पहिलो पटक पाइपबाट घरघरमा ग्याँस

0
174
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पहिलो पटक बायोग्याँसबाट पाइपलाइन मार्फत् घरघरमा ग्याँस आपूर्ति गर्ने कार्यको उद्घाटन गरेका छन् ।
                  विराटनगर महानगरपालिका–१४ स्थित श्रीकृष्ण गौसेवा सदनमा स्थापना गरिएको २०० घनमिटर क्षमताको बायोग्याँस प्लान्टबाट निस्केको ग्याँस पाइपलाइनबाट पहिलो चरणमा नजिकका ३२ घरमा ग्याँस वितरण गरिएको छ । अघिल्लो पटकको कार्यकालमा प्रधानमन्त्री ओलीले घरघरमा ग्याँस लगिने प्रतिबद्धता व्यक्त गरेका थिए । सो अवसरमा प्रधानमन्त्री ओलीले सानो क्षमताको भए पनि सो परियोजना नेपाललाई उर्जामा आत्मनिर्भरताका साथ समृद्धिको यात्राको थालनी भएको उल्लेख गर्दै यसलाई मुलुकभर विस्तार गर्दै लैजानु पर्नेमा जोड दिए ।
                     बायोग्याँसबाट उत्पादित ग्याँस एल.पी.जी.भन्दा २० प्रतिशत सस्तो हुनाका साथै जोखिमरहित, वातावरणमैत्री र यसबाट प्राङ्गारिक मल निस्कने तथा त्यसले रासायनिक मल पनि प्रतिस्थापन गर्ने भएकाले सो प्रविधिलाई सरकारले प्रोत्साहन गर्ने प्रधानमन्त्री ओलीले बताए ।
                 प्राकृतिक स्रोतसाधनले सम्पन्न नेपालले त्यसको अधिकतम उपयोगबाट दुनियाँले नपत्याउने गरी छोटो समयमै विकासमा ठुलो फड्को मार्न सकिने बताउँदै उनले बढ्दो व्यापार घाटा कम गर्ने, आयात प्रतिस्थापन गर्ने, रोजगारी सिर्जना गर्ने र आत्मनिर्भर हुने क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरे । सो अवसरमा प्रधामन्त्रीले उक्त बायोग्याँस प्लान्टको निरीक्षण गर्नाका साथै प्लान्ट स्थापना गर्न सहयोग पुर्‍याउने विभिन्न सङ्घ/संस्थाका प्रतिनिधिलाई सम्मान पत्र प्रदान गरे ।
                  कार्यक्रममा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन, वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रका का.वा. कार्यकारी निर्देशक नवराज ढकाल, गौसेवा सदनका अध्यक्ष शङ्करराज अग्रवाल, विश्व बैङ्कका राष्ट्रिय प्रबन्धक फेरिस एच हदाद जर्भो, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, मन्त्री लालबाबु पण्डित र भानुभक्त ढकाल, प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश प्रमुख प्रा.डा. गोविन्द बहादुर तुम्बाहाङ, प्रदेश नं. १ का मन्त्री तथा सांसद उपस्थित रहेको थियो । कुल एक करोड ५० लाखको लागतमा निर्माण भएको सो प्लान्ट जडान गर्न विश्व बैङ्क तथा उर्जा प्रबद्र्धन केन्द्रबाट ७४ प्रतिशत, विराटनगर महानगरपालिकाबाट ११ प्रतिशत र गौसेवा सदनबाट १५ प्रतिशतको लगानी छ । नेपाल इनर्जी विकास कम्पनी प्रा.लि. ले निर्माण गरेको सो प्लान्टबाट केही दिन अगाडि नै उपभोक्ताले परीक्षणका रूपमा ग्याँस प्रयोग गर्न थालेका थिए । छिट्टै सो प्लान्टबाट सय घरधुरीमा पाइपलाइन विस्तार गरिने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here