नयाँ पिढीलाई विश्वस्त पार्नेबारेमा

0
349
– प्रकाश थापा मगर
कम्युनिस्ट पार्टीको नेतृत्वका सन्तानहरु सक्रिय राजनीतिमा सामेल नहुने सवालमा दुई खालको समस्या देखिएको छ : प्रथम, जुन अनुपातमा आमाबाबु राजनीतिमा सक्रिय छन्, त्यो अनुपातमा छोराछोरीहरु राजनीतिमा नै छैनन्, द्वितीय, जुन सीमित सङ्ख्यामा छोराछोरीहरु राजनीतिसँग जोडिएका छन्, त्यही अपेक्षा अनुसार उनीहरु सक्रिय राजनीतिमा टिक्न सकेका छैनन् ।
यीमध्ये मुख्य समस्या पहिलो नै हो । किन कम्युनिस्ट पार्टीको नेताका सन्तानहरु राजनीतिमा सक्रिय छैनन् ? सीमित रूपमा सक्रिय भए पनि तिनीहरु क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुमा क्रियाशील छैनन् ? यस सम्बन्धमा विचार गर्नु पर्ने आवश्यकता छँदै छ । तर यस सम्बन्धमा एउटा तथ्य उल्लेखनीय छ– गैर कम्युनिस्ट पार्टीको नेताका छोराछोरीहरु भने वामपन्थीको तुलनामा अपेक्षाकृत बढी क्रियाशील भएका पाइन्छन् । धेरै टाढा नजाऔँ, दक्षिण एसियामा मात्रै पनि विचार गर्दा गैर वामपन्थी क्षेत्रको राजनीतिक नेतृत्वमा वंशको निरन्तरता देख्न सकिन्छ । नेपालमा कोइराला र भारतमा गान्धी परिवारको राजनीतिक नेतृत्वमा निरन्तर क्रियाशीलता यस सम्बन्धी उदाहरण हुन् ।
विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा भएकाले वामपन्थी क्षेत्रमा आकर्षण कमजोर भएको सत्य हो । अर्कातिर, गैर वामपन्थी क्षेत्रको राजनीतिमा वंशको निरन्तरता बुझ्न सकिने विषय हो । कारण : वामपन्थीका तुलनामा गैर वामपन्थी क्षेत्रको राजनीतिमा प्रशस्त अनुकूलताहरु छन्– दार्शनिक, सैद्धान्तिक–वैचारिक, सङ्गठनात्मक र कार्यशैलीका हिसाबले वामपन्थी पार्टीका तुलनामा गैर वामपन्थी पार्टीको राजनीतिमा अनुकूलताहरु छन् । अझ गैर वामपन्थी क्षेत्रमा कतिपय यस्ता राजनीतिक पार्टीहरु छन्, जो धर्म, जाति, क्षेत्र र वंशका आधारमा सञ्चालित छन् । यी मध्ये केही पार्टीहरु एनजिओद्वारा परिचालित छन् भने कोही विदेशी शक्तिहरुको फन्डिङमा । यस्ता पार्टीहरुको दार्शनिक, सैद्धान्तिक–वैचारिक सङ्गठनात्मक र कार्यशैली ठोस सैद्धान्तिक आदर्शका आधारमा उभिएको हुँदैन । यो विशिष्टतासित कम्युनिस्ट पार्टीको राजनीतिलाई तुलना गर्ने भने धेरै कुरा प्रष्ट हुने छ : कम्युनिस्ट पार्टीको नेतृत्वका सन्तानहरु स्वाभाविक र सन्तोषजनक रूपले गैर वामपन्थी वा गैर कम्युनिस्ट पार्टीको राजनीतिमा जस्तो क्रियाशील नहुनुको पछाडिका कारण बुझ्न सकिन्छ ।
माथिको सङ्क्षिप्त सङ्केतबाट मात्र पनि कम्युनिस्ट राजनीति अन्य राजनीतिभन्दा पृथक, जटिल र कठिनाइपूर्ण भएको अनुमान लगाउन गाह्रो छैन । त्यस्ता पृथकता, जटिलता र कठिनाइहरु के हुन् त ?
