बच्चैमा प्रेम, कच्चामै बिहे : जीवनभरको सास्ती

0
231

– सुजता लामा
सिन्धुली । भनिन्छ, विवाहपछि नयाँ जीवन सुरु हुन्छ । तर कमलामाई नगरपालिका २ भद्रकालीकी २० वर्षीया सुनिता तामाङको भने विवाहपछि जीवन नै सकियो । सुनिताले १९ वर्षमा अरुण तामाङसँग विवाह गरिन् । २०७३ सालमा भागी विवाह गरेकी सुनिता विहे लगत्तै गर्भवती भइन् । शिशु जन्माउन नसकेर उनको ज्यान गयो ।

शरीर परिपक्व नभई सुत्केरी हुँदा रगत धेरै बगेका कारण उनको ज्यान गएको डाक्टरको भनाइ छ । बिहे भएको १ वर्ष नहुँदै सुनिता सधैँका लागि बिदा भइन् । सुनितासँग जीवनभर खुसीका साथ जिउने सपना बुनेका अरुणको सपना पनि टुट्यो । कमलामाई नगरपालिका १४, चन्दपुरकी सरस्वती खड्कालाई भने श्रीमान्ले बीचमै साथ छोडे । नेपाल प्रहरीमा जागिरे उनका श्रीमान् परिवारको कुरा सुनेर उनीबाट टाढिए ।

श्रीमान् र घर–परिवारको साथ नपाउँदा उनलाई अहिले जीवन चलाउनै मुस्किल परेको छ । यी सबै छिटै विवाह गर्नुको परिणाम रहेको उनको बुझाइ छ । सरस्वती कक्षा ११ मा पढ्दा १८ वर्षकी थिईन् । त्यही बेला उनको मागी विवाह भएको हो । उनका एक छोरी र एक छोरा छन् । श्रीमान् घर आउन छोडे । घर–व्यवहार चलाउन र छोराछोरीको पढाइ खर्च दिनु त परै जाओस्, फोन गर्न समेत छोडेपछि उनी अहिले माइती नजिकै छुट्टै घर बनाएर बसेकी छिन् ।

आफ्नो र छोराछोरीको सम्पूर्ण जिम्मेवारी सरस्वतीकै कााधमा छ । ‘घर परिवारले कहिल्यै राम्रो गरेनन् । देख्यो कि टोकसो सुरु हुन्थ्यो । सानै भएकाले मैले पनि बुहारीको भूमिका पुरा गर्न जानिन । अनि परिवारको प्यारो हुन सकिन’ बिहेपछि श्रीमानको साथमा सुखी र सुन्दर जीवन बिताउने सपना त्यसै तुहिएपछि दु:ख लाग्ने गरेको उनले बताइन् ।

‘पढाइ पुरा गर्न पाएको भए सानोतिनो जागिर गरेर घर–व्यवहार टार्न र छोराछोरी पढाउन सहज हुने थियो’ सरस्वतीले थपिन्– ‘विवाह भएको १ वर्ष हुनै नपाई छोरी जन्मिई । अर्को वर्ष छोरा जन्मियो । छोरा छोरीलाई हुर्काउनु पर्ने बाध्यताले पढाइ पनि रोकियो ।’ सरस्वतीले अहिले माइतीको जग्गामा खेतीपाती गरेर छोराछोरी मुस्किलले पढाइरहेको बताइन् । कमलामाई नगरपालिका वडा नं. ४ देउरालीकी मनिसा लामिछाने श्रीमानले साथ छोडेपछि माइतीमै छिन् । उनी अहिले २१ वर्ष टेकिन् । मनिसाको विवाह ३ वर्ष अघि अर्थात् १७ वर्षमा भएको थियो । १० कक्षामा पढ्दा १८ वर्षका सञ्जय अधिकारीसँग भागी विवाह गरेकी मनिसाको वैवाहिक जीवन एक वर्ष पनि टिकेन । ‘बच्पनमा गरेको माया परिवर्तन हुँदो रहेछ । विवाहको छ महिना नबित्दै तसँग जिन्दगी काट्न सक्दिन । म अर्कै केटीलाई मन पराउँछु । यो घरबाट गइहाल भनेर झगडा गर्ने, पिट्ने गर्न थालेपछि घर छाडो’ मनिसाले सञ्जयसँग चााडै सम्बन्ध टुट्नुको कारण सुनाइन् ।

