“तिम्रो घरको छानो चुहिएर पिंढीमा आहाल छ ” परदेशी नेपालीहरुको मनै रुवाउने मार्मिक गीत

5
217

–नारायण शर्मा 

अविरल वर्षाका कारण देशमा यतिबेला अथाह धनजनको क्षति भैरहेको छ । बाढी, पहिरो र डुवानको चेपटामा देशका विभिन्न भागहरु परिरहेका छन । तराई क्षेत्रका कैयौं बस्तीहरु जलमग्न भएर डुवानमा परेका छन । पहाडी भेगका बस्तीहरु पहिरोको चपेटामा परिरहेका छन । पहाडी भेगका केही स्थानका पुलपुलेसा, राजमार्ग र बाटाहरु समेत पहिरो र बाढीको चपेटामा परेर क्षतविक्षत भएको हामीले देखिरहेका छौं । यो अविरल वर्षातको समयमा, गाउँका खरले छाइएका झुप्राहरुको अवस्था अझ दर्दनाक छ । ती खरका छानाहरु वर्षौंदेखि फेरिन सकेका छैनन् । आफ्नो घरको छानो फेर्न र नानाबालहरुलाई मानो जुटाउन कामको खोजीमा नेपालका गाउँ बस्तीबाट लाखौं लाख युवाहरु परदेशी भूमिमा पुगेका छन । विदेशी भूमिमा पुगेर त्यसरी रगत र पसिना बगाइरहेका श्रमजीवी नेपालीहरुको स्वदेशमा रहेको घरको यथार्थ अवस्था चित्रण गरिएको गीत हो –‘तिम्रो खरको छानो’ जनगायक जीवन शर्माको शब्द, संगीत र स्वरमा रहेको यो गीत पुनः स्वरांकन भएर २०७७ साउन २७ मा जीवन शर्माकै युट्युब च्यानलबाट दर्शक स्रोता सामु आएको छ । गीतमा परदेशी नेपालीहरु सामु यो बर्षातका बेला उनीहरुको घरको दर्दनाक अवस्थाको खबर जस्ताको त्यस्तै पु¥याउन खोजिएको छ :

तिम्रो खरको छानो चुहेर पिंढिमै आहाल छ
तिम्रो घरको आँगन भत्केर सारै नै बेहाल छ
विदेशमै डुलेर गैसक्यो जीवन
छैन कि कसो हो घर फर्कने मन…

घर फर्कने मन त कुन परदेशीलाई नहोला र ? तर यति बेला परस्थिति नै त्यस्तै छ कोरोना कहरले सिर्जना गरिदिएको विकराल अवस्थाका कारण कतिपय परदेशी नेपालीहरु चाहेरै पनि आफ्नो प्यारो जन्म गाउँमा आउन सकिरहेका छैनन । उनीहरुले यतिबेला झलझली आफ्नो त्यही गाउँघर र पाखोपखेरो सम्झिरहेका छन । वर्षौंदेखि फेर्न नसकेको घरको त्यो खरको छानो उनीहरुको नयन अगाडि नाँचिरहेको हुन्छ । यता घरमा अविरल वर्षातको पानी खरको छानोलाई छेदन गरि पिढिमा खसिरहेको हुन्छ, उता परदेशी नेपालीहरुको आँखाबाट आँशुका ढिक्का झरिरहेका हुन्छन । धेरै परदेशी श्रमजीवी नेपालीहरुको घरको यथार्थ कथा यो गीतले बोकेको छ । यो गीतमा प्रत्येक श्रमजीवी प्रवासी नेपालीले आफ्नै व्याथा भेट्टाउन सक्दछ । गीतमा ती प्रवासीहरुको घरकी आमा र जहान परिवारको मार्मिक सन्देश परदेशीहरु सामु यसरी पुर्याईएको छ ।

