म संघीयताविरोधी होइन : केसी

0
778

एेनाअगाडि चित्रबहादुर केसी 

मलाई संघीयता विरोधी भनेर ज्यान मार्ने धम्की पनि आयो । खासमा म संघीयताविरोधी होइन । विश्वका कतिपय देश संघीयताकै कारण विकसित र बलियासमेत भएका छन् । तर, म नेपालको सन्दर्भमा मात्रै संघीयताको विरोधी हुँ । हाम्रो देशमा संघीयता धान्न सकिन्न । बजेटले पनि धान्दैन ।

स्थिर छु
मेरो स्वभाव मलाई स्थिरजस्तै लाग्छ । मसँगै पार्टीमा बसेका मान्छे धेरैतिर चहारे । मैले भने चहारिनँ । सुरुमा नेपाल कम्युनिस्ट पार्टीमा सामेल भएँ । चौथो महाधिवेशनदेखि मसाल भयो । त्यसयता त्यसै पार्टीमा निरन्तर छु ।

रिस उठ्यो कि बोल्दिनँ
संसारमा रिस नउठ्ने मानिस त को नै हुन्छ र ! यो मानवीय स्वभावै हो । म पनि प्रसंग र विषय हेरेर रिसाउँछु । परिवारभित्र पनि केही कुरा चित्त बुझेन भने रिसाउँछु । मलाई रिस उठ्यो भने बोल्दिनँ । त्यसैले, म कम बोलेँ भने श्रीमती आएर ‘के कुरामा रिस उठ्यो ?’ भनेर सोध्ने गर्छिन् । उनले त्यसो भनेपछि पो म त रिसाएँछु है भन्ने कुरा थाहा हुन्छ ।

घमन्डी छु भन्ने लाग्दैन
म घमन्डी छु भन्ने पटक्कै लाग्दैन । मैले कतै घमन्ड प्रकट गरेको पनि थाहा छैन । यदि, भए अरूलाई नै जानकारी होला । घमन्डी छु भन्ने अरूको मुखबाट सुन्नुपरेको छैन ।

केहीको नजरमा छुचो हुँला
भूमिगत जीवनमा ज्यान बचाउन भए पनि झुट बोल्न अनिवार्य थियो । झुटो नबोलेको भए सायद ज्यान नै जान्थ्यो होला । त्यसैले, ऊवेला प्रशस्तै झुट बोलियो । त्यसयता निजी जीवनमा झुटो बोलेको छैन । कुनै व्यक्तिगत लाभका लागि झुट बोल्न मन लाग्दैन । बरु, म राजनीतिमा अरूले झुट बोलेको कुरा बाहिर ल्याइदिन्छु । चित्त नबुझेका कुरा बाहिर ल्याउँछु । नेतृत्वले गलत गरे आलोचना गर्छु । यसो हुँदा केहीको नजरमा छुचो ठहरिएको हुन सक्छु । मनमा लागेको कुरा बोल्नलाई म हिच्किचाउँदिनँ । तर, कसैलाई पनि व्यक्तिगत रूपमा होच्याएर भने बोल्दिनँ ।

छक्कापन्जा जानिएन
मेरो पारिवारिक स्थिति आम जनताभन्दा फरक छैन । आम जनताकोजस्तो जीवनशैली छ, मेरो पनि त्यस्तै नै छ । भाडामा बस्छु । सार्वजनिक सवारीसाधनमा यात्रा गर्छु । सात्विक जीवन जिउन नसक्नेले जनताको सेवा गर्न सक्दैन भन्ने मेरो मान्यता छ । मैले राजनीतिक र व्यक्तिगत जीवनमा कहिल्यै पनि भ्रष्टाचार, बद्मासी, छक्कापन्जा, षड्यन्त्रजस्ता कुरा जानिनँ । अर्को कोणबाट हेर्दा, म पनि त मानिस हुँ । मलाई पनि त अलि लक्जरियस जीवन जिउने मन त छ नि । तर, भड्किलो जीवन जिउनलाई मेरो आम्दानीको स्रोत पनि पर्याप्त छैन । सांसद हुँदा पनि महिनाको २५ हजार रुपैयाँले जीवन चलाउँथेँ । अरू पार्टीलाई दिनुपथ्र्यो । हामी आम नेपालीको आम्दानीको स्रोत हेर्दा लाग्छ, हामी त्यस्तो जीवन जिउने अवस्थामा छैनौँ ।

