यौनकर्मीहरुलाई लाइसेन्स दिएर कर असुली गरि समृद्ध देश बन्दैन मुख्यमन्त्री ज्यू : थापा

0
1412

बागलुङ । राष्ट्रिय जनमोर्चा काठेखाला गाउँपालिकाको प्रथम गाउँ सम्मेलन २०७५ असोज १२ गते श्री धारा मा.बि. तंग्राममा राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद तथा प्रदेश मामिला सभापति माननीय कृष्ण थापाले दिप प्रज्वलन गरी उदघाटन गर्नु भयो ।

“संघीयताका कारण अनावश्यक कर बृद्धि भएको हो । अब यसलाई नेपाली जनताले थाम्न सक्दैनन् । संघीयता खारेजीको बिकल्प छैन ।” उदघाटन मन्तब्य राख्दै माननीय थापाले भन्नु भयो । चाडपर्वका बेला सरकारले यातायात भाडा बृद्धि गर्ने सहमति गर्नु निन्दनीय कार्य भएको समेत बताउनु भयो ।

“विश्वका कुनै पनि देशहरु रेडलाइट एरिया घोषणा गरी यौनकर्मीलाई लाइसेन्स दिएर कर असुली गरी समृद्ध देश बनेका होइनन् । यसले समाजमा झन बिकृति बढाउन सहयोग पुराउने छ ।” गण्डकी प्रदेशका मुख्य मन्त्रीको भनाईलाई आक्रोश व्यक्त गर्दै थापाले अगाडि भन्नु भयो– “यस्ता बिकृतिहरुलाई राज्यले नियन्त्रण गर्नु पर्छ ।”

बिशिष्ट अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङगाना, बिशिष्ट अतिथि राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला अध्यक्ष अमर बहादुर थापा, अतिथि अखिल नेपाल युवक संघका पुर्व केन्द्रीय अध्यक्ष तथा सल्लाहकार तिलक थापा, अखिल नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष मित्रदत्त ढकाल लगायतले सम्मेलन सफलताको शुभकामना मन्तव्य दिनुभएको थियो ।

राष्ट्रिय जनमोर्चा काठेखाला गाउँपालिका अध्यक्ष ओम बहादुर पुनको अध्यक्षता, सचिव टिकासंगम बि.क.को सञ्चालन र उपाध्यक्ष पुर्ण बहादुर थापाको स्वागत मन्तव्यबाट अगाडी बढेको कार्यक्रममा रक्तिम सांस्कृतिक परिवारका कलाकारको प्रस्तुति साथै पञ्चेबाजाका टोलीको समेत उपस्थिति रहेको थियो ।

सम्मेलनले लक्ष्मण पुनको अध्यक्षतामा ११ सदस्यीय समिति र ४ सल्लाहकार चयन गरेको छ । जसमाः उपाध्यक्ष– पुर्ण बहादुर थापा, सचिव– टिका संगम बि.क., सहसचिव– उमेश थापा र कोषाध्यक्ष– बिष्णु कंडेल रहेका छन् । त्यस्तै सदस्यहरुमाः थमन पुन, सिता किसान, चित्रबहादुर कार्की, रामबहादुर पुन, प्रशुराम कंडेल र भिमा कुमारी पुन रहेका छन् । सम्मेलनले ओम बहादुर पुन, पृथ्वीराज कडेल, थिर बहादुर राना र भद्री किसानलाई सल्लाहकार चयन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here