परदेशीको सन्देश

0
237
– रिता ‘सपना’
किन किन आज मलाई
एउटा कविता लेखन मन लाग्यो
आफन्तजनबाट दिइएको पीडाले
चिच्चाई चिच्याई रुन मन लाग्यो
बग्ने आँसु बगी सके सुकी सके आँखा
अभावमा तृष्णाले व्यतित यो जीवनमा
कसले दिन्छ काख
धेरै धेरै थिए उद्देश्यहरु
तर आज सबै अधुरा भए
दुबै आँखा भएर पनि
देख्दछु सारा अँध्यारो
फेरि पनि हासेकी छु बोलेकी छु
मुस्कान छ ओठमा
आसवासनको मिठो फन्दामा
थुनिएकी छु बन्द कोठामा
अन्तरहृदयको पीडा र
घाउले पोलेको छ छाती
ओमनमै भेटे आज
म जस्तै कैयौँ साथी
हजारौँ यो घना बस्तीमा
आज म एक्लो भए लास
बिरानो यो सुनसान ठाउँमा
म कसको गरुँ आस ?
घात–प्रतिघातमा पिल्सिएको छ जीवन
मर्नु र बाच्नुको सङ्घारमा परी रहेको
छ यो जीवन
विशाल यो संसारमा एक्लो भई
कसका लागि बाच्ने ?
जञ्जिरै जञ्जिरको भुमरीमा म
कसका लागि बाच्ने ?
यस्तै सोच्दै निरासामा
जले भने अब
खुशी हुँदै शत्रुबैरी
रमाउने छन् सब
टुक्रिएका साहसहरु
जोड्छु अब मैले
डटी रहन्छु सङ्घर्षमा
रोकिन्न म कहिले
पुनर्वास कञ्चनपुर (हाल ओमान)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here