सभ्य मुलुकहरुका युद्धप्रेम

0
219

अपत्य शर्मा

आफ्नो मुलुकलाई सभ्य, सुशिक्षित, लोकतान्त्रिक, मानव अधिकारवादी, शान्तिका अग्रदूत भनेर दावी गर्ने अमेरिकी साम्राज्यवादीदेखि अन्य विकसित पँुजीवादी मुलुकहरुको राक्षसी नरभक्षी अनुहार यही अप्रिलको १५ तारिखमा पुन: देखाएका छन् । सो दिन १०३ वटा मिसाइल आक्रमण उत्तर–पूर्वी सिरियास्थित होम्स शहरको सरकारी सैन्य अखडामा साइप्रसस्थित अमेरिकी बेडाबाट भएका थिए । सिरियाको समर्थक रुसले ती मिसाइलमध्ये ७१ वटालाई बीचमै ध्वस्त पारेको दाबी गरेकोमा पेन्टागनले यसलाई झुटो बताएको छ । अमेरिकी साम्राज्यवादीका नायक डोनाल्ड ट्रम्प राष्ट्रपति चुनिएपछि ६ अप्रिल २०१७ मा ट्रम्पको आदेशले पेन्टागनले सिरियाली सरकारको अधिनमा रहेको सहेर मिलिटरी एयरबेसमा ५९ वटा क्रुज मिसाइल प्रहार गर्‍यो । किनभने सिरियाली विद्रोहीले नियन्त्रित ड्युमामा रासायनिक हतियार प्रयोग गरेर ४० जनालाई सिरियाली सरकारले हत्या गरेको आरोप विपक्षी, उपचार गर्ने र उद्धार कार्यकर्ताहरुले लगाए, जबकि सिरियाली राष्ट्रपति बसर अल असदको सरकारले यो आरोपको खण्डन गर्दै के भनेको छ भने सिरियाली सरकारले सम्झौता गरे बमोजिम जुन २०१३ मै सम्पूर्ण रासायनिक हातहतियार नष्ट गरिसकेको बताएको छ । सिरियाको सरकारलाई समर्थन गरेर युद्धमा होमिएको रुसले पनि कुनै रासायनिक सारि अस्त्र प्रयोग नभएको बताएको छ । तर साम्राज्यवादी तथा विकसित पँुजीवादीहरुको सङ्गठन संयुक्त राष्ट्र सङ्घ र रासायनिक हतियार निषेध सङ्गठन (ओ.पी.सी.डब्लू.) ले २०१७ सम्म विद्रोहीले अधिकार गरेका क्षेत्र खान शैखुन जस्ता क्षेत्रहरुमा चारपल्टसम्म सारिन हमला भएको बताएको छ ।

अमेरिकी ज्वाइन्ट चिफ अफ स्टाफका अध्यक्ष जनरल जोसेफ डुनफोर्डले के दाबी गरेका छन् भने सिरियन सरकारका केमिकल हतियार आयोजनाका तीन वटै क्षेत्रमा मिसाइल प्रहार गरेर नष्ट गरेको छ ।

सिरियाको ऐतिहासिक पक्ष

साम्राज्यवादी तथा विकसित पँुजीवादी मुलुकहरु कमजोर सानाठुला मुलुकहरुलाई शोषण गर्न, दबाउन राजनैतिक, आर्थिक स्वार्थपूर्ति गर्न एक हुन्छन् भन्ने तथ्य वर्तमान सिरियामाथि गरिएका आक्रमणको समयमा फासिवादी अमेरिकी राष्ट्रपतिको समर्थनमा दिएका अभिव्यक्तिले प्रष्ट पारेको छ । सिरियाको इतिहास र आर्थिक, धार्मिक र राजनैतिक इतिहासतिर चिहाऔँ ।
सिरियाको जनसङ्ख्या १,७१,८५,१७० रहेको छ । सिरियामा रहेका जातिहरुमा अरब ९०.३ प्रतिशत, कुर्द, आर्मेनियन र अरू ९.७ प्रतिशत । भाषा : अरेबिक (सरकारी) कुर्दिस, अर्मेनियन आरामैक, सिरकासियन, फ्रेन्च र अङ्ग्रेजी । धार्मिक समुदाय : मुस्लिम ८७ प्रतिशत (अफिसियल, जसमा सुन्नी ७४ प्रतिशत, अलावी, इस्मैली, सिया १३ प्रतिशत) क्रिश्चियन १० प्रतिशत, ड्युज ३ प्रतिशत छन् ।

