– गोविन्द प्रसाद आचार्य
मनु विक २०४१ माघ महिनामा जन्मिएर विगतदेखि वर्तमानसम्म नेपाली कविताको फाँटमा नारी प्रतिभाका रुपमा देखा परेका सुपरिचित नाम हो । सङ्ग्रहको रुपमा उनको यो प्रथम प्रकाशन भएता पनि पत्रपत्रिकाका माध्यमबाट समाजलाई रुपान्तरण गर्ने दिशामा सशक्त कविताका माध्यमबाट देखा परिरहेको कुरा सबै पाठकहरुलाई जानकारी छ । उनको “युगको आह्वान” कविता सङ्ग्रह आद्योपान्त पढ्ने अवसर मैले पाएँ, जुन अवसर मेरा लागि फलदायक र प्रेरणादायक रहेका छन् । यस सङ्ग्रहले मलाई नविन प्रेरणा र उर्जा दियो भने यसका पाठकहरुलाई वैचारिक रुपबाट सशक्तीकरण गर्नमा निश्चितै रुपमा सहयोग गर्ने छ ।
नेपाली कविताका फाँटमा नारी हस्ताक्षरहरु व्यापक रुपमा देखा परिरहेका छन् । ती सबैले समाज रुपान्तरणको दिशामा काम गरिरहेका छन् भनेर भन्ने स्थिति छैन । कोही यथास्थितिमा रुमल्लिएका छन्, कोही विगतको सत्ताले थुपारेका विकृति, विङ्गतिलाई नै मलजल गरिरहेका छन्, कोही सत्ताको नजिक पुगेर पद, प्रतिष्ठाको आशामा साहित्य लेखिरहेको कुरा कसैबाट छिप्न सक्दैन । लेख्नु पनि ज्यादै महङ्गो हुन्छ । त्यसमा पनि विचारको घुलन गरेर कलासँग चिन्तन जोडेर समाज रुपान्तरणको दिशामा बल पुर्याउने उद्देश्यबाट प्रेरित साहित्य लेख्नु कठिन निश्चित रुपमा पर्छ । वर्तमान समाजले विचारभन्दा सस्तो लोकप्रियता कमाउने उद्देश्यबाट लेखिएको साहित्यलाई रुचाइरहेको र त्यसलाई पुरस्कृत गर्दै गएको कुरा कसैबाट छिप्न सक्दैन, जो वास्तविक रुपमा यथार्थ देखिएको छ । त्यस प्रकारको साहित्यलाई चुनौती दिँदै नारी हस्ताक्षरको माध्यमबाट वैचारिक र उर्जाशील साहित्यको लेखन ज्यादै उपयुक्त कुरा हुन्छ । ठिक त्यस रुपबाट यो युगको ‘आह्वान’ कविता’ प्रकाशित हुन लागेकोमा म खुशी व्यक्त गर्दछु ।
यसमा त्रिचालिस वटा कविता सङ्ग्रहित छन् । आयाम विस्तारका दृष्टिले कोही लामा छन् त, कोही छोटा छन् । लामोछोटो जेजस्तो आकारमा रहे तापनि यी सबैको एकमुष्ठ रुप नै समाजको रुपान्तरण हो । विचारको संरक्षण हो । चिन्तनको खिरिलोपन हो ।समाजलाई वास्तविक रुपबाट मानवीकरण गर्ने चाहना हो । शोषण प्रधान समाजको विरोध हो । शोषणमा परेका सबै तह र वर्गका, मजदुर, किसान, महिला, पछाडि पारिएका सम्पूर्ण वर्गको एकता वा एकमुष्ठ आवाज हो ।
यस सङ्ग्रहमा रहेका त्रिचालिस वटा कविताहरुले लामो–छोटो आकारमा मानव जातिको उत्थानका लागि सशक्त आवाज उठाएका छन् । यो नै यस सङ्ग्रहको विशिष्ट उपलब्धि हो । कलाका दृष्टिबाट हेर्दा त्रिचालिस वटा कविता लेखिसकेको व्यक्तित्वको रचना पूर्ण रुपले कमसल छ भन्न सकिन्ना । कला अभ्यासको उपज हो, आगामी सङ्ग्रहमा कविताको अभ्यासबाट परिष्कृत हुादै जाने छ । यसका लागि साधना गरिरहनु पर्छ । कुनै पनि महाकविको कला एकै पटक तिखारिने र माझिने स्थितिमा पुगेको हो भन्न कोही सक्ने स्थिति छैन ।
कविताहरु धेरैजसो गद्यमा लेखिएको छ । थोरै कविताहरु लोक पद्यमा रहेका छन् । कविताको भाव पक्षबाट हेर्दा विगतका कवि भूपि शेरचनको नजिक नजिक पुगेका छन् । माओले भने जस्तै सरलबाट जटिल लेखन हुनु पर्छ । ठिक त्यस प्रकारको पद्धतिलाई यहाँ पनि अपनाइएको छ । जे होस्, नेपाली कवितामा यस प्रकारको कृति आउनु, नारी हस्ताक्षरको क्षेत्रमा एउटा प्रतिभा थपिनु, विचारको संरक्षण हुनु सबैथोक पुग्यो भन्नेहरुका निम्ति, क्रान्तिलाई धमिल्याउनेहरुका लागि यो कलात्मक रुपबाट चोटिलो प्रहार हो ।
युगको आह्वान
मान्छेमान्छेकै भीडमा
मान्छेमान्छेकै समूहले
बन्यो सिर्जनाको संसार
मान्छेमान्छेकै बुद्धिले
मान्छेमान्छेकै परिश्रमले
कोल्टो फेरिरहेछ नयाँ युगले
मान्छेमान्छेकै बलले
मान्छेमान्छेकै गतिले
निरन्तर बेगवान छ युगको गति
युग गुडिरहेछ आफ्नै गतिमा
युग बगिरहेछ आफ्नै रफ्तारमा
कसको हिम्मत अब युगलाई रोक्ने ?
युगले भनिरहेछ– भीडमा हराइरहेका मान्छेहरुलाई
युगले बोलाइरहेछ– सिर्जना दबाइरहेकाहरुलाई
आउ पोखाऊ आफ्नो सिर्जना यही एउटा संसारमा ।
(कविता सङ्ग्रहको मुख्य कविता)
यस सङ्ग्रहले समाजलाई मात्र नभई साहित्यलाई समेत उर्जा दिएको छ । लेखकले आगामी सङ्ग्रहहरुमा व्याकरण र भाषालाई तिखार्दै र माझ्दै लगेको खण्डमा त्यो नेपाली साहित्यलाई उपलब्धिमूलक ठहर्ने छ । यस सङ्ग्रहमा दुर्बल रहेको व्याकरणको पक्षलाई वैचारिक पक्षले ओझेलमा पारेको छ । जे होस्, “युगको आह्वान” कविता सङ्ग्रह सस्तो लोकप्रियताका लागि नभएर जीवन दर्शनमा आधारित केही सबलता र दुर्बलताका पक्षहरु रहँदा रहँदै पनि यो सङ्ग्रह प्रगतिवादी चिन्तनमा थपिन आएकोमा खुशी व्यक्त गर्दै, आगामी सङ्ग्रहका निम्ति शुभकामना दिँदै पाठकहरुले पढेर यसको उचित मूल्याङ्कन गर्ने कुरामा म विश्वस्त छु ।
(अखिल नेपाल महिला सङ्घकी केन्द्रीय कोषाध्यक्ष समेत रहनु भएका मनु विकको भर्खरै प्रकाशित कविता सङ्ग्रह “युगको आह्वान” भित्र रहेको भूमिका)