तीजलाई तीज कै रुपमा मनाऔं

0
565
तीज पर्वलाई हिन्दू नारीहरुको महान चाडको रुपमा लिइन्छ । विशेष गरी तीज परापूर्व काल देखि परम्परागत रुपमा नेपाल र भारतका हिन्दु महिलाहरुले मनाउदै आएता पनि हाल आएर संसारका विभिन्न देशमा रोजगारी तथा अन्य विभिन्न शिलशिलामा रहेका महिलाहरुले मनाउने गरेको पाइन्छ । हामीले निरन्तर रुपमा मनाउदै आएका प्रायजसो चाड पर्वहरुलाई सही प्रकारले मनाउन सक्यौं भने त्यसले सकारात्मकता ल्याउन पनि सक्छ । तर त्यसको परिवर्तनको नाउँमा गरिने कतिपय गलत  कृयाकलापहरुले विकृती फैलाउदै जाने अवस्था श्रृजना हुदै गइरहेको छ । त्यस प्रकारको विकृती र नकारात्मक परिवर्तनलाई रोक्नको लागि र परम्परागत रुपमा रहेका नराम्रा पक्षहरुलाई सही प्रकारले विश्लेषण गर्दै सही रुपमा उपयोग गर्दै जान सक्ने हो भने हामीले मान्दै आएका चाड पर्वहरुको नाममा भित्रीदै गइरहेका विकृति, विसंगती र असमानताको खाडल बढ्दै जाने क्रमलाई अन्त्य गर्न सकिन्छ ।
              कुनै जमानामा तीज पर्वको महत्व फरक प्रकारको रहेको थियो । महिलाहरु विवाह गरेर पराईको घरमा गइसके पछि केवल घरको चौघेरामा मात्र सिमित हुनु पर्दथ्यो । माइती जान, राम्रो खान, राम्रा लुगा लगाउनका लागि कुनै चाड पर्व नै कुर्नु पर्दथ्यो । त्यसैले तीजको महत्व वर्ष दिनमा एक पटक माइतबाट लिन आउने, जाने साथै सबै दिदी बहिनी, साथी संगीहरु जम्मा हुने र वर्ष दिनभरी घरमा भोग्नु परेका दुःख पिडाहरु गीतको माध्यमबाट व्यक्त गर्ने र मनलाई हलुका बनाउने प्रचलन थियो । तर अहिलेको अवस्था त्यही प्रकारको छैन धेरै कुराहरु परिवर्तन हुदै गइसकेका छन् । महिलाहरु पनि घरको चोघेराबाट वाहीरी संसारमा जान सक्ने अवस्था केही हदसम्म भएपनि आएको छ, महिलाहरुका समस्याका रुपहरु पनि परिवर्तन हुँदै गइरहेका छन् साथै प्रविधिको विकासले गर्दा कुराकानी भावना साटासाट गर्न साथै समाजमा घटेका घटनाहरुलाई थाहा पाउनको लागि केबल तिज कुर्नुपर्ने अवस्था पनि छैन । यसको मतलब समाजमा रहेका सबै प्रकारका महिला विरुद्धका अपराधहरु घटेका छन् भन्न खोजेको पनि होइन र यस्ता घटनाहरु सजिलै बाहिर आइरहेका छन् भन्ने पनि होइन कतिपय घरका घटनाहरु बाहिर आएकै छैनन् । अझै पनि महिलाहरु आफ्नो घरभित्रको मामला हो भनेर भित्रै सहेर बस्ने अवस्था पनि छ तर यस्ता समस्याहरुलाई तिज वा अन्य कुनै माध्यमबाट पनि बाहिर आउन सक्ने अवस्था छैन । यसको लागि महिला तथा पिछडीएका मानीसहरुमा चेतनाको खाचो छ । तर तीजको महत्व पहिले र अहिलेमा धेरै फरक छ भन्नृुको