फागुन १ देखि ७ गतेसम्म र ७ बुँदेबाट ७ बुँदेसम्म ‘प्रण्चड’

0
229
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच अन्तत: औपचारिक रुपमा नै पार्टी एकता भएको छ । भनिन्छ; ‘संसारमा चार दिशा भन्दा अरु दिशा हुँदैन । उत्तर उत्तरमा, दक्षिण दक्षिणमा नै ।’ चुनावपछि एमालेभित्र एकताको विषयमा फरक फरक मत आएपछि दुबै दललाई ठूलै कसरत गर्नु पर्‍यो । तर, अन्त: मिसियो ।
प्रचण्ड २०५२ सालको असारमा जनयुद्धको पहिलो दस्तावेज लखेका थिए । उक्त दस्तावेजले ‘नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौं’ भन्ने मुख्य नारा अन्तर्गत तात्कालिन माओवादी आगाडि आएको थियो । तर, अन्तत: संसदीय व्यवस्थालाई ‘खशीको टाउका झुण्ड्याएर कुकुरको मासु बिक्री गर्ने थलो हो’ भन्ने लेनिनको भनाईलाई अंगाल्दै सुरु गरेको मूल नेतृत्व फेरि त्यही व्यवस्थामा जाकिएको छ ।
२०५२ को फागुन १ गतेबाट सुरु भएको जनयुद्धले ठूलो उथलपुथल ल्याउनुको साथै त्यसको नेतृत्वकर्ता प्रचण्ड अलग पहिचानसँगै नेपाली राजनीतिमा उदाय । तत्कालिन नेकपा (माओवादी) पार्टी चर्चा मात्रै पाएन राजनीतिक आन्दोलनको रुपमा हेर्न थालियो । राजनीतिक विश्लेषकहरुले नेपाली राजनीतिमा ‘प्रचण्ड युग’ समेत भनेका थिए । तर, २०७४ को फागुन ७ गते उनै प्रचण्ड एमालेमा विलय भए । २०५२ फागुन १ गतेदेखि सुरु भएको ‘प्रचण्ड युग’ २०७४ को फागुन ७ मा अन्त्य भयो । घुमाएरै सहि प्रचण्ड युग फागुन १ गतेदेखि शुरु भएर फागुन ७ गते समाप्त भयो ।
पार्टी एकताको लागि हस्तक्षार भएका सात बुँदेमा पनि प्रचण्ड निकै चिप्लिएका छन् । चार नम्बर बुँदा एमालेले जानेरै जबज उल्लेख गर्‍यो तर जनयुद्ध, माओवाद र २१ औं शताब्दीको जनवाद कुनै पनि उल्लेख छैन । यसरी भन्दा उवेला प्रचण्डले जारी गरेका ७ बुँदे दस्तावेज वर्तमानमा ७ बुँदे सहमतिमा हस्तक्षरसँगै टुंगिएको छ ।

उहिले जनयुद्ध सुरु गर्दा प्रचण्डले जाहेर गरेको प्रतिवद्धता

१. हाम्रो योजना क्रान्तिकारी हिंसासम्बन्धी माक्र्सवाद–लेनिनवाद–माओवादका शिक्षामा आधारित हुनेछ । हाम्रो देशको विशिष्टताअनुसार गाउँबाट सहर घेर्ने रणनीतिमा आधारित दीर्घकालीन जनयुद्धका रूपमा अघि बढ्ने यस प्रक्रियाको पहलकदमीको योजना निर्माणका सन्दर्भमा पार्टी एकपटक पुन: माओद्वारा विकास गरिएको सर्वहारावर्गको सार्वभौम र अपराजय माक्र्सवादी सैन्य सिद्धान्तका रूपमा जनयुद्धको सिद्धान्तप्रति अविचल रहने प्रतिज्ञा गर्दछ ।
 