दर्शन : द्वन्द्वात्मक भौतिकवाद 
अन्य पार्टीभन्दा कम्युनिस्ट राजनीतिको मुख्य पृथकता दर्शनको हो । अन्य पार्टीहरुका लागि राजनीति गर्न कुनै खास दर्शनको अध्ययन गर्नु पर्ने आवश्यकता हुन्न, व्यक्तिगत रूपमा कसैले दर्शनको अध्ययनमा रुचि राख्दछ भने त्यो बेग्लै विषय हो र नराम्रो विषय पनि भएन । तर कम्युनिस्ट पार्टीका सदस्यहरुका लागि भने दर्शनको अध्ययन, खास गरी द्वन्द्वात्मक भौतिकवादको अध्ययन प्राथमिक कार्यभार हो । कम्युनिस्ट पार्टीमा नेतृत्व गर्ने व्यक्तिहरुका लागि मात्र होइन, त्यसमा काम गर्ने अन्य नेता/कार्यकर्ताहरुका लागि पनि दर्शनको अध्ययन अति आवश्यक हुन्छ । कारण : कम्युनिस्ट पार्टीका निर्णयहरु द्वन्द्वात्मक भौतिकवादी दर्शनको आलोकमा लिइन्छन्, समाज सम्बन्धी निर्णयहरु ऐतिहासिक भौतिकवादको आलोकमा लिइन्छन् । कम्युनिस्ट पार्टीका तार्किक र सामाजिक निर्णयहरुलाई सही ढङ्गले बुझ्नका लागि पनि यी दर्शनहरुको अध्ययन, चिन्तन र मनन् अनिवार्य छ ।
अन्य दर्शनको तुलनामा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन नयाँ पिढीका लागि जटिल वा कठिन छ । त्यसका पछाडिको एउटा कारण हो– यो दर्शन अहिले सत्तासिन पक्षको होइन, बरु प्रतिपक्षको हो । अर्काे पक्ष विषयवस्तुको छ । माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन र माओ सबैले विपरीत वस्तुहरुका बीचको एकता र सङ्घर्षलाई द्वन्द्वात्मक भौतिकवादको मुख्य तत्त्व बताएका छन् । यसमध्ये विपरीत तत्त्वहरुका बीचको सङ्घर्ष स्थायी पक्ष हो भने एकता अस्थायी । द्वन्द्वात्मक भौतिकवादको समाज वा इतिहासमा प्रयोग नै ऐतिहासिक भौतिकवाद हो ।
यहाँ उल्लेखनीय पक्ष यो छ– द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादबारे एक स्तरको समझदारी कायम नभइकन न कम्युनिस्ट पार्टीको नेतृत्वले कुनै फैसला गर्न सक्छ, न कार्यकर्ताहरुले ती निर्णयहरुलाई सही रूपमा बुझ्न सक्छन् । उदाहरणका लागि पुँजीवादी व्यवस्थाको प्रसङ्गलाई लिऊँ । जुन देशमा उद्योगधन्दाको विकास भएको छ वा पुँजीको विकास भएको छ, त्यहाँ कम्युनिस्टहरुका लागि पुँजीवाद प्रतिक्रियावादी व्यवस्था हो । तर जहाँको सामाजिक व्यवस्था सामन्तवादी छ वा जहाँ पुँजीको विकास भएको छैन, त्यहाँका लागि पुँजीवादी व्यवस्था प्रगतिशील वा अग्रगामी व्यवस्था हो । यस प्रकार कम्युनिस्ट पार्टीका लागि एउटै व्यवस्था (उदाहरणका लागि पुँजीवादी व्यवस्था) दुई बेग्ला बेग्लै परिस्थितिमा बेग्ला बेग्लै स्थितिमा रहन्छन् । एउटा परिस्थितिमा पुँजीवादी व्यवस्था प्रगतिशील वा अग्रगामी हुन्छ भने अर्काे परिस्थितिमा प्रतिक्रियावादी । यसरी पुँजीवादी व्यवस्थाको सवालमा कम्युनिस्टहरु समर्थन र विरोध दुवै गर्दछन् । तर समर्थन वा विरोधमध्ये कुन प्रकारको नीति अपनाउने ? त्यस सम्बन्धी निर्णय परिस्थिति अनुसार निर्धारित हुन्छ । त्यस कारण लेनिनले ठोस परिस्थितिको ठोस विश्लेषणलाई माक्र्सवादको आत्मा बताएका थिए ।
जुन व्यक्तिमा विषयवस्तुबारे यस खालको दार्शनिक, सैद्धान्तिक समझदारी कायम हुन्न, उनीहरुले न कम्युनिस्ट पार्टीले जसरी निर्णय गर्न सक्दछन्, न त कम्युनिस्ट पार्टीको यस खालको निर्णयलाई सही परिप्रेक्ष्यमा बुझ्न सक्दछन् ।
सैद्धान्तिक–वैचारिक पक्ष : समाजवाद–साम्यवाद
कम्युनिस्टहरुको अधिकतम राजनीति समाजवाद–साम्यवाद हो । यो उनीहरुको अन्तिम लक्ष्य पनि हो । समाजवादी र साम्यवादी व्यवस्था स्थापनाका लागि परिस्थिति अनुसारको रणनीति र कार्यनीतिको समग्रता नै सर्वहारा राजनीति हो ।
समाजवाद र साम्यवादको स्थापना दीर्घकालीन र कठिनाइपूर्ण वर्ग सङ्घर्षबाट मात्र सम्भव छ । त्यसका लागि सम्बन्धित देशको परिस्थिति अनुसारको राजनीति तय गर्नु पर्ने हुन्छ । जहाँ पुँजीको विकास भएको छ, त्यहाँ सिधै समाजवादी क्रान्ति मार्फत् समाजवादी राज्यव्यवस्था स्थापना गर्न सकिन्छ । जहाँ पुँजीको विकास भएको छैन, त्यहाँ पुँजीवादी चरणको सर्वहारा क्रान्ति (नयाँ जनवादी क्रान्ति) सम्पन्न गरेर अगाडि बढ्नु पर्दछ । क्रान्ति पूर्वका सर्वहारा राजनीति सत्ता कब्जाको वरिपरि केन्द्रित हुन्छन् । अधिकतम कार्यक्रम समाजवाद–साम्यवाद भए पनि तात्कालिक लक्ष्य (वा कार्यक्रम) नयाँ जनवादी क्रान्ति निर्धारित गरिएको ठाउँमा कम्युनिस्ट पार्टीले एक खालको राजनीति अपनाउँछ भने जहाँ समाजवाद नै तात्कालिक कार्यक्रम बन्दछ, त्यहाँ बेग्लै खालको राजनीति अपनाउँछ ।