भूगोल : कुल क्षेत्रफल ७१,४९८ स्क्वायर माइल वा १,८५,१८० स्क्वायर कि.मि., भूक्षेत्र ७०,९०० स्क्वायर माइल १,८३,६३० स्क्वायर कि.मि. (५०० स्क्वायर माइल क्षेत्रमाथि इजरायलले अधिकार जमाएको छ) । सिमाना : मध्य–पूर्व, पूर्वी छेउमा मेडिटेरियन समुद्र छ । पश्चिममा लेबनान र इजरायल पर्छन् भने दक्षिणतिर जोर्डन, पूर्वमा इराक, उत्तरमा टर्की छन् । सिरियाको राजधानी डमास्कस हो भने अन्य शहरहरुमा अलेपो, होमस र हामा छन् ।

अर्थतन्त्र : उद्योगहरुमा पेट्रोलियम, टेक्सटायल, फुड प्रोसेसिङ, सुर्ती, फोस्फेट रक माइनिङ सिमेन्ट छन् । प्रमुख बालीहरु : गहुँ, बार्ली, कटन, मुसुरो, केराउ, जैतुन, उखु ।
प्राकृतिक स्रोतहरु : पेट्रोलियम, फोस्फेट, क्रोम, म्याङगनेज ओर, अस्फाल्ट, फलामका धाउ, चट्टाने नुन, मार्बल, जिप्सम, हाइड्रोपावर, कच्चा तेल रिजर्भ २.५ बिलियन बिबिल्स ।

श्रमशक्ति : कृषि १७ प्रतिशत, उद्योग १६ प्रतिशत। सेवामा ६७ प्रतिशत, बेरोजगारी १०.८ प्रतिशत छ । मुद्रा : पाउन्ड (एस.वाई.पी.) (२१४.८ रु १ अमेरिकी डलर), सकल घरेलु उपज (जी.डी.पी. : (२०१४–५५.८ अरब अमेरिकी डलर ) । प्रतिव्यक्ति सकल घरेलु उपज (२०११–५,१०० अमेरिकी डलर । जी.डी.पी. वृद्धि ९.९ प्रतिशत, आयात ६.६ विलियन अमेरिकी डलर । साउदी अरेबिया २७.९ प्रतिशत, युएई १३.७ प्रतिशत, इरान १०.१, टर्की ९ प्रतिशत, इराक ८.३ प्रतिशत, चीन ६.१ प्रतिशत छ । निर्यात : १.८ विलियन । इराक ६४.७ प्रतिशत, साउदी अरेबिया ११.२ प्रतिशत, कुवेत ७.१ प्रतिशत, युएइ ६.१ प्रतिशत ।

सिरिया सेलिसिड साम्राज्यको केन्द्रमा थियो । सेलिसिड वंश ३१२ बी.सी. देखि ६३ बी.सी. सम्म रह्यो । तर पछि रोमन र अरब साम्राज्यमा मिल्यो । अटोमन साम्राज्य चार शताब्दीसम्म अस्तित्वमा रह्यो । सिरियाको निर्माण पहिलेको टर्किस जिल्लाहरुबाट बनेको थियो । १९२० को सेभरस सन्धिले अलग गर्‍यो र सिरियाका राज्यहरु र ठुलो लेबनानमा विभाजित भयो । दुवै मुलुक फ्रेञ्च लिग अफ नेसन्सको अधिनमा १९२०–४१ सम्म शासित भएको थियो । फ्रान्स अधिकारमा रहेको सिरिया सेप्टेम्बर १६, १९४१ मा गणतन्त्र घोषित भयो । सिरिया अप्रिल १७, १९४६ मा स्वतन्त्र भयो । १९४८ मा सिरिया अरबहरुसँग गठजोड गरेर इजरायलमाथिको आक्रमणमा सामेल भयो ।