दुई जनाबीचको सम्बन्ध सकियो । सञ्जय स्वतन्त्र भए । तर मनिसालाई थप जिम्मेवारी आईलाग्यो । सञ्जयको चिनो (हाल ३ वर्षको छोरा) को लालनपालन गर्ने । सुत्केरी भएको २१ दिनमै घर छोडेकी मनिसाले सञ्जयलाई त्यसपछि भेट्न समेत पाएकी छैन । धेरै पटक फोन गर्दा पनि सञ्जयको फोन नउठेपछि उनी सञ्जयको घर त गइन् । सञ्जयलाई भने भेट्न सकिनन् । सासूससुराका अनुसार एक वर्षदेखि घर आएका छैनन् । साथीहरुसँग भारत गयो रे भन्ने सुनिन्छ, तर कहाा गए अत्तोपत्तो छैन । मनिसा अहिले माइतै बसेर छोरा हुर्काइरहेकी छिन् ।

‘श्रीमानसँग सम्बन्ध बिग्रेर माइती बस्दा झन् समस्या हुँदो रहेछ’ मनिसाले दुखेसो पोखिन्– ‘छरछिमेकले पनि फलानोको छोरी आफै बिहे गरेर गा’की, घर गर्न नसकेर माइत बस्छे भनेर कुरा काट्छन् । निकै चित्त दुख्छ । छिटै नै विवाह गरेकोमा धेरै पछुताउँछु । कसैलाई पनि छिटो बिहे नगर्नु भन्छु ।’ कमलामाई नगरपालिका ४, देउरालीकै सर्मिला तामाङलाई १६ वर्षकै उमेरमा घर परिवारले विवाह गरिदिए । सर्मिलाले १८ वर्षमा छोरा जन्माइन् । सानै उमेरमा आमा बन्दा उनको पाठेघर नै खस्यो ।

सुरुमा त श्रीमान् र घर परिवारले नराम्रो सोच्ने हुन् कि भन्ने डरले कसैलाई भनिनन् । झरेको पाठेघरले दिने दु:ख र त्यसलाई लुकाउन वर्ष दिनसम्म गरेको प्रयास सम्झिदा बिरक्त लाग्छ उनलाई । उनले भनिन्– ‘पछि त धेरै समस्या हुन थाल्यो । अनि श्रीमाललाई समस्या सुनाएँ । श्रीमानले नै अस्पताल लगे । अस्पतालबाट थाहा भयो कि मेरो त पाठेघर खसेको रहेछ ।’डाक्टरको सल्लाह अनुसार पाठेघर झर्न नदिनका लागि सर्मिलाको पाठेघरमा अहिले रिङ राखिएको छ । कमलामाई नगरपालिका ४ रायढीका कुमार थापा र पारू थापाले पनि सानै उमेरमा विवाह गरे । अहिले २० वर्षीय कुमार र पारू विवाह गर्दा १७ वर्षका थिए । कक्षा ११ मा पढ्दा उनीहरुले आफू खुसी विवाह गरेका हुन् । विवाहपछि दुवै जनाले पढाइ छोडे ।

