विश्व मानचित्रमा चिनियाँ सपना : एक क्षेत्र, एक मार्ग

0
201
शशिधर भण्डारी

विश्व महाशक्तिको होडमा रहेको चीनका राष्ट्रपति सी जिनपिङले २०१३ को सेप्टेम्बर महिनामा काजकस्तानको नजरबायम विश्व विद्यालयमा एउटा ऐतिहासिक भाषण गरेका थिए । सो भाषणमा उनले दुई हजार वर्षभन्दा अगाडिको चिनियाँ रेशम मार्गको इतिहास कोट्याएका थिए । चीनका व्यापारीहरु २००० वर्ष पहिले रेशम, सुन्दर चिनियाँ माटाका भााडाकुाडा र चिया उँटमा बोकाएर सो मार्गबाट हिड्ने गर्दथे । त्यो कठिन मार्गमा चिनियाँहरु होशियारीपूर्वक हिड्नु पर्दथ्यो । उस्तै परे जीवन नै जान्थ्यो । सो रेशम मार्ग त्यतिबेलै सानो गोरेटोका रूपमा भए पनि पश्चिमी चीनबाट भूमध्य सँगरसम्म फैलिएको थियो । सो प्राचीन रेशम मार्गले युरोप र एसियालाई जोड्थ्यो । सो मार्ग प्राचीन चीनको सभ्यता र वैभवताको परिचायक मात्र होइन, चीनलाई समृद्धिमा पुर्‍याउने साहसिलो व्यापारिक मार्ग पनि थियो ।

२०१३ को सेप्टेम्बरमा राष्ट्रपति सी जिङपिङले गरेको सो ऐतिहासिक भाषणमा त्यो विश्व प्रशिद्ध रेशम मार्गलाई एक क्षेत्र एक मार्ग (वन रोड वन बेल्ट) भन्ने आधुनिक नाम दिइएको थियो । यो भाषणले चिनियाँहरु आफ्नो इतिहासको खोज–अनुसन्धान गरेर इतिहासबाट पाठ सिक्दै, इतिहासको पदचिह्न पहिल्याउँदै कसरी भावी योजना बनाउँछन् भन्ने कुरा झल्किन्छ र नेपालको त्रिभुवन विश्व विद्यालयमा इतिहासका विद्यार्थी प्राय: शून्य हुने नेपाल जस्तो देशका विद्धतहरुलाई उपहास गर्दछ । के हामी विश्व साम्राज्यवादका सामु कहिल्यै नझुकेका नेपालीहरुका समृद्धिका यात्राका इतिहासका पदचिह्नहरु छैनन् ? आज चीनको यो इतिहास हेरिरहादा यो गम्भीर प्रश्न हाम्रा अगाडि उभिएको छ । चीनको सो इतिहासको पदचिह्न टेकेको योजनालाई राजनीति र कूटनीति आयाम मार्फत् अगाडि बढाउन चीनले निर्माणाधीन विश्वव्यापी पूर्वाधार सञ्जाल समेत तयार पारेको छ । निश्चय नै चीनको यो एउटा विराट् सपना हो । सो सपना पुरा भयो भने युरोएसियाली देशान्तर जोड्ने योजनाले विश्वका तीन अरबभन्दा धेरै जनतालाई प्रभावित पार्नेछ र विश्वव्यापी रूपमा हवाई मात्र होइन, जल कोरिडोरका सञ्जालहरु तयार पार्नेछ, जसको परिणाम विश्व अतुलनीय ढङ्गले अर्को युगमा प्रवेश गर्नेछ, जुन युगले विश्वका हरेक क्षेत्रलाई विशाल विश्व बजारमा बदल्ने छ ।

