भालुवाङमा मृत भेटिएका शिव बहादुर रोकाको हत्या भएको आशंका

0
480
       –महेश रिजाल

प्युठान झिम्रुक गाउँपालिका—२ बाँदीकोट घर भई हाल नवलपरासी पश्चिम सुस्ता पुनर्बासस्थित बर्दघाट नगरपालिका–१ बस्ने वर्ष ४० का शिव बहादुर रोकाको २०७५ कार्तिक ७ गते बिहान दाङ भालुवाङ पुरानो बजारको दक्षिण राप्ती नदी तटबन्ध तारमा आफ्नै पाइन्टको पासो लगाई झुण्डिएको अवस्थामा भेटिएको लाश आत्महत्या नभई हत्या नै भएको हुन सक्ने देखिएको छ । मृत व्यक्तिको शरीरमा भएका घाउ चोट र त्यसको नजिकै करिब १० मिटरको दूरीमा भेटिएका विदेशी रक्सीका फुटेका बोतल र तिनमा देखिएको रगत जस्ता ज्वलन्त प्रमाणहरु हेर्दा यस्तो ठहर जोकसैले गर्न सक्दछ । स्थानीय प्रत्यक्षदर्शीका भनाइ र प्रहरीको घटनास्थलको प्रकृतिबारे उठाइएको मुचुल्काका अनुसार लाशको तल केही रगतका छिटा पनि रहेको पाइएको छ ।

मृतक शिव बहादुर रोका बर्दघाटमा अटो रिक्सा चालक व्यवसाय गर्दै आउनु भएको थियो । उहाँ मधुमेहबाट पीडित भएका कारण दिनहुँ खाली खुट्टा बिहानीको समयमा सयरमा निस्कने जानकारी परिवारका सदस्यहरुबाट थाहा लागेको छ । मृत्यु हुनु पूर्व दुई दिन पहिले कार्तिक ५ गते पनि उहाँ एकाबिहानै बिहानीको समय सयरमा निस्कनु भएको थियो । उहाँ त्यसपछि घर नफर्किएको पारिवारिक स्रोतले जानकारी गराएको छ । उहाँ बर्दघाटबाट भालुवाङसम्म झण्डै १७५ किलोमिटर दूरी पार गरी के कस्तो अवस्थामा आउनु भयो ? त्यो अहिलेसम्म पनि रहस्यमय नै भएको छ । उहाँको लाश भेटिएको राती कार्तिक ६ गते भालुवाङमा कोजाग्रत पूर्णिमाको मेला लागेको थियो । त्यहाँ हजारौँको सङ्ख्यामा मानिसहरु मेला हेर्न आएका थिए । सोही ठाउँ नजिकै झण्डै दुई सय मिटर दक्षिणमा उक्त घटनास्थल रहेको छ, जहाा रोकाको शव भेटिएको थियो । त्यहाँ इलाका प्रहरी कार्यालय भालुवाङ पनि रहेको छ । ठुलो सङ्ख्यामा प्रहरी–प्रशासन त्यही स्थानमा उपस्थिति हुादा समेत रोकाको हत्या वा आत्महत्या हुादा प्रहरी प्रशासन बेखवर रहनुले उहाँको मामिलामा थप जटिलता देखिएको छ ।

शिव बहादुर रोकाको मृत्युको करिव चार दिन पहिले पनि भालुवाङ पुरानो बजार र पुलचोकको बीचमा रहेको निर्माणाधिन बसपार्क नजिकै भालुवाङ–प्युठान सडक खण्डको भालुखोला पुलमुनि एक वृद्ध मानिसको शव भेटिएको थियो ।

