भारतमा रहँने मुलतः दुईप्रकारका नेपालीहरू भनेर वर्गीकरण गरिएपनि व्यवहारमा उनीहरूको स्थितिलाई छुट्याउन गाहªो हुन्छ । त्यसका पछाडिको एउटा कारण नेपालीहरूप्रतिको भारतीय पूर्वाग्रह नै हो । नेपाली मूलका भन्दाबित्तिकै ‘उनीहरू विदेशी हुन्’; ‘उनीहरू निम्नस्तरको कामका लागि मात्र उपयुक्त हुन्छन्’ भन्नेखालको मानसिकता भारतीय ठूलावडाहरूमा पाइन्छ । खासगरी मङ्गोल मुलका नेपालीहरूसित यसप्रकारको पूर्वाग्रह देखाइन्छ । यही कारण हो कि फिल्मी कलाकारहरूले नेपालको बारेमा टिप्पणी गर्नु, फिल्ममा नेपालीहरू चैकिदारीका लागि मात्र उपयुक्त हुन्छन् भन्ने देखाइँनु, इण्डियन आइडलसमेत बनेका व्यक्तिप्रति अशोभनीय टिप्पणी गरिँनुजस्ता घटनाहरू भारतमा बारम्बार घटिरहन्छन् । यस विषयप्रति चासो राख्ने जो-कसैलाई पनि थाहा छ कि भारतीयहरूमा रहेका यसप्रकारको मानसिकता नबदलिँदासम्म नेपाली मूलका मानिसहरूमाथि आपत्तिजनक व्यवहार भैरहँनेछ । यस्तो होइन कि भारतमा विदेशी वा विदेशी मूलका सबै नागरिकहरूसित यहीप्रकारको व्यवहार गरिन्छ, यहाँ पाकिस्तानी, बङ्गलादेशी नागरिकहरू पनि रहन्छन् तर उनीहरूसित यसप्रकारको व्यवहार गरिन्न । यहाँसम्म कि तिब्बती शरणार्थीहरूसित पनि यसप्रकारको व्यवहार गरिन्न । उनीहरूलाई त भारत सरकारले विविधतः आवासको व्यवस्थासमेत गर्दछ (स्मरण गर्नुहोस्, दिल्लीमा तिब्बती रिफ्यूजी क्याप्प कलोनी निर्माण गरिएको छ, जसमा तिम्बती शरणार्थीहरू रहन्छन्) । सार्क मुलुकहरूभन्दा बाहिरका विदेशीहरूको बारेमा त कुरै नगरौँ ।
आधारभुतरुपमा नेपालीहरूप्रतिको पूर्वाग्रहकको असर अन्य क्षेत्रमा पनि परेको छ । उदाहरणका लागि सुरक्षाको सवाललाई लिन सकिन्छ । पूर्वोत्तरमा नेपालीहरूलाई भगाउँने अभियान नै चल्ने गर्दछ; सामुहिक नरसंहसार हुन्छ । उत्तराखण्डमा अहिलेसम्म पनि माओवादीको नाममा नेपालीहरूमाथि ज्यादति गरिन्छ । 2008 सालमा सम्पन्न मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको नगर सम्मेलनमा त्यहाँको प्रशासनले सुरक्षाको व्यवस्था गर्न सकेन । जम्मु-कश्मीरमा पनि नेपालीहरूको सामुहिक नरसंहार हुँने गर्दछ । हिमाचलमा पनि स्थिति यस्तैप्रकारको छ । भारतका अन्य मैदानी भागहरूमा पनि जिउ-धनको सुरक्षाको अवस्था चिन्ताजनक छ । कम्पनीमा काम गर्ने दौरानमा, आवागमनको दौरानमा नेपाली भएकै कारण उनीहरूमाथि ज्यादति गरिन्छ । खालि बोर्डरहरूमा मात्रै होइन, रेल, बसमा यात्रा गर्दा पनि नेपालीहरू असुरक्षित हुन्छन् । स्थिति यस्तो छ कि काम गर्दा होस् या यात्रा गर्दा, नेपालीहरू सशङ्कित रहँनुपर्दछ ।
भेदभाव र दमनप्रति प्रतिरोधको अवस्था:
भारतस्थित नेपालीहरूले आफूमाथि हुँने भेदभाव र दमनको प्रतिरोधमा सङ्गठित पहल गर्ने गरेका छन् । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले यस दिशामा लगातार पहलकदमी लिदै आइरहेको छ । त्यस्तैप्रकारले अन्य सङ्गठनहरूले पनि धेरै-थोरै यस दिशामा पहल गरेको पाइन्छ तर नेपालीहरूप्रतिको पूर्वाग्रही मानसिकताको छायाँमा यस कार्यमा अपेक्षित सफलता मिल्दैन । पूर्वाग्रही मानसिकताका अतिरिक्त एकातिर, भारतीय शासन प्रणालीको रवैया र अर्कोतिर, नेपालीहरूको प्रतिरक्षात्मक अवस्था कमजोर हुँनुले स्थिति चिन्ताजनक हुन पुगेको छ । यस्तो अवस्थामा भारतीय शासन प्रणालीको पूर्वाग्रही रवैयाका विरुद्ध नेपालीहरूले सामना गर्न सक्छन् कि सक्दैनन् ? त्यसको परिणाममाथि उनीहरूको जिउ-धनको सुरक्षाको सवाल निर्धारित हुन्छ । प्रष्टै छ कि यसप्रकारको सामना सङ्गठन बिना गर्नु सम्भव हुँने छैन र भएको पनि छैन । यसरी जुन नेपालीहरू सङ्गठनमा आवद्ध छन् वा चेतना तथा धन-बलद्वारा लैस छन्, उनीहरूले आफ्नो सुरक्षा गर्न सकेका छन्, अन्यको अवस्था अझै पनि चिन्ताजनक नै छ ।