प्राचीन कालमा चीनको सियानदेखि युरोपको इटलीसम्मको रेशम मार्ग आधुनिकीकरण भयो भने त्यसको ठुलो महत्त्व रहने छ । यो योजनाले विश्व बजारलाई मात्र होइन, पश्चिमी क्षेत्रहरुलाई समेत काफी प्रभाव पार्नेछ । यो क्षेत्रमा प्रशस्त मात्रामा उर्जा र खनिजका भण्डारहरु छन् । पश्चिम चीनका विकाशशील क्षेत्रहरुको सम्भावनाहरुलाई मध्यनजर राखेर १९९० को दशकमा चीनको सरकारले पश्चिममा जाने रणनीति (गो वेस्ट पोलिसी) को अवधारणा लिएको थियो । चीनको यो बृहत् योजनालाई नयाँ ढङ्गले प्रबद्र्धन गर्दा पश्चिम जाने रणनीतिले पश्चिमी क्षेत्रहरुको सामञ्जस्यपूर्ण विकासलाई अगाडि बढाउन थालेको छ । यस नीतिबाट अन्तरदेशीय बजारहरुको खुल्लापनलाई अगाडि बढाउन निकै मद्दत पुग्ने पनि देखिन्छ । संसारका उत्पादक देशहरुमा दोस्रो स्थान लिन प्रयत्नशील चीन आगामी तीन दशकमा प्रथम उत्पादक देशका रूपमा माथि उठ्दैछ । सुरक्षा र राजनीतिक व्यवस्थापन चीनको ठुलो चुनौती हो । चीनको सिमाना चौध राष्ट्रसँग जोडिएको छ । नेपाल, भुटान र म्यानमारको भौगोलिक उपस्थिति भू राजनैतिक परिवेशमा महत्त्वपूर्ण छ । त्यस्तैगरी उत्तर कोरिया पूर्वी र दक्षिण एसियामा पैदा भइरहेको सैन्य प्रतियोगिता, अनि अफगानिस्तान र पाकिस्तानमा मौलाएको आतङ्कवाद साना चुनौती होइनन् । मध्य–पूर्वी एसियाको प्रश्नलाई हेर्दा खाडी मुलुकसँगको सामञ्जस्यता चीनले बढाउनु जरुरी देखिन्छ । यसका लागि रुससँगको सीमा रणनीतिक दृष्टिले धेरै महत्त्व छ । यसलाई सामना गर्‍यो भने चीनले आफ्ना सपनाहरुलाई सहजै पुरा गर्न सक्नेछ । अहिले पनि चीनले विद्युत उत्पादन र इन्जिनियरिङ मेसिनहरुको उत्पादनमा निकै प्रभावशाली स्थान निर्माण गरेको छ । २००० यता चीनको दक्षिणी दृष्टि निकै संवेदनशील भएको देखिन्छ । पश्चिम साम्राज्यवादले नेपाललाई खेल मैदान बनाएर तिब्बतलाई उचाल्ने रणनीति अन्तर्गत गोटी चालिरहेकोमा नेपालसित समेत चीन सशङ्कित छ । त्यसैले भर्खरै नेपालका प्रधानमन्त्री के.पी. ओलीको चीन भ्रमणमा चीन आफ्नो सीमा सुरक्षा संयन्त्रमा आश्वस्त हुन सकेन । त्यसैले चीन पारवहन तथा व्यपार पोर्टाेकलमा उदार देखिएन । नेपालको प्राथमिकताको सूचीमा रहेको यो विषयमा चीनको अनुदारता हाम्रा लागि एक प्रकारको हााक नै हो । भारतले दलाई लामा र यिनका अनुयायीहरुलाई शरण दिनु, भारतमा दलाई लामाको स्वतन्त्र तिब्बतको छाया सरकार बनिरहनु र दलाई लामाले गौतम बुद्ध भारतमा जन्मेका हुन् भन्ने अभिव्यक्ति दिनु नेपालका लागि पनि पाच्य विषय होइन ।

मानव सभ्यताको इतिहासमा ह्वाङहो नदीको गरिमा बोकेको सात हजार वर्ष अघि नै भााडाकुाडा र हतियार प्रयोगमा ल्याएको पाँच हजार सात सय वर्ष अगाडि पहिलो नदीमा पशुपालन र खेतीपाती सुरुवात गरेको, विश्वमा सर्वप्रथम कागज र प्रेसको आविष्कार गरेको चीन आजको समकालीन विश्वमा शक्ति आर्जन गर्दै गरेको उदीयमान राष्ट्रका रूपमा परिचित छ ।

