एमाले-माओवादी केन्द्रको गठबन्धन झापा आन्दोलन र जनयुद्धबाट भागेका भगौडाहरुको गठजोड हो : विप्लव

0
718

नेपाल कम्युनिस्ट पाटीका महासचिव नेत्र विक्रम चन्द विप्लवले एमाले र माओवादी केन्द्रको गठबन्धन झापा आन्दोलन र जनयुद्धबाट भागेका भगौडाहरुको गठजोड भएको बताएका छन् ।

महासचिव विप्लवले कथित वाम गठबन्धनलाइ वैज्ञानिक समाजवादको आदशबाट च्यूत भएका संशोधनवादी, आत्मसमपणवादी र विसजनवादीहरुको गठजोड समेत भएको बताएका छन् ।

आफ्नो पाटी निकट पत्रिका रातोखबर साप्ताहिकलाइ दिएको लामो अन्तरवातामा महासचिव विप्लवले एमाले माओवादी केन्द्रको गठजोड कम्युनिस्ट चिन्ह प्रयोग गरेर नवपुँजीवादीहरुको जत्था भएको बताएका छन् ।

महासचिव विप्लवले संशोधनवाद, संसद्वाद र आत्मसमर्पणवादले दुनियाँमा कहिल्यै पनि वैज्ञानिक समाजवाद ल्याएको इतिहास नभएकाे भन्दै उनीहरूकाे गठबन्धनबाट जण्ड पुँजीवाद जन्मने बताए ।

विप्लवकाे अन्तरवाताकाे सार :

एमाले–माके मिलेर निर्माण गरेको वाम गठबन्धनका बारेमा तपाईंहरूको दृष्टिकोण के हो ? यसले तपाईंहरूको आन्दोलनमा केही प्रभाव त पार्दैन ? उनीहरू पार्टीएकता गर्ने, स्थिर सरकार बनाउने, देशको विकास गर्ने कुरा गरिरहेका छन् त !

एमाले—माके गठबन्धन झापा विद्रोह र जनयुद्धबाट भागेका, पछि फर्केका, विचलित भएका, आत्मसमर्पण गरेका र वैज्ञानिक समाजवादको महान् आदर्शबाट च्यूत भएका आत्मसमर्पणवादी, संशोधनवादी, दक्षिणपन्थी, विसर्जनवादी प्रवृत्तिहरूको गठजोड हो । यसमा पनि एमालेका केही आफ्नै विशेषता छन् । उसले पहिले वैचारिक, राजनीतिक संश्लेषण (बहुदलीय जनवाद) गरेर अलि लामै समयदेखि संसद्वादमा प्रवेश गराएको छ । माके र त्यसका भगौडाहरूको शरीरमा त सहिदहरूको रगतका दाग पनि मेटिएका छैनन् । यो त एमालेलाई प्रतिक्रियावादी घोषणा गरेर सफाया गर्नुपर्छ भन्ने अनैतिकहरूको हूल हो । जनयुद्ध बेचेर खाने अधमहरूलाई के भन्ने ! यो कसरी ‘वाम’ हुन्छ ! यो त कम्युनिस्ट चिह्न प्रयोग गरेको नवपुँजीवादी समूह हो । यस प्रवृत्तिलाई हामीले नयाँ उचाइमा संश्लेषण गर्दै ‘सामाजिक दलाल पुँजीवादी’ भन्ने सोचेका छौँ ।