यो चिठी दिनु है उनैको नाउमा
सोध्नु है कहिले आउँछन फर्केर गाउँमा
भन्दै ती आँशु झार्दै रुन्थीन बरबरि
ती तिम्री संगिनी रुन्थीन धरधरी
तिम्रो खरको…
भोको पेट साँझमा पटुकी कस्दथीन
आधीरातमा ब्यूँझेर मझेरीमा बस्दथीन
वर्षातको झरिमा काप्दै थरथरी
ती बुढी आमा रुन्थिन बरबरी
तिम्रो खरको…

साँझमा पटुकी कसेर आफ्नो भोकलाई थुम्थुम्याउन प्रयास गर्ने विवशता झेलिरहेका आमाहरु धेरै छन हाम्रो देशमा ।

जसले दिनरात पसिना बगाउँदछ उही झन भोकै बस्नु पर्ने विचित्रको असमान व्यवस्था सदियौंदेखि चल्दै आएको छ हाम्रो समाजमा । पुस्तौंदेखिको साहुको ऋणले थिलिएका, थोरै भएको घरखेत पनि साहु महाजनकोमा बन्धकी राखेर प्राण धानिरहेका दुःखी किसानहरुको अवस्था अहिले पनि उस्तै छ हाम्रो समाजमा । त्यही साहुको ऋणबाट मुक्त हुने र जहान लालावालाहरुको सुन्दर भविष्यको सपना मनमा साँचेर परदेशिएका नेपालीहरु धेरै छन हाम्रो देशमा । वर्षौंदेखि उनीहरुले विरानो मुलुकमा रगत र पसिना बगाइरहेका छन । तर उनीहरुका समस्याहरु अझसम्म पनि समाधान हुन सकेका छैनन् । बरु ती समस्याहरुले झन पछि झन विकराल रुप लिंदै गएका छन । नयाँ–नयाँ किसिमका शोषणका जालमा उनीहरुलाई अल्झाइएको छ । परदेश गएको छोरो धन कमाएर फर्कने छ, साहुको ऋणबाट आफूहरुलाई मुक्त गर्नेछ भन्ने विश्वासलाई मनमा पालेर बसेकी छिन आमा । कहिले आउँछ परदेश गएको खसम भन्दै ऊ आउने बाटोभरी आँखा ओछ्याइरहेकी हुन्छिन जीवन संगीनीले । हाम्रो समाजको गाउँघरमा देखिने तिनै दारुण चित्रहरुलाई यस गीतमा सुन्दर तरिकाले उनेका छन जनगायक जीवन शर्माले ।

युट्यव च्यानलमा अहिले मात्र आए पनि यो गीतको रचना दुई दशक अघि गरेका थिए जनगायक शर्माले । रक्तिम परिवारको जनगीतियात्रा भाग–११ समाविष्ट छ यो गीत । गीतको रचनाककाल सम्झिँदै जनगायक जीवन शर्मा भन्छन –“भारतको पञ्जाबमा २०५६ भदौ २७ देखि २९ सम्म एउटा सम्मेलन थियो–भारतमा रोजगाररत रहेका नेपाली युवाहरुको । त्यो सम्मेलनमा सांस्कृतिक प्रस्तुतिका लागि हामीलाई पनि आमन्त्रित गरिएको थियो । त्यही कार्यक्रममा जाने सिलसिलामा रेलयात्रा भित्र रहेका बेला यो गीतको रचना गरिएको थियो र त्यही सम्मेलनमा पहिलो पटक प्रस्तुत गरिएको थियो ।” त्यसयता शर्माले अनगिन्ती स्थानका कार्यक्रमहरु यो गीत गाएका छन ।