अन्य मुलुकको इतिहास जस्तै चीनको इतिहास पनि विजय, पराजय, उत्थान र पतनका घटना र परिघटनाहरुले भरिभराउ छ । युरोपले चामत्कारिक ढङ्गले विकास र प्रगतिको पथ समाउँदा त्यो देश अफिमको नशामा झुलेको थियो । त्यसकालमा बेलायत, अमेरिका, फ्रान्स तथा जापान चिनियाँ भूगोलमा मजाले नाचे । भरपुर आर्थिक तथा राजनीतिक शोषण गरे । द्वितीय श्रेणीको राष्ट्र पूर्वको तर्भुजा र एसियाको पश्चिमी राष्ट्रका रूपमा परिचय बनाएको यो देशमा १९१९ मा देशको राष्ट्रिय स्वाधीनतालाई लिएर मे फोर्थ आन्दोलन भएको थियो । त्यसको जगमा १९२१ मा चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना भयो । त्यस समयमा पनि चिनियाँ भूमिमा साम्राज्यवादीहरु नाच्न छोडेका थिएनन्् । १९४९ मा माआत्सेतुङको नेतृत्वमा साम्यवादी क्रान्ति भएपछि चीन भन्ने त्यो देश सामन्तवाद र साम्राज्यवादी दुष्चक्रबाट मुक्त हुँदै एउटा छोटो समयमा नै अन्तर्राष्ट्रिय राजनीतिमा एउटा महाशक्ति राष्ट्रका रूपमा अभ्युदय भयो । १९७१ मा संयुक्त राष्ट्र सङ्घमा प्रवेशसँगै विश्व मानचित्रमा अमेरिका र सोभियत सङ्घपछि तेस्रो अर्थतन्त्रको भार बोक्ने मुलुकका रूपमा विश्व राजनीतिको रङ्गमञ्चमा उक्लन सफल भएको चीनले एक्काइसौँ सताब्दीको सुरुवातसँगै आफ्ना सफलताका पुराना इतिहासका जगहरु खोज्न थालेको थियो । त्यसो त चीनको दुई हजार वर्षभन्दा पुरानो रेशम मार्गको धरातलमा चीनले एक क्षेत्र एक मार्गको अवधारणा अगाडि सारेको छ । चीनको यो अवधारणाले विश्व राजनीति तथा अन्तर्राष्ट्रिय कूटनीतिक आयाम तरङ्गित भएको छ । एकातिर यो अवस्था छ भने अर्कातिर, चीनको अवधारणालाई नेपाल, पाकिस्तान, श्रीलङ्का, वर्मा लगायतका मुलुकहरुले स्वागत र समर्थन गरिरहेको परिदृष्यमा हिन्द महासँगरसम्म चीनको पहुाच पुग्ने सम्भावना निकै तीव्र भइरहादा भारत सशङ्कित छ । सिङ्गो दक्षिण एसियाको भाले जस्तो भएको विश्व साम्राज्यवादको जुनियर पार्टनर भएको विस्तावादी भारत चीनको एक क्षेत्र एक मार्ग प्रस्तावको समर्थनमा छैन र भारतले भर्खरै माल्दिभ्समा जाने खाद्यान्न कोटामा समेत भारी कटौती गरेको छ । माल्दिभ्समा यस्तो निर्णय गर्नुका पछाडि भारतको चिन्ता भनेको बितेका पछिल्ला वर्षहरुमा चीन माल्दिभ्समा बढ्दै गएको कूटनीतिक समझदारी, चिनियाँ लगानी, व्यापार विस्तार हो भन्ने तथ्य छर्लङ्ग छ । भारत दक्षिण एसियामा पाकिस्तानसित शत्रुतापूर्ण अन्तरविरोधमा खेलिरहेको छ । बङ्गलादेशसित पानी बााडफााड लगायतका प्रश्नमा विवाद हुादा सम्बन्घ सुमधुर छैन । श्रीलङ्कालाई भारतले पटक पटक कूटनीतिक र राजनीतिक मामिलाहरुमा उचाल्ने र पछार्ने नीति अख्तियार गर्दै आएको छ । एउटा भुटानलाई आफ्नो अम्ब्रेलामा तानेर मात्र सम्बन्ध राम्रो भएको देखिन्छ । भुटानबाट भारतले पर्याप्त रूपमा आफ्ना विस्तारवादी उद्देश्यहरु पुरा गरिरहेको छ ।