यस प्रकार राजनीतिको सवालमा कम्युनिस्टहरु ठोस सैद्धान्तिक–राजनीतिक प्रस्थापनाका आधारमा अगाडि बढ्छन् । यसरी कम्युनिस्ट राजनीति गैर वामपन्थीको जस्तो प्रष्ट र सहज देखिन्न । त्यस कारण नयाँ पिँढीका सामु जति सहजता गैर वामपन्थी राजनीतिमा प्रवेश गर्नुमा छ, त्यति सहजता वामपन्थी राजनीतिमा छैन । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनका आधारमा विवेचना गरेर राजनीतिक योजना र निर्णय निर्धारण गर्ने तौरतरिकामा अवश्य पनि प्रशस्त जटिलताहरु छन्, जुन जटिलतालाई दार्शनिक, सैद्धान्तिक समझदारी कायम नभइकन पार गर्न सकिन्न ।
सङ्गठनात्मक पक्ष : जनवादी केन्द्रीयता
कम्युनिस्टहरु सङ्गठनको परिचालन जनवादी केन्द्रीयताको सिद्धान्तको आधारमा गर्दछन् । जनवादी केन्द्रीयताको सिद्धान्तभित्र सम्पूर्ण समिति केन्द्रीय समितिको मातहतमा, तल्ला समितिहरु उपल्ला समितिको मातहतमा, अल्पमत बहुमतको मातहतमा, केन्द्रीय समिति सम्मेलन वा महाधिवेशनको मातहतमा र सम्पूर्ण सदस्यहरु सङ्गठनको मातहतमा जस्ता नियमहरु निर्धारित गरिएका छन् । त्यसै गरी छलफलको स्वतन्त्रता र काम–कारवाहीमा एकता तथा सामूहिक निर्णय व्यक्तिगत जिम्मेवारी जस्ता पद्धतिहरु पनि छन् । व्यक्तिगत सम्पत्ति सहितको वर्गीय समाजमा व्यक्तिगत वा निजी प्रकृतिका विचारहरु प्रतिबिम्बित गर्ने खालका मतभेदहरु सङ्गठनमा बारम्बार सतहमा आउँछन् । ती मतभेदहरुलाई नियमन गर्नका लािग कम्युनिस्टहरुले अनुशासनको यस्तो संरचना निर्माण गरेका हुन्छन् ।
विद्यमान समाज व्यक्तिगत प्रकृतिको रहेकाले व्यक्तिगत मत, आवेग, संवेदना र हितलाई सर्वोपरि ठान्ने स्थिति बारम्बार निर्माण हुन्छ । राजनीतिक पार्टीमा जब तिनै समाजबाट सदस्यहरु भर्ना हुन्छन्, त्यही खालको मानसिकता पनि सँगै पार्टीमा प्रवेश गर्दछ । यस्तो व्यक्तिगत मतभेदबाट पार्टीलाई माथि उठाउन वा पार्टीलाई व्यक्तिगत मतभेदमा नै रनभुल्ल नपार्न लेनिनले जनवादी केन्द्रीयता सम्बधी अवधारणा अगाडि सारेका थिए । लेनिनपछि स्टालिन, माओ र संसारभरिका कम्युनिस्ट पार्टीहरुले जनवादी केन्द्रीयताको सिद्धान्तलाई अपरिहार्य तत्त्व मानेर सङ्गठन परिचालन गरी रहेका छन् । जबसम्म समाजमा व्यक्तिगत स्वामित्व रहन्छ, तबसम्म वर्ग सङ्घर्ष रही रहन्छ र वर्ग सङ्घर्षको प्रतिबिम्ब राजनीतिक पार्टीभित्र पनि पर्दछ । यस्तो स्थिति कायम रहँदासम्म जनवादी केन्द्रीयताको सिद्धान्त औचित्यपूर्ण नै रहने प्रष्ट छ ।
गैर वामपन्थी पार्टीमा सङ्गठन व्यक्तिगत स्वविवेकका आधारमा सञ्चालन भएका पाइन्छन् । त्यस्ता पार्टीका सदस्यहरु पनि यही प्रकारको मानसिकता, मनोविज्ञानका साथ पार्टीमा परिचालित हुन्छन् । प्रारम्भिक चरणसम्म सल्लाह, सुझावका बारेमा छलफल भएता पनि अन्तत: नेतृत्वको व्यक्तिगत निर्णय नै अन्तिम हुने स्थिति त्यहाँ हुन्छ । यही स्थितिका कारणले गर्दा यस्ता पार्टीहरुले साम्प्रदायिक, जातीय, क्षेत्रीय/इलाकीय वा नितान्त व्यक्तिवादी निर्णय लिँदा पनि त्यसप्रतिको विरोधले सार्थक परिणाम ल्याउन सक्दैन । तर कम्युनिस्ट पार्टीमा यस्तो स्थितिको ठिक विपरीत स्थिति रहनाले नयाँ पिँढीबाट भर्ना हुने सदस्यका सामु कठिनाइ उत्पान्न हुन्छ । नयाँ पिँढीका सदस्यका लागि यी सबै पद्धति नयाँ हुन्छन्, असहज हुन्छन् र खालि दार्शनिक–सैद्धान्तिक प्रतिबद्धताका आधारमा मात्र यी पद्धतिलाई सहज रूपमा लिनु सम्भव हुन्छ । त्यस कारण सङ्गठनात्मक पद्धति पनि नयाँ पिँढीका लागि गैर वामपन्थी क्षेत्रका लागि जस्तो सहज र सरल हुन्न ।
कार्यशैली : जन अनुमोदित आचरण