सिरिया फेबु्रअरी १९५८ देखि सेप्टेम्बर १९६१ सम्म युनाइटेड अरब रिपब्लिकसँग रह्यो । समाजवादी बाथ पार्टीले मार्च १९६३ मा शक्ति हत्यायो र एउटा वैधानिक पार्टी भयो । अल्पसङ्ख्यक अलाविटले सरकारमाथि नियन्त्रण गिर्‍यो । अलाबिट (अलाविजम) सियाट इस्लामको एउटा शाखा हो ।

१९६७ को जुन महिनामा अरब इजरायल युद्धमा इजरायलले सिरियाको गोलन हाइटमाथि अधिकार जमायो । त्यस हाइटबाट सिरियाले इजरायली बस्तीहरुमा गोला वर्षा गरेको थियो । अक्टोबर ६, १९७३ मा सिरिया र इजिप्टले इजरायलमाथि आक्रमण गरे तर गोलान हाइटमाथि अधिकार जमाउन सकेनन् र आक्रमण असफल भयो । १९७६ मा सिरियाली सेना लेबनानमा भएको गृहयुद्धमा लेबनान प्रवेश गर्‍यो र आफ्नो मजबुत उपस्थिति बनायो । तिनीहरुले प्यालेस्टिनी गुरिल्लासँग लडे र पछि क्रिश्चियन मिलिसियासँग लडे । इरान–इराकका बीचमा (१९८०–८८) भएको युद्धमा सिरियाले इरानको पक्ष लियो ।

हाम्रा शहरमा मुस्लिम ब्रदरहुडको विद्रोह (फेब्रुअरी १९८२) लाई सरकारी सेनाले दमन गर्‍यो र हजारौँ मारिए । जुन ६ तारिख १९८२ मा इजरायलले लेबनानमाथि आक्रमण गर्‍यो र इजरायली हवाइजहाजहरुले १७ वटा सिरियन एन्टी इयर क्राफ्ट मिसाइल ब्याट्रीहरु बेक्का भ्यालीमा नष्ट गर्‍यो र केही २५ वटा सिरियन हवाइजहाजहरु पनि नष्ट गर्‍यो । जुन ११ तारिखमा इजरायल र सिरिया युद्धविराम गर्न मन्जुर भए । १९७१ देखि राष्ट्रपति भएका हाफिज अल असद जुन १०, २००० मा मरे र उनका छोरा बसर अल असद राष्ट्रपति भए । अक्टोबर ४, २००३ मा डमास्कसको नजिकै आतङ्ककारीको क्याम्प भएको दोषारोपाण गरेर इजरायलले हमला गर्‍यो । अमेरिकीहरुले ११ मई २००४ मा सीमित प्रतिबन्ध लगायो । सिरियाले लेबनानमा रहेका सिया समूहका हिज्बुल्ला लडाकाहरुलाई सहायता गर्‍यो र इजरायलीसँगको द्वन्द्वमा १,८०,००० लेबनानीहरुलाई शरण दियो । त्यस बखत् इजरायली सेनाले अगस्त २००६ मा हिज्बुल्लाहरुलाई निशानामा पार्‍यो । सेप्टेम्बर ६, २००७ मा इजरायलले उत्तरी सिरियामा बम वर्षायो । किनभने सिरिया र उत्तर कोरियाले गोप्य रूपमा आणविक अस्त्रको विकास गरेको दाबी गरे तापनि सिरिया र उत्तर कोरियाले अस्वीकार गरेका थिए ।

