पूर्वीय दर्शन र भौतिकवाद

0
492
गौरिलाल कार्की

मान्छे बढो विचित्रको प्राणी हुँदो रहेछ । जे नगर्नू भन्यो, त्यही गर्नु पर्ने, जे नमान्नू भन्यो, त्यसैलाई मान्ने । गौतम बुद्धले मूर्ति पूजाको विरोध गरे । संसारमा उनकै धेरै र ठुला मूर्ति पाइन्छन् । ज्ञान शास्त्रबाट होइन, ज्ञान आफैभित्रबाट पाइन्छ भने तर आज सबै बौद्धमार्गी उनका विचारलाई सूत्रका रूपमा बुझ्दछन् । बुद्धले जीवन जिउने कला सिकाए । तर मानिस त्यसलाई धर्मको रूपमा बुझ्दछ । बुद्ध दर्शन कुनै धर्म होइन तर पनि यसलाई धर्म बनाइयो । बुद्धले जीवनको सम्बन्धमा गरेको व्याख्या आज पनि त्यत्तिकै सान्दर्भिक छ । बुद्ध अघिका चार्वाक (लोकायत), महावीरलाई पनि मानिसले धार्मिक गुरुको रूपमा बुझ्दै आएका छन् । चार्वाक, महावीर, बुद्ध, पतञ्जली लगायतका भारत वर्षमा जन्मिएका पूर्वीय दार्शनिक भौतिकवादी थिए । उनीहरु आज कुनै एक सम्प्रदायका मात्र बनेका छन् । त्यसमा पनि उनीहरुको भौतिकवादी दृष्टिकोणका आधारमा होइन, धार्मिक पुरुषका रूपमा व्याख्या गरिएको छ । भारतमा हुर्किएका यी दार्शनिक दृष्टिकोण संसारमा पहिलो भौतिकवादी दृष्टिकोण भए पनि बुद्ध बाहेक अरूको प्रभाव कमजोर छ । यसरी भौतिकवादको उत्पत्ति र विकासको सुरुवात पूर्वीय दर्शनमा भएको भए पनि हामीहरुमा भौकिवादी दृष्टिकोणको केन्द्र युरोपलाई मात्र स्वीकार्ने अज्ञानता कायम नै रहेको छ ।

बुद्धले जीवनका सम्बन्धमा जसरी व्याख्या गरेका छन्, त्यसै गरी माक्र्सले जगतको वैज्ञानिक व्याख्या गरेका छन् । बुद्ध र माक्र्स दुबै भौतिकवादी दृष्टिको भएका दार्शनिक हुन् । बुद्धले जीवन बदलेर जगत बदल्ने विचार प्रकट गरेका छन् । माक्र्सले समाज रूपान्तरणको कुरा गरेका छन् । बुद्धले साढे २५ सय वर्ष अघि भने– जे मा गति छ, त्यसको अस्तित्व छ, जे मा गति छैन, त्यसको अस्तित्व छैन । माक्र्सले पदार्थ गतिशील छ मात्र भनेनन्, गतिको नियम बाहेक जगतका सबै चिज गतिशील छन् भने । माक्र्सले समाज विकासको अन्तिम चरण वैज्ञानिक साम्यवाद भनेका छन्, जहाँ मानिसको चेतनाको स्तर अति उन्नत हुन्छ । माक्र्सले भनेको वैज्ञानिक साम्यवाद बुद्धको निर्वाण प्राप्त व्यक्तिहरुको समाजमा धेरै हदसम्म समानता पाउन सकिन्छ । तर बुद्ध र माक्र्सबीचको भेद भनेको अन्तिम लक्ष्यमा पुग्ने बाटो हो । बुद्धले शान्तिपूर्ण रूपमा मानिसलाई रूपान्तरण गर्नु पर्नेमा जोड दिएका छन् भने माक्र्सले क्रान्तिका माध्यमबाट अन्तिम लक्ष्यमा पुग्न सकिने बताएका छन् ।