कुमार अहिले ज्यामी काम गर्छन् । पारू घरमा खान बनाउने, लुगा धुने, घास काट्ने, दाउरा जाने काम गर्छिन् । पारूलाई नयाँ–नयाँ डिजाइनका लुगा लगाउन, घुम्न मन पर्छ । तर बुहारी भएपछि उनले चाहे जस्तो लगाउन, घुम्न पाएकी छैनन् । कुमार पारूलाई खुसी पार्न त खोज्छन् । तर पुर्‍याउन सक्दैनन् । कुमार पढाई नसकी विवाह गरेकोमा निकै पछुताउँछन् । विवाहपछि पारूको समेत जिम्मेवारी थपिएकाले उनले पढाइलाई निरन्तरता दिन सकेनन् । उनी भन्छन््– ‘पढाइ पुरा गरेको भए राम्रो जागिर पाउँथे । जागिर खाएर पारूका रहरहरु सजिलै पुरा गर्न सक्ने थिएँ । तर के गर्नु त्यति बेला बुद्धि बिग्रियो । अहिले पछुतो लाग्छ ।’

कुमारले ठट्यौली पारामै गीत गुन्गुनाए– ‘बिहे गरो हतारै हतारमा, फुर्सदैमा लाग्छ पछुतो ।’सानै उमेरमा विवाह गरेकोमा कुमारलाई मात्र हैन पारूलाई समेत पछुतो लागेको छ । ‘आफ्नो र राम्रो कमाइ भए लाउन खान मन लागेको कुरा किन्न समस्या हुन्नथ्यो । श्रीमान्को कमाइले मात्रै न अभाव टर्छ, न समस्या समाधान हुन्छ ।’ यी त प्रतिनिधि पात्र मात्रै हुन् । पढ्ने, लेख्ने र अभिभावकको संरक्षणमा हुर्किनु पर्ने उमेरमा विहे गरेका अधिकांश जोडी खुसी छैनन् । कोही शारीरिक रूपमा त कोही मानसिक रूपमा विक्षिप्त छन् । धेरैको सम्बन्ध त वर्षदिन छ महिना नहुँदै टुट्छ ।

बढ्दैछन् किशोरी आमा
जिल्ला अस्पताल सिन्धुलीको तथ्याङ्कमा पनि जिल्लामा किशोरी आमा बन्ने क्रम बढ्दो देखिन्छ । अस्पतालको तथ्याङ्क अनुसार गत वैशाखदेखि कात्तिक महिनासम्म सात महिनाको अवधिमा एक सय १४ जना १६ वर्षदेखि २० वर्ष मुनिका किशोरीले प्रसुति सेवा लिएका छन् । नेपालको कानुनले २० वर्ष नपुगी विवाह गर्न नपाइने भने पनि जिल्लामा २० वर्षमुनी आमा बन्नेहरु अत्यधिक मात्रामा रहेको अस्पतालको तथ्याङ्कबाट प्रष्ट हुन्छ । यो त जिल्लामा सञ्चालित एक मात्र प्रसूति केन्द्रको विवरण हो ।

सिन्धुलीमा झण्डै ३० वटा बर्थिङ सेन्टर सञ्चालनमा छन् । ती संस्थाहरुको तथ्याङ्कलाई समेत हेर्ने हो भने २० वर्ष नपुग्दै आमा बन्नेहरुको तथ्याङ्क भयावह रहेको अस्पताले जनाएको छ । जिल्ला अस्पताल सिन्धुलीकी प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुमित्रा गौतम छिट्टै विवाह गर्दा शारीरिक रूपमा निकै नै समस्या आइपर्ने बताउँछिन् । डाक्टर गौतमका अनुसार २० वर्ष भन्दा अगाडि महिलाको शरीर पूर्ण रूपले विकास भइसकेको हुँदैन, जसले गर्दा शारीरिक रूपमा विभिन्न समस्याहरु आउँछन् ।