झण्डै एक वर्ष पहिले भालुवाङकी एक महिला मुस्कान नेपालीलाई बलात्कार गरी पूर्व–पश्चिम राजमार्गको शितगङ्गा नगरपालिका सातमारास्थित सुपा–देउराली मन्दिरनेर विभत्स हत्या गरिएको शव फेला परेको थियो । उक्त घटनास्थलको नजिकै इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको गण भालुवाङमा चौबिसै घण्टा पहरा दिइरहेको हुन्छ । उक्त घटनामा संलग्नलाई लामो समयको अनुसन्धानपछि मात्र पक्रन प्रहरी सफल भएको थियो । यसरी सर्सर्ती हेर्दा भालुवाङ क्षेत्र विगतदेखि वर्तमानसम्म नेपालमै बढी हत्या हुने ठाउँको रुपमा बदनाम हुँदै आएको इतिहास बन्न थालेको जस्तो देखिन्छ । यसप्रति राज्य र सरोकारवाला जिम्मेवार पक्ष गम्भीर नबन्ने हो भने नागरिकले यो समस्या भोगिराख्नु पर्ने देखिन्छ ।

मृतक शिवबहादुरको शव भालुवाङको इतिहासमै पहिलो पटक हत्या वा आत्महत्या छुट्याउन सहज हुने भन्दै वेवारिसे अवस्थामै प्रहरीले काठमाडौँ महाराजगञ्जस्थित शिक्षण अस्पताल पुर्‍याएको छ । त्यहाँ पोस्टमार्टम र ल्याब परिक्षण गराई पुन: भालुवाङ ल्याई राप्ती गाउँपालिका वडा नम्बर १ का जनप्रतिनिधिको रोहवरमा राप्ती नदी बगरमा बेवारिसे अवस्थामै पुरिदिने काम भएको छ ।

यसैबीच, मृतक शिव बहादुरका भाइ चेतमान रोकाले दाजु हराएको हुलिया सहितको सूचना बर्दघाट प्रहरीमा तत्कालै दिएका थिए । साथै उनले दाजु शिव बहादुरको फोटो आफ्नो सामाजिक सञ्जाल (फेसबुक) मा राखेका थिए । सोही फोटो र मृत अवस्थाको फोटो शिव बहादुरका भालुवाङमा बस्नु हुने आफन्तले राखेको सामाजिक सञ्जाल (फेसबुक) मा रहेको फोटोलाई दाजेर हेरिएको थियो । त्यसपछि शिव बहादुरका भाइ चेतमानसँग फोन मार्फत् जानकारी गराइएपछि उक्त शव हेर्न चेतमान भालुवाङ आइपुगेका थिए । त्यसपछि मात्र सो शव आफ्नो दाजुको भएको सनाखत खुलेको थियो । इलाका प्रहरी कार्यालय भालुवाङमा उक्त शव दाजुको भएको जानकारी गराएपछि दाजुको हत्या भएको हुन सक्ने भन्दै चेतमान रोकाले प्रहरीमा जाहेरी दिएका थिए । त्यसको भोलिपल्ट मृतक शिव बहादुरका बुवा झग बहादुर रोका प्युठान बादीकोटबाट र नवलपरासीमा रहनु हुने मृतकका परिवार, गोतारे दाजुभाइ, नाताकुटुम्ब र इष्टमित्रहरु समेतको उपस्थितिमा शवलाई खाडलबाट निकाली राप्ती नदीमा दाहसंस्कार गरिएको थियो ।

मृतक शिव बहादुर रोका राष्ट्रिय जनमोर्चाका जिल्ला कमिटी पश्चिम सुस्ताका सदस्य, अखिल नेपाल युवक सङ्घका केन्द्रीय पार्षद सदस्य, राजमो बर्दघाट नगर समितिका उपाध्यक्ष रहनु भएको थियो । त्यसका साथै गत २०७४ मङ्सिर ४ गते सम्पन्न प्रदेश सभा निर्वाचनमा राजमोका तर्फबाट नवलपरासी पश्चिम सुस्ता निर्वाचन क्षेत्र नम्बर १ मा प्रदेश सभा प्रत्यक्षतर्फका उम्मेदवार समेत रहेको राजमो केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।

उहाँको पार्थिव शरीरमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले कम्युनिस्ट पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो भने राष्ट्रिय जनमोर्चा नवलपरासी पश्चिम सुस्ता कमिटिका अध्यक्ष रेम रानाले राजमोको झण्डा ओढाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो । त्यस्तै अखिल नेपाल युवक सङ्घका केन्द्रीय सदस्य एवम् दाङ जिल्ला अध्यक्ष चित्र एमसीले रोकाको पार्थिव शरीरमा सङ्घको झण्डा ओढाइ अन्तिम श्रद्धाञ्जली दिनु भएको थियो ।

