समृद्धिको सपना

0
441
  • मनु वि.क.

देशमा हरेक आन्दोलनहरु चल्दा शायद देशले प्रसव पीडाको अवस्था महशुस गर्छ । जब देशमा माओवादी आन्दोलन १० वर्षसम्म चल्यो, त्यसपछि दरबार हत्याकाण्ड, त्यसपछि राजा ज्ञानेन्द्रको प्रतिगामी कदम संसदको विघटन भयो । संसदको पुन:स्थापनाका लागि, प्रतिगमन अन्त्यका लागि राजनैतिक दलहरु एकल वा संयुक्त रूपमा आन्दोलनमा थिए । जब २०६२ मङ्सिर ७ गते दिल्लीमा माओवादी र प्रतिगमन विरुद्ध आन्दोलनरत सात दलका बीचमा १२ बुँदे सहमति भयो, तत्पश्चात् संयुक्त रूपमा दलहरु सडकमा उत्रिए । माओवादीहरु राज्यसत्ताको विरुद्ध सशस्त्र सङ्घर्षमा रहेकाले शान्तिपूर्ण आन्दोलनमा आउनसम्म नसकेको अवस्था थियो । उनीहरुको पनि सात दलले चलाएको शान्तिपूर्ण आन्दोलनमा समर्थन रह्यो । २०६३ वैशाख ११ गते राजनैतिक दलहरुको आन्दोलनबाट राजा ज्ञानेन्द्रले विघटिन संसदको पुन: स्थापना गराए । पुनस्थापित संसदमा माओवादीहरु पनि सहभागी बने र देशमा शान्ति स्थिरता र अमनचयन आउने छ भनी नेपाली जनताले आशा गरेका थिए । देशमा गणतन्त्र आयो । २०६३ जेष्ठ १५ गते नेपाललाई गणतान्त्रिक मुलुक घोषणा गरिएको थियो ।
अब देशमा राजनैतिक आन्दोलनको समाप्ति भएको र देशमा अब आर्थिक विकासको समय आएको भन्ने जस्ता अभिव्यक्तिहरु नेताका प्रत्येक भाषण, भेटघाट र अन्तर्वार्ता लेखहरुमा छायो । अझ देशमा १० वर्षसम्म सशस्त्र क्रान्ति चलाएका बताउने माओवादीहरुबाट त झन् अब आर्थिक क्रान्तिको युग आएको भन्ने जस्ता कुराहरु अत्यधिक आइरहे । नेपाली जनताले त्यसैको विश्वास गरेर २०६४ चैत्र २८ गते भएको संविधान सभाको निर्वाचनमा माओवादीलाई बहुमत दिएर विजय गराए । उनीहरुले देशमा केही भए पनि सुधार ल्याउने छन्, देशलाई समृद्धितिर लैजानेछन् र जनताले दु:ख पाइरहनु पर्ने छैन भन्ने ठुलो आशा राखे तर जनताको त्यो आशा पुरा हुन सकेन । देशमा शान्ति, स्थायित्व हुनुभन्दा पनि अनावश्यक माग र नाराहरु उठिरहे, जातीयता र क्षेत्रीयताका आन्दोलनहरु उठिरहे । यसले संविधान सभाले दुई वर्षको कार्यकालमा संविधान घोषणा गर्ने भनिए पनि संविधान घोषणा हुन सकेन । संविधानको घोषणा गर्ने अवधि पटक पटक बढाइयो र पनि राज्यको ढुकुटीको स्वाहा मात्र भयो । संविधान घोषणा हुन नसकेर पहिलो संंविधान सभाको विघटन हुन पुग्यो । मुलुकमा संविधानविहीनताको अवस्था आयो । फेरि दोस्रो संविधान सभाको निर्वाचन २०७० मङ्सिर ४ गते सम्पन्न भयो । त्यस अवधिमा पनि देशमा जातीयता र क्षेत्रीयताका आवाजहरु सेलाइसकेका थिएनन् । २०६४ सालपछिको जस्तो अवस्था थिएन । उनीहरुलाई नेपाली जनताले आफ्नो मतबाट पराजित गरेका थिए । तत्कालीन नेकपा (एमाले) पहिलो पार्टी भएको थियो, तत्कालीन माओवादी तेस्रो र नेपाली काङ्ग्रेस दोस्रो पार्टी रह्यो ।

