व्यवस्था परिवर्तन भयो सामन्ती चिन्तनमा परिवतन भएन

0
201

सन्दर्भ : भृकुटी उच्च मा.बिको स्वर्ण महोत्सव

भृकुटी उच्च मा. बि. आज स्थापनाको ५० औं वर्ष मनाउने तैयारी गरि रहेको छ । कैयौं पूर्व विद्यार्थी तथा सञ्चालक समिति जोरसोरसँग व्यवस्थापन कार्यमा लागेका छन् । मेरो पनि पठनपाठन भएको स्कुल र बसोबास पनि त्यसै स्कुलको नेरोघेरोमा भएको हुदा अस्थायी रूपमा प्रवासी भए पनि गाउँघर छर छिमेकका गतिविधि प्रती ध्यानाकर्षण हुनु स्वभाविक नै हो । मानिस स्थायी रूपमा एनआरएन (गैर आवाशीय नेपाली) भए पनि आफ्नो जन्मथलो र बाल्यकाल बितेको ठाउँ बिर्सदैन अझ आफुत प्रत्यक्ष सरोकार राख्ने परियो ।

भृकुटी स्कुल स्थापनाको स्वर्ण महोत्सवको खबरले जसरी गदगद गरायो । अहिले भइरहेको गतिविधिले “बुद्धिजीवी”हरुको बुद्धिमत्ता माथी दया र त्यसबारे भैरहको फोहोर राजनीतिले आक्रोशित बनाएको छ । भृकुटी स्वर्ण महोत्सव प्रचार प्रसार गर्ने उद्देश्यद्वारा बनाइएको मैसेन्जर ग्रुपमा अति उत्साही साथीहरुको अनावश्यक लाइक, कमेन्ट, निजी चैटिङ्ग आदिले अनावश्यक परेसान गराए पनि केहि आवश्यक सूचनाको आशामा ग्रुपबाट बाहिरीन सकिएन । सुरूका दिनमा ग्रुपमा सम्पेषण गरिएको सुचाना एवं बैठकमा शिक्षा प्रेमी स्व.तारा प्रसाद ज्युको सुपत्रले नगद रू. १० लाख सहयोग गर्ने र विगतको वहाँको योगदानको सम्मान गर्दै स्कुलको नाम भृकुटीबाट भृकुटी तारा राख्ने निर्णय गरियो भनी माइनेटको फोटो खिचेर राखियो । त्यसले खासै व्यक्तीलाई प्रथमिकता दिएको देखिदैन । तर अहिले आएर भृकुटी तारा प्रसाद बेल्बासे भन्ने चर्चा चुलिएको छ । पहिले भृकुटीको अगाडि तारा र अहिले भृकुटी तारा प्रसाद बेल्बासे थप गर्ने चर्चाले स्कुलको नामसंगै इतिहास प्रतिष्ठा सबै दाउमा परेको छ ।

सुपुत्रले बुबा आमाको सम्मान बढाउन प्रयत्न गर्नु स्वभाविक नै हो । स्व. श्री तारा प्रसाद ज्यु मेरो पनि अभिभावक नै हुनुहुन्थ्यो र सम्मानिय पनि अहिले पनि वहाँप्रतिको सम्मानमा कुनै कमि आएको छैन । तर के नाम परिवर्तनको लागि आवश्यक मापदण्ड पुरा भयो त ? के वर्षौ पहिले गरेको सहयोगको जोड घटाउ गर्दा त्यतिबेलाको अन्य व्यक्तिहरूले गरेको योगदानको गणना हुनेकी नहुने ?

कुनै पनि विषय बस्तुलाई हेर्दा द्वन्दात्मक भौतिकवादी दृष्टिकोण अपनाउन जरूरी हुन्छ । भृकुटी स्वर्ण महोत्सव र त्यसको ईतिहास बारे पनि हामीले द्वन्दात्मक भौतिकवादी सोंच बनाउनु पर्ने हुन्छ । कसैले यसलाई स्वीकार या अस्वीकार गरून् तर यथार्थ यथार्थ नै रहन्छ ।

प्रश्न उठ्छ स्कुल निर्माणमा कस्ले या कस–कस्ले योगदान पुर्याए ? उनीहरुको सम्झना गर्दा धेरै कुराहरू चलचित्र जस्तै मानस पलटमा दौडी रहन्छन । किनकि मैले त्यो समयमा अध्ययन गरे जुन बेला स्कुल मिल टोलाबाट सारिएको थियो । हुन त दाजुसँग पछि लागेर केही दिन मिलटोलाको स्कुल पनि गएको थिएँ । तर सिशु कक्षामा भर्ती हुँदा करनौलिया मै भए ।