यतिबेला एक क्षेत्र एक मार्गको अवधारणा दक्षिण एसियाको अभिन्न अङ्ग बनेको छ । यसलाई सफल पार्ने प्रश्नमा पाकिस्तानले यो सम्बन्धलाई कूटनीतिक सम्बन्धभन्दा माथिको सम्बन्ध भनेर स्वागत गरिरहेको छ र उसले आफ्नो भूभभगबाट हिन्द महासँगर जोड्ने कोरिडोर प्रदान गरिरहेको छ । चीनका प्रधानमन्त्री ली खछ्याङको पहिलो भारत भ्रमणमा पेश भएको बङ्गलादेश चीन भारत म्यानमार आर्थिक करिडोर र पाकिस्तान चीन आर्थिक करिडोर दक्षिण एसियाली अवधारणाको महत्त्वपूर्ण भाग हो । यसबाट भारत पनि चीनको एक क्षेत्र एक मार्गको अवधारणाबाट अलग हुन नसकेकै देखिन्छ । आजको विश्व स्वनिर्भर, परनिर्भर होइन, अन्तरनिर्भरको युगमा बााचेर मात्र प्रगति गर्न सकिने युग हो । भारतले आफूलाई दक्षिण एसियाको पिलर राष्ट्रका रूपमा विश्व राजनीतिमा परिचय प्रदर्शन गर्ने र भारत पनि विश्वको महाशक्ति बन्ने राष्ट्रहरुको लाममा उभिन प्रयत्नरत मुलुक हुनाले चीनका प्राय: रणनीतिको समर्थन नगरेर एकछिन जुागा मुसार्नु त्यति अस्वाभाविक होइन । हिन्द महासँगरको मोतीका रूपमा परिचित श्रीलङ्का आज चीनको महत्त्वपूर्ण साझेदार राष्ट्र बनेको छ । एक्काइसौँ सताब्दीको सामुद्रिक रेशम मार्ग निर्माण गर्न चीन र श्रीलङ्काको संयुक्त प्रयासले दुबै क्षेत्रको विकाशका लागि ठुलो मौका दिएको पनि देखिन्छ । हिन्द महासँगरको जलदिपका रूपमा रहेको श्रीलङ्कासितको यो सम्बन्धले चीनलाई दक्षिण एसिया, अफ्रिका र युरोपसँगको आर्थिक सम्बन्धलाई मजबुत बनाउन महत्त्वपूर्ण योग पुर्‍याउने देखिन्छ । यसरी दक्षिण एसियाका राष्ट्रहरुलाई पनि भारतनिर्भर नभएर चीनसँग सामिप्यता गाास्दै आफ्नो हातहरु युरोएसियाका रूपमा फैलाउँदा नै परनिर्भरबाट अन्तरनिर्भरमा जान सहज देखिन्छ ।

विशुद्ध विकासवादी सिद्धान्तको आलोकबाट हेर्दा चीनको एक क्षेत्र एक मार्गको अवधारणाले दक्षिण एसियामा मात्र होइन, विश्वमै सकारात्मक योग पुर्‍याउने देखिन्छ । यो एकल ध्रुवीय अमेरिका नेतृत्वको स्थानमा बहुध्रुव वा एक्काइसौँ शताब्दीको एसियायी ध्रुवको पूर्व सङ्केतका रूपमा पनि अथ्र्याउन थालिएको छ । तर यसभित्रको लगानी सम्झौता उत्पादन, विश्व बजार, सामाजिक राजनीतिक चिन्तन र आर्थिक पक्षका विषयहरुले कस्तो नीति अघि सार्छन् ? त्यसबाट उत्पन्न प्रतिक्रियाले भोलि बिहान कस्तो सामाजिक मनोविज्ञान तयार पार्छ भन्ने प्रश्न प्रधान प्रश्न हो । सोभियत रुसले १९५६ पछि सामाजिक साम्राज्यवादी रूपधारण गरेर पूर्वी युरोपलाई आफ्नो पकेट एरिया जस्तो बनाएर शोषण गरेको थियो, जसको प्रतिरोध अत्यन्त निर्मम भयो । सामाजिक साम्राज्यवाद भनेको समाजवादको आवरणमा साम्राज्यवादी व्यवहार हो । रुसको त्यस्तो व्यवहारको परिणाम साम्यवादी विश्व व्यवस्थामाथि नै विश्वव्यापी रूपमा नकारात्मक भाव पैदा भयो । सोभियत सामाजिक साम्राज्यवादले आफ्नो अनुवर्ती देशहरुलाई मुक्का हानेर बनाएको त्यो घाउ जति इमानपूर्वक प्रस्तुत भए पनि विश्वका सच्चा माक्र्सवादी लेनिनवादीहरुले आजसम्म पुर्न सकेका छैनन् । १९७८ पछिको चीनको गतिविधिलाई दक्षिण एसियाका कतिपय वामपन्थी शक्ति तथा बौद्धिक व्यक्तित्वहरुले सामाजिक साम्राज्यवादका रूपमा परिभाषा गरेका छन् । किनभने चीनले पनि समाजवादको दोसल्ला ओढेकै छ । सैद्धान्तिक राजनीतिक हिसाबले दक्षिण एसियाका वामपन्थी पार्टी तथा बौद्धिक व्यक्तित्वहरुले गरेको यो परिभाषालाई पनि नजरअन्दाज गरेर अगाडि बढ्न सकिन्न । किनभने यो परिभाषा निश्चय नै विचारणीय छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here