देशको राजनीतिमा व्यक्तिगत तुच्छ स्वार्थहरुमा खेल्ने प्रवृत्ति त थियो नै, त्यसका साथसाथै राजनैतिक तिकडम, जालझेलले देश चलिरहेको थियो । त्यस अवस्थामा २०७२ वैशाख १२ गते देशमा प्राकृतिक विपत्ति भूकम्प गयो । त्यसपछि दलहरु देशको स्थायित्व र पुनर्निर्माणका लागि एक ठाउँमा आउने भन्दै सहमति गरे । संविधान निर्माण र पुन:निर्माणलाई महत्त्वपूर्ण काम ठान्दै २०७२ असोज ३ गते संविधान जारी भयो । त्यसपछि घोषित नयाँ संविधानको व्यवस्था अनुसार सङ्घीय संसद, प्रदेश र स्थानीय तहको निर्वाचन भए । यी निर्वाचनहरुमा राजनैतिक दलहरुले जनतासँग भोट माग्दा अब राजनैतिक आन्दोलन सकिएको, देश गणतान्त्रिक मुलुक भएको जनताका मागहरु संविधानले संशोधन गरेको र अब आर्थिक विकासको आवश्यकता भएको, समृद्धि चाहिएको त्यो जिम्मा यो पार्टीले मात्रै गर्न सक्छ भन्दै भोट मागियो र चुनाव जितिएको छ । चुनावपछि सबै तहमा नारा यही छ कि समृद्धि, समृद्धि, देशको समृद्धि । समृद्धि हुनु आफैमा नराम्रो कुरा छैन । सबै कुरामा मान्छेले सहजता, सजिलो चाहेको हुन्छ । हरेक हिसाबले जीवनयापन गर्न सजिलो हुनु नै समृद्धि भएको ठान्नु हो । समृद्धि भौतिक पूर्वाधारको मात्र विकास पनि होइन होला, मानसिक अनुभूतिको पनि कुरा हो । तर के ती सबै कुरा यही मानसिकता, देशको भौतिक सुविधाका यस्तै अवस्था हुँदा सम्भव छ ? कि यो भोटको राजनीतिक लागि मात्र हो, गरिएको थियो ? यो त पछिका केही वर्षमा थाहा हुनेछ । तर वास्तविक रूपमै मुलुकले समृद्धि प्राप्त गर्नका लागि त नेता तथा जनताको मानसिकतामा आमूल परिवर्तन हुन जरुरी छ ।

नेताले जनतामा विश्वास गर्न जरुरी छ । नेताले त्यो तहको विश्वसनीयता प्राप्त गर्न जरुरी छ । अहिले हाम्रो देशमा समृद्धिको कुरा चलिरहँदा समृद्धिको मापन केलाई मान्ने भन्नेमा अन्यौलता छ । नेपाल कृषि प्रधान मुलुक हो । तर यहाँको अधिकांश बजार बाहिरका उपजले खाएका छन् । खेतबारीमा कुन माटोमा के राम्रोसँग उत्पादन हुन्छ ? हावापानी कस्तो ठाउँमा के लगाउँदा उपलब्धिमूलक हुन्छ भनेर अनुसन्धान भएका कमै मात्रामा होलान् । कृषि उपजले बजार पाउन नसकेको कैयौँ अवस्थाहरु छन् । कृषि उत्पादन बढाउन माटोलाई रसिलो मलिलो बनाउने कुनै योजनाहरु छैनन् । सिँचाइको प्रबन्ध गर्न सकिरहेको अवस्था छैन । सिँचाइको व्यवस्था गर्नका लागि घोषित योजनाहरु अलपत्र छन् । पुरा गर्ने योजनाहरु छैन । किसानले पानीको लागि आकाशेपानीमै भर पर्नु छ । जतिबेला बाली लगाउनु पर्ने हो, त्यतिबेला सुख्खा स्थानमा लगाउनु पर्दा उब्जनीमा बढ्ती हुन सकेको छैन । हामीसँग भएका साधनस्रोतको उचित व्यवस्थापन छैन । भू उपयोग नीति नै छैन । उर्वर भूमिमा धमाधम घरहरु बनिरहेका छन् । हुन त घर पनि चाहियो तर कहाँ घर बनाउने ? कहाँ उत्पादन बढाउने भन्ने कुनै योजना छैन ।

