नेपालका दुई सिंहलाई न कुर्चीको लालचले छोयो, नत पद र प्रतिष्ठाको मोहले

0
2249

नेताहरु पदका लागि मरिहत्ते गर्छन् भन्ने आम बुझाई छ । उनीहरु पद भनेपछि जे पनि गर्न पछि पर्दैनन्, तर सबै नेताहरु उस्तै हुँदैनन् । कतिपय नेताहरु पद दिँदा पनि लिन चाहदैनन् । यस्तै दुई पात्रहरु हुन गणेशमान सिंह र मोहनविक्रम सिंह । दुबैका पार्टी र राजनीतिक फरक फरक विचार धाराका रहेता पनि पद र प्रतिष्ठाको बारेमा भने दुबैको चासो देखिएन । बरु उनीहरुले नेपाली जनताकाम मनमा सिंहासन बनाए । भनिन्छ – ‘यदि सिंह ढुंगामा बस्दछ भने त्यो ढुंगा रहँदैन, त्यो सिंहासन बन्दछ’ यसरी दुबै सिंहहरुले नेपाली जनताका मन मस्तिष्कामा बसे जनता कै मन मुटुमा सिंहासन जमाए ।। प्रस्तुत छ दुई सिंहहरुको संक्षिप्त परिचय ।

मोहनविक्रम सिंह :

मोहनविक्रम सिंह

नेपाल कम्यूनिष्ट आन्दोलनका धरोहरका रुपमा परिचित नेता मोहनविक्रम सिंहलाई प्रधानमन्त्री केपी शर्मा ओलीदेखि नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समेतका गुरु मानिन्छ । उनको जन्म विस १९९२ वैशाख ३ गते काठमाडौंको मरु टोलमा पिता खिमविक्रम सिंह र माता तारा कुमारीको कोखबाट भएको थियो । उनको स्थायी घर भने प्यूठानको ओखरकोट दमदमेमा पर्दछ । उनले अर्थशास्त्रमा एमए सम्मको अध्ययन गरेका छन् । उनी विस २००७ सालमा नेपाली काँग्रेसमा प्रवेश गरेर प्यूठान तथा सल्यानको मोर्चाहरुमा सहभागी भएका थिए । विस २००८ सालमा जुद्धदय पब्लिक हाइस्कुलको प्रथम अध्यक्षमा निर्वाचित भएका सिंह २००९ सालमा भारतीय हस्तक्षेप विरोधी विद्यार्थी आन्दोलनका क्रममा एक महिना काठमाडौंको भद्रगोल जेलमा बसेका थिए ।

विस २०१० सालमा नेपाल कम्यूनिष्ट पार्टीमा प्रवेश गरेका सिंह २०११ सालमा प्यूठानको भ्रष्टाचार विरोधी आन्दोलनमा गिरफ्तार भएपछि सिंह २० महिनासम्म जेल परेका थिए । सिंह २०१४ सालमा सम्पन्न पार्टीको महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएपछि २०१८ सालमा ९ वर्ष जेल जीवन विताएका थिए । २०२९ सालदेखि भूमिगत रहेका सिंह २०४६ सालदेखि हालसम्म अर्धभूमिगत अवस्थामा छन् । सिंह २०३१ सालमा नेकपा (मसाल)को चौथो महाधिवेशनमा पार्टीको महामन्त्री निर्वाचित भएका उनी हाल पनि महामन्त्री नै छन् ।

का. मोहनविक्रम सिंहको निस्वार्थ राजनीतिक जीवन देश र जनताको पक्षमा रह्यो । उनले जनता र कार्यकर्तामा अघात विस्वास गरेता पनि उनका कैयौं कार्यकर्ताहरूले समय–समयमा उनी र पार्टीप्रति विश्वासघात गरे तर उनले राजनीतिकमा कहिल्यै हरेष खाएनन् । पार्टीप्रति विश्वासघात गर्नेहरुले पटक–पटक पदको भोको, लालची, महामन्त्रीबाट हटन नचाहने जस्ता अनर्गल आरोपहरु लगाउँदै गए । तर सिंहले राजनीतिलाई प्रयोग गरेर आफ्नो क्यारियर बनाउने विचार कहिल्यै गरेनन्, आफ्नो सारा जीवन देशको र जनक्रान्तिको हितमा अर्पण गरे । यहाँसम्म की विस २०११ मा तात्कालिन राजा त्रिभुवनले राष्ट्रिय सल्लाहकार सभामा नियुक्ती गर्दा समेत सिंहले त्यसलाई अस्वीकार गरेका थिए ।

