दोहा–कतार, २० डिसेम्बर । नेपाल मगर संघ, शाखा कतारको आयोजनामा आगामी १८ जनवरी २०१९ का दिन संघका केन्द्रीय प्रथम उपाध्यक्ष अभिमत पुन मगरको संयोजकत्वमा समाल पब्लिक गार्डेनमा माघे संक्रान्ति २०१९ लाई “नेपाली कला तथा संस्कृतीलाई संरक्षण र सम्बर्द्धन गरौं, मगरहरुको प्रमुख राष्ट्रिय चाड माघे संक्रान्ति २०१९ लाई भब्यताका साथ सफल पारौं ।” भन्ने नाराका साथ सम्पन्न गरिने भएको छ । “माघेसंक्रान्ति—२०१९ को सु अवसरमा बनभोज तथा बिबिध सांस्कृतिक कार्यक्रम २०७५” आयोजना गरी बृहत रुपमा सम्पन्न गरिने संघले जनाएको छ ।
सो कार्यक्रममा नेपालवाट अतिथि कलाकारहरु नेपाल मगर साँस्कृतिक संघ, नेपालका सचिव चर्चित लोकदोहोरी गायक तथा संगितकार एवं मोडल डोलराज बाह्रघरे मगर र लोकदोहोरी गायिका रञ्जिता थापा मगरको उपस्थिति रहने छ । कतारमा प्रथम पटक उपस्थिति कलाकारहरुबाट बिशेष आकर्षक प्रस्तुति रहने बताइएको छ । नेपाल मगर सांस्कृतिक परिवार, कतारका कलाकारहरुबाट समेत प्रस्तुतीहरु सालैजो, कौराह, सोरठी, झ्याउरे, हुर्रा, भुम्या, टप्पा, फिल्मी गित, मारुनी लगायत अन्य विविध नेपाली तथा मगर संस्कृति झल्काउने प्रकारका सांस्कृतिक प्रस्तुतीहरु रहने जानकारी संयोजक अभिमत पुन मगरले दिएका छन् ।
त्यस्तै सो अबसरमा खेलकुद कार्यक्रम र बनभोज कार्यक्रम समेत गरिने छ । उपस्थित हुने जनमानसको मनोरञ्जनका लागि महिलाको लागि म्यूजिकल चेयर र पुरुषका लागिमा डोरी तान्ने प्रतियोगिता रहेको छ । बिगतका बर्षहरुमा झैं यस बर्ष पनि नेपालमा मगरहरुको राजा चुन्ने परम्परा रहेको र कतारमा पनि उक्त परम्परा पनि कायम रहि आएकोले मगरहरुको लागि २०१९–२०२० का निमित्त सांस्कृतिक बाङ (राजा) पनि दौड प्रतियोगिता गरेर छनौट गरिनेछ ।
कार्यक्रममा जान आउनका लागि दोहा, सनैया, अलखोर, सैलिया, सहानियाँ, अबुहमर, बक्रा, उमसाईडबाट यातायातको साथमा खाना नास्ताको ब्यवस्था गरिएको आयोजक समितिले बताएको छ । सहभागिताहरुको सहजताको लागि प्रबेश शुल्क पुरुषको लागि क.री. ५० र महिलाको लागि क.री. ३० राखिएको जानकारी संयोजक अभिमत पुन मगरले बताए ।
स्मरणरहोस् बिगतका बर्षहरुमा कतारमा रहेको नेपाली समुदाय मध्य बृहत जनमानस जमघट हुने कार्यक्रम, माघेसंक्रान्ति हो र पहिलेका बर्षहरुमा झैं यस पटक पनि बनभोज कार्यक्रममा सहभागी भई भरपूर मनोरञ्न लिई नेपाली समुदायले मनाउने चाड माघे संक्रान्तिलाई भब्य रुपमा सफल पार्नका लागि आयोजक समितिद्वारा आह्वान गरिएको छ ।