भौतिकवादी दृष्टिकोण राख्नेहरुबाट पनि बुद्ध दर्शनलाई जसरी धर्मको रूपमा बुझिँदै छ, माक्र्सवादलाई पनि त्यही रूपमा बुझिदै गएको छ । कतिपय कम्युनिस्ट पार्टी वा तिनका नेतालाई गतिको माक्र्सवादी नियम स्वीकार्न चाहदैनन् । उनीहरु माक्र्सवादलाई सूत्रको रूपमा व्याख्या गर्दै आएका छन् । भौतिकवादी बन्ने नाममा पश्चिमा जगतमा विकास भएका विज्ञान, विचार, सिद्धान्त, संस्कृति सबैलाई नक्कल गर्दै आएका छन् । युरोप अमेरिकामा विकास भएका सबै कुरा सत्य हुन्, पूर्वमा विकास भएका सबै विचार, सिद्धान्त गलत हुन् भन्ने चिन्तनको विकास गराइएको छ । विज्ञानले सत्य भनेको तथ्य सधैँभरि सत्य नहुन सक्दछ । माक्र्सवादी नियमले सिद्धान्त पनि गतिशील हुन्छ । तर हामीकहाँ भौतिकवादी दृष्टिकोण भएको कम्युनिस्ट होइन, कम्युनिस्ट पार्टीमा खरो ढङ्गले लागु भयो । विचार सिद्धान्त नबुझे पनि हुन्छ । आज माक्र्सवादी वा कम्युनिस्ट हुनलाई माक्र्सवाद नपढे वा नबुझे पनि हुने भएको छ । जसरी हिन्दू हुनलाई हिन्दू धर्मका आचरण नभए पनि हुन्छ । हिन्दू हुनलाई वेद, मुसलमान हुनलाई कुरान, क्रिश्चियन हुनलाई बाइबल नपढे पनि हिन्दू, मुसलमान, क्रिश्चियन हुन सकिन्छ, त्यसै गरी कम्युनिस्ट हुनलाई माक्र्सको पुँजी पढी रहनु वा बुझी रहनु पर्दैन ।

भौतिकवादको नाममा मूर्ति पूजाको तीव्र आलोचना गरिन्छ । माक्र्सले धर्मलाई अफिमको नसा हो भने । संसारभरिका कम्युनिस्टले यसैलाई दोहोर्‍याउँदै धर्म र मूर्ति पूजाको विरोध गरेका छन् । माक्र्सले धर्मलाई अफिमको नसा भनेर गलत गरेका छैनन् । तर त्यसको व्याख्या गर्ने कम्युनिस्टले माक्र्सवादलाई धर्मका सूत्र झैँ पक्रेका छन् । हाम्रा कम्युनिस्ट नेताले शिव, कृष्ण, विष्णु, ईन्द्रका मूर्ति पूजा गर्न छाडे । तर माक्र्स, लेनिन, स्टालिन, माओ लगायतका मूर्तिको पूजा गरिन्छ । यो एउटालाई छाड्ने, अर्कोलाई पक्रने काम भयो । मन परेकालाई पक्रने मन नपरेकालाई छाड्ने वा विरोध गर्ने शैली के माक्र्सवाद सङ्गत होला ? हामीकहाँ आधुनिक बन्ने नाममा पसिनाले निथु्रक्कै भिझ्ने गर्मीमा पनि घाटीमा टाई लगाएर आधुनिक र विद्वान बनेको भ्रम पाल्ने पनि धेरै छन् । युरोपको जाडो ठाउँबाट चिसोबाट जोगिन घाटीमा बाधिने चिज आजको टाई पनि हो । जाडो ठाउँ वा जाडो समयमा टाई लगाउनु सान्दर्भिक होला । आधुनिक बन्ने नाममा चर्को गर्मीमा टाई लगाएर चन्दनको विरोध गर्नुको कुनै तुक छैन ।

