सर्वहारा वर्गीय चेतना माथि उठाउनु जनसांस्कृतिक कर्मीहरुको दायित्व हो : शर्मा

0
1009

बुटवल । रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष तथा जनगायक जीवन शर्माले सर्वहारा वर्गीय चेतनालाई माथि उठाउने दायित्व जनसांस्कृतिक कर्मीहरुके भएको बताउनु भएको छ । रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समितिले सुरु गरेको केन्द्रीय प्रशिक्षक प्रशिक्षण शिविरको २०७५ आश्विन ४ गते बुटवलमा उद्घाटन गर्दै अध्यक्ष शर्माले उक्त कुरा बताउनु भएको हो ।

“गरिब दु:खी र सर्वहारा वर्गका मुक्तिका निम्ति उनीहरुको संस्कृतिको विकास गर्नु नितान्त जरुरी हुन्छ” रक्तिमका अध्यक्ष तथा जनगायक जीवन शर्माले भन्नु भयो– “त्यो विकास आफै हुन सक्दैन । त्यसका लागि सर्वहारा वर्गीय चेतनालाई माथि उठाउनु पर्ने हुन्छ र त्यो चेतनालाई माथि उठाउने दायित्व मूल रूपमा जनसांस्कृतिक कर्मीहरुकै हो ।” सामन्ती र साम्राज्यवादी संस्कृतिका विकारलाई पन्छाउँदै जनसांस्कृति कर्मीहरु अगाडि बढ्नु पर्ने उहाँको भनाइ थियो । देश र जनता सङ्कटको भुमरीमा अल्झिरहेको वर्तमान परिवेशमा जनसांस्कृतिक कर्मीहरुलाई सशक्त योद्धा भएर अगाडि बढ्न उहाँले आह्वान समेत गर्नु भयो । “देश यतिबेला सङ्कटको भुमरीमाझ अल्झिरहेको छ, साम्राज्यवादीहरुले सांस्कृतिक क्षेत्रबाट तीव्रतम गतिमा हमला गरिरहेका छन्” जनगायक शर्माले भन्नु भयो– “नेपाल र नेपाली जनताका निम्ति सांस्कृतिक फााटबाट सशक्त योद्दा भएर हरेक रक्तिम यात्रीहरु अगाडि बढ्नु अहिलेको आवश्यकता हो ।”

रक्तिमका पाका कलाकार धन बहादुर थापाको अध्यक्षता, कैलाली जिल्ला सचिव चक्र चनाराको सञ्चालन र नवलपुरकी उपाध्यक्ष कमला क्षेत्रीको स्वागत मन्तव्यबाट सो प्रशिक्षण शिविरको उद्घाटन समारोह अगाडि बढेको थियो । समारोहमा रक्तिमका केन्द्रीय सचिव दल बहादुर विक, केन्द्रीय सदस्य लक्ष्मी रिजाल, राजमो पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका सचिव भिमलाल न्यौपाने, अखिल (छैठौँ) का केन्द्रीय सदस्यद्वय उमेश काडेल र सुमन भण्डारी र मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हरियाणा हिसार नगर समितिका सचिव तारा सोमरे लगायतका अतिथिहरुको समेत आतिथ्यता रहेको थियो ।

प्रशिक्षण शिविरमा देशका विभिन्न जिल्लाबाट छनौट भई आएका ३२ जना कलाकारहरु सहभागी रहेका छन् । सहभागी प्रशिक्षार्थी कलाकारलाई कला र राजनीतिको सैद्धान्तिक विषयहरुमा जनगायक जीवन शर्मा, राजमोका युवा नेता सुरेश थापा, रक्तिमका सचिव दल बहादुर विक, केन्द्रीय सदस्य लक्ष्मी रिजाल र अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सल्लाहकार दुर्गानाथ खरेलले प्रशिक्षण दिनु भएको छ । यस्तै, नृत्य विधामा रक्तिमका केन्द्रीय सदस्य ओम श्रीस, खिमा पुन र विमल पाण्डे तथा केन्द्रीय कलाकारहरु ज्योति फौजा, भुवन बस्याल, जनक श्रीस र उषा तरामुले प्रशिक्षण दिनु भएको छ । प्रशिक्षणमा कैलाली, कञ्चनपुर, बाँके, दाङ, प्युठान, कपिलवस्तु, गुल्मी, रूपन्देही, पाल्पा, कास्की, नवलपुर, परासी लगायतका जिल्लाबाट छनौट भई आएका रक्तिम कलाकारहरु सहभागी भइरहेका छन् ।

“प्रशिक्षण निकै उत्साहजनक रूपमा अगाडि बढिरहेको छ” प्रशिक्षण शिविरको व्यवस्थापनमा विशेष रूपमा खटिनु भएका रक्तिमका केन्द्रीय सदस्य लक्ष्मी रिजालले भन्नु भयो– “यो प्रशिक्षण शिविरबाट प्रशिक्षण लिएका कलाकारले अब जिल्ला जिल्लामा पुगेर प्रशिक्षण सञ्चालन गर्नेछन् । उनीहरु चौथो राष्ट्रिय सम्मेलनको प्रचार प्रसारमा पनि लाग्ने छन ।” रक्तिम केन्द्रले राजमोको पश्चिमाञ्चल क्षेत्रीय कार्यालय भवनमा सञ्चालन गरेको उक्त प्रशिक्षक प्रशिक्षण शिविर यही १० आश्विनमा एक समारोहका बीच समापन गरिने जानकारी पनि केन्द्रीय सदस्य रिजालले दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here