दाहसंस्कार लगत्तै आयोजित श्रद्धाञ्जली सभा कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष नेपालीले शिब बहादुरको मृत्यु एक राजनितिक नेताको रूपमा भएको बताउनु भएको थियो । शिव बहादुरको हत्यालाई प्रहरी प्रशासनले आत्महत्याको रुपमा लिएको आरोप लगाउँदै नेता नेपालीले त्यो आत्महत्या नभई हत्या नै भएको ठोकुवा समेत गर्नु भएको थियो । यो हत्यालाई प्रहरीले गम्भीरतापूर्वक नलिएको बताउँदै तत्काल दोषी पत्ता लगाई कडा कार्वाही हुनु पर्ने माग समेत उहाँले गर्नु भयो । शिव बहादुरको हत्याबाट पार्टी र जनताले एक कुशल, कर्मठ तथा निडर क्रान्तिकारी युवा नेता गुमाएका बताउँदै नेपालीले सिङ्गो पार्टी र क्रान्तिका लागि ठुलो क्षति पुगेको बताउनु भयो । अब हामीले यो शोकलाई शक्तिमा बदल्दै शिव बहादुरले सिकाएर गएका मार्गदर्शनलाई आत्मसात गर्नु पर्ने नेता नेपालीले थप्नु भयो ।

श्रद्धाञ्जली सभामा राष्ट्रिय जनमोर्चा नवलपरासी जिल्ला कमिटी अध्यक्ष रेम राना, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सदस्य चित्र एमसी र अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घ दाङ जिल्ला कमिटी अध्यक्ष जगत प्रसाद पोख्रेल लगायतका वक्ताले शिव बहादुरको हत्या नै भएकाले तत्काल सत्य तथ्य पत्ता लगाई दोषी उपर कडा कार्वाहीको माग समेत गर्नु भएको थियो । श्रद्धाञ्जली सभा कार्यक्रमको सञ्चालन अखिल नेपाल युवक सङ्घका नवलपरासी जिल्ला कमिटी अध्यक्ष कुलराज गौतमले गर्नु भएको थियो ।

मृतक रोकाको तीन छोरा र एक श्रीमती छन् । उक्त घटनालाई लिएर नेपाल पत्रकार महासङ्घ दाङको आयोजनामा भालुवाङ क्षेत्रको नागरिक सुरक्षामा चुनौती र सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम समेतको आयोजना गरिएको थियो । प्रगतिशील पत्रकार सङ्घ नेपालका केन्द्रीय उपाध्यक्ष एवम् नेपाल पत्रकार महासङ्घ प्रदेश नम्बर ५ का सभासद महेश रिजालको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा पत्रकारहरु सन्तोष कुमार गुप्ता, विदुर एमसी, ओम प्रकाश गुप्ता, कमल गिरी, रितु राना, जमिर शाह, अंशु बोहरा लगायतले नागरिक सुरक्षामाथि भएको चुनौतीका बारेमा सुरक्षा निकायका प्रमुखहरुसँग प्रश्न राख्ने काम भएको थियो । अन्तरक्रिया कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक रविन्द्रराज पाण्डे, सशस्त्र प्रहरी बलगण नेपाल नम्बर २९ गण पुलचोक भालुवाङका गणपति तुल्सीराम दाहाल, अस्थायी ट्राफिक चेक पोस्ट भालुवाङ पुलचोकका प्रमुख प्रहरी नायव निरीक्षक उत्तम जिसी लगायतले दिनु भएको थियो । अन्तरक्रिया कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, वडा नम्बर १ का अध्यक्ष तारा बहादुर डिसी, राप्ती उद्योग वाणिज्य सङ्घका अध्यक्ष जगत प्रसाद पोख्रेल, भालुवाङ होटल व्यवसायी समितिका अध्यक्ष महेश बेल्वासे, नागरिक समाज देउखुरीका अध्यक्ष दामोदर भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here