भोटेकोशी आयोजनाको पुनर्निर्माण सुरु

0
277

चौतारा । २०७२ सालको भूकम्प र २०७३ सालको बाढीले तहसनहस भई गत तीन वर्षदेखि बन्द रहेको ४५ मेगावाटको माथिल्लो भोटेकोशी जलविद्युत आयोजनाको पुनर्निर्माण सुरु भएको छ । पुनर्निर्माणको सम्पूर्ण कार्य सकिन अझै दुई वर्ष पर्खनु पर्ने भएको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा निजी क्षेत्रबाट सञ्चालित सो आयोजनाबाट पाँच वर्षसम्म उत्पादन बन्द हुँदा कम्पनीका अतिरिक्त राष्ट्रले नै ठुलो घाटा ब्यहोर्नु पर्ने भएको छ । २०७१ साउन १७ गतेको जुरे पहिरोले प्रसारण लाइनको टावरलाई क्षति पुुर्‍याएपछि झण्डै चार महिना आयोजनाबाट उत्पादन बन्द भई मर्मतपछि सञ्चालनमा आएको थियो । सञ्चालनमा आए लगत्तै २०७२ सालको भूकम्पले क्षति पुुर्‍याएपछि मर्मत भई रहेको आयोजनालाई २०७३ असार २१ गते तिब्बतबाट आएको भोटेकोशीको बाढीले तहसनहस पारेपछि लगानीका हिसाबले नयाँ निर्माण गर्नु सरह भएको आयोजनाका कार्यकारी निर्देशक विक्रम स्थापितले बताउनु भयो ।
चीनको सिनो हाइड्रो कम्पनीलाई सात अर्बमा पुनर्निर्माणको ठेक्का सम्झौता भएको र आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको कार्यकारी निर्देशक स्थापितले जानकारी दिए । बाह्रबिसे–तातोपानी सडक खण्ड अन्तर्गत साविक तातोपानी गाविसको १० किलो भन्ने स्थानमा बाँध बाँधेर ३.५ किमी सुरुङ मार्फत् फुलपिङकट्टीको झिर्पुमा निर्मित विद्युत गृहमा पानी खसालिएको थियो । बाढीले सुरुङ मार्ग बाहेक बाँधस्थल, विद्युत गृह, पेनस्टक पाइप, प्रसारण लाइनको केही टावर क्षेत्र र विद्युत गृहमा रहेका सम्पूर्ण उपकरणमा क्षति पुुर्‍याएकाले मर्मत तथा नयाँ निर्माण गर्न पर्ने आयोजनाले जनाएको छ ।

२०५१ सालमा अरुण तेस्रो जलविद्युत आयोजनाबाट लगानीकर्ताले हात झिकेपछि यहाँ निजी क्षेत्रबाट निर्माण कार्य सुरु भएको थियो । अमेरिकाको पान्डा इनर्जी र हार्जा कर्पोरेसनले २०५३ सालमा सुरु गरेको सो आयोजनाबाट उत्पादित विद्युतलाई अमेरिकी डलरमा खरिद गर्ने गरी विद्युत खरिद बिक्री सम्झौता भएको थियो । सुरुमा ३६ मेवाको स्वीकृति पाएको आयोजनाले सुरु भएको लामो समयपछि अमेरिकी सरकारको दबाबमा ४५ मेवाको स्वीकृति पाएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here