प्रधानमन्त्रीलाई खाडीबाट प्रवासी नेपालीको चिठी

0
293

सम्माननीय प्रधानमन्त्रीज्यू नमस्कार
म मेघराज भट्टराई, घर दाङ जिल्ला घोराही–१५ हाल अफगानिस्तानको राजाधानी काबुलबाट ।

म र म जस्ता लाखौा नेपालीहरुका लागि अभिशाप बनेको वैदेशिक रोजगारीले परिवार विखण्डन भएको तपाई जस्तो ठुलो नेतालाई अवगत नभएको होला भन्ने मलाई लाग्दैन ।

आज पनि वैदेशिक रोजगारीका लागि काबुल पुगेका केही दाजुभाइ यहााको द्वन्द्वको शिकार भइरहेका छन् । यो कुरामा म भोज खाऊ कि रुवाबासी गरु ? भोज यो मानेमा कि उनीहरु बाचे, रुवाबासी यो मानेमा कि उनीहरु किन घाइते हुनु पर्‍यो ? किन गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारको व्यवस्था राज्यले गरेन ? किन नेपालीहरु दैनिक विदेशबाट काठको बाकसमा फर्किन्छन् ? ज्यूँदो सपना बोकेर आफ्ना सन्तानको लालनपालन, शिक्षा, स्वास्थ्यका लागि विदेशिएका नेपालीले आफ्नै जन्मभूमिमा मर्न पाउने दिन कहिले आउँछ ? के हामी नेपालमै जन्मनु अभिशाप हो ? के इमान्दार, सोझो, अशिक्षित, गरिब हुनु अपराध हो ? किन यी मानव तष्करहरु यसरी खुल्लेआम साँढे झैँ घुम्न पाएका छन् ? यिनी साँढेहरु नेपालीलाई दु:ख दिएर, लोभ देखाएर ठुला ठुला महलहरुमा बिराजमान् हुन्छन् ? सरकार हामीले चलाएका छौं भन्छन ?

तपाई त कम्युनिस्ट पार्टीको अध्यक्ष, देशको शक्तिशाली प्रधानमन्त्री । के यिनी साँढेका लागि कुनै जेलखाना छैन नेपालमा ? कि जेलखाना सोझा सिधा जनताका लागि मात्रै हो ? जग्गा दलाल, मान्छे दलाल, हुँदा हुँदा त देश नै दलाल भएको देखिन थाल्यो त कम्रेड म तपाईको नाम २०३८ सालदेखि सुनेको हुँ । झापा विद्रोह गर्ने सी.पी. मैनाली, आर.के. मैनाली, के.पी. ओली, मोहन चन्द्र अधिकारी हाम्रा ठुला क्रान्तिकारी नेता भनेर नेत्रलाल अभागीहरुले कुरा गरेको त्यो बाल्यकालको दिमागमा आज पनि स्मरण हुन्छ । कम्युनिस्टका नेता प्रधानमन्त्री हुने, त्यो देशका जनता विदेशमा मर्ने ? यस्तो पनि हुन्छ र ?

तपाईसँग एक पटक २०५७ सालमा काठमाडांैको टुडिखेल मैदानमा एउटा कार्यक्रममा भेट भएको थियो । तपाई बडेमानको नेता, म फुच्चे जनता । तपाईलाई केको याद होला र ? त्यो बेला तपाईको भाषण निकै गुञ्जायमान भएको थियो । हामी दाङबाट काठमाडौं जुलुश लिएर गएका थियौं । आम्रा अघि तपाईले हामी सबै एउटै हौं भन्नसम्म भ्याउनु भएको थियो । शायद त्यो कुरा तपाईले तालीको गडगडाहट सुन्नका लागि त पक्कै गर्नु भएको थिएन होला ? यसको सिधा अर्थ हुन्थ्यो– या तपाई हामीसँग मिसिने या हामी तपाईसँग मिसिने । मिसिनेको अर्थ हुन्थ्यो– हामीले तपाईमाथि विश्वास गर्ने । तर न तपाईले बेइमानी छोड्नु भयो न हामीले इमान । दु:खको कुरा, हामीबीचको मिलन बिन्दु भेटिएन ।

मैले तपाईको एउटा सानो कामको प्रशंसा गर्न चाहन्छु । त्यो थियो– तपाई पहिलो पटक प्रधानमन्त्री भएको बेला काबुलमा ज्यान गुमाउने १५ जना नेपालीलाई प्लेन चार्टर गरेर नेपालम फर्काउनु भयो । सास नपुगे पनि लास तुरुन्तै घर–परिवारलाई बुझाउनु भयो । त्यो बेला साच्चिकै मलाई गौरव महशुस भएको थियो । तर यो पटक तपाईहरुको प्रचार निकै भयो । नेपालमा साच्चिकै चमत्कार हुन्छ भनियो । तपाईहरु चुनावी मैदानमा आर्थिक विकासको एजेन्डा बोकेर जनतामा जानु भयो । त्यसलाई जनताले अनुमोदन पनि गरे । तर अब विकास कसरी गर्नु हुन्छ ?