२. जनयुद्धको थालनीको हाम्रो यो योजना ‘राज्यसत्ताबाहेक अरु सबै भ्रम हो’ भन्ने मान्यतामा आधारित हुनेछ । जनताका निमित्त राजनैतिक सत्ता कब्जा गर्नु नै सशस्त्र संघर्षको प्रमुख उद्देश्य हो भन्ने कुरामा दृढ रही यस प्रश्नमा देखापर्ने अर्थवाद, सुधारवाद, अराजकतावाद लगायतका सबै प्रकारका विचलनवादी चिन्तन र प्रवृत्तिका विरुद्ध निरन्तर संघर्ष गर्न पार्टी आफ्नो प्रतिबद्धता जाहेर गर्दछ ।
३. हाम्रो योजना सामन्तवाद र साम्राज्यवादलाई ध्वस्त गरी नयाा जनवादी क्रान्ति पूरा गर्ने त्यसको लगत्तै समाजवादी क्रान्तिमा अघि बढ्ने तथा सर्वहाराको अधिनायकत्व अन्तर्गत क्रान्ति जारी राख्ने सिद्धान्तका आधारमा साँस्कृतिक क्रान्तिहरू चलाउँदै मानव जातिकै स्वर्णिम भविष्य साम्यवादको स्थापनासम्म जाने उद्देश्यमा आधारित हुनेछ । एकपटक हतियार उठाएपछि त्यसलाई अन्तसम्म लैजाने दृढताविना सशस्त्र संघर्षको थालनी गर्नु सर्वहारावर्ग एवं आम जनताप्रति अपराध हुने कुरामा हामी दृढ छौं । यो संघर्ष जनताको स्थितिमा आंशिक सुधार गर्ने, प्रतिक्रियावादीलाई दवाब दिई सामान्य सम्झैतामा टुंग्याउने साधन बन्न कदापि दिइने छैन । यसरी हाम्रो सशस्त्र संघर्ष सबै प्रकारका निम्नपुँजीवादी, संकीर्ण राष्ट्रवादी, धार्मिक, साम्प्रदायिक एवम् जातिवादी विभ्रमहरूबाट सम्पूर्ण रूपले मुक्त रहने छ ।
४. हाम्रो यो योजना सर्वहारा अन्तर्राष्ट्रवादको महान् भावनामा आधारित रहनेछ । नेपाली क्रान्ति, सर्वहारा विश्वक्रान्तिको अभिन्न अंग हो र यसले विश्वक्रान्तिको सेवा गर्नेछ । हाम्रो पार्टी यस सन्दर्भमा माक्र्सवाद–लेनिनवाद–माओवादको निर्देशनमा विश्वक्रान्ति अघि बढाउन तथा नयाँ अन्तर्राष्ट्रिय निर्माणको दिशामा अघि बढिरहेको क्रान्तिकारी अन्तर्राष्ट्रियवादी आन्दोलन (रिम) (जसको हाम्रो पार्टी पनि सदस्य छ– को विकासमा अझ बढी सहयोग पुर्याउने कुरालाई गम्भीरतापूर्वक लिन्छ ।
५. हाम्रो योजना नयाा जनवादी क्रान्तिकालमा सर्वहारावर्गको पार्टीको नेतृत्वमा क्रान्तिकारी संयुक्त मोर्चा र क्रान्तिकारी सेना निर्माणको सैद्धान्तिक मान्यतामा आधारित रहनेछ । अन्तरविरोधको नियमको सार्वभौमिकताअनुसार भित्री–पार्टी–संघर्षलाई द्वन्द्वात्मक ढंगले ग्रहण र त्यसलाई सञ्चालन गर्नु, पार्टीलाई त्यसरी सजीव राखी हर क्षेत्रमा त्यसको नेतृत्व स्थापित गर्नु, पूरा हृदयले जनताको सेवा गर्ने, जनतासँग घनिष्ट सम्बन्ध कायम राख्ने जनदिशाको सिद्धान्तमा अविचल रहने कुरामा पार्टी कटिबद्ध छ ।
६. हाम्रो यो योजना सर्वहारावर्गको पार्टीको स्वतन्त्र आत्मनिर्णयको अधिकारको मान्यताअनुसार बन्ने छ । पार्टीको नेतृत्वमा सामन्तवाद र साम्राज्यवाद विरोधी सबै तह र तप्काका जनसमुदायलाई गोलबन्द गर्दै सशस्त्र संघर्ष सञ्चालन गरिने छ । कृषि क्रान्तिलाई मेरुदण्ड मानी हाम्रो सशस्त्र संघर्ष श्रमजीवी जनससमुदाय मुख्यत: गरीव किसाहरूमाथि भर परेर चल्ने छ । कहिल्यै र कुनै पनि हालतमा पार्टी देशी एवम् विदेशी प्रतिक्रियावादी गुटहरूको दबाब, धम्की र प्रलोभनमा पर्ने छैन ।
७. युद्धमा आफ्नै नियमअनुसार त्यो सरल रेखामा होइन जटिल बक्र रेखामा अघि बढ्ने छ । लेनिनको ‘क्रान्ति आफैले आफ्नो विकासक्रममा सधै नै असाधारण जटिल परिस्थिति सिर्जना गर्दछ भन्ने कुराको महत्वलाई आत्मसात गरेर जानु जरूरी छ । जीत र हार, उपलब्धि र क्षतिका चक्रहरू पार गरेर नै जनयुद्ध विजयी बन्ने छ । खराब कुरालाई असल कुरामा रूपान्तरण गर्ने अन्तरविरोधको नियमलाई ठीक ढंगले पक्रेर नै हामीले जनयुद्धको नेतृत्व गर्न सक्नेछौं ।

अहिले पार्टी एकता गर्दा हस्ताक्षर गरेको संझौता पत्र

१. एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहने छ ।
२. पार्टीको निर्देशक सिद्घान्त माक्र्सवाद–लेनिनवाद रहने छ ।
३. ने.क.पा. (एमाले) ले अबलम्वन गरिआएको ‘जनताको बहुदलीय जनवाद’ र ने.क.पा. (माओवादी केन्द्र)ले अवलम्वन गरि आएको ‘माओवाद र २१ औं शताब्दीमा जनवाद’ सम्बन्धी विषयहरुमा विधिसम्मत छलफल गरी आवश्वयक परिमार्जन र विकास गर्न सकिने छ ।
४. नेकपा एमालेले अपनाउँदै आएको ‘जनताको बहुदलीय जनवाद’ अन्तर्गत अवलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धामार्फत आफ्ना श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यता र शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्वारा नेकपा (माओवादी केन्द्र)को पनि उक्त शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धामार्फत आफ्नो श्रेष्ठता स्थापित गर्दै समाजवादको आधार निमार्ण गर्ने लगायतका मान्यतामा समान धारणा रहेको कुरा स्पष्ट भएकै छ ।
५. उपरोक्त आधारमा टेकेर अन्तरिम राजनैतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारी सोही अनुसार एकीकृत पार्टी सञ्चालन गरिने छ ।
६. प्राप्त उपलब्धिहरुको रक्षा र विकास गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गर्दै सामाजिक आर्थिक रुपान्तरण मार्फत समाजवादका आधार निर्माण गरिने छ ।
७. आगामी पार्टी महाधिवेशनलाई एकता महाधिवेशनका रुपमा समझदारीका साथ भव्यरुपले सम्पन्न गरिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here