अरब विद्रोहको लहर लिबिया, मिश्र हुँदै सिरिया र जोर्डनसम्म पुग्यो । सिरियामा २०११ को मार्चमा अकस्मात नागरिक स्वतन्त्रताको नारा लाग्नुका साथै असद तानाशाही शासन सत्तामा बन्दी बनाइएका राजनैतिक बन्दीहरुको रिहाइको माग एकातिर गरियो भने असद सत्ताका विरुद्ध ३० वर्षपछि दक्षिणमा रहेको देरा शहरमा पनि आन्दोलन प्रारम्भ भयो । त्यही वर्ष कर्णेल रियाद अल असदले सैनिक कमान्ड छाडेर सिरियन आर्मीका विरुद्ध टर्कीमा फ्री सिरियन आर्मी गठन गरी विद्रोह गर्न इस्लामी समूह बनाए । फ्री सिरियन आर्मीबाट नै आई.एस.आई.एस. को जन्म भयो । यो आई.एस. आई.एस. का जन्मदाता अमेरिकी साम्राज्यवादी तथा साउदी सुल्तानको ठुलो सहायता र समर्थन रहेको पँुजीवादी सञ्चार माध्यममा आएका थिए । अमेरिकी साम्राज्यवादी तथा विकसित पँुजीवादी मुलुकहरु नै आई.एस., अलकायदा, तालिवान आदि आतङ्कवादीका जन्मदाता हुन् । रुस र इरानलाई परास्त गर्न जन्माइएका आतङ्कवादी सङ्गठनहरु अहिले तीनै अमेरिकी साम्राज्यवादी र विकसित पँुजीवादी मुलुकका लागि भालुको कञ्चट भएका छन् ।

रासायनिक हतियार प्रयोगको प्रश्न

हामा शहरमा भएको सरकार विरोधी प्रदर्शनमा ठुलो दमन गरियो । २०१३ को प्रारम्भमा दमास्कस छेउमा रासायनिक हतियारका कारण १४ सयभन्दा बढी मानिस मारिएको बताइन्छ । २०१३ को सेप्टेम्बरमा असद सरकारको नियन्त्रणमा रहेको रासायनिक हतियार नष्ट गर्न राष्ट्र सङ्घको संयोजनमा रुस र अमेरिकी प्रतिनिधिहरुको जाँचबुझ कमिटी बन्यो र सरकारी भण्डारणका सयौँ टन रासायनिक ग्याँस भण्डार नष्ट पारिए । २०१५–१६ मा पनि राष्ट्र सङ्घकै निगरानीमै त्यो टोलीले काम जारी राख्यो । सिरियामा गृहयुद्ध घटाउन २०१७ को जनवरीमा रुस, इरान र सिरिया सरकारले विद्रोहीका सहयोगीहरुमध्येको टर्कीले सिरियाली सरकार विद्रोहीका बीचमा समझदारी बनाउन कजाकिस्तान वार्ताको आयोजना गरेका थिए । तर अमेरिकालाई मन नपरेको प्रष्ट थियो । २०१७ को अप्रिलमा विद्रोहीहरुको कब्जामा रहेको खान–सेइखुन शहरमा सरिन ग्याँस हमला भयो । ८८० जना मारिए । त्यसपछि ट्रम्पको निर्देशनमा पेन्टागनले ६ अप्रिल २०१७ मा सरकारको अधिनमा रहेको सहेरथ मिलिटरी एयरवेजमा ५९ वटा क्रुज मिसाइल प्रहार गर्‍यो । यति क्रुज मिसाइल प्रहार गरे तापनि रासायनिक हतियार कसले प्रयोग गर्‍यो भने र किन खोजी भएन भन्ने प्रश्न गरिदै छ । २०१८ को अप्रिल ७ मा पूर्वी घौटाक नजिकको बजार दुमामा भएको ग्याँस हमलामा ५७ जनाको ज्यान गयो । त्यो असदको सरकारले गराएको भन्ने पुष्टि नहुँदै अप्रिल १४ मा २०१८ मा विश्वका सभ्य, लोकतान्त्रिक, मानव अधिकार रक्षक भएको दावी गर्ने नरभक्षी अमेरिकी साम्राज्यवादी र उसका सहअपराधी बेलायत र फ्रान्सले संयुक्त हमला गरेर आफ्ना पँुजीवादी नैतिकता, अन्तर्राष्ट्रिय कानुन, मूल्य–मान्यता आदिलाई लत्याउँदै आफ्ना वास्तविक नरभक्षी चेहरा देखाए । यी शान्तिका मसिहा भन्ने मुलुकहरुले उनीहरुकै स्वार्थ रक्षा गर्ने संयुक्त राष्ट्र सङ्घद्वारा आक्रमण गर्नुभन्दा पहिले राष्ट्र सङ्घका जाँचबुझकर्ताहरुद्वारा जाँचेर असद सरकारले गरेको हो वा विद्रोहीले गरेको हो ? त्यो त्यसको निक्र्यौल गर्नु पथ्र्यो । सो किन गरेन ? किनभने सिरियाली सरकारको रक्षक रुस आफै २०१३ को सम्झौता अनुसार छानबिन गर्न दिन प्रतिबद्ध थियो । ग्याँस आक्रमणबाट मारिनेहरुको सङ्ख्या विगतदेखि हालसम्म १९ सय पुगेको छ ।