चन्दन लगाउने प्रचलन दक्षिण भारतमा विकास भएको मानिन्छ । गर्मी समयमा मष्तिस्कलाई ठण्डा र तेजिलो बनाउन चन्दनको प्रयोग गर्ने परम्परा विकास भएको हो । चन्दन वासनादार पनि भएकाले यसको प्रयोग वैज्ञानिक मान्न सकिन्छ । तर आज आफूलाई धार्मिक देखाउन चन्दन लगाउने गरिन्छ । अर्कातर्फ चन्दन लगाउने रुढिवादी विचारको ठहरिने, ऊ चन्दने हुने अवस्था छ । दक्षिण भारतमा अहिले पनि निधारभरि चन्दन लगाउने परम्परा छ । तर धर्मका नाममा ठाडा, तेर्सा धर्के चन्दनको टिका लगाउने चलन बढेको छ । निधारमा लगाएको चन्दनको टिकाका आधारमा कुन धर्म सम्प्रदायको हो भन्ने छुट्याउन सकिने अवस्था छ । चन्दन लगाएर जसरी धार्मिक व्यक्ति बन्न सकिदैन, त्यसैगरी टाई लगाएर पनि आधुनिक बन्न सकिदैन । त्यस्तै माक्र्सवादी हुन कम्युनिस्ट पार्टीमा लागेर मात्र हुँदैन, माक्र्सवाद पढ्न, बुझ्न र त्यसलाई व्यवहारमा लागु गर्न जरुरी हुन्छ । सत्य कुराको बोध हुन नसक्दा अन्धविश्वास उत्पन्न हुने हो । टाई लगाएर आधुनिक वा शिक्षित बने भनि ठान्नु र चन्दन लगाएर धार्मिक हुन्छु भन्नुमा कुनै भेद छैन । टाई लगाउने आधुनिक अन्धविश्वासी हुन भने चन्दन लगाउने पुराना अन्धविश्वासी हुन् । भौतिकवादी दृष्टिकोण नराख्नेले टाई र चन्दनको अर्थ नबुझ्नु स्वाभाविक हुन सक्दछ ।

माक्र्सवादी दृष्टिकोणका आधारमा पूर्वमा विकास भएको भौतिकवादी दृष्टिकोणलाई स्वीकार्न नेपाल र भारतका कम्युनिस्ट पार्टी र तिनका कार्यकर्तालाई निकै कठिन हुन्छ । नेपालमा त सबै पश्चिमा मुलुकमा विकास भएको विचार, सिद्धान्तदेखि भौतिक बस्नु राम्रो भन्ने स्कुलिङ हुदै आएको छ । कम्युनिस्ट स्कुलिङ यसमा सबैभन्दा अघि छ । अझ क्रान्तिकारीले त पुरानो सबैलाई अस्वीकार गर्नु पर्ने अर्थमा बुझिदै आएको छ । नेपालका कम्युनिस्ट पार्टी अलग अलग मान्यतामा स्थापित र सञ्चालित भए पनि सबैले भौतिकवादी दृष्टिकोण अपनाउने बताउँछन् । माक्र्सवादलाई बुझ्ने कुरामा आ–आफ्नै तरिका भए पनि द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणलाई सिद्धान्तत स्वीकार्ने कुरामा कसैको विमति छैन । भौतिकवाद भनेको जगतलाई ठिक ठिक ढङ्गले बुझ्नु हो । जगतलाई ठिक ढङ्गले बुझ्ने र व्याख्या गर्न नसक्ने माक्र्सवादी हुन सक्दैन । नेपाल र भारतका कम्युनिस्ट पार्टीले पूर्वमा विकास भएको भौतिकवाद, त्यसले आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक रूपमा पर्ने प्रभावका बारेमा विश्लेषण गर्नु पर्दछ । पश्चिमा समाज भन्दा पूर्वीय समाजको मानवीय विकास प्रक्रिया केही अन्तर छ । यसलाई ठिक ढङ्गले बुझ्न हाम्रो समाजका विभिन्न आयामलाई बुझ्नु पर्दछ । यो नै सच्चा भौतिकवादी दृष्टिकोण हुन सक्दछ अन्यथा आज जसरी बौद्ध दर्शनलाई धर्म रूपमा मात्र बुझिदै छ, माक्र्सवादलाई पनि धर्मको रूपमा नबुझएला भन्न सकिदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here