कम्युनिस्ट पार्टीका नेता, कार्यकर्ताहरुमा जन अनुमोदित आचरण हुनु आवश्यक छ । जन अनुमोदित आचरणको अर्थ हुन्छ– जनताको हित विपरीत जाने खालका आचरणको निषेध । कम्युनिस्ट पार्टीका नेता/कार्यकर्ताहरु स्वेच्छाचारी, अराजक, स्वच्छन्दतावादी वा व्यक्तिवादी हुनु हुँदैन भन्ने यसको अर्थ हो । नम्र, शिष्ट, भद्र, दयालु, संवेदनशील—यस खालका आचरण कम्युनिस्ट पार्टीको सदस्यहरुका लागि आधारभूत तत्त्व मानिन्छन् । अझ जुन कार्यकर्ताहरु जनतासितको प्रत्यक्ष सम्पर्कमा रहन्छन्, उनीहरुको हकमा त जन अनुमोदित आचरण अनिवार्य जस्तै हुन्छ । यदि यस खालको आचरण कायम गर्न सकिन्न भने त्यस्ता नेता/कार्यकर्ताहरु अलोकप्रिय बन्न पुग्दछन्, फलस्वरूप उनीहरु जनताबाट तिरस्कृत हुन पुग्दछन् ।
यहाँ हामीमा जनता प्रवर्गबारे स्पष्ट समझदारी कायम हुनु पर्दछ । कम्युनिस्टहरुले जनता प्रवर्गभित्र सर्वहारा पङ्क्तिलाई सामेल गर्दछन् अथवा शोषित–पीडित सामाजिक तप्का नै जनता हुन्, जनताको शोषण, दमन गर्ने मुट्ठीभर सामाजिक तप्का जनता हुन सक्दैनन् । अझ ठोस शब्दमा भन्नु पर्दा (वर्ग विश्लेषणका आधारमा) औद्योगिक मजदुर, साना व्यवसायी, खेत मजदुर, गरिब किसान वा निम्न मध्यम किसानहरुको सम्मिलित सामाजिक तप्का नै जनता हो । नयाँ जनवादी क्रान्तिको चरणमा मध्यम किसान, धनी किसान र राष्ट्रिय पुँजीपति जनताका मित्र हुन् ।
कम्युनिस्ट कार्यशैलीका बारेमा छलफल गर्दा स्टालिन र माओले क्रान्तिकारी जोश र दक्षतामाथि जोड दिएका छन् । क्रान्तिकारी दृष्टिकोणद्वारा लैस नभइकन लाल स्प्रिट उत्पन्न हुन्न । खालि जोशिलो क्रान्तिकारी लाल स्प्रिट मात्र भएर पुग्दैन, दक्षता वा कार्यक्षमता र कुशलताको पनि त्यत्तिकै आवश्यकता पर्दछ । क्रान्तिकारी दृष्टिकोणका आधारमा जोश या स्फूर्ति, परिस्थिति अनुकूल निर्णय लिन सक्ने सृजनात्मकता वा वस्तुवादी दृष्टिविन्दु र निर्धारित, निश्चित कार्यभारलाई पुरा गर्ने हदसम्मको दृढता, प्रतिबद्धता, कटिबद्धता, इमान्दारिता कम्युनिस्ट कार्यशैलीका आवश्यक गुणहरु हुुन् ।
कम्युनिस्टहरुका उपर्युक्त आचरण, कार्यशैली, नैतिकता सम्बन्धी विषयवस्तु कठिन छन् । सबैभन्दा अप्ठेरो विषय सामूहिक अनुशासनको हो । व्यक्तिवादी प्रकारले, अनियन्त्रित र स्वच्छन्द प्रकारले चल्न खोज्ने प्रवृत्तिका सामु सामूहिक अनुशासन पहाड बनेर उभिए जस्तो हुन्छ । त्यस कारण नयाँ पिँढीका लागि कम्युनिस्ट अनुशासन कठिन विषय बन्न जान्छ ।
उत्तर आधुनिक प्रवृत्ति
अहिलेको युग साम्राज्यवादी हो । साम्राज्यवाद भनेको आधारभूत रूपमा पुँजीवादी व्यवस्था नै हो । तर पुँजीवादी व्यवस्थाभित्र कुनै वस्तु वा सेवाहरुले विश्वव्यापी रूपमा एकाधिकार कायम गर्दछन् भने त्यसैलाई साम्राज्यवादी चरण भनिन्छ । कुनै देशका वस्तु वा सेवाले विश्वभरि एकाधिकारको हदसम्म विकास गर्दछन् (पुँजी निर्यात) र त्यो देशको राज्यसत्ताले यस्तो पुँजीलाई समर्थन गर्दछ भने त्यस्तो राज्य व्यवस्थालाई साम्राज्यवादी भनिन्छ । जस्तै– अमेरिकी राज्यसत्ता साम्राज्यवादी राज्यसत्ता हो । तर वर्तमान समय साम्राज्यवादबाट मात्र सन्तुष्ट छैन । त्यसको सुधारस्वरूप साम्राज्यवादभित्रैबाट उत्तर आधुनिक प्रवृत्ति उदाएको छ । यस्तो प्रवृत्तिले आफूलाई आधुनिक युगबाट पनि अगाडि बढेको दावी गर्दछ । साम्राज्यवादलाई पनि पिछडिएको ठान्दछ । तर यस खालको दावी गरेता पनि उत्तर आधुनिकताका पक्षधरसित कुनै सुसङ्गत वा प्रष्ट अवधारणा छैन । उसले अहिलेको विश्वमा दर्शन, नैतिकता, आदर्श, इतिहास, साहित्य, कला, कानुन जस्ता कुनै पनि शाश्वत चिजको अस्तित्त्व नभएको दावी गर्दछ । आँखाले जुन चिज प्रष्ट रूपमा देख्न सकिन्छ, त्यही नै अन्तिम सत्य हो भन्ने उसको तर्क छ । खाऊँ, पिऊँ, मोज गरूँ, आदर्श, नैतिकता भन्ने केही छैन भन्ने प्रवृत्ति उत्तर आधुनिकतामा पाइन्छ । यस्तो अमूर्त विचारको प्रभाव नयाँ पिँढीमा पनि प्रशस्त परेको छ ।