एक जना किसानसँग कुरा गरेँ । तपाईहरुको ठाउँमा त माटो राम्रो छ, उत्पादन हुन्छ हैन ? उनले जवाफ दिए– “उत्पादन त राम्रो हुने थियो तर अचेल माटामा घर फलेको छ । घर फलेपछि अरू केही फल्दैन ।” उनको भनाइ मलाई अत्यन्त मार्मिक लाग्यो । वास्तविकता यही नै हो । हामीसँग भएका साधनस्रोतले पुर्‍याउन सक्ने अवस्था हाम्रो देशमा रहेन, विदेशी दाल, विदेशी चामल विदेशी खाद्यान्न हरेक कुराको आयातमा भर पर्नु पर्ने भएपछि अब देश कृषि प्रधान रह्यो कि रहेन ? अब हामी अर्काको देशले खाद्यान्न नपठाइदिए नबाँच्ने भइसक्यौँ । मान्छे पुराना लुगा लगाएर पनि केही महिना वर्ष बाँच्न सक्छ तर खान पाएन भने कति दिन बाँच्छ ? आफै अनुमान लगाउन सकिन्छ । कृषि कर्ममा लाग्ने हातहरु अब पराइ भूमिमा, विदेशी माटामा घुमेका छन्, विदेशका ढोका कुरेका छन्, जहाँ मानवीय श्रम हुँदैन । अब त्यहाँ उत्पादन हुन्छ कसरी भन्नु ? खेती गर्नुभन्दा ज्याला–मजदुरी गरे फाइदा हुन्छ भन्ने धारणा विकास भएको छ । कृषिकर्मीलाई दिने ज्यालाको व्यवस्थापन गर्न नसक्दा कृषि भूमिमा चाहिएको जति उत्पादन भएको छैन । अर्कातर्फ कृषिलाई आधुनिकीकरण गर्न सकिएको छैन । कृषिमा लाग्ने बालीनाली नास गर्ने समस्या समाधान हुन सकेको छैन । कृषिमा जति मात्रामा लगानी गर्नु पर्ने हो, त्यसप्रति बेवास्ता गरिएको अवस्था छ । हामीसँग जे छ, त्यसको बेवास्ता छ, जे छैन, त्यसकै खोजीमा लागेका छौँ । हाम्रो माटामा पर्याप्त मात्रामा खाद्यान्न उत्पादन हुन्छ तर त्यो उत्पादनमा हाम्रो जोड छैन तर विदेशी खाद्यान्न खरिदमा सर्वस्व लगानी गरेका छौँ । जति मात्रामा उत्पादन भएका छन् । तिनीहरु पनि व्यापक मात्रामा अखाद्य पदार्थ मिसिएका छन् भन्ने समाचार आइरहन्छन् । अत्यधिक विषादीको प्रयोगका कुरा र त्यसले मानवीय स्वास्थ्यमा पार्ने नकारात्मक असरका कुराहरु आइरहेका छन् । यसरी यी समस्याहरु छन् ।

हाम्रो देशमा उत्पादन हुन सक्ने कुरा पनि उत्पादन भएका छैनन् । मासुजन्य कुरा, दूधका कुराहरु सबैमा हामी हाम्रो उत्पादनमा आत्मनिर्भर हुन सकेका छैनौँ । त्यस किसिमको सोचाइको विकास गर्न पनि सकेका छैनौँ । हाम्रा घरघरमा विदेशी पशुचौपायाका मासु, दूध पुग्ने भएपछि अब त्यो सोचाइ उत्पादन गर्ने, बढाउने र निरन्तरता दिने भन्ने कहाँबाट आउनु ? हामीसँग सबै उत्पादन विदेशी भए । औषधि उपचार गर्दा पुरा विदेशी औषधिमा भर पर्नु पर्ने । डाक्टरहरुले स्वदेशी उत्पादनका औषधि सिफारिस गर्ने नपाउने, विरामीले विदेशी औषधिमै बाँच्नु पर्ने, पर्याप्त मात्रामा जडीबुटी हुँदाहँुदै पनि तिनको उत्पादन, प्रशोधन तथा उपयोगमा हाम्रो ध्यान नजाने, परनिर्भरता रहिरहने । अन्य उत्पादनमा त झन् हाम्रो ध्यान गएकै छैन । कताकति स्वदेशी उत्पादनका सानातिना कलकारखाना खुले पनि कच्चा मालका लागि फेरि अर्कै देशमा भर पर्नु पर्ने भएकाले देशका उद्योगधन्दाले फस्टाउने मौका पाएका छैनन् । जस्तो चाउचाउ उद्योगलाई लिन सकिन्छ ।

