्रेमबहादुर थापाले अब सबै एकाकार भएर दैलेख जिल्लालाई औद्योगिक जिल्ला बनाउन थप आवश्यक नीति, बजेट र कार्यक्रम बनाई लाग्नु पर्ने बताउनु भयो । कार्यक्रम घरेलु तथा साना उद्योग विकास समिति, दैलेखको आयोजना तथा जिल्ला लघु उद्यमी समूह संघ र दैलेख उद्योग वाणिज्य संघको समन्वयमा सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here