नयाँ युगको वन्दना

0
154
बालाराम तिमिलसिना

तिम्रो वलात्कारी फेला नपरेर के भो !
यी हेर नयाँ युग आउँन रैछ
वलात्कारी खाटमुनी लुक्यो
र हामीलाई नयाँ युग उपहार पठायो
हामी नयाँ युगका वासिन्दा
हामी ओली युगका वासिन्दा
हामी सवैलाई वधाई छ !
(सुल्टो हैन उल्टो पट्टीबाट )

भ्रष्टचार मौलायो ?
भो गुनासो नगर्नुस
यो गुनासो गर्ने युग होइन
हामी चानचुने युगमा छैनौं
भ्रष्टाचारीहरूले भ्रष्टचार गरे पनि
सरकारलाई नयाँ युग ल्याउँन सघाएका छन
उनीहरूको ठूलो योगदानले
झुलुक्क नयाँ युग झुल्केको छ
आऊ ! सवै घर बाहिर आऊ
आऊ सवै सडकमा आऊ
फूल माला लिएर आऊ
टिका अविर लिएर आऊ
एउटा नयाँ युगको अविर जात्रा गर्नु पर्छ !

भोक लाग्यो ?
हैट , अहिले शान्त रहनुस
यो हल्ला गर्ने समय होइन
यो युगको वदनाम हुने काम नगर्नुस
भात कौन सा ठूलो कुरा हो ?
यहाँ युग नै नयाँ आइसक्यो
अहिले खाना विर्सने समय हो
छाना विर्सने समय हो
र नाना विर्सने समय हो
असमानता विभेद सव विर्सने समय हो
नयाँ युग छ र नयाँ युगका नयाँ नायक छन
नपत्याए ऊ हेर
भित्ताहरूमा हेर
अखवारका मुख-पानाहरूमा हेर
पत्याएनौ ?
हैट , छापा अक्षरमा छापिएर आइसक्यो
आइ सक्यो क्या आइसक्यो
नयाँ युग हरर आइसक्यो !

अव,
घरको दैलोमाथि
एउटा युग-नायकको फोटो हुनु पर्छ
घरभित्र छिर्दा नमस्कार
घरबाट निस्कदा नमस्कार
सुत्नुअघि , उठ्नासाथ
खानु-अघि, खाइसक्नासाथ
उनलाई नमस्कार गर्नु पर्छ
कुरा वुझेनौ ? कस्तो नबुझेको !
ठ्याक्कै क्या ठ्याक्कै
हिजो बडामाराजको फोटोलाईजस्तै !

यो युग उनको पनि हो
यो युग हाम्रो पनि हो
तर अन्तिम विश्लेषणमा
यो युग घोषणा गर्नेहरूको हो
हामी घोषणा सुन्नेहरूले
युगको तामझामा हेर्ने हो बस्ने हो !

हामी नयाँ युगका बासिन्दा
हामी ओली युगका बासिन्दा
हामी सवैलाई वधाई छ
( तर उल्टो पट्टीबाट)

२७|११|२०१८
सुवर्णचोक, भक्तपुर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here