तपाई त कम्युनिस्ट भलै नक्कली नै किन नहुनु होस्, तपाईको पार्टीको झन्डा त हासिया–हथौाडाको छ । अब तपाईलाई दुनियााले गिज्याउने छ । साम्राज्यवादीहरुले तपाईलाई बिना शर्त पैसा दिने छैनन् । पैसा नदिए तपाई विकास केले गर्नु हुन्छ ? न तपाईसँग मजदुर छन्, न तपाईसँग पैसा छ, न तपाईसँग औजार छन् । साधनश्रोत बिना विकास कहाँ भएको छ कमरेड ? दैनिक १५ सय नेपाली विदेशिन्छन् । रोक्ने उपाय के हो ? त्यो कहिल्यै भनिदैन तर विकास हुन्छ मात्रै भनिन्छ । यसको कारण केवल कर उठाउने, जनता लुट्ने मात्रै हो ?

बिना म्यानपावर कही विकास हुँदैन । हामीलाई धेरै मुर्ख नबनाउनु होला । भूकम्प पीडित अझै छानोमुनि छैनन् । त्यसको जिम्मेवार को हो ? अदालत तपाईको कुराको ठिक उल्टो चलिरहेको छ । देशमा माफियाको राज छ । व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीचमा सामञ्जस्यता नै छैन । एकले अर्कोलाई सिध्याउने दाउपेच मात्रै देखिन्छ । अनि, कसरी हुन्छ विकास ? लोकमान सिंह कार्की कहाँ गए ? किन कार्वाही गरिएन ?

अरु कुरा छोडौं प्रधानमन्त्रीज्यू, तपाईसँग पार्टी एकता गर्न लाग्नु भएको पुष्पकमल दाहालजीको सम्पत्ति छानबिन गर्न सक्नु हुन्छ ? उहाँको कथित जनयुद्धभन्दा पहिलेको सम्पत्ति कति थियो ? आज उहाँको दिनचर्या कस्तो छ ? उहाँले कुनै नोकरी गर्नु भएको छ कि व्यवसाय ? कसरी उहाँहरु महङ्गो गाडी, महङ्गा घर, महङ्गा गरगहना, लत्ताकपडा—यो सब कहाँबाट आउँछ ? केही दिनदेखि प्रचण्डजी भाषण गर्दै हिंड्नु भएको छ– भ्रष्टाचार उन्मूलन हुन्छ । सुन्दा निकै राम्रो लाग्छ तर व्यवहारमा हुने कहिले ? आफू भ्रष्ट भएको दुनियााले देखेको छ तर अरुलाई चोर भन्दै हिड्दा के हुन्छ ? राज्यको दायित्व हो– भ्रष्टाचार समाप्त पार्नु । यो काम गरेर देखाउनु पर्‍यो ।

मैले गरेको ठिक, तैँले गरेको गलत हुन सक्दैन । सुरुवात आफूबाट गर्न सक्नु पर्‍यो । मैले बुझे अनुसार संसारको सबैभन्दा ठुलो अपराध भनेकै भ्रष्टाचार हो । यदि कसैले घुस नखाएर काम गर्ने हो भने कुनै पनि अपराध हुनै सक्दैन । मलाई जेल जानु पर्छ, मलाई दण्ड मिल्छ भन्ने डर भयो भने मान्छेले अपराध गर्नुभन्दा पहिले सय चोटी सोच्छ । त्यसैले भ्रष्टाचार उन्मूलन बिना राष्ट्रको समृद्धि हुन सक्दैन । भ्रष्टाचार रोक्न अहिलेको कर्मचारी तन्त्रलाई नफाली हुँदैन ।
तपाईले साच्चिकै राष्ट्रका लागि केही गर्न सक्ने हैसियत राख्नु हुन्छ । त्यो कुरा म राम्रोसँग बुझ्छु । तपाई ठाउँमा पुग्नु भएको छ । एउटा मात्रै काम गर्दिनुस् कि चाइनासँग १० वटा नाका सुचारु गराउनुस् र बाटो राम्रो बनाई दिनुस् । यत्ति गरे नेपालीले नेपालको विकास आफै गर्नेछन् । हामीलाई भारतले विकास गर्न दिदैन । त्यो फटाहा छ । हामीले बुझेका छौं, तर विकल्प भएन । जनतालाई त्यो विकल्प तपाईले बनाई दिनुस् । यही हामी सम्पूर्ण जनताको अनुरोध हो ।

हामीले हाम्रो देशमा काम गरेर खाने बातावरण बनाउन तपाईको महत्वपूर्ण सहयोग चाहेका छौं । जनतालाई यो या त्यो भन्नेसँग कुनै सरोकार हुँदैन । उनीहरुको दैनिकी सजिलै चलोस् । परिवार साथमा रहोस् । एक–अर्काको दु:खसुखमा सामेल हुन पाइयोस्, खोजेको यत्ति हो ।

मैले ३४ वर्ष अर्काको देशमा बिताएँ । मेरो छोरा विदेश जानु नपरोस् । यही म जस्तै लाखौँ नेपालीको कामना हो ।

अन्त्यमा, तपाईबाट देशले ठुलो आशा राखेको छ । त्यो आशा देखाएको पनि तपाईले नै हो । यहाँ कुनै जालसाजी नहोस् । जनताको आशामा तुषारापात नहोस् । तपाईको सफल कार्यकालको हार्दिक कामना ।
मेघराज भट्टराई
काबुल, अफगानिस्तान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here