नेपालमै पन्ध्रौँ नयाँ शहर कार्यक्रम गढवालाई

0
247
दाङ । नेपाल सरकारको शहरी विकास मन्त्रालयको तराई मधेशमा सम्भावित नयाँ शहर गढवा हुलाकी लोकमार्ग अन्तर्गत एकीकृत विकास गुरुयोजना दाङ जिल्लाको गढवामा सञ्चालित हुने भएको छ । तराई मधेशमा नेपाल अधिराज्यका १५ वटा आधुनिक शहर निर्माणका कार्यक्रमहरूमध्ये दाङको गढवा गाउँपालिकामा यो कार्यक्रम लागु हुने गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिए । त्यसका लागि प्राकृतिक स्रोतले भरिपूर्ण पूर्वाधार, सुन्दर गढवा, शिक्षा, पर्यटन र समृद्ध शहरको आधार भन्ने मूल नारा समेत तय भएको गाउँपालिकाले जनाएको छ ।
                सरकारको शहरी विकास मन्त्रालयको नयाँ शहर कार्यक्रम अन्तर्गत दाङको गढवा गाउँपालिकामा पहिलो चरणमा ५ वर्षे एकीकृत योजना तयार गर्ने, सम्भाव्यता अध्ययन गर्ने, प्राविधिक नक्सा तयार गर्ने, गाउँपालिकाको भिलेज प्रोफाइल (पाश्र्वचित्र) तयार गर्ने र भिन्न भिन्न विश्लेषणात्मक अध्ययनको आधारमा नयाँ शहरको रणनीति वमोजिम गाउँपालिकामा कस्तो ढङ्गको शहरी विकास कार्यक्रम लागु गर्ने भन्ने विस्तृत अध्ययन प्रतिवेदन (डी.पी.आर.) को गुरुयोजना तयार गरिने नयाँ शहर योजनाका परामर्शदाता शहरी योजनाविद सुमन कुमार कर्णले बताए ।
             तराई मधेशका १५ स्थानलाई नयाँ शहर बनाउने कार्यक्रम दाङको गढवा गाउँपालिकामा छानिएको हो, जसमा गाउँपालिकाको भौतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, पर्यटन, वित्तीय व्यवस्थापन, वातावरण व्यवस्थापन, प्रकोप व्यवस्थापन र जलवायु परिवर्तन अनुकूलन गरी नौ वटा सेक्टरमा कार्यक्रम सञ्चालन गर्न दीर्घकालिन गुरुयोजना बनाइने भएको छ । त्यस अन्तर्गत गाउँपालिकाका सडक सञ्जाल स्तरीकरण, जग्गा विकास कार्यक्रम शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, खानेपानी, एकीकृत बस्ती विकास र ल्यान्डफिल साइट व्यवस्थापन लगायतका कार्यहरू गरिने भएको गाउँपालिकाले जनाएको छ । त्यसका लागि एउटा मूल समिति र नौ वटा उपसमितिहरू गठन गरिने छ ।
                   सरकारको लगानी रहने गरी डी.पी.आर. योजना तयार भएपछि स्टिमेट तयार हुने र ती कार्यक्रमहरूको बल्ल मात्र लगानी निश्चित हुने बताइएको छ । नौ महिनामा डी.पी.आर. का सबै योजनाहरू तयार गरिने कन्सल्टेन्ट कम्पनीका परामर्शदाता तथा शहरी विकास योजनाविद सुमन कुमार कर्णले बताए ।
                  सो कार्यक्रमको जिम्मा नेपाल सरकार शहरी विकास मन्त्रालय मार्फत् कार्ड एडिसी एन्ड डिभिसी जेभी काठमाडौँले लिएको छ । दाङको गढवा र बर्दियाको राजापुर नगरपालिकामा यो कम्पनीले नयाँ शहर बनाउने जिम्मा लिएको बताइएको छ । व्यवस्थित र पूर्वाधारयुक्त शहर बनाउने, शहर बनिसकेपछि तोडफोड नहोस् भन्ने अवधारण वमोजिम पहिले नै बृहत् गुरुयोजना बनाएर स्मार्ट सिटी बनाउने सरकारी लक्ष्य रहेको र सोही वमोजिम देउखुरीको गढवामा काम गर्न थालिएको कम्पनिका परामर्शदाता मिता सुवालले बताए ।
             अल्पकालीन कार्यक्रम अन्तर्गत पाँच वर्षे, मध्यकालीन अन्तर्गत १० वर्षे र दीर्घकालीन कार्यक्रम अन्तर्गत २० वर्षे डी.पी.आर. को गुरुयोजना बनाएर काम गरिने छ, जसभित्र पूर्वाधारयुक्त, बसोवासयोग्य, रोजगार र सिप तथा क्षमताको विकास, आकर्षण योग्य भौतिक संरचना निर्माण, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारका कार्यक्रमहरू सञ्चालन गरिने शहरी योजनाविद कर्णले बताए ।
              पहिलो चरणमा पाँच वर्षे चार वटा योजनाहरूको सम्भाव्यता अध्ययन (डी.एफ.आर.) गरिने र त्यसबाट छनौट गरी कुनै दुई योजनाहरूको विस्तृत अध्ययन प्रतिवेदन बनाएर दीर्घकालीन गुरुयोजना वमोजिम काम गरिने र त्यसपछि क्रमश: २० वर्षसम्मका योजनाहरूको काम अगाडि बढाइने परियोजनाका योजनाविद सुवालले जानकारी दिए । नयाँ शहरी विकासको अवधारणा वमोजिम जिम्मेवारी पाएको कम्पनीले दुई महिनामा स्थलगत प्रतिवेदन तयार गर्ने, दुई महिनापछि मस्यौदा तयार गर्ने र थप तीन महिनापछि दीर्घकालीन गुरुयोजनाको विस्तृत अध्ययन प्रतिवेदन रिपोर्ट तयार गरी गाउँपालिकालाई हस्तान्तरण गरिने बताइएको छ । यसैबीच, नयाँ शहर विकास योजना अन्तर्गत यस वर्ष गढवाको वडा नं. ६ को बुद्धज्योति बोर्डिङ स्कुलबाट झिङ्गाहा, थानदेउखुरी, आूटीपाकर, धर्मपुर हुँदै राप्ती नदीसम्मको सडक स्तरोन्नति तथा कालोपत्रेको योजना रातो किताबमा परेको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिए ।
                   गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यशालामा स्थानीय राजनीतिक दलहरू, सङ्घ/संस्था, कार्यपालिकाका पधाधिकारी, गाउँपालिकाका उपाध्यक्ष, प्रशासकीय अधिकृत, उद्योग वाणिज्य सङ्घ, शिक्षा क्षेत्रका ब्यक्तित्वहरू तथा पत्रकार लगायतको सहभागिता रहेको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीको सञ्चालनमा भएको कार्यक्रममा परामर्शदाता कम्पनीका शहरी योजनाविदहरू मिता सुवाल, सुमन कुमार कर्ण र समाजशास्त्री विनोदचन्द आचार्यले सहजीकरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here