यार्चा विज्ञहरु भन्छन्, ‘यार्चाले शक्ति बढाउँछ’

0
35

अतुल मिश्र

काठमाडौँ — जडीबुटी यार्चा समग्र स्वास्थ्यका लागि अत्यधिक उपयोगी रहेको विज्ञहरूले बताएका छन् । ‘हिमालयन भियाग्रा’ का रूपमा चिनिने यसलाई शक्तिबर्द्धक औषधिका रूपमा उपयोग गरिएदै आएको छ ।

कीरा भए पनि आयुर्वेदिक जडीबुटीको श्रेणीमा राखिएको यसको वैज्ञानिक नाम ‘कोर्डिसेप्स साइनेसिस’ हो । विज्ञहरूका अनुसार यसमा एन्टिब्याक्टेरियल गुण हुन्छ र यसले फोक्सो बलियो बनाउने, मिर्गौला जोगाउने, ब्लिडिङ रोक्नेलगायत काम गर्छ । ‘यसले कुनै साइड इफेक्ट गर्दैन,’ डा. ऋषिराम कोइरालाले भने, ‘सम्पूर्ण शरीरलाई ऊर्जा दिन्छ ।’

‘यार्चामा थकान घटाउने गुण छ । खेलकुद, व्यायामपछि थकाइ कम गर्न र पुन: शक्ति प्राप्त गर्न यार्चा उपयोगी छ’, स्वास्थ्य मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले भने, ‘यौन शक्तिबर्द्धकका रूपमा बढी प्रयोग भए पनि यो एन्टी अक्सिडेन्ट, समग्र शक्तिबर्द्धक, रोग प्रतिरोधक क्षमता बढाउने जडीबुटी हो ।’

सिंहदरबार वैद्यखानाले बनाएको ‘स्पेसल च्यवनप्रास’ मा विभिन्न आयुर्वेदक जडीबुटीसँगै यार्चाको प्रयोग हुन्छ । ‘रोग प्रतिरोधक क्षमता बढाउन यार्चा मिसिएको औषधि दिइन्छ, उपयुक्त मात्रा र गुणस्तरयुक्त यार्चा उपयोग गरे कुनै साइड इफेक्ट हुँदैन,’ उपाध्यायले भने । उनका अनुसार शरीरको एजिङ प्रोसेस (बूढो हुने प्रक्रिया) लाई समेत यसले मत्थर पारिदिन्छ ।

शारीरिक शक्ति वृद्घिका लागि परापूर्वदेखि यार्चा उपयोग हुँदै आएको छ । एक दिनमा सामान्य स्वस्थ व्यक्तिले एक–दुईवटा वा सानो आकारको भए ४ वटासम्म मात्र उपयोग गर्नु उपयुक्त हुने कोइरालाले बताए । उनका अनुसार यार्चाको धूलो बनाई तीन गुणा बढी घिउमा मिलाएर दुई सातासम्म घाममा राखी १–१ चिया चम्चा सेवन गर्नु समग्र स्वास्थ्यका लागि लाभदायक हुन्छ । हिमाली क्षेत्र तिब्बतमा यार्चालाई वाइन र सुपर अल्कोहलमा एक वर्ष राखी शरीर न्यानो बनाउन दिनहुँ १० देखि २० मिलिलिटरसम्म खाने चलन रहेको उनले बताए ।

यो ढुसी (फंगस) थिटारोडस प्रजातिको कीराको लार्भा हो, जो पूर्ण परजीवी हो । डा. प्रमोदकुमार झाका अनुसार शीतयामको प्रारम्भमा यो लार्भा डायपाज अवस्थामा माटोमुनि प्रवेश गर्छ, संक्रमणका कारण मर्छ । गर्मी सुरु हुँदै गर्दा ढुसीको ‘फुटिङ बडी’ लार्भाको माथिल्लो भागबाट बाहिर निस्किन्छ । यसले गर्दा यसलाई कीरा–घाँससमेत भनिन्छ । यो समुद्री सतहभन्दा ३ हजार २ सयदेखि ४ हजार ८ सय मिटर उचाइको हिमाली क्षेत्रमा पाइन्छ ।
कान्तिपूरबाट साभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here