स्कुल बन्नु अघि करनौलिया गाँउको उत्तर किनारामा अन्तिम घर स्व. श्री. खडक बहादुर बेल्बासे ज्युको थियो । त्यसको लगतै आँपको बगैचा सुरू हुन्थ्यो । केही रूखहरू निजी जग्गासँग सटेका र अन्य सार्वजनिक जग्गामा थिए । बगैंचाको बिचबाट बाटो थियो, समान ढुवानी गर्ने लढीवान (गोरूगाडा वाला)हरू त्यहाँ बिसाउने र गोरूलाई घास पानी गराउने गदर्थे । बगैचा ठूलो थियो र उत्तर तिरको आवाद खेत स्व. श्री गंगाधर बेल्वासे ज्युको थियो । बगैचाको उत्तरी किनारा तिर आँपका रुखहरु अलि पातला थिए पुर्वी छेउतिर ठूलो पिपलको रुख, त्यसको दक्षिण पट्टी करमका रुखहरु, जाबुनाको रुख, रोइनीको अली सानो रुख, अर्को ठूलो पिपलको रुख जस्का लामा–लामा जरा बाहिर निस्केको तिनै जराको साथमा उत्तर तिर सरिफाको रुख पिपलको बडेमानको फेदसंगै दक्षिणमा सटेर दत्तिवलको रुख र पुर्व कोटाइको थान । स्कुल निर्माणको समय कैयौं आँपका रुखहरु एउटा पिपलको रुख पनि काटियो र स्कुल तथा मैदान बनाइयो । स्कुलको नाम भृकुटी निम्न माध्यमिक विद्यालय र संस्थापक नरेन्द्र केसीको बोर्ड लाग्यो (हाला की अहिले त्यो सच्चाइएको छ) । त्यति बेला पनि स्कुलको लागि जग्गा उपलब्ध गराए बापत तारा मिडिल स्कुल राख्ने जमिनदार स्व.श्री तारा प्रसाद बेल्बासे ज्युको नियत थियो तर प्रधानाध्यापक श्री नरेन्द्र केसी ज्युले व्यक्तिको नाम उपयुक्त नहुने हुँदा भृकुटी नाम राखी भृकुटी पनि त तारा नै हो भनेर स्व. श्री तारा प्रसाद ज्युलाई कन्वेन्स गर्न सफल भएर स्कुलको नाम स्थापित भयो ।

राजनीति अहिले मात्र हैन, त्यति बेला पनि भयो । स्कुलमा सरुवा भएर प्रधानाध्यापकको पोस्ट सम्भाल्न आएको व्यक्ति संस्थापक बन्नु, जमिनदारको योगदान देखिनु तर अन्यको योगदान नदेखिनु । त्यो स्कुल निर्माणमा धेरैले योगदान पुर्याएका थिए । चाहे त्यो बिघट्टी तिर्ने किसान हुन् या दुई पसेरी धानमा जिवीका उपार्जन गर्ने मजदुर या स–साना बालबालिका (विद्यार्थी) सबैको आफु सक्दो योगदान छ । प्रारम्भमा कैयौं शिक्षकहरुले निःशुल्क पढाएर योगदान गरे, भवन बन्दा मजदुरहरुले बिना ज्याला श्रमदान गरे भने स–साना हामी विद्यार्थीले ईटा भट्टाबाट ईट निकाल्दा सर्प निस्केर भागाभाग हुँदा या पंक्ति बनाएर हातेमालो गरि ईटा भट्टा बाहिर चट्टा लगाउँदा स्कुलमा एक ठाउँबाट अर्को ठाउँमा चट्टा सार्दा हातबाट खुट्टामा खसेर होस या कलिला हातमा खर्सो न खर्सो ईटाको रगडले पारेको फोरो फुटेर रक्तयामै भएर गरेको श्रमदान । “ठूला बडा”को सहयोगको मुल्यांकन हुने अन्यको ? अहिले स्वर्ण महोत्सवको समयमा के यी सबै सहयोगीहरुको योगदानको मुल्यांकन होला ? सायद कतै कसैले स्मारिकाको कुनै लेखमा समेटेर सम्झे भने हो अन्यथा हिन्दीको कहवात जस्तै “नेकी कर दरिया मे डाल” (गुन गर तर त्यसको बखान नगर) हुने हो ।