पुँजीवाद, साम्राज्यवादलाई एक अर्थमा उत्तर आधुनिकतावादले फाइदा पुर्‍याएको छ । किनकि दर्शन, कानुन, इतिहास, कला, साहित्य, संस्कृति जस्ता कम्युनिस्टहरुले अत्यधिक जोड दिने क्षेत्रमा यसले पानी धमिल्याई दिएको छ । यस अर्थमा पुँजीवादीहरुलाई हाइसञ्चो भएको छ । यता कम्युनिस्टहरुका अगाडि भने गम्भीर चुनौती थपी दिएको छ । उत्तर आधुनिकतावादी प्रवृत्तिले सबैभन्दा बढी प्रहार कम्युनिस्ट आदर्श, नैतिकतामाथि गर्दछ । अन्तिम लक्ष्य समाजवाद–साम्यवादसम्म पुग्नका लागि कम्युनिस्टहरुले जसरी दीर्घकालीन लक्ष्य निर्धारण गर्दछन्, त्यहाँसम्म पुग्नका लािग कठोर नैतिकता, अनुशासन, आचरण कायम गर्दछन्, उत्तर आनुधिकतावादले त्यसका सामु प्रशस्त अवरोध सृजना गरी दिन्छ । प्रकृति जस्तै मानव समाज पनि नियमानुशासित छ, शोषणविहीन समाज निर्माणको मार्गका पथिकहरुमा कठोर अनुशासन, नैतिकता, आचरण हुनु आवश्यक छ भन्ने आदर्शद्वारा आफ्ना नेता, कार्यकर्ताहरुलाई लैस गर्नमा जति कठिनाइ कमयुनिस्टहरुलाई छ, त्यति अरू पक्षलाई छैन । त्यस कारण कम्युनिस्टहरुको नेतृत्वमा उत्तर आधुनिकतावादको प्रभावलाई निस्तेज नपारिकन नयाँ पिढीलाई कम्युनिस्ट आन्दोलनको पक्षमा व्यापक मात्रामा सामेल गर्नु सम्भव छैन ।
नकारात्मक परिस्थितिको सकारात्मक परिणाम
कम्युनिस्ट चरित्र नकारात्मक परिस्थितिको सकारात्मक परिणामको रूपमा पनि अगाडि आउँछ । कम्युनिस्ट वैचारिक प्रवर्ग हो । यो तीव्र वर्ग सङ्घर्षको बीचबाट जन्मिन्छ । जहाँ सामन्त र पुँजीपति वर्गको शोषण, दमन, अन्याय, अत्याचार तीव्र र सर्वाङ्ग हुन्छ, त्यहाँ नै कम्युनिस्ट चरित्र स्थापनाका लागि वस्तुगत आधार तयार हुन्छ । रुसमा जारशाहीको चरम शोषण, दमन, चीनमा पछिल्लो समयमा च्याङकाइसेकको राष्ट्रिय स्वाधीनताको विरुद्धमा जापानी साम्राज्यवादपरस्तताको वस्तुगत आधारमा नै त्यहाँका क्रान्तिकारी कम्युनिस्ट आन्दोलन सशक्त रूपमा स्थापित भएको थियो । नेपालमा शाह र राणाहरुको जहानियाँ निरङ्कुशता र भारतीय विस्तारवादको राष्ट्रियता, जनतन्त्र र जनजिविका विरोधी गतिविधिका कारण नै वामपन्थी वा कम्युनिस्टको प्रभाव बढी रहेको छ । रुस, चीन, भारत जस्ता देशमा कम्युनिस्ट प्रभाव घटी रहेका बेला नेपालमा उनीहरुको प्रभाव बढी रहनुका पछाडि यिनै कारणहरुले पनि काम गरी रहेका छन् । २०७२ सालमा शक्तिशाली भूकम्पले देश थर्थराई रहेका बेला आफ्नो संविधान आफै बनाए वापत् लगाइएको नाकाबन्दीले नेपाली जनतालाई भारतको विस्तारवादी भूमिकाबारे वस्तुगत रूपमा नै स्पष्ट बनाएको छ ।
समाज विकासको नियमले बताउँछ– जहाँ शोषण, दमन, अन्याय, अत्याचार तीव्र र सर्वाङ्ग हुन्छ, त्यहीँ नै उत्पीडित वर्गको सशक्त प्रतिरोध हुन्छ । यस्तो प्रकारको सशक्त प्रतिरोधको लिकबाट नै मुक्ति–आन्दोलनको रेल अगाडि बढ्छ । यसरी समाजमा भई रहेको शोषण, दमनको सारतत्त्वबारे आम जनतालाई, युवा पिँढीलाई स्पष्ट पार्न सकेको खण्डमा कम्युनिस्ट पार्टीप्रति युवा पिँढी आकर्षित हुन सक्दछ । त्यसका विपरीत यदि हँसिया–हथौँडा अङ्कित झण्डाभित्रैबाट शोषण, दमनको सारतत्त्वलाई लुकाउने वा विकृत पार्ने प्रयास गरिन्छ भने त्यसको दोष युवा तप्का वा नयाँ पिँढीलाई दिन सकिदैन । जसरी दक्षिणपन्थी अवसरवादीहरुले प्रतिक्रियावादको पिछलग्गु बनेर शोषण, दमनमाथि पर्दा राख्न तँछाडमछाड गर्दछन्, त्यतिखेर नयाँ पिढी रनभुल्ल पर्नु वा उनीहरुले समग्र राजनीतिक क्षेत्रप्रति नै अरुचि प्रकट गर्नु अन्यथा होइन । यस्तो परिस्थितिमा कम्युनिस्ट क्रान्तिकारी शक्तिहरु मैदानमा आउनु पर्दछ । उनीहरुले देशी–विदेशी प्रतिक्रियावादीका साथै दक्षिणपन्थी र उग्र वामपन्थी अवसरवादको भण्डाफोर गर्न सक्नु पर्दछ, तब मात्र नयाँ पिढीले वितृष्णापूर्ण बनेको विद्यमान राजनीतिभित्रको वास्तविकता वा त्यसभित्र लुकेको सुनौलो आदर्शप्रति आशातित नजरले हेर्ने विश्वास गर्न सकिन्छ । त्यसपछि मात्र विद्यमान शोषणमूलक समाजमा आमूल परिवर्तनका लागि पहलकदमी आफ्नो हातमा लिने छ ।
नेताका सन्तानहरु नेता बन्नु अपरिहार्य छ ?
