ओली सरकारको कार्यकाल सफलताको शुभकामना :मसाल

0
1414
काठमाडौं । ने.क.पा. (मसाल)ले केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारको कार्यकालको सफलताको कामना प्रकट गरेकोछ । पार्टीका महामन्त्री मोहनविक्रम सिंहले एक विज्ञप्ती जारी गर्दै नेपाली जनताले वाम गठबन्धन माथि गरेको विश्वाससित धोखा नगर्न पनि सचेत गराएका छन् ।
त्यस्तै दुबै पार्टी बीचमा पार्टी एकताको शुभकामना समेत प्रकट गरिएको सो विज्ञप्तीमा उल्लअ‍ेख छ ।  उनीहरुका बीचमा पार्टी एकता नभए पनि वा त्यो केही ढिला भए पनि वामपक्षीय गठबन्धनको सरकार गठन गर्ने कार्यमा कुनै ढिलाई नगर्न मसालले विज्ञप्ती मार्फत सुझाएको छ । वामपक्षीय गठबन्धनको सरकार गठन गर्ने कार्यमा कुनै बाधा पुग्न नहुने, त्यसो भएमा जनताले उनीहरुमाथि गरेको विश्वाससित धोखा हुने र त्यसबाट प्रतिक्रियावादीहरुलाई नै मद्दत पुग्ने कुरामा मसालले जोड दिएको छ ।
विज्ञप्तीको
“ने.क.पा. एमालेका अध्यक्ष के.पी. शर्मा ओलीको नेतृत्वमा सरकार बनेको छ । हामीले त्यसलाई बधाई दिंदै उनको कार्यकालको सफलताको कामना गर्दछौं ।
वामपक्षधर गठबन्धनको चुनावमा भएको सफलताका पछाडि दुईवटा मुख्य कारणहरु रहेका छन् : प्रथम, ओलीको नेतृत्वमा एमालेले सीमित रुपमा भएपनि राष्ट्रियताका पक्षमा, भारतीय विस्तारवादका विरुद्ध र चीनसितको सम्बन्ध विस्तारमा लिएको अडान । द्वितीय, ने.का.सितको सम्बन्ध तोडेर प्रचण्डको नेतृत्वमा माओवादी केन्द्रले एमालेसित मिलेर बनाएको वामठबन्धन । हामीले आशा गर्दछौँ, ती दुवैमा निरन्तरता रहोस् । त्यसको अर्थ हो, ओलीले पहिले लिएको अडानमा कुनै विचलन नआओस् र उनले बनाएको गठबन्धनलाई बीचैमा तोड्ने काम नगरियोस् ।
उनीहरुका बीचमा पार्टी एकता होस् त्यसका लागि हाम्रो शुभकामना छ । तर त्यो सम्भव हुने छ वा छैन ? त्यो कार्य छिटो हुने छ वा ढिलो ? त्यो भन्दा हाम्रो चिन्ताको विषय यो छ, उनीहरुका बीचमा पार्टी एकता नभएपनि वा त्यो केही ढिला भएपनि वामपक्षीय गठबन्धनको सरकार गठन गर्ने कार्यमा कुनै ढिलाई हुनु हुँदैन वा त्यसमा कुनै बाधा पुग्न हुँदैन । त्यसो भएमा जनताले उनीहरुमाथि गरेको विश्वाससित धोखा हुनेछ र त्यसबाट प्रतिक्रियावादीहरुलाई नै मद्दत पुग्ने छ । यस्तो भएमा त्यो सम्पूर्ण देश र जनताका साथै स्वयं उनीहरु दुवै पक्षहरुका हितमा पनि नहुने कुरा प्रष्ट छ ।
बताइरहनुपर्ने आवश्यकता छैन कि एमाले र माओवादी दुवै पक्षहरुसित गतकालमा हाम्रा गम्भीर प्रकारका सैद्धान्तिक वा राजनीतिक मतभेदहरु थिए र अहिले पनि छन् । त्यसले गर्दा गतकालमा हामीले उनीहरुसित गम्भीर प्रकारले सैद्धान्तिक र राजनीतिक संघर्ष गर्नुपरेको छ र अहिले पनि उनीहरुसित त्यस प्रकारका सैद्धान्तिक राजनीतिक मतभेदहरु छन् । भविष्यमा आवश्यकतानुसार वा वामपक्षीय सरकारको गठन भएपछि पनि उनीहरुसित कैयौं संघर्षहरु हुने सम्भावनाहरुलाई हामीले अस्वीकार गर्न सक्दैनौं । त्यसका साथै उनीहरु वा देशका अन्य कतिपय राजनीतिक शक्तिहरु, जस्तै कि ने.का.सित कैयौं मतभेदहरु हुनुका बाबजुद राष्ट्रिय आवश्यकतानुसार हामीले कैयौंपल्ट उनीहरुसित कार्यगत एकता पनि गर्ने गरेका छौं । त्यसकारण एमाले वा माओवादीहरुसित कार्यगत एकता हुने वा उनीहरुको नेतृत्वमा बनेको सरकारका कैयौं नीतिलाई समर्थन गर्ने सम्भावनालाई पनि हामीले अस्वीकार गर्न सक्दैनौं । पहिले पनि हाम्रो त्यस प्रकारको नीति रहने गरेको छ र भविष्यमा पनि राजनीतिक आवश्यकतानुसार त्यसरी उनीहरुसित एकता वा संघर्ष गर्नुपर्ने स्थिति हुन सक्ने छ । तै पनि हामीले माथि उल्लेख गरेका दुईवटा कारणहरुमाथि ध्यान दिंदै कैयौंपल्ट उनीहरुसित कार्यगत एकता गर्ने वा चुनावमा तालमेल गर्ने समेत गरेका छौं । त्यस प्रकारको पृष्ठभूमिमा अहिले हामीले ओली सरकारको स्वागत गर्दै माओवादी समेतको सिघ्र सरकार बनोस् भन्ने कामना गर्दछौं ।
अन्तमा पुन: हाम्रो पार्टी ओली सरकारलाई बधाई दिन चाहन्छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here