अर्थ यसलाई हामीहरुले जुन रुपमा मनाउन खोजीरहेका छौं, यसलाई परिवर्तन गर्ने नाउँमा वर्ष दिनभरी खान लाउन कुनै समस्या नभए पनि तीजको वेलामा सबैभन्दा महंगो साडी कसले लगाउने, सबैभन्दा बढि महंगा गहना कसले लगाउने भन्ने होडबाजी चलाउने र अनगिन्ती पैसा केबल तीजको लागि खर्च गर्ने प्रवृत्ति बढ्दै गएको छ । यो गलत प्रबृत्ति हो र यसलाई हामी सबैले रोक्नु पर्ने जरुर आवश्यकता रहेको छ । हामी महिलाहरु राम्रो खान, लाउन नपाएका कारणले पछाडी परेका हौइनौ । हामीहरु त शिक्षा, दिक्षा, सम्पत्ती लगायतका अन्य धेरै प्रकारका अत्यावश्यकीय अधिकारबाट बञ्चित हुनुपरेकोले गर्दा पछी परीरहेका छौं ।
                एकातीर महिलासंगै पुरुषले  पनि तीज मनाउन थालेका छन् । संगै बसेर तीजका गीत गाउने, नाच्ने गरेको पाइन्छ केही हदसम्म यसलाई सकारात्मक पनि मान्न सकिन्छ । तर संगै गीत गाउने नाममा तीजका गीतमा छाडा प्रकारका दोहोरी गीत गाउनु, अश्लीलता भित्राउनु कुनै सकारात्मक कुरा भने होइन, यो पनि एउटा विकृति मात्र हो ।
              त्यसैगरी आजकल महिलाहरुले दरखाने नाममा धेरै दिन अगाडिदेखि पालो गरी गरी होटल र रेस्टुरेण्टमा जाने र करोडौं पैसा खर्च गर्ने प्रचलन आएको छ । यसले हुनेखानेहरुलाई त कुनै गाह्रो नपर्ला तर कम आए भएका तथा हुँदा खानेहरुलाई अरुसँग होडबाजीले झन समस्या थपिएर जान्छ । आजकल त देशमा मात्र नभएर विदेशमा दुःख गर्ने महिलाहरुले पनि बर्ष दिनभरि कमाएको अधिकतम पैसा तिजको दरखाने वा गहना लुगा लगाउने नाममा खर्च गर्ने प्रचलन बढेको साथै दरखाने निउमा सकिनसकि एक महिना अगाडिबाट रेष्टुरेण्टहरुमा जम्मा हुने र लगातार रुपमा जवर्जस्ती खान पिनले गर्दा विभिन्न समस्याहरु पैदा भएको पनि सुन्न र देख्ने गरेका छौं । यो पनि महिलाहरुको अज्ञानता र अबुझको कारणले गर्दा भएको हो । हामी महिलाहरु केही मात्रामा भए पनि स्वतन्त्र हुने प्रयासमा छौ यसको मतलब योे होइन कि हामीले जे गरे पनि हुन्छ । हामीहरुले पाएका अधिकारहरुलाई गलत तरिकाले प्रयोग गर्दै गयौं । भने पुरुषहरुलाई महिलाहरुको बारेमा टिकाटिप्पणी गर्न सजिलो हुदै जान्छ र प्राप्त सिमित अधिकारको संरक्षण र अरु अधिकार प्राप्तीको बाटोमा झन् अप्ठ्याराहरु थपिदै जाने संभावना रहन्छ ।