एमाले—माके गठबन्धनले हाम्रो पार्टी र क्रान्तिलाई असर त गर्छ तर सकारात्मक असर गर्छ । उनीहरू पुँजीवादी संसद्वादमा पतन भएका तत्व हुन् र क्रान्ति आवश्यक छ भनेर त हामीले प्रचण्ड—बाबुरामको आत्मसमर्पणवाद र विसर्जनवादबाट विद्रोह गरका हौँ । त्यही पुष्टि भएको छ भने हामीलाई यसले सही साबित गर्छ र जनता उनीहरूबाट झन् धेरै स्पष्ट बन्नेछन्, बन्नुपर्छ । परिवर्तन र क्रान्तिका पक्षमा रहेका जनताले हामीलाई नै साथ दिनेछन् । जहाँसम्म एमाले—माकेले विकास र समृद्धिको प्रचार गरेका छन् यो प्रचार पानीको फोका हो । जसरी क्रान्ति सकियो र आवश्यक छैन भन्ने प्रचारले हावा खायो त्यसैगरी यो प्रचारले पनि छिट्टै असफलता बेहोर्नुपर्छ । किनकि जुन बेलासम्म दलाल पुँजीवादी राज्यसत्ता कायम हुन्छ त्यहाँ जनताको समृद्धिको सम्भावना हुँदैन । त्यहाँ त दलालहरूको लुटतन्त्र चल्छ । समृद्धि भए पनि दलाल र लुटेरा वर्गको मात्र समृद्धि हुन्छ । तपाईंले चुनावको परिणामपछि देख्नुभयो नि, पद, कुर्सी र सुविधाका लागि उनीहरू कति छुद्र बकबास गर्दै हिँडेका छन् । कसैको कुरा कसैसँग मिलिरहेको छैन । अनि यी तत्वबाट देश उँभो लाग्छ भन्ने कल्पना गर्न सकिन्छ ? अहँ यो नचिताए हुन्छ । यत्ति हो, उनीहरूले वैज्ञानिक समाजवादमा जाने आधार भने बनाइदिनेछन् ।

वाम गठबन्धनले चुनावकै बाटोबाट समाजवाद स्थापना गर्ने तहसम्म जाने बताइरहेको अवस्थामा समाजवाद स्थापना गर्न अवैधानिक कार्यक्रम र बाटो नै रोज्नुपर्ने बाध्यता के प¥यो तपाईंहरूलाई ?

संशोधनवाद, संसद्वाद र आत्मसमर्पणवादले दुनियाँमा कहिल्यै पनि वैज्ञानिक समाजवाद ल्याएको इतिहास छैन र हुने पनि छैन । संसद् र पुँजीवादी संस्थाभित्रबाट भाषण र प्रचार गरेर कहिल्यै पनि वैज्ञानिक समाजवाद पैदा हुनेछैन । संशोधनवादको कोख समाजवादी कोख होइन, त्यो पुँजीवादी कोख हो जहाँबाट वैज्ञानिक समाजवादलाई निषेध गर्ने जण्ड पुँजीवादको जन्म हुन्छ । केपीले समाजवाद जन्माउन खोजेर के हुन्थ्यो ? केपीको कोखमा पुँजीवादको गर्भ छ, त्यही जन्मिन्छ । प्रचण्डको त त्यो पनि छैन । त्यो त बाँझो छ ! जहाँसम्म हामीले अवैधानिक बाटो रोज्यौँ भन्ने प्रश्न छ, यो मिलेन । हामीले रोजेको बाटो नै जनताको इच्छाअनुरूपको वैध बाटो हो । यो बाटो प्रतिरोध र विद्रोहको बाटो भने हो । यसको बाध्यता पुँजीवादी राज्यसत्ता, दलाल संसदीय व्यवस्थाको कारणले पैदा भयो ।

उनीहरू जनयुद्धका उपलब्धिहरूलाई सखाप पार्न चाहन्छन्; जनयुद्धका योद्धाहरूलाई अपराधी बनाउन चाहन्छन्; नेपालबाट कम्युनिस्ट क्रान्तिकारीहरूलाई सिध्याउन चाहन्छन्; बन्दुकको नालमा शासन गर्न चाहन्छन् अनि हामीले कसरी उनीहरूलाई फूलपाती र गङ्गाजल छर्किन सक्छौँ ! यो हामीले नेपालमा दलाल पुँजीवादी संसदीय व्यवस्थाविरुद्ध गरेको प्रतिरोध र विद्रोह हो जो जनताको मतद्वारा अनुमोदित छ ।

जनपाटीबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here