महिला सङ्घको अन्तरक्रिया सम्पन्न

0
607

बुटवल । अखिल नेपाल महिला सङ्घले २०७५ असार १५ गते बुटवलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा मन्तव्य राख्ने वक्ताहरूले महिला हिंसाका घटनाहरूले समाजमा गम्भीर रूप ल्याएको बताएका छन् ।

महिला हिंसाका घटनालाई न्यूनीकरण गर्नका लागि कानुनलाई कडाइका साथ कार्यान्वयनमा ल्याउनु पर्ने उनीहरूको जोड रहेको छ । अन्यायमा परेका महिलाहरूले अहिले पनि न्याय पाउन नसकेकाले कानुनलाई कडाइका साथ कार्यान्वयनको व्यवहारमा ल्याउनु पर्ने उनीहरूको भनाइ छ । उनीहरूले महिला हिंसाका घटनाहरू अहिले पनि बारम्बार घटिरहेकाले यस विषयमा गम्भीर बन्न राज्य पक्षलाई आग्रह गरेका छन् । विभिन्न प्रकारका घरेलु हिंसा र बोक्सीको आरोपित महिलाहरूले न्याय पाउन नसकेको गुनासो गरेका छन् ।

महिला हिंसाको विषयमा कार्यपत्र प्रस्तुत गर्दै अखिल नेपाल महिला सङ्घकी केन्द्रीय अध्यक्ष मीना पुनले जघन्य प्रकारका महिला हिंसाका घटनाहरू घट्दा पनि सरकारले प्रभावकारी रूपमा न्याय दिन नसकेको बताउनु भयो । उहाँले पछिल्ला दिनहरूमा घरपरिवारबाट महिलाले हिंसा भोग्नु परेको बताइन् । पूर्व सांसद समेत रहनु भएकी अध्यक्ष पुनले राजनीतिको आडमा महिला हिंसाका घटनाहरूलाई ढाकछोप गरेर सामाजिक अपराधीलाई संरक्षण गर्न नहुने बताउनु भयो । महिलाहरूलाई सम्पतिमा समान अधिकार भनिए पनि कार्यान्वयनमा आउन नसकेको उहाँको भनाइ थियो ।

प्रदेश सभा सांसद तारा जिसीले समाजमा रहेको अन्धविश्वास, गरिबी, अशिक्षाका कारण महिलाहरू अझै पनि पछाडि परेको बताउनु भयो । उहाँले घरेलु महिला हिंसा, बलात्कार र बोक्सीको आरोपमा अपमानित महिलाहरूले न्यायका लागि प्रहरीमा उजुर गर्न जाँदा पनि प्रहरीले उजुरी दर्ता गर्न नमानेर अपराधीलाई मुक्ति दिने काम भएको बताउनु भयो । बलात्कारमा परेका बालिकाहरूले समेत उचित न्याय पाउन नसकेको उहाँको भनाइ थियो ।

सोही कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री सुर्दशन बरालले हिंसामा परेका महिलाहरूलाई न्याय दिन र महिला हिंसाका घटनामा संलग्नलाई कारवाही गरिने बताए । उनले महलिा हिंसाका घटना घटाउनेलाई प्रदेश सरकारले कानुनको दायरामा ल्याएर नियमसङ्गत कारवाही गर्ने बताए । उत्पादनका साधनमा महिलाको अधिकार नभएकाले महिलाहरू पछाडि परेको उल्लेख गर्दै न्यायालय र प्रहरी प्रशासनमा महिलाको प्रतिनिधित्वलाई बढाउनु पर्ने बताए ।

अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी केन्द्रीय सचिव लक्ष्मी कोइरालाले उत्पीडनमा परेका महिलाहरूले अझै पनि न्याय पाउन नसकेको बताउँदै महिला हिंसाका घटनालाई निरुत्साहित नर्गदासम्म परिवर्तनको महशुस गर्न नसकिने बताउनु भयो ।

अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य सावित्रा अर्यालले देशमा गणतन्त्र आए पनि बोक्सी, छाउपडी, बहुविवाह, वालविवाह, दाइजो, चेलीबेटी बेचविखन जस्ता गलत प्रथा र परम्पराका कारण महिलाहरू पछाडि परेको बताउनु भयो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका पूर्व महासचिव सन्त बहादुर नेपाली, वामपन्थी नेता दुर्गानाथ खरेल, लक्ष्मी न्यौपाने लगायतले मन्तव्य राख्नु भएको थियो । महिला सङ्घकी केन्द्रिय उपाध्यक्ष शकुन्तला रानाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here