विदेशका प्रायः कार्यक्रमहरुमा त यो गीत छुट्दैन थियो । रक्तिम यात्राका क्रममा देश तथा प्रवासका विभिन्न भागहरुमा हुने कार्यक्रमहरुमा रक्तिमका अभियान टोलीहरुले पनि यो गीत प्रायः छुटाउँदैन थिए । अहिले आएर, यो बेलामा युट्युव च्यानलबाट यो गीत ल्याउनुको कारण के होला ? जिज्ञासा राख्दा जवाफमा जनगायक शर्मा भन्छन –“अहिले प्रविधिको पनि उच्च विकास भैरहेको छ । गीत सुन्नका साथसाथै दृश्याङ्कनमा हेर्न पनि चाहन्छन दर्शक श्रोताले । फेरि श्रमजीवी ती परदेशी नेपालीहरुको अहिले पनि घरको अवस्था उस्तै छ । यो वर्षायाममा उनीहरुको घरको छानो चुहिएर बेहाल अवस्थामा छ, तर उनीहरु चाहेर पनि आफ्नो घर फर्किन सकिरहेका छैनन । अहिले त कोरोना कहरले झन विकराल अवस्था सिर्जना गरिदिएको छ । देशको माटो, गाउँघर, उनीहरुका जहान परिवारले स्वदेश फर्किन ती परदेशी नेपालीहरुलाई अहिले पनि आह्वान गरिरहेकै छन । त्यसैले यो गीत सान्दर्भिकता अहिले पनि उत्तिकै रहेको बोध गरि यसरी दृश्याङ्कन सहित पुनः ल्याइएको हो ।

‘तिम्रो खरको छानो’ गीतमा गाउँघरको मात्र होइन, देशकै अवस्था र व्यवस्थाका बारेमा पनि यथार्थ चित्रण गरिएको छ :

महंगी चुलिएर आकाशै छोइसक्यो
देशको सीमा मिचेर विदेशीले खाइसक्यो
अर्कैको भूमिमा फाल्छौं र जीवन
छैन कि कसो हो घर फर्कने मन
तिम्रो खरको छानो चुहेर पिढिमै आहल छ
तिम्रो घरकोआगन भत्केर सारैनै बेहाल छ
विदेशमै डुलेर फाल्छौ र जीवन
छैन कि कसो हो घर फर्कने मन…

गीतका ती शब्दहरु अहिलेको सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक देखिन्छन । त्यो गीत रचनाकालदेखि अहिलेसम्म देशमा कैयौं सरकारहरु फेरिए । व्यवस्था नै बदलियो । निरंकुश राजतन्त्र गएर देशमा गणतन्त्रको उदय भैसकेको छ । तर देशको अवस्था भने खासै फेरिन सकेको छैन । जनताको जीवनस्तरमा खासै सुधार आउन सकेको छैन । जुन गणतान्त्रिक व्यवस्थाका लागि भनेर शहिदहरुले आफ्नो बलिदानी दिएका थिए, त्यस्तो खालको गणतन्त्र देशमा अझै स्थापित हुन नसकेको आभाष जनतालाई भैरहेको छ । सामन्ती व्यवस्थाको मुख्य नाइके मानिने राजतन्त्र त गयो देशबाट तर सामन्ती चिन्तन र प्रवृत्ति अहिले पनि उस्तै जीवित देखिन्छ । जनताले चुनेका प्रतिनिधिहरुद्वारा देशको संविधान त लेखियो तर अझैं पनि गरिखाने वर्गको पूर्ण पक्षमा संविधान बन्न सकेन । घुम्ने कुर्सीमा शासन गर्ने मान्छेहरु त फेरिए तर उनीहरुले शासन गर्ने तौर तरिका फेरिएन । अहिले पनि देशमा महंगी बढिरहेकै छ । भ्रष्टाचार र अनियमितता मौलाइरहेकै छ । दण्डहीनताले प्रश्रय पाइरहेकै छ । देशका साँध–सिमानाहरु दक्षिणी छिमेकीले मिच्ने क्रम झनै तीव्र बनेको छ । नेपाल आमाको छातीमाथि विस्तारवादी सेनाहरु अहिले पनि परेड खेलिरहेका छन । आफ्नो अस्तित्व रक्षाका लागि नेपाल आमाले आफ्ना सन्ततीहरुसँग गुहार मागिरहेकी छिन । हो, राष्ट्रियता रक्षाका सन्दर्भमा पछिल्लो समयमा सरकारी तवरबाटै केही ऐतिहासिक र सरकारात्मक कामहरु भएका छन । इतिहासमै पहिलो पटक नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर वर्तमान सरकारले नेपालको नयाँ राजनैतिक तथा प्रशासनिक नक्शा सार्वजनिक गरेको छ । तर नक्सामा समेटिएको त्यो नेपाली भूमिमाथि अहिले पनि विस्तारवादका सेनाहरु परेड खेलिरहेका छन । नेपाली भूमिबाट ती विस्तारवादी सेनाहरुलाई लखेट्नका लागि देशमा देशभक्तिपूर्ण आन्दोलनको आँधिबेहरी सिर्जना गर्नु पर्ने भएको छ । तर यस्तो बेला देशको ठूलो जनशक्ति विदेशी भूमिमा आफ्नो रगत र पसिना बेच्न बाध्य भैरहेको छ । देशको अस्मिता बचाउनका लागि, देशमा जनताको व्यवस्था स्थापना गर्नका लागि, अब परदेशिएका ती लाखौंलाख नेपालीहरु स्वदेश फर्कनु पर्छ र आफूलाई परदेशिन बाध्य पार्ने यहाँको व्यवस्था बदल्ने अभियानमा सरिक हुनु पर्छ । जनगायक जीवन शर्माको गीत “तिम्रो खरको छानो” ले मूल रुपमा त्यही सन्देश दिएको छ ।

