विद्या भण्डारी पुनः राष्ट्रपतिमा निवार्चित

0
436
काठमाडौं । नेपालको आधुनिक इतिहासमा पहिलो महिला राष्ट्रप्रमुख मानिने विद्यादेवी भण्डारी दोश्रो पटक राष्ट्रपतिमा निर्वाचित भएकि छिन् । वाम गठबन्धनबाट उम्मेदवार बनेकी भण्डारीलाई राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपालले पनि सघाएको कम्युनिष्ट पृष्ठभूमिकी भण्डारी नेपालको दोस्रो राष्ट्रपतिका रूपमा २०७२ साल कार्तिक ११ गते निर्वाचित भएकी थिइन् । भण्डारी दोस्रो कार्यकालका लागि २८ महिना पछि पुनः नेपालको राष्ट्रपतिमा निर्वाचित भएकि हुन् । अब उनको नयाँ कार्यकाल पाँच वर्षको हुनेछ ।
निर्वाचन आयोगले संघीय संसद्का एक जना सांसदले दिएको मत ७९ मत बराबर कायम गरेको थियो भने प्रदेशसभाका सदस्यले दिएको मत ४८ मत बराबर कायम गरेको थियो ।
संघीय संसद् र प्रदेशसभाका गरी कुल ८८० जना सांसद मतदाता रहने संवैधानिक व्यवस्था रहेको छ । प्रदेशसभाका १३ जना र संघीय संसद्का पाँच जना सांसद मतदानमा सहभागी भएनन् । मतदानमा ८६२ जना मात्र सहभागी भए । तीमध्ये संघीय संसद्का तीन सदस्य र प्रदेशसभाका पाँच सदस्यको मत बदर भएको निर्वाचन आयोगले बताएको छ ।
कायम गरिएको मतभारअनुसार भण्डारीको पक्षमा ३९,२९५ मत र उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी कुमारी लक्ष्मी राईका पक्षमा ११,७३० मत परेको निर्वाचन आयोगले बताएको छ ।
राष्ट्रिय सभामा मनोनीत गरेका तीन जना सांसद युवराज खतिवडा, रामनारायण बिडारी र विमला राई पौडेलले आफ्नो नाम मतदाता सूचीमा समाविष्ट हुन नपाएकाले मतदान गर्न पाएनन् । तर कैलालीबाट प्रतिनिधिसभामा निर्वाचित रेशम चौधरी मतदाता नामावलीमा समाविष्ट भएपनि प्रहरी हिरासतमा भएकाले मतदानमा सहभागी हुन पाएनन् । त्यस्तै मनाङबाट निर्वाचित प्रदेशसभा सदस्य राजीव गुरुङ फौजदारी मुद्दामा दोषी पाइएको हुनाले मतदानका लागि अयोग्य ठहरिए ।

जन्म र पृष्ठभूमि :

वि.सं. २०१८ असार ५ गते भोजपुरको मानेभन्ज्याङमा जन्मिएकी भण्डारीले २०३५ सालमा नेपाल कम्युनिस्ट पार्टी (माले) को स्थापनालगत्तै त्यस पार्टीको युथ लिगको कार्यकर्ताको रूपमा सङ्गठित राजनीतिक यात्रा थालेकी थिइन् ।
पति मदन भण्डारीको २०५० साल जेठ ३ गते भएको रहस्यमय सडक दुर्घटनामा निधन भएपछि गरिएको उपनिर्वाचनमा नेपाली कांग्रेसका नेता एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हराउँदै भण्डारी सांसद् निर्वाचित भएकी थिइन् ।
नेकपा एमालेको उपाध्यक्ष समेत भइसकेकी भण्डारीले वातावरण तथा जनसंख्या एवं रक्षामन्त्रीको जिम्मेवारी समेत सम्हालेकी थिइन् ।
अढाई वर्षअघि संघीय गणतन्त्र नेपालको संविधान जारी भएपछि भण्डारी एमालेको समर्थनमा देशको सर्वोच्च पदमा निवार्चित भएकी थिइन् ।

प्रतिस्पर्धाः

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र कांग्रेसकी पूर्वसांसद कुमारी लक्ष्मी राई चुनावी मैदानमा थिए । वाम गठबन्धनको साझा उम्मेदवार रहेकी भण्डारीलाई राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपालले पनि सघाउने निर्णय गरेका हुन् ।

अशन्तुष्टिः

राष्ट्रपति चुनावका दौरानमा कांग्रेस सांसद गगन थापाले भने सार्वभौम मतदाताको अनुभव गर्न नपाएको बताएका छन् । ‘यसअघिका चुनावमा मत माग्दै आउनुहुन्थ्यो । हात जोड्दै मत मागेको देख्दा मतदाताको सार्वभौम अधिकार प्रयोग गर्न लागेको जस्तो लाग्थ्यो’ मतदानपछि मिडियाहरु समक्ष थापाले भने ‘राष्ट्रपति भएका हुनाले हामी जनताका प्रतिनिधिका बीचमा आउन नहुने अवस्था छ । त्यसैले राष्ट्रपति भन्दा पनि राजसंस्थाको निरन्तरताको अभ्यास गर्न खोजेको भन्ने लाग्यो ।’
सांसद थापाले भने, ‘राष्ट्रपतिले कताकता राजाले छाडेको जुत्तामा खुट्टा हालेर ठाउँ भर्न चाहेको जस्तो पाएका छौं । यो बाट आफूलाई बाहिर निकाल्न सक्नुपर्छ ।’ राष्ट्रियसभा सदस्यको मनोनयनमा राष्ट्रपति भण्डारीले दलगत आस्थाका आधारमा व्यवहार गरेको देखिएको थापा बताए ।

भारतको अपेक्षाः

भण्डारी निर्वाचित सँगसँगै भारतका विभिन्न पत्रपत्रिकाहरुले भारतले सुकुन पाउने बताएका छन् । भण्डारीको कारणले नै नेपाल–भारत सम्बन्ध एक नयाँ गति पाएको समेत बताएका छन् । सन २०१७ मा भण्डारीले भारत यात्राका सन्दर्भमा दुई देश बीच भएका पूराना सम्बन्धलाई अझै मजबुत बनाउने विषयलाई समेत प्रकाशमा ल्याएका छन् । अब विद्यादेबी भण्डारीको दोश्रो कार्यकालमा भारत र नेपालको द्विपक्षीय सम्बन्ध कति मजबुत हुन्छ हेर्न बाँकि रहेको भन्दै ठूलो अपेक्षा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here