कहिले हट्ला छुवाछूत ?

0
263
मनु विक

मुलकले लोकतान्त्रिक गणतन्त्रपछि गठन भएको संविधान सभाले जारी गरेको संविधान अनुरूप रूपान्तरण हुन खोज्दै छ । संविधानमा देश र जनता समय र परिस्थिति अनुरूपका माग, आवाजलाई सक्दो समेट्ने प्रयत्न गरिएको छ । सबै जात/जाति, भाषाभाषीलाई मूल आधारमा ल्याउनका लागि प्रयत्न गरिएको छ । संविधानले कुनै पनि जात/जातिलाई भेदभाव नगरी समान व्यवहार गर्ने उल्लेख गरेको छ । तर पनि समाजमा कथित माथिल्ला जाति र तल्ला जातिका बीचमा जातीय छुवाछूत तथा विभेद सोच अनुरूप हट्न सकेको छैन । यसले समाजका झण्डै एक चौथाइ जनसङ्ख्या ओगटेका कथित तल्ला जाति बनाइएकाहरुको आत्मसम्मानमा निकै चोट पुगेको छ । छुवाछूतजन्य व्यवहारका केही प्रतिनिधि घटनाहरु यी मान्न सकिन्छ :

घटना नं. १

केही समय पहिला मेरो श्रीमान एकजना साथीकहाँ बास बस्न जानु भयो । जाँदाजाँदै बाटामा उनी साथीकहाँ गएपछि मैले के गर्ने हो भनेर सोध्नु भएछ । उनी साथीले भनेछन्– “म बाहिर बस्ने, तिमीभित्र बस्ने ।” त्यति भनेपछि उहाँको आशय बुझेँ । म बाहिर नै बसे र खाना खाएँ । उहाँका परिवार सँगसँगै बसिनँ । यसले उहाँलाई पछिसम्म पनि छुवाछूत गरेको भन्ने आभाष भयो । मनमा अनेक पीडाहरु भई रह्यो ।

घटना नं. २
गाउँमा गएका बेला एकजना बहिनीले भनिन्– हामीले (तल्ला जाति बनाइएका दलितहरुले) बाख्रा, कुखुरा, सुँगुर पाल्यो । पालेपछि एक्लै खाएर नहुने, सिङ्गै बेच्न पनि समाजसँग सल्लाह गर्नु पर्‍यो । सल्लाह गर्दा सिङ्गै बिक्यो भने त बिक्यो, बिकेन भने उनै ठुला जातिलाई बोलाउनु पर्‍यो, कटाउनु, पर्‍यो । तर हामी पाल्ने मान्छेले काटेको मासु खाइदैन । छुन पाइदैन । उनीहरु नै आएर काट्छन् । कति धार्नी भयो, के भयो भन्ने थाहा पाए पनि उनीहरुलाई छुन हँुदैन । उनीहरुको चुल्हो छुट्टै हुन्छ । उनीहरुकै हात, हामीलाई पातमा दिएको थापेर बस्नु पर्छ । अलग्गै दिएकोमा चित्त बुझाउनु पर्छ । मान्छे त एउटै हो भन्ने सुनेका छौँ तर व्यवहारमा छुवाछूत सधैँ उस्तै । उनको कुरा म पनि भोग्दै र देख्दै आएकी छु ।