अहिले स्व. श्री तारा प्रसाद ज्युको मुल्यांकन भइरहेको छ, हुनु पनि पर्छ तर मुल्यांकनको नाममा उच्च मुल्यांकन हुदा अन्य सहयोगीहरुप्रति हामीले उदासीनता र अपमान त गरेका छैनौं कतै ? किन की सबैले आफ्नो सामर्थ र पुँजी अनुसारको योगदान गरेकै हो । लाखौं हुनेले हजार दिनु र सय हुनेले दश दिनु दशवालेको योगदान बढी हुन्छ गणितीय हिसाबले पनि दश सयको दश प्रतिशत हुन्छ तर लाखौंको हजार दश प्रतिशत हुँदैन । लाखौं वालाले बचतबाट दिन्छन् भने सयवालाले परिवारको पेट काटेर दिन्छ ।

विगतमा वहाँले गरेको योगदानमा थप दान गरि नाम संशोधन गर्ने जुन तैयारी भएको छ । यो सामन्ती सोंच बाहेक केही होइन । हामी सरसरी हेरौं र विश्लेषण गरौंत । २०२५–२६ सालमा नापी भयो । घर–घारी भएको मिनाहडिह र रुख बिरुवा भएको ठाउँ ८ नम्बर ऐलानीको रूपमा वर्गीकरण गरिएको थियो । यो अवस्थामा विचारणीय हुन्छ की स्व. श्री तारा प्रसाद ज्युले दिएको जग्गा वास्तवमा लाल पुर्जावाला जग्गा नभएर ऐलानी ता थिएन ? अर्को विचारणीय कुरा स्कुलको नामाकरण कै बेलामा मनसाय अनुसार तारा मिडील किन हुन सकेको थिएन त ? त्यती वेला त श्री नरेन्द्र केसी ज्युलाई मात्रै मनाएको भए नै पुग्थ्यो तर त्यसो हुन सकेन किन की श्री नरेन्द्र के.सी ज्यु सचेत मात्रै नभएर सामन्ती व्यवस्थाको विपक्षमा हुनु हुनथ्यो । जे भए हिजोको लगानीमा आज नाफा खोज्नु व्यापार हुन्छ ।

जहाँसम्म नाम नै परिवर्तन गरेर स्थापित गराउने कुरा हो । के आजको मितीमा सरकारले गरेको दिशा निर्देशन र नियमावलीलाई पालना गरिएको छ त ? नियमावलीमा माध्यमिक तहको बिद्यालयको लागि एक करोड रूपैयाँ या त्यस बराबरको घर जग्गा, उल्लेख गरेको छ । हाम्रो स्कुल उच्च माबि हो ।

अभिभावक सबैको सम्माननीय हुन्छ र छोरा छोरीहरूले बुवाको नाम स्थापित गराउन प्रयत्न गर्नु स्वभाविक नै हो । त्यस प्रकारको सोंच र प्रयत्न अरूले पनि गरेका छन् । तर नाम पविर्तनको सन्दर्भलाई हेर्ने हो भने सामन्ती संस्था राजतन्त्रको अन्त भयो तर सोंचमा परिवर्तन भएन । जसरी हिंजो जिमिनदारी प्रथामा सबैले नतमस्तक भएर जी हजुरी गर्ने काम हुन्थ्यो अहिले पनि त्यही भएको छ । कसैको नाता परेकोले होला, कसैलाई विगतमा भएको आर्सिवाद या प्रभावले त होला । जे भए पनि खल गलत नै हो । छोरा, नातेदार त भए नै तर अन्य “बुद्धिजीवीहरु” अझ जस्को जोत उस्को पोतको नारा लगाउने “कामरेडहरु” समेतको त्यस तर्फ ध्यान नजानुले अत्यन्त दुःखद र निन्दनिय हो ।

आशा छ समय मै सरोकार वालाहरूको ध्यान यस तर्फ जाने छ । भृकुटी स्वर्ण महोत्सव विना विवाद भव्यता का साथ सम्पन्न हुने छ ।
(लेखकः पूर्व विद्यार्थी तात्कालिन भृकुटी निम्न माध्यमिक विद्यालय । हाल बुद्धभुमि न.पा. ४ बुढ्ढी कपिलबस्तु निवासी हुन् ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here