एउटा प्रश्नबारे छलफल गरौँ । के कम्युनिस्ट पार्टीको नेताका सन्तानहरु त्यही पार्टीको नेतृत्वमा पुग्नु अनिवार्य वा अपरिहार्य छ वा नेताका सन्तानहरु पनि नेता नै बन्नु अपरिहार्य छ ?
यस्तो अनिवार्यता वा अपरिहार्यता छैन । कारण : कम्युनिस्ट राजनीति सामन्ती राजनीति होइन, जहाँ राजनीति मार्फत् राष्ट्रको कार्यकारी बन्ने जहानियाँ परम्परा लागु होस् । जस्तो कि माथि नै चर्चा गरियो, वामपन्थी क्षेत्रमा नेताका सन्तानहरु पनि कम्युनिस्ट पार्टीका अन्य सदस्यहरु जस्तै दर्शन, सिद्धान्त, सङ्गठनात्मक पद्धति र कम्युनिस्ट अनुशासन, नैतिकता र आचरणबाट खरो उत्रनै पर्दछ । खालि नेताका सन्तान भएकाले उनीहरुलाई कम्युनिस्ट पार्टीको सदस्यताको आधारभूत शर्तप्रतिको पालनामा छुट दिन सकिन्न । दर्शन, दृष्टिकोण, सङ्गठनात्मक क्रियाशीलता, अनुशासन, नैतिकता, आचरणको समग्रतामा नै कम्युनिस्ट पार्टीको सदस्यता दिने प्रचलन भएकाले नेताका सन्तानलाई पनि स्वत: यी नियमहरु लागु हुन्छन् ।
नेताका सन्तान र अन्य सदस्यका बीचमा कम्युनिस्ट पार्टीमा कुनै पनि प्रकारको भेदभाव वा सहुलियतको व्यवस्था गर्ने चलन इतिहासमा पाइन्न । नेताका सन्तानमा राजनीतिक संस्कार हुन सक्दछ (यद्यपि यस्तो स्थिति अनिवार्यत: पाउन सकिन्न), अन्य सदस्यमा त्यस्तो संस्कार नहुन सक्छ । तर दुवै श्रेणीका सदस्यको पहिलो शर्त दृष्टिकोण हो । दर्शन, सिद्धान्तमा प्रष्ट नभइकन कोही पनि कम्युनिस्ट पार्टीको सदस्य बन्न सक्दैन । तर खालि दर्शन र सिद्धान्तप्रतिको ओठे समर्थनले मात्र काम चल्दैन, त्यसलाई व्यवहारमा सही सावित गर्न सक्नु पर्दछ अथवा आफूले स्वीकार गरेको दर्शन र सिद्धान्त अनुरूपको व्यवहार कम्युनिस्ट पार्टीको सदस्यमा हुनु पर्दछ । त्यस कारण पार्टीको उपल्लो पदमा पुगेका व्यक्तित्वहरुले आफ्ना सन्तानहरुलाई खालि दार्शनिक, सैद्धान्तिक क्षेत्रबाट प्रशिक्षित गरेर पुग्दैन, सैद्धान्तिक स्वीकारोक्तिलाई व्यावहारिक बनाउन सङ्गठन र आन्दोलनमा पठाउनु पर्दछ । यस्तो व्यावहारिकता मार्फत् आफूलाई अनुकूल वा अनुरूप प्रमाणित गरी सकेपछि मात्र नेतृत्वले आफ्ना सन्तानलाई नेतृत्वका लागि प्रस्तावित गर्न सक्दछ ।
कम्युनिस्ट आदर्श कायम गरौँ 
निश्चित रूपमा अहिलेको समस्या कम्युनिस्ट पार्टीभित्रको भाइभतिजावाद होइन, बरु नेतृत्वका सन्तान, परिवारको राजनीतिप्रतिको वितृष्णा हो । त्यसलाई परिवर्तन गर्न कम्युुनिस्ट पार्टीको नेतृत्वले परिवारलाई पार्टीकरण गर्नमा ध्यान दिनु पर्दछ । उनीहरुको व्यवहारले राजनीतिलाई व्यवसाय वा क्लबको मनोरञ्जन जस्तो एकाङ्गी रूपमा लिनु हुँदैन । आफूले अपनाएको दर्शन, सिद्धान्त, राजनीतिबारे परिवारलाई पनि जानकारी गराउने, घरायसी वा पारिवारिक मामिलामा पनि कम्युनिस्ट नैतिकता, अनुशासन र आचरणप्रति ध्यान दिने गर्नु पर्दछ । कम्युनिस्ट पार्टीको नेतृत्वका परिवारहरुमा राजनीतिप्रतिको वितृष्णाको एउटा कारण नेतृत्वको सिद्धान्त र व्यवहारमा देखिने भिन्नता र कतिपय बेलामा देखा पर्ने बिल्कुल विपरीत स्थिति पनि हो । उदाहरणका लागि घरमा श्रीमतीसितको व्यवहार, शारीरिक श्रममा भाग नलिने प्रवृत्ति, घरभित्रका उमेरले पाका र आफूभन्दा साना सदस्यप्रतिको व्यवहार, घरका सदस्य र बाहिरका सदस्यबीचको सम्बन्ध, अवसर र त्यागको सवालमा अपनाइने दृष्टिकोण, पद–प्रतिष्ठा र पेसाको सवालमा व्यक्त हुने दृष्टिकोण, आफूलाई अरूसितबाट विशेष वा उच्च सम्मान पाउने अपेक्षा, गल्तीको सवालमा आफूप्रति वा परिवार जनप्रति उदार रवैयाको आशा, समग्रमा कम्युनिस्ट दर्शन, सिद्धान्त, राजनीति, अनुशासन, नैतिकता र आचरणको सवालमा अभिनय गर्नु, वास्तविक व्यवहार, खास गरी घर–परिवारसितको व्यवहारमा विपरीत स्थिति कायम गर्नु—यस खालको असङ्गति कायम रहँदासमम्म नयाँ पिँढी कम्युनिस्ट पार्टीप्रति विश्वस्त हुन सक्दैन ।