घट्ना नं. ३
दोस्रो स्थानीय तहको निर्वाचनमा मतदानका लागि प्युठान गएँ । त्यहाँ एकजना कथित तल्लो जात बनाएकी समाजकी आमासँग भेट भयो । म मगरसँग बिहे गरेको मलाई के कस्तो व्यवहार गर्छन् भन्ने खुल्दुली हुने नै भयो । उनी मेलामा जाने बाटामा हाम्रो घर पर्ने, उनीसँग कुरा भयो । चिया खाने कुरा भयो । चिया बनाएर खान दिएँ । उनले टपक्क गिलास टिपेर माझ्न थालिन् । “मैले हुन दिनु होस्, म आफै माझ्छु । अब मान्छे मान्छेमा छुवाछूत गर्न नपाइने कानुन छ, छुवाछूत गर्नेलाई कारवाही हुन्छ । पहिला जस्तो छैन । म पनि तपाई जस्तै मान्छे हुँ । तपाई पनि म जस्तै हो । यहाँ कसैले छुवाछूत गर्छ, तल्लो जाति भनेर हेप्छ भने यसो गर्न पाइदैन भनेर भन्नु होला । यस्तो व्यवहार नमान्नु होला” किनकि हामी अहिले बसेको घरमा पहिला दलितहरुले खाएपछि भाडा नमाझी जान पाउने थिएनन् होला । त्यही भएर उनले त्यसो गरिन् भन्ने बुझेर मैले यी कुरा भने । उनले भनिन्– बुझेका छौ नि । नबुझेकाले आफै बुझछन् । हामी बोले त हामीलाई के पो गर्नेछन् भन्ने शब्दले मलाई अति घोच्यो । हो, यसरी आफू ठुलो जात कहलाइएकाबाट अहिलेसम्म बोल्न पाएका छैनन् । उनीहरुलाई धम्काइएको हुन्छ, कुटिएको, पिटिएको र लखेटिएकोसम्म हुन्छन् तर उनीहरुको दुव्र्यवहार सहन बाध्य पारिएको कुरा उनको पछिल्लो वाक्यले भनेको छ ।

घटना नं. ४
दोस्रो स्थानीय तहको निर्वाचनकै क्रममा मेरो श्रीमान चुनाव प्रचारका लागि गाउँको घरदैलो अभियानमा जानु भयो । उहाँलाई गाउँकै एक जनाले सुनाउन आएछन् । “त्यो कामीलाई घरभित्र लगिस् ? त्यो भोट माग्न आयो ?” भन्दै थिए । फलानाले भनेर सुनाएछन् । श्रीमानले थप भन्नु भएछ– “त्यस्तो भन्ने मान्छे मेरो अगाडि आएर भन्ने हिम्मत गरोस् र साङ्ला बजाउँदै खलङ्गा जान तयार होस् । खलङ्गा प्युठान जिल्लाको सदरमुकाममा साङ्ला बजाउँदै भनेको भने वापत् हत्कडी लगाउन पनि विडम्बनाको कुरा । त्यो कामी भनेर भन्ने मान्छे एमाले समर्थित थियो रे । आफूलाई राजनैतिक आडमा उभिएको छु भन्ने र आफूलाई कम्युनिस्ट बताउने पार्टीको मान्छेले त्यसो भन्नुले यहाँको छुवाछूतको स्थितिलाई बताउँछ ।

घटना नं. ५
गुल्मीको सदरमुकाम तम्घासमा एकजना दलितले आफ्नो घर आडैमा घडेरी बेच्न थालेको धेरै वर्ष नै भयो रे । बिक्रीमा छ भन्ने थाहा पाएपछि हेर्न आउँछन् रे । तर बिक्री हुँदैन, किनकि यो दलित जाति हो । यसको वरिपरि बस्न उपयुक्त हुँदैन भन्ने उनी ग्राहकका कानमा पुगेपछि त्यो बिक्री हुन सकेको छैन भनेर जना भाइले सुनाउँदै थिए । यी घटनाहरुले थाहा हुन्छ कि दलित जातिप्रति गरिनेको व्यवहारमा केही परिवर्तन भए पनि खास परिवर्तन हुन सकी रहेको छैन । मुलुकलाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको र जातीय छुवाछूत तथा कसुर सजाय ऐन बनेको पनि लामो समय भयो । सञ्चार माध्यम तथा शिक्षाको पनि विकास भएको छ तर जुन अमानवीय व्यवहार छुवाछूत प्रथा हो । त्यो हट्न सकी रहेको छैन । बाटा, कुवा, सार्वजनिक स्थान जहाँ पनि दलित देख्दा सरर्र भित्री मनले मान्छे नै हुन् । यिनीहरु हामी जस्तै भनेर भन्ने मनहरु र गर्ने व्यवहारहरु अत्यन्तै कम छन् । तर भन्ने र बोल्न खोज्ने हो भने आफैभित्रको छुवाछूत मेटाऊ । अनि, बल्ल यस्ता कुरा गर भन्दै उम्किन्छन् सकियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here