चाउचाउ उद्योगका लागि आवश्यक पर्ने मैदा, गहुँको पिठो सबैका लागि हाम्रो देशको उत्पादनले धान्न सक्ने स्थिति छैन । भारतीय नाकाबन्दी त हामीले भुलेका छैनौँ । त्यस समयमा मैदा नपाउँदा चाउचाउ नपाएर चाउचाउको मूल्य बढ्यो । मूल्य बढेपछि बढेको बढ्यै भयो, घट्न सकेन । कुखुरा पालनको विषय पनि लिन सकिन्छ । त्यसका लागि चाहिने दाना, खाना सबै विदेशबाट नै आउँछन् । हामीले हाम्रो त्यस किसिमको दाना उद्योग खोल्ने र निरन्तरता दिन सकेका छैनौँ । अब हाम्रा कृषक तथा पशुपालनले यहाँ उत्पादन गरे पनि त्यसका लागि चाहिने दाना, कच्चा पदार्थ बाहिरबाट ल्याउनु पर्दा बीचमा नाफाको रूपमा केही कमिसन पाउने बाहेक अरू केही नाफा हुन सकेन । देशको लगानी विदेश गयो । चाउचाउ उद्योगका लागि चाहिने मैदा लगायतका सामग्री यहाँ उत्पादन नहुँदा विदेशबाट ल्याउनु पर्दा यहाँको किसानलाई फाइदा हुनेभन्दा पनि अन्य किसानलाई नै फाइदा भयो । नेपाली बजारहरु विदेशी सामानका लागि मात्र खुलेका जस्ता छन् । नेपाली उपभोक्ताहरु विदेशी मालका उपभोक्ता मात्रै भयौँ । हामीसँग उपभोग गर्ने शरीर मात्रै छ, उत्पादन नै हात र दिमाग नभए जस्ता भयौँ । यहाँ कुनै पनि उत्पादनमा आत्मनिर्भर हुन सकेको अवस्था छैन । एउटा सानो कुरा बच्चाले प्रयोग गर्ने सिसाकलम, त्यसलाई तिर्खाने मेटाउ जस्ता कुरा पनि हामीले हाम्रो देशमा उत्पादन गर्न सकेका छैनौँ । कम्तीमा पनि साना–साना उत्पादन देशले गर्न सक्ने हो भने पनि राम्रो हुने थियो । तर यी सबैमा हामी अर्कैकोमा भर पर्ने भएका छौँ । हामी जनता हौँ । जनतालाई जसो बनाए त्यस्तै हुन्छ भन्ने शासकको मानसिकतामा गणतन्त्र नै आए पनि परिवर्तन आउन सकेको छैन । अझ हाम्रा घरघरमा टिभी, रेडियो, पत्रपत्रिका र सामाजिक सञ्जालमा आउने विज्ञापनकै भरमा हामी पर्न बाध्य छौँ । तिनैका आधारमा धारणा बनाउने गरेका हुन्छौँ र सामान खरिद गर्छौँ ।