जब परिस्थिति प्रतिकूल हुन्छ, तब कम्युनिस्टहरुले झनै बढी र उच्च स्तरको आदर्श प्रस्तुत गर्न सक्नु पर्दछ । यस्तो आदर्श खालि कुनै खास ठाउँमा मात्र होइन, फिल्डमा, दैनिक व्यवहारमा, घर–परिवारमा समेत प्रस्तुत गर्न सक्नु पर्दछ । आम जनताले पार्टीप्रतिको समर्थन दर्शन, सिद्धान्तप्रति प्रत्यक्ष समर्थनद्वारा मात्र होइन, दैनिक व्यवहारमा व्यक्त हुने क्रियाकलापका आधारमा गर्दछन् । त्यस कारण सिद्धान्त, दर्शनका छोटा कुरा गरौँ, तर त्यसभन्दा बढी व्यवहारमा आफू कम्युनिस्ट भएको सावित गरेर देखाऔँ—जनतालाई प्रशिक्षित गर्ने, आफ्नो घर–परिवार वा नयाँ पिढीलाई प्रशिक्षित वा विश्वस्त गर्ने महत्त्वपूर्ण तरिका यही हुन सक्छ ।
समाजको ऐतिहासिक नियमबारे प्रशिक्षण
विश्व कम्युनिस्ट आन्दोलन अहिले रक्षात्मक अवस्थामा रहेका कारण नयाँ पिँढीको कम्युनिस्ट आन्दोलनप्रति आकर्षण अपेक्षाकृत सन्तोषजनक नहुनु अन्यथा होइन । त्यसो भए पनि समाजको ऐतिहासिक नियम अनुसार भने वर्गीय समाजको अन्तिम परिणति वर्गविहीन समाजको स्थापना नै हुन सक्दछ । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनलाई स्वीकार गर्नेहरु यस खालको विश्वास राख्दछन् । यो दर्शनमाथि विश्वास राख्ने माक्र्सवादीहरु मान्दछन्– वर्ग रहेसम्म वर्ग सङ्घर्ष जारी रहन्छ र वर्ग सङ्घर्षले सर्वहारा अधिनायकत्वको मार्ग हुँदै वर्गविहीन समाज निर्माण गर्दछ । तर सिद्धान्तमा एउटा पङ्क्तिमा पुरा हुने उपर्युक्त समाजको ऐतिहासिक नियम जब व्यवहारमा जान्छ, त्यसले सिङ्गै युग बरावरको काल व्यतित गर्दछ । रुसमा १९१७ मा सर्वहारा समाजवादी क्रान्ति सम्पन्न भएपछि स्टालिन जीवित रहेसम्म (१९५३ सम्म) पनि समाजवादी चरण पुरा हुन सकेन । स्टालिनको निधन भएपछि रुसी सर्वहारा वर्गले वर्ग सङ्घर्षमा आफ्नो नेता गुमाउन पुग्यो । माओको निधनपछि चिनियाँ सर्वहारा वर्गलाई पनि त्यस्तै भयो । यसरी कुनै पनि देशमा समाजवादी चरण पुरा हुन पनि दशकौँ लाग्न सक्छ भने साम्यवादी व्यवस्था अतित्वका लागि त झन् शताव्दी लाग्ने प्रष्ट छ । त्यसै पनि माक्र्स, एङ्गेल्सले साम्यवादी व्यवस्थालाई विश्व व्यवस्था बताएका छन् । विश्व व्यवस्था बताउनुका पछाडि माक्र्स, एङ्गेल्सको एउटा प्रस्थापनामा यो थियो– साम्यवाद एउटा मात्र देशमा स्थापना हुने छैन, त्यसका लािग न्यूनतम रूपमा एउटा महादेशीय भूगोलमा साम्यवादी व्यवस्था अस्तित्वमा आउने छ । त्यस्तै सामरिक रूपले महत्त्वपूर्ण क्षेत्र वा शक्ति सन्तुलनयुक्त क्षेत्रमा साम्यवादी व्यवस्था अस्तित्त्वमा आउन सक्ने छ ।
यहाँ जुन समाजवादी, साम्यवादी व्यवस्था स्थापनाको प्रसङ्ग उठाइएको छ, त्यो पुँजीको विकसित अवस्था भएको मुलुकको हकमा सत्य हो । त्यसका विपरीत पुँजीको अविकसित अवस्था वा राष्ट्रिय स्वाधीनता प्राप्त गरी नसकेको अवस्थामा त पुँजीवादी चरणको सर्वहारा क्रान्ति फरक र लामो बाटो हुँदै अगाडि बढ्नु पर्ने छ । नेपाल यही श्रेणी अन्तर्गतको मुलक हो । त्यसको अर्थ हुन्छ– समाजको ऐतिहासिक नियम नेपालमा अरू मुलुकमा भन्दा बढी दीर्घकालीन र कठिनाइपूर्ण ढङ्गले लागु हुने छ । यस प्रकारको समझदारी नेपाली कम्युनिस्टहरुमा हुनु आवश्यक देखिन्छ ।