अझ २० वर्ष भन्दा अगाडि आमा त बन्नै नहुने उनी बताउँछिन् । २० वर्ष भन्दा अघि गर्भवती भए आमा र शिशु दुबैको ज्यान समेत जान सक्ने खतरा रहेको डाक्टर गौतमले बताइन् । गौतमका अनुसार कलिलो उमेरमा सुत्केरी हुँदा साल अड्किने, रगत धेरै बग्ने खतरा हुन्छ । प्रजनन् अङ्ग र पाठेघरको पूर्ण रूपमा विकास भइ नसक्ने भएकाले कम उमेरमा आमा बन्दा पाठेघरलाई अड्याइ राख्ने मांसपेशी कमजोर भई कतिपयको पाठेघर नै झर्ने गरेको उनले बताइन् । विवाह २० वर्ष भन्दा पछि मात्रै गर्न डाक्टर गौतमको सुझाव छ ।

२०७५ भदौ १ गतेबाट जारी भएको मुलुकी संहितामा पनि २० वर्ष पछि मात्र विवाह गर्न सकिने उल्लेख गरेको कानुन व्यवसायी नारायण बरालले बताए । मुलुकी संहिता अन्तर्गत देवानी संहितामा केटाकेटी दुबैले २० वर्ष नपुगी विवाह गर्न नपाउने उल्लेख गरेको छ । यदि विवाह भएमा स्वत: बदर हुन्छ ।यदि कसैले २० वर्ष भन्दा अगाडि आफू खुसी विवाह गर्छ वा घर परिवारले नै विवाह गरिदिन्छ भने केटाकेटी र विवाह गरिदिने अभिभावक दुवैलाई ३ वर्षको कैद र २० हजार रूपैयाा जरिबानाको व्यवस्था रहेको उनको भनाइ छ । बाल विवाह न्यूनीकरणका लागि जिल्लास्थित सरोकारवालाहरुले विभिन्न कार्यक्रम गरिरहेको बताएका छन् । तर पनि जिल्लामा बाल विवाह भने बढेको बढ्यै छ । बालविवाह बढ्नुको प्रमुख कारण असुरक्षा, बलात्कार र जनचेतनाको अभाव रहेको महिला अधिकारकर्मी सबिता कोइराला बताउँछिन् । बढ्दो बलात्कारका कारण छोरीहरुको असुरक्षाको डरले छिट्टै नै विवाह गरे उसलाई श्रीमान्ले संरक्षण गर्छ भन्ने सोचाइले गर्दा बाल विवाह भइरहेको उनको बुझाइ छ । प्रेममा परेर भागी विवाह गर्न सक्ने डरले पनि अभिभावकहरुले छिटै नै विवाह गरिदिने उनले बताइन् । जनचेतनाको अभावमा यी सबै कुराहरु भइरहेको उनी बताउँछिन् । त्यस्तै पुरुषवादी चिन्तनलाई मलजल गर्ने खालका गीत, सङ्गीत र साहित्यले पनि छोरी मान्छेलाई हिन भावना पाल्न र आत्मबल कमजोर बनाउन सघाइरहेको कोइरालाको बुझाइ छ । छोरी कोमल अनि कमजोर हुन्छन् । उनीहरुलाई पुरुषको साथ चाहिन्छ । बाबु, दाजुभाई अनि श्रीमान्को सहयोगमा मात्रै अघि बढ्न सक्छन्् भन्ने गलत सन्देश दिन अब बन्द गर्नु पर्नेमा उनले जोड दिइन् । यस्ता सन्देशले बाल मनोविज्ञानमा असर गर्ने उनले बताइन् ।

उनले बालविवाह रोक्न विद्यालय स्तरमा जनचेतनामूलक कार्यक्रम गर्नु आवश्यक रहेको उनले पनि बताइन् । उनले थपिन्– ‘किशोरीहरुलाई क्बलको नेतृत्वमा बाल विवाह गर्दाका बेफाइदाबारे सचेतनामूलक कार्यक्रम गर्नु पर्छ । यसका लागि स्थानीय सरकारले प्रमुख भूमिका खेल्नु पर्छ । यसो गरे सानै उमेरमा बिहे गरेर जीवनभर सास्ती पाउने काम रोकिन्थ्यो कि झ्’ (सञ्चारिका फिचर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here