                 समाजमा एउटा प्रचलन रहेको छ पुरुषहरुलाई भ्रष्टचारी बनाउनमा मुख्य भूमिका महिलाको रहन्छ । एकातिर हामीले यो धारणा गलत हो पुरुषले आफूले गरेको गल्तीको दोष पनि हामी महिलालाई लगाउछन भन्दैगर्दा तिज वा अन्य जुनसुकै वहानामा सकिनसकी अरुको देखासिकी गर्नाले हामी महिलालाई कमजोर बनाउँछ र यो सामाजिक भनाईलाई पनि चरितार्थ गराउन तिर पुरुषहरुको जोड नरहला भन्न सकिन्न । आजकल समाजमा घट्ने महिलाले पुरुष माथि गरेका अन्यायका अपवाधका घटनाहरुलाई जसरी मिडिया होस. वा अन्य पुरुषहरुले होस् बढाइ चढाइ गरेर आफ्ना सबै गल्तीहरुलाई ढाकछोप गर्ने प्रबृत्ति बढी रहेको छ । त्यसैले महिला विभेदको अन्त्य गर्नको लागि पुरुषहरुलाई खबरदारी गर्ने कुरा त मुख्य छदैछ त्यसका साथै हामी महिलाहरुले गर्ने हेरक कृयाकलापलाई पनि सही रुपले मुल्याङ्कन गर्दै जानु पर्ने आजको आवश्यकता हो ।
              हामीहरुले मनाउदै आएको तीज पर्वको बारेमा पनि फरक फरक प्रकारका धारणाहरु प्रस्तुत गर्दै आएको पाइन्छ । एकातिर तीज पर्वलाई पार्वतीले महादेव पति पाउँ भनि पानी पनि नपिइ ब्रत बसेकाले महादेवलाई पाएको किंवदन्तीका आधारमा विवाहित महिलाहरुले आफ्नो पतिको आयू बढाउनको लागि र पतिलाई महादेव जस्तै बनाउनको लागि व्रत बस्ने गर्दछन् भने अविवाहितहरुले महादेव जस्तै पति पाउँ भनेर ब्रत बस्ने गर्दछन् । तर हामीले यो कुरालाई विचार गर्नुपर्छ कि अहिले हामी जे जस्ता पुरुषका कारणले हामी महिालाहरु विभेदको शिकार हुनु परिरहेको छ । कति महिलाहरु आफ्नै पतिबाट अन्याय, थिचोमिचो, बलात्कृत हुनु परिरहेको छ । के ति पीडित महिलाहरुले कहिल्यै महादेव जस्तै श्रीमान पाउँ भनेर ब्रत नबसेकै कारणले भएको हो ? पक्कै पनि होइन । यहाँनिर हामी महिलाहरुले गम्भीर भएर सोंच्नु पर्ने देखिन्छ यदी हामी ब्रत बसेको आधारमा महादेव जस्तै श्रीमान पाउने हो भने हामीले पुजा गर्दै आएको महादेवलाई कस्तो रुपमा व्याख्या गरिरहेको छ त यो समाजले । सबै महिलाहरुका श्रीमान महादेव जस्तै हुने हो भने हामी महिलाहरुको स्थिती के हुन्छ होला ? गम्भीर भएर कल्पना गरौं त । हामीले अन्धभक्त भएर अनुसरण गर्दै आएको धर्म, संस्कृतीले हामीलाई कसरी झनभन्दा झन पछाडी पारीरहेको छ । संधैभरी अरुलाई दोष दिंदै जाने तर आफूले गरेका व्यवहारहरुलाई सुधार नगर्ने हो भने हामीले चाहेजस्तो महिलाको मुक्ति हुनको लागि हामीले सोंचे भन्दा धेरै समय लाग्न त सक्छनै एकदमै कठिन पनि हुनेछ ।
              यसरी हामीले धर्म, संस्कारलाई परिवर्तनको कुरा गरिरहँदा कती पुरुषहरुको दुख्न सक्छ, कति महिलाहरुलाई पनि अस्वभाविक लाग्न सक्छ तर अप्ठ्यारा र अस्वभाविक लागेका संस्कारहरु पनि परिवर्तन हुने गरेका इतिहास हाम्रा सामु छन् र परिवर्तन हुनुपर्दछ ।