सर्वप्रथम २०११ मा प्यूठानको किसान समस्या र किसान संघर्ष, शान्तिपूर्ण आन्दोलन वा सशस्त्र संघर्ष, राजनैतिक आलोचना, नेपाल–भारत व्यापार तथा पारवहन समस्या, विचार विवेचना र विश्लेषण, क्रान्ति वा भ्रान्ति, चार दशक (प्रथम र द्वितीय खण्ड), १२ मई (नाटक), उग्र–वामपंथी विचारधाराको खण्डन, विश्व कम्युनिष्ट आन्दोलनको संक्षिप्त इतिहास, नेपालको राष्ट्रियता (राष्ट्रियता सम्बन्धी लेखहरुको संग्रह), युग नृत्य (खण्ड काव्य र कविताहरु), रिम र माओवादीहरुको कथित जनयुद्ध, साहित्य र समालोचना, दुई एकांकी, सम्पादन ओशो धार्मिक सम्प्रदाय र समाजमा त्यसको भूमिका, संघीयताका विरुद्ध, Two Line Struggle Within RIM आदि पुस्तकहरु सिंहले प्रकाशन गरेका छन् । सिंहका सैकडौं लेख, कृतिहरू सबैले निस्वार्थ रूपमा जनतालाई राष्ट्रियता र जनतन्त्रको पक्षमा संगठित भएर संघर्ष गर्ने प्रेरणा दिएका छन् ।

सिंह आज नेपाली कम्युनिष्ट आन्दोलनका एउटा अटल धरोहरको रूपमा अवस्थित छन् । माक्र्सवाद–लेनिनवाद– माओत्सेतुङ विचारधाराका अविचलीत नेता सिंह विश्व कम्युनिष्ट आन्दोलनका धरोहर मध्य कै एक हुन् भन्न सकिन्छ । सिंहले विश्व कम्युनिष्ट आन्दोलनमा देखापरेका दक्षिणपन्थी, मध्यपन्थसी अवसरवाद, अराजकता, उग्रवामपन्थी भडकाव र तमाम क्यारीरिष्ट प्रकारका विचारको भण्डाफोर्ड गर्दै आएका छन् । उनले देशमा राणाकालदेखि सामन्ती राजतन्त्रको विरूद्धमा समझौताहिन संघर्ष गरेको इतिहास आम नेपाली माझ छ ।संविधान सभाकाका लागि दर्भंगा प्लेनमदेखि संविधान सभाको निर्वाचनका लागि संघर्ष गर्दै आएका सिंहको संविधान सभाको निर्वाचन र संविधान निमार्ण अनि गणतन्त्र सुदृढ गर्ने सवालमा निकै सक्रिय भूमिका रह्यो । हाल सिंह ८३ वर्षका भइसेकता पनि संघीयता विरूद्धको आन्दोलनमा सक्रियतापूर्वक र संघर्षरत छन् ।

त्यसो त गतवर्ष एक कार्यक्रममा प्रधानमन्त्री ओली अतिथिका रुपमा पुगेका थिए । नेता सिंह भने सहभागीका रुपमा एउटा कुनामा बसेका थिए । प्रधानमन्त्री ओलीले सिंहलाई देखेपछि, अब कसैले समाउन नसक्ने भन्दै सार्वजनिक हुन आग्रह गरेका थिए । उनले अहिलेका थुप्रै कम्यूनिष्ट नेताहरुलाई भौतिकवादको दर्शन पढाएका छन् । सिंह अर्धभूमिगत भए पछि उनले समसायीक लेख, रचना भने नियमित रुपमा लेख्छन् । आजसम्मको राजनीतिक जीवन अविचलीत, निडर, साहसी राजनीति विष्लेशक र कट्टर माक्र्सवाद–लेनिनवाद–माओविचारधाराको रक्षकको रूपमा सिंह अटल छन् ।

