मुलुकमा अशान्तिको मुख्य दोषी संघीयता हो : चित्रबहादुर केसी

0
1779

माधव रानाभाट/कपिलवस्तु । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले मुलुकमा अशान्तिको मुख्य दोषी संघीयता भएको बताउनु भएको छ । “संघीयताको खारेजी नभएसम्म मुलुकमा शान्ति स्थापना हुन सक्दैन ।” अध्यक्ष केसीले भन्नु भयो– “ठुला नेताहरुले हचुवाको भरमा मुलुकमा संघीयता लाद्दा त्यसको असर जनताले अहिले भोगिरहेका छन्, त्यसैले संघीयतालाई तुरुन्त खारेज गर्नुपर्छ ।”

पूर्व उपप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष केसीले मुलुकमा पछिल्ला समयमा देखिएका सबै समस्याको जड संघीयता नै भएको भन्दै संघीयता चाहियो भन्दै झ्याली पिट्नेहरुलाई नै अहिले संघीयता घाँडो भएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा कपिलवस्तुका जिल्ला नेता रिखिराम शर्माकी आमाको १२ औँ दिनको पुण्य तिथिमा आयोजना भएको शोक सभालाई सम्बोधन गर्दै उहाले संघीयता खारेज नभए मुलुक इथियोपिया, नाइजेरिया, र सुडानकोे हालतमा पुग्ने बताउनु भयो । केसीले छिमेकी भारतले नै तराइलाई अलग गर्न सक्नेतर्फ सचेत गराउनु भयो ।

“आर्थिक हिसाबले नै संघीयता धरापमा परिसक्यो ”
“प्रदेश सरकारको कामै छैन ”
“मुलुकको निकास संघीयता नभएर प्रजातान्त्रिक विकेन्द्रियता नै हो ।”

“कर्मचारी प्रदेश र स्थानीय तहमा झर्न नमान्ने प्रवृत्तिले पनि संघीयता व्यावहारिक छैन ।” केसीले अगाडि भन्नु भयो– “विना अध्ययन विदेशी दलालको प्रलोभनमा चोरबाटोबाट नेपालमा संघीयता घुसाइएको हो ।”

“प्रदेश सरकारको कामै छैन, प्रदेशका नेता र कर्मचारीमा हुने खर्च स्थानीय नगरपालिका र गाउँपालिकामा झारेर तिनलाई बलियो बनाउनु पर्छ ।” नेता केसीले भन्नु भयो– “मुलुकको निकास संघीयता नभएर प्रजातान्त्रिक विकेन्द्रियता नै हो ।”

जनतालाई जथाभावि कर थोपरेर संघीयता कार्यान्वयन हुन नसक्ने समेत केसीले दावी गर्नु भयो । “आर्थिक हिसाबले नै संघीयता धरापमा परिसक्यो ।” केसीले करबारे अगाडि भन्नु भयो– “अनावश्यक रुपमा जनताको ढाडमा करको भारी बोकाउँदा त्यसले झन् समस्या निम्त्याउँछ ।”

मुलुकमा पछिल्ला समयमा देखापरेका गतिविधले सरकार असफल बनाउनको लागि ठुलो षडयन्त्र भइरहेको उहाँले बताउनुभयो । वर्तमान सरकारलाई असफल बनाउनको लागि देशी विदेशी शक्ति केन्द्रले दाउ खेलेको समेत केसीले बताउनु भयो । नेता केसीले सरकार सचेत रहनु पर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य दोय गिरीधारीलाल न्यौपाने, विमला घिमिरे, नेकपा कपिलवस्तु संयोजक झविलाल पोख्रेल, नेकपा प्रदेश कमिटीका कार्यलय सचिव बलराम अधिकारी लगायतले गोमा पाख्रेलले वामपन्थी आन्दोलनमा पुर्याउनु भएको योगदानको चर्चा गर्नुभयो ।

पोख्रेलकी कान्छी बुहारी मेनका शर्माको अध्यक्षतामा सम्पन्न शोक सभामा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दधिराम आचार्य लगायतले मन्तव्य दिनुभएको थियो ।

अक्षयकोष स्थापना :

माता गोमा पाख्रेलको सम्झनामा राष्ट्रिय जनमोर्चा कपिलवस्तुका नेता रिखीराम शर्माले १ लाख २७ हजार रुपैयाँ बराबरको अक्षय कोषको घोषणा गर्नुभएको छ । गत असोज २४ गते दिवंगत हुनुभएकी माता गोमा पोख्रेलको स्मृतिमा सम्पन्न १२ औँ दिनको पुण्य तिथीमा आयोजित शोक सभामा शर्माले अक्षय कोष स्थापनाको घोषणा गर्नुभएको हो ।

नेपाली संस्कार अनुसार आफ्ना माता–पिताको दुःखमा किरया गर्नु भएन । शर्माले आमा र बाबुको किर्तित्वलाई जीवित राख्नको लागि बाणगंगा मावि लौगाई र सूर्योदय प्रावीको लागि ५१ । ५१ हजार रुपैयाँको अक्षय कोषको घोषणा गर्नु भएको हो । समाजका कोही पनि व्यक्ति आर्थिक अभावमा शिक्षाको अधिकारबाट वञ्चित नहोऊन् भनेर आफूले सो सहयोग गरेको बताउनु भयो । त्यस्तै शर्माले ज्येष्ठ नागरिक समाज कपिलवस्तुको लागि पनि २५ हजार रुपैयाँ बराबरको अक्षय कोषको स्थापना गर्नु भएको छ ।

शोक सभामा बाणगंगा उच्च माविका प्राचार्य कुलराज पौडेल, सूर्योदय प्रावीका प्रधानाध्यापक धर्मराज भण्डारी र राष्ट्रिय ज्येष्ठ नागरिक समाज कपिलवस्तुका अध्यक्ष चन्द्रकान्त आचार्यले पनि मन्तव्य दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here