              कुनै समयमा सतीप्रथाको विरोध गर्दा धेरै पुरुषहरुलाई र केही महिलाहरुलाई असम्भव जस्तो लाग्दथ्यो तर यस्ता प्रकारका संस्कारहरु समाजका बाधक थिए त्यसैले परिवर्तन भएरै छाड्छन्  ।  तर आफै समयानुसार परिवर्तन हुनेछन् भनेर आशमात्र गरेर बस्ने हो भने परिवर्तनको समय धेरै लामो हुन जान्छ । साथै सबैले मान्दै आइरहेको कुरा मैले मात्र परिवर्तन गरेर हुन्छ र ? भनेर सोंचीयो भने पनि यो गलत हुन जान्छ । आज समाजमा चाड पर्वका रुपमा रहेका गलत संस्कारहरुको बारेमा चर्चा परिचर्चा चलीरहदा एक प्रकारका पुँजीवादी सोच भएका पुरुषहरुले यो वा त्यो प्रकारले यस प्रकारका परम्पराहरुलाई सहि थिए भनेर लगातार रुपमा वकालत गरीरहेका हुन्छन । यस्ता प्रकारका संस्कार र संस्कृतिहरुलाई जोगाय राख्न सकेमा आफूलाई सधै माथिल्लो दर्जा पाइरहनको लागि यस्ता चाडपर्वहरुले बाबु आमा, दिदि वहिनीको माया ममता बढाउन मद्दत गर्दछ । आफ्नो पनको महशुष गराउदछ । यस्ता संस्कारहरु छाड्दै जाने हो भने मानवता नष्ट भएर जान्छ भन्दै बहस गरीरहेको पाइन्छ । तर के मानवीयता भनेको एक दिनको चाडपर्वमा मात्र व्यक्त गरेर पुग्ने कुरा हो । दाजु भाई दिदि वहिनीहरुको संबन्ध एक दिन मात्रको व्यवहारले पुरा हुन्छ । कुनै समयमा मनुस्मृतिमा व्यक्त गरिएको महिलाहरु केबल घरको चौघेरामा सिमित रहनु पर्दछ । बाहिरी संसारमा जान दिने हो भने यसले पुरुष प्रदान समाजको अन्त्य गर्नेछ भन्ने कुरा व्यक्त गरीएको छ, त्यस समयमा यसलाई पनि सहि हो भनेर व्याख्या गर्ने गरीन्थ्यो र महिलाहरुलाई सधै घर भित्र मात्र सिमित राख्न खोजीयो । त्यतिबेलाको परिस्थिति अनुसार त्यस प्रकारको प्रचलन स्थापीत गरे तर समाज परिवर्तनको क्रममा यी कुराहरु गलत हुन् भन्ने पुष्टी हुदै गयो र विस्तारै परिवर्तन हुँदै गयो । त्यसैले समाजमा रही आएका, चली आएका परम्पराहरु ठीक हुन जस्ता लागे पनि तिनीहरुले महिलाहरुलाई पछाडी पार्न मद्दत गरीरहेको हुन्छ । हरेक परिवर्तन आफूबाट शुरु गर्रौ भन्ने मान्यताका साथ एकव्यक्ति, परिवार, समाज हुँदै परिवर्तन हुने हुन्छ र यसरी परिवर्तन गर्नको लागि सम्पूर्ण महिला तथा पूरुषहरुले समग्र रुपमा आवाज उठाउन पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।