समाजको ऐतिहासिक नियम जब व्यवहारमा लागु हुन्छ, जीवन्त र सृजनात्मक अवस्था उत्पन्न हुन्छ । नेपालको ठोस परिवेशसित जोडेर हेर्दा नेपाली भूमिमा कम्युनिस्ट सिद्धान्तको प्रयोग यसरी हुने अनुमान गर्न सकिन्छ ।
क. सर्वप्रथम नेपालले राष्ट्रिय स्वाधीनता प्राप्त गर्नु पर्ने छ । राष्ट्रिय स्वाधीनता नेपालको राष्ट्रिय अस्तित्वका लागि जीवन–मरणको सवाल हो । सर्वहारा क्रान्ति पूर्व पनि यसका लागि देशभक्त, वामपन्थी र क्रान्तिकारी शक्तिहरुको मोर्चाबन्दी आवश्यक पर्ने छ ।
ख. राष्ट्रिय स्वाधीनताको निर्णायक टुङ्गो क्रान्तिकारी कम्युनिस्टहरुले लगाउने छन् । नयाँ जनवादी क्रान्ति नै राष्ट्रिय स्वाधीनता प्राप्ति मार्गको पहिलो कदम हुने छ ।
ग. नयाँ जनवादी व्यवस्था स्थापनाका साथै समाजवादी व्यवस्थाको तयारी अगाडि बढ्ने छ । स्वामित्वको सामूहिक र सार्वजनिक रूपान्तरण यसै चरणमा पुरा गरिने छ ।
तात्कालिक राजनीतिमा नेपाली कम्युनिस्टहरुले सर्वाधिक ध्यान दिनु पर्ने विषय राष्ट्रिय स्वाधीनता हो । राष्ट्रिय स्वाधीनता प्राप्त भएपछि मात्र देश वास्तविक रूपमा सार्वभौम सत्ता सम्पन्न हुने छ । यदि त्यसपछि सर्वहारा वर्गको राज्यसत्तामा नेतृत्व कायम हुन्छ भने देशमा सामन्तवादी, साम्राज्यवादी शोषणको अन्त हुने छ र राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र कायम हुने छ ।
नेपाली कम्युनिस्टहरुको यस खालको सामाजिक रोडम्याप नयाँ पिँढीले त्यतिखेर नै व्यावहारिक रूपमा बुझ्न सक्ने छ, जब, एकातिर, परिस्थिति त्यही प्रकारको हुने छ, अर्कातिर, नयाँ पिँढी ऐतिहासिक भौतिकवादी विश्व दृष्टिकोणद्वारा लैस हुने छ । उदाहरणका लागि नेपाली कम्युनिस्टहरुले नयाँ पिँढीलाई देश अझै पनि स्वाधीन नभएको, देशको अर्थतन्त्र राष्ट्रिय आत्मनिर्भर नभएको र देशलाई स्वाधीन र आत्मनिर्भर बनाउन विद्यमान सामन्ती विस्तारवादी र साम्राज्यवादी शोषण समाप्त पार्नु पर्ने आवश्यकताबोध गराउन सक्नु पर्दछ । त्यसका लागि ठोस उदाहरण सहित नयाँ पिँढीमा स्पष्ट समझदारी हस्तान्तरण गरिनु पर्दछ । भारतीय विस्तारवादको नेपालमा माइक्रो म्यानेजमेन्टको हदसम्म आन्तरिक मामिलामा हस्तक्षेप, देशमा बढ्दो व्यापार घाटा, सीमा अतिक्रमण, परनिर्भरता, साम्राज्यवादी अर्थनीति, जसभित्र भूमण्डलीकरण, उदारीकरण र निजीकरण पनि पर्दछन्, का कारण बढ्दो मुद्रास्फिति, घट्दो जी.डी.पी र न्यून मानव विकास सूचकाङ्क, श्रमशक्ति र कच्चा पदार्थ निर्यात तर खाद्यान्न आयात, राजनीतिक नेतृत्वको पारश्रित मानसिकता जस्ता विषयमा नयाँ पिँढीको आँखा खुलाउन सक्नु पर्दछ । त्यसपछि मात्र कम्युनिस्ट पार्टीप्रतिको आकर्षण बढ्ने छ ।
यी सबै विषयमा काम गर्दा वा यी सैद्धान्तिक प्रस्थापनालाई व्यावहारिक रूप दिन सर्वप्रथम त कम्युनिस्ट नेतृत्व नै आदर्श बन्न सक्नु पर्दछ । सिद्धान्त, दर्शन, राजनीतिमा आदर्शका कुरा गर्ने, तर व्यवहारमा पदलोलुप, भ्रष्ट, भाइभतिजावाद, सिद्धान्तहीनता र आडम्बरी नेतृत्व हुन्छ भने यस्तो नेतृत्वले न त नयाँ पिँढीलाई प्रशिक्षित गर्न सक्छ, न त शोषणविहीन समाज निर्माणको कार्यभार पुरा गर्ने नैतिक आँट र अधिकार नै राख्न सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here