२०११ देखि हालसम्म कति सिरियन नागरिक मारिए, कति घाइते र कति शरणार्थी भए भन्नेबारे सही तथ्याङ्क प्राप्त छैन, तापनि केही नजिकैबाट नियालेर गणना गर्ने समूहहरुले गरेको गणना अनुसार थोरै फरक हुन सक्छ । यो तथ्याङ्कलाई अन्तर्राष्ट्रिय समूहहरुले प्रमाणित गरेका छैन्न् । तथ्याङ्क राख्ने प्रमुख समूहहरुमा सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स, जुन बेलायतमा छ, त्यसले मार्चसम्ममा ५,११,००० मानिस २०११ मार्चदेखि गत २०१८ को मार्चसम्म मारिएको जनाएको छ । गार्जियन पत्रिकाकी स्तम्भकार पोली तोयनवीका अनुसार २०११ देखि यता ५ लाख मानिस मरे भने २० लाखभन्दा बढी घाइते छन् । ६० लाख विस्थापित छन् भने ५० लाख विदेशमा शरण लिन छटपटाई रहेका छन् ।

सिरियामा संयुक्त राज्य अमेरिका र रुसका सैनिक अखडा र जल सैनिक अड्डा छन् । अमेरिका प्रजातन्त्रको नाममा सिरियामा सकेसम्म आफ्ना कठपुतली विद्रोहीको सत्ता कायम गर्ने पक्षमा छ भने रुस र इरान असदको सरकारलाई कुनै पनि हालतमा जोगाउने पक्षमा छन् । किनभने मध्य–पूर्वको केन्द्रको रुसमा रहेको सिरियाको सीमा जोडिएका इजरायल, लेबनान र जोर्डन, इराक र नाटो सदस्य मुलुक टर्कीका कारण अमेरिका त्यहाँ आफ्नो प्रभुत्व र उपस्थिति कायम राख्न चाहन्छ भने रुसको सिरियाली बन्दरगाह शहर टार्टसमा रुसी जलसैनिक अड्डा छ । यो टार्टस मात्र रुसका लागि भूमध्यसागर र सो सागर हुँदै खुला समुद्रमा आफ्नो जनसेनालाई पहुँच पुग्ने एउटै बाटो मानिन्छ । यी तथाकथित सभ्य मुलुकका स्वार्थको आम मारकाट र ध्वंशको मारमा सिरियाली आम जनता परेका छन् । ती अकल्पनीय कहालीलाग्दो सन्त्रासपूर्ण पीडाको व्यथा अवर्णनीय छ । यसको अन्त्यमा लागि सिरियामाथिको विदेशी हस्तक्षेपको अन्त्य र आमूल परिवर्तनकारी सिरियाली जनवादी शक्तिको जनसङ्घर्ष र जनसत्ताको स्थापना यही नै एक विकल्प हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here