गीतको एक टुक्कामा जनगायक शर्मालाई स्वरमा साथ जनगायिका निलिमा पुनले दिएकी छिन । गीतका शब्दहरुले जुन मार्मिक भाव बोकेका छन भिडियोमा त्यसलाई न्याय गर्ने खालका फुटेजहरु नै समावेश गरेको देखिन्छ । गीतले जुन कथा बोलेको छ त्यही अनुरुपका पात्र र स्थान छनौट गरी तिनै ठाउँमा सर्जक स्वयम् पुगेर प्रत्यक्ष दृश्यांकन गर्न सकिने अवस्था अहिले थिएन । तर पनि जुन फुटेजहरुलाई मेहेनतपूर्वक संकलन गरेर भिडियोमा समावेश गरिएको छ यसले गीतलाई अझ सुन्दर बनाइदिएको छ ।

भीडियोमा काठमाडौं, खाडी मुलुक बहराइन र बागलुङका विकट गाउँका दृश्यहरु समेटिएका छन । ती सबै ठाउँबाट पठाइएका गीतको माग अनुरुपका दृश्यहरुलाई अमन बडुले कुशलतापूर्वक सम्पादन गरेका छन । सबैको सहयोग र योगदानबाट गीतको भीडियोे समेत राम्रो बनेको छ ।

विश्वका विभिन्न देशमा छरिएर रहेका श्रमजीवि नेपालीहरुको नेपालमा रहेको घरको साझा कथाको रुपमा आएको यो गीत तिनै प्रवासी नेपालीहरुले एकपटक नहेरी नहुने गीति कोसेलीको रुपमा आएको छ । देशमा गरिखाने वर्गको आफ्नै राज्यसत्ता स्थापना नहुँदासम्म यस्ता खालका प्रगतिशील गीत÷संगीतको सान्दर्भिकता संधै रहिरहने छ । प्रगतिशील सांस्कृतिक आन्दोलनमा गीत र संगीतको माध्यमबाट अमूल्य योगदान पु¥याइरहनु भएका श्रमजीवि जनताका सर्वप्रिय गायक जीवन शर्माबाट आगामी दिनमा पनि नयाँ नयाँ सिर्जनाहरु आइरहनु । “तिम्रो खरको छानो” गीत र जनगायक जीवन शर्माको समग्र जनसंगीत यात्राको उच्च सफलताको हार्दिक शुुभकामना ।

आखिर कस्तो छ त जनगायक जीवन शर्माको “तिम्रो खरको छानो” बोलको गीत ? अब हेरौँ र सुनौँं यो भीडियोेमा ।

5 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here