हामीले उत्पादन बढाउने कुरामा पहिलादेखि नै वास्ता गरेनौँ । त्यो भन्दा अझै दु:खको कुरा त के छ भने जो जसले प्रविधि जानेका थिए, जसले सिर्जना सिर्जेका थिए, उनै उनै जनतालाई अमानवीय व्यवहार गर्दै आयो हाम्रो समाजले । हाम्रा पुर्खा कसैले बन्दुक नबनाउने अवस्थामा बन्दुक बनाउने कला र दक्षता बोकेका थिए । कृषि औजार, शृङ्गारका सामान, सबै बनाएका थिए तर तिनैलाई अछूत बनाइयो । प्रविधिलाई, प्रविधि जानेका मान्छेलाई अछूत बनाइएको घाउ अझै मेट्न सकिएको छैन । जहाँ प्रविधिलाई अछूत बनाइन्छ, त्यहाँको समुन्नति कसरी हुनु ? त्यस्तै भयो ।

यी त सामान्य कुरा भए तर यहाँ ठुलाठुला कुरा छन् । मोटर, रेल, बिजुली, हवाइजहाज, पानीजहाज सबैका कुरा छन् । यी सबै भए मात्र विकास र समृद्धि हुन्छ भनिएको छ । समृद्धि यी सबै हुनु केही भए पनि सबैथोक होइन । किनकि अहिले पनि जहाँ, जुन मार्ग भएर पनि सामानहरु आइरहेका छन् । यहाँ हवाइजहाज नभएर विकास र समृद्धि नभएको होइन, यहाँ पानीजहाज नभए पनि विदेशी सामान आइरहेका छन् । मुख्य कुरा के भने सामान कहाँ उत्पादन गर्ने ? त्यो उत्पादन गर्ने जनशक्ति कहाँको लगाउने ? उत्पादित सामान कहाँ वितरण गर्ने भन्ने कुरा हो । अहिले पनि यी सम्बन्धमा खासै बहस र छलफल भएका छैनन् । यहाँ विदेशी लगानी भित्राउने कुरा गरिएको छ । विदेशी लगानीसँगै प्रविधि जनशक्ति पनि उतैका, यहाँका जनताले काम नपाएर तास खेलेर, हात बाँधेर बस्नु पर्ने अवस्था भएपछि त्यो लगानीले हामीलाई फेरि पनि उपभोक्ता मात्रै बनाउने छ । सामान्य उदाहरण लिऊँ, तरकारी फलफूल बेच्ने सम्बन्धमा । तरकारी फलफूल विदेशी आए, बिक्री गर्ने पनि उतैबाट, अब हाम्रा नागरिकले केही पाएनन् । यस्ता यस्ता कुराहरुका बारेमा पनि छलफल हुन जरुरी छ । अहिले जस्तो चलेको विकास र समृद्धि त हाम्रो देशको आवश्यकता होइन । हाम्रो देशले चाहेको सपना र समृद्धि त यहीँका जनतालाई चाहिदो समृद्धि हो ।

हाम्रो देशका जनताको थाप्लोमा जन्मिन नपाउँदै ऋणको भारी हुन्छ । देशमा व्यापार घाटा बढेको बढ्यै छ । देशको युवा जनशक्ति चाहेर नचाहेर विदेशी भूमिमा भौतारिएका छन् । एक छाक खान र एक आङ लगाउनको पीडाले छट्पटाएका छन् तर देशका नेतृत्वले त्यसको कुनै चासो, चिन्ता दिएको देखिदैन । हाम्रो देशबाट उड्ने जहाजले नेपाली उत्पादन बोकेर उड्न रसिला, जोशिला युवाहरु होइन् र समृद्धि भएको हुन्छ । झण्डै दुई दशकदेखि देशमा समृद्धिको कुरा, आर्थिक क्रान्तिको कुरा चलिरहेको छ । यसका पात्र र नेतृत्व फेरिएको छन् । त्यो भन्दा अगाडिका बारेमा आफू साक्षी भइएन । तर गर्ने शैली र निर्णयहरु फेरिएका छैनन् । समृद्धिका यी कुराहरु सुन्दा अत्यन्त राम्रा र गुलिया लागे पनि व्यवहारमा त्यस्तो हुने सम्भावना छैन । किनकि वितरण प्रणाली नाफामुखी छ । व्यक्तिगत स्वार्थकेन्द्रित चरित्र छ । मुट्ठीभर व्यक्ति अहिले पनि मोटाएका छन् । मुलुक समृद्ध हुने भन्ने बेलासम्म पनि त्यस्तै रहने छ, जहिलेसम्म राज्यको चरित्रमा आमूल परिवर्तन गरिदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here