               यसरी धर्म र संस्कारले देखाएका बाटाहरु गलत पनि छन् है भनेर मुल्यांकन गर्नुको अर्थ सबै चाड पर्वहरुलाई आज कै दिनबाट छोड्नु पर्दछ भनेर बुझियो भने पनि गलत हुन सक्दछ । जस्तो कि तीजलाई कुनै समयमा कृष्णी भगवानको न्वारानको रुपमा दरखाने दिनलाई मनाउने र शिव जस्तै श्रीमान प्राप्त गर्नको लागि ब्रत बस्ने परम्परालाई परिवर्तन गरेर साथी संगी जम्मा हुने र मिठो खाने रमाउने गर्ने केवल एक दिन मात्र र तीजलाई महिला परिवर्तनका गीतहरु गाएर समाजमा सचेतना जगाउने खालका गीत गाएर साथै महिला मुक्ति आन्दोलनको एक संघर्षको रुपमा मनाउनु पर्ने आवश्यकता छ ।
               सर्वप्रथम त जुनसुकै कुराको पनि जरैदेखि निमिट्यान्न पार्नको लागि मुख्य जरो पत्ता लगाउनु पर्दछ । ताकि एक पटक जरादेखि नै उखेलेर फाले पछि पुनः फैलाउन नसकोस् । जुनसुकै धर्म, संस्कार र कानुनहरु निर्माण गर्दा जो शक्तिमा छ, जसले शासन गरिरहेको हुन्छ  त्यसले आफ्नो अनुकुलको बनाउने प्रयास गरिरहेको हुन्छ । त्यसैले आजसम्म बनाइएका धर्म संस्कारहरु पनि पितृ सत्तात्मक समाजको देन भएकाले महिलालाई दमन गर्ने, महिलालाई पछाडी पार्ने र पुरुषलाई मालिकको रुपमा सेवा गर्ने प्रकारका रहेका छन् ।
                त्यसैगरी सामन्तवादी युगमा बनेको धर्म संस्कार र कानुनहरु सामन्तवादको पक्षपोषण गर्ने प्रकारका नै हुन्छन् र त्यस्ता प्रकारका धर्म संस्कार र कानुनले गरिब, दीन, दुःखीहरुलाई पछाडि पार्ने प्रकारको हुन्छ भने पूँजीवादी युगमा निर्माण गरेका धर्म, संस्कार र कानुनहरुले केवल पूँजीपतिहरुलाई मद्दत गर्दछन् । त्यसैले सम्पूर्ण प्रकारका अन्याय, अत्याचार, विभेदबाट मुक्त हुनका लागि हामीले चाहे जस्तो शासन व्यवस्था आउनु पर्ने आवश्यकता छ । त्यसलाई प्राप्त गर्नको लागि केवल हामी महिलाका मात्र कुरा गरेर सम्भव छैन । हामी महिलाहरुका समस्या पनि वर्गीय समाजका उदाहरण भएकाले सम्पूर्ण महिलाहरु वर्गसंघर्षमा नै लाग्न पर्दछ । वर्गीय मुक्ति भएमा मात्र पूर्ण महिला मुक्ती सम्भव हुनेछ ।
                 त्यसैले हामीले मनाउने चाड पर्वहरुलाई समायानुकुल परिवर्तन गर्दै लैजानु पर्दछ । चाड पर्वहरुलाई प्रगतीशील प्रकारले मनाउनु पर्दछ । यस्ता प्रकारका चाड पर्वलाई परिवर्तनको एक अंशको रुपमा मात्रै पनि मनाउन सक्यौं भने महिला मुक्ति आन्दोलनलाई सहजता हुनेछ । सबै दिदी बहीनीहरुले तीजलाई प्रगतीशील प्रकारले मनाऔं भन्ने आव्हानका साथ तीजको शुभकामना प्रकट गर्दै हामीले मनाउने धर्म, संस्कार, परम्परा र चाडपर्वको आडमा हामी आफूले आफैलाई पछाडी धकेल्ने काम नगरौं भन्ने कामना गरौं । भावी पुस्ताहरुले हामीले संघर्ष गरेर प्राप्त गरीदिएका सिमित अधिकारबाट फेरी बञ्जीत हुनु पर्ने अवस्था नआओस् । धन्यवाद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here