किनेरै सुट लगाएको छैन
म व्यक्तिगत र सार्वजनिक जीवनमा पनि एकदमै मितव्ययी छु । ठिक्क खर्च गर्छु, अरूको देखासिकी गर्दिनँ । म सुट त लगाउँछु, तर आफैँ किनेर लगाएको छैन । अरूले किनेर उपहार दिएका हुन्छन् । म प्रायः सामान्य पोसाकमै हुन्छु ।

थकाली साथीले जनै चुँडाइदिए
पहिले जनै संस्कृतिमा आस्था थियो । ०१४ सालदेखि जनै लगाउन छाडेँ । बालाजुमा नुहाउन जाँदा एकजना थकाली साथीले चुँडाइदिए । त्यसपछि आस्था मर्‍यो । आम जनताले मान्ने संस्कृति मान्छु । मलाई धर्म अचेतन अवस्थामा मान्छेले गरेको कल्पना मात्र हो भन्ने लाग्छ । धर्म मान्दिनँ, तर म त्यसलाई घृणा भने गर्दिनँ । म धर्मनिरपेक्षताको पक्षपाती हुँ ।

विपक्षीसँग पनि मित्रवत् सम्बन्ध छ
सिद्धान्तमा मतभेत भएका साथीहरूसँग पनि व्यक्तिगत रूपमा मेरो मित्रवत् सम्बन्ध हुन्छ । म सबैसँग सजिलै घुलमिल हुन्छु । अरू पार्टीका नेताहरूको चर्को आलोचना गर्छु । उनीहरूको जति नै उछितो काढे पनि भेट्दा हाँस्ने गर्छन् ।

बाबुरामले मलाई ‘नम्बर वान’ उखाने भने
मैले ०३६ सालदेखि नै भाषण गर्न थालेको हुँ । म भाषणमा प्रायः उखान–टुक्का हाल्छु । उखान–टुक्काका दुईवटा महत्व हुन्छन् । एउटा– श्रोतालाई आकर्षण (सुन्न मज्जा), अर्को कुरा बुझाउन र पुष्टि गर्न सजिलो । प्रधानमन्त्री केपी ओली र डा. बाबुराम भट्टराई पनि उखान–टुक्का हान्नेमा पर्छन् । बाबुरामले त मलाई एकपटक उखान–टुक्का हान्नमा नम्बर वानको पदवी दिए । कतिपयले अरूको खिसीटिउरी गर्नै उखान–टुक्का हान्छ भनेर पनि बुझ्दा रहेछन् । तर, समग्रमा भन्दा उखान–टुक्काले समाजमा राम्रो प्रभाव पारेको महसुस गरेको छु । एकपटक लिखित भाषण गरेको सबै निराश भए । उखान–टुक्काविनाको भाषण श्रोताले नरुचाएको पाएको छु । बोल्ने वेला कुनै कुरा पनि नोट गर्ने मेरो बानी छैन । यो मैले भन्छु भनेर आएको होइन, उखान–टुक्का आफसेआफ आउँछ । मैले संसद्मा उखान–टुक्काभन्दा जो पात्र हुन्छ ऊ पनि हास्ने गरेको पाएको छु ।