गणेशमान सिंह :

गणेशमान सिंहः

नेपालका बरिष्ठ राजनीतिज्ञ, प्रजातान्त्रका योद्धा तथा २०४६ सालको जनआन्दोलनको सर्वोच्च कमाण्डर गणेशमान सिंहको जन्म विक्रम संवत् १९७२ मा भएको थियो । सिंहले विस १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजापरिषदको सदस्य भई राणा शासन हटाउँ राजनीतिमा आफूलाई होमेका थिए । भद्रगोल जेल फोरेर भागेका गणेशमानले विपी कोइरालासँग मिलेर २००३ सालमा स्थापित नेपाली काँग्रेसलाई आजिवन जुझारु नेतृत्व प्रदान गरे । विपि कोइराला भन्दा बढि समयसम्म देशमा प्रजातन्त्र बहाली र पुनरवाहलीका लागि समर्थपित गणेशमान सिंह सैद्धान्तीक हिसावले विपीका अनुयायी र सबैभन्दा ठुला समर्थकका रुपमा लिइन्छ । गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि ८ वर्ष निरन्तर कारावास सजाए भोगे । त्यसपछि पुनः २०३३ सालमा विपीसँगै राष्ट्रिय मेलमिलापको नारा लिई स्वदेश फर्केर पञ्चायती व्यवस्थाका विरुद्ध सक्रिय रहे । विपिको निधन पछि काँग्रेसका सर्बाेच्च नेताका रुपमा गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलन आरम्भ गरेका थिए । उनी २०४६ सालको राष्ट्रिय जनआन्दोलनका सर्बोच्च कमाण्डर थिए ।

तत्कालिन राणा सरकारले उनीसँगै जेल परेका गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द, शुक्रराज शास्त्रीलाई मृत्युदण्ड दिएको थियो । २००७ सालमा सिंहले उद्योग तथा बाणीज्य मन्त्रीको कार्यभार सम्हालेका थिए । २००८ सालमा कृर्षीभूमी तथा खाद्य मन्त्री भएका सिंहले विपीको निर्देशनमा राजीनामा दिए । चैत्र २७, २०४६ साल काठमाडौंको टुंडीखेलमा आयोजित विशाल जनसभामा एतिहाँसिक सम्बोधन गर्ने सिंहलाई फादर अफ डेमोक्रेशीको रुपमा सम्मानित गरिएको थियो । जनआन्दोलन पछिको अन्तरिम सरकारको प्रधानमन्त्री पद लिन राजा विरेन्द्रको आग्रह हुँदा सिंहले अस्वीकार गरेका थिए । नेपाल तथा विश्व मै मानव अधिकार र शान्ति स्थापनाका निम्ती नेतृत्वदायी भूमिका निर्वाह गरेवापत सम्मान स्वरुप अमेरिकाबाट पिसरन पुरस्कार १९९०, तथा मानव अधिकार पुरस्कार १९९३ एवं ऊ थान्त शान्ति पुरस्कारबाट उनी सम्मानित भएका थिए ।

२०५१ साल भदौमा गणेशमान सिंहले नेपाली काँग्रेस छोडे पनि काँग्रेसले उनलाई कहिल्यै पनि छोडेन । उनको ८२ वर्षको उमेरमा २०५४ साल, असौज २ गते निधन भएको थियो । सरकारले ३ दिनसम्म राष्ट्रिय शोक मनाउने घोषणा गर्यो । तत्कालिन श्री ५ को सरकारले कुनै पनि सरकारी पदमा नभएको र राजनीतिकज्ञको सम्मानमा गरेको यो नै पहिलो घोषणा थियो । उनलाई लोह पुरुष, फादर अफ डेमोक्रेसी, सर्वमान्य नेता, वीर गणेशमान, वरिष्ठ प्रजातन्त्रवादी नेता, नेपाली जनक्रान्तिका महान योद्धा, जनआन्दोलनका कमाण्डर, सर्बोच्च नेता आदि उपनामले पनि चिनिन्छ ।
केन्द्रबिन्दु डटकमबाट साभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here