मन्त्री हुँदा प्रतिपक्षीजस्तो थिएँ
म पहिलोपटक संविधान निर्माणपछि बनेको केपी ओली सरकारमा गएँ । उपप्रधानसँगै सहकारी तथा गरिबी निवारणमन्त्री भएँ । मन्त्री हुँदा पनि म प्रतिपक्षीजस्तै भएँ । आफ्ना सिद्धान्त र मान्यतालाई छोडिनँ । संघीयताको विरोध गरिरहेँ । त्यस्तै, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र बनाउने प्रस्तावको विरोध गरेँ । सहकारी ऐनका विषयमा एमालेसँग मतभेत रह्यो । संंविधान जारी गरेका कारण भारतले नाकाबन्दी लगाएको थियो । यस्तो वेलामा सबै एकजुट हुनुपर्छ भन्ने हेतुले सरकारमा गएको हुँ । पदलोलुप भएर होइन । सरकारमा गए पनि देश र पार्टीलाई अहित हुने कुनै पनि काम गरिनँ ।

म संघीयताविरोधी होइन
मलाई संघीयताविरोधी भनेर ज्यान मार्ने धम्की पनि आयो । खासमा म संघीयताविरोधी होइन । विश्वका कतिपय देश संघीयताकै कारण विकसित र बलियासमेत भएका छन् । तर, म नेपालको सन्दर्भमा मात्रै संघीयताको विरोधी हुँ । हाम्रो देशमा संघीयता धान्न सकिन्न । बजेटले पनि धान्दैन । फेरि, धेरै विविधता भएको मुलुक संघीयतामा गएमा टुक्रिने सम्भावना हुन्छ । तसर्थ, यो विदेशीको डिजाइनमा आएको संघीयता एकदिन खारेज हुन्छ भन्ने मेरो विश्वास छ । संघीयता खारेज गरेर प्रजातान्त्रिक विकेन्द्रीकरणमा जानुपर्छ भन्ने मेरो मान्यता हो ।

माओवादीविरोधी होइन
कतिपयले मलाई सधैँ यसले माओवादीको विरोध गर्छ भन्ने गर्दा रहेछन् । म माओवादीविरोधी होइन । उनीहरूको प्रवृत्तिको विरोधी थिएँ । तर, जब प्रचण्डले संविधान बनाउने कुरामा सहमति गरे । त्यसपछि मैले उनको समर्थनमा संसद्मै बोलेँ पनि ।

भारतीय नीतिको विरोधी हुँ
मलाई कतिपयले भारतको सधैँ विरोध गर्छ भन्ने सोच्दा पनि रहेछन् । भारतीय जनता र त्यहाँको भूगोललाई म अति नै माया र सम्मान गर्छु । तर, भारतीय संस्थापन पक्षले गर्ने गरेको विस्तारवादी नीतिको म विरोध गर्छु । भारतले हामीलाई २४ घन्टामा ४८ पटक थिचोमिचो गरेको छ । यस्तो नीतिप्रति मेरो विरोध हो ।

कम अध्ययन गर्नु कमजोरी
मैले नेपाली समाजलाई पर्याप्त बौद्धिक योगदान दिन सकिनँ कि भन्ने लाग्छ । यो मेरो कमजोरी हो । म मेरा मनमा लागेका कुरा अरूलाई बोलीमार्फत खुलेर बुझाउन सक्छु । तर, कुनै किताब लेखेर लिखित रूपमै बुझाउन सकिनँ । मैले औपचारिक रूपमा बिएसम्म अध्ययन गरेको छु । यसका बाबजुद मैले अनौपचारिक अध्ययन कम गरेँ कि भन्ने भान हुन्छ ।

बाँचुन्जेल सक्रिय हुन्छु
७८ वर्षको भएँ । उमेर पनि ढल्किरहेको छ । पेट र प्रेसरको रोग छ । चाहेको ठाउँमा काममा जान नसकिने अवस्था आइसक्यो । बैँसको जस्तो त जोस मसँग छैन । तैपनि, निराश छैन । अझै केही गर्छु भन्ने आश छ । बाचुन्जेल सक्रिय रहन्छु ।

प्रस्तुति : दीपेन्द्र सापकोटा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here