एकदिवसीय क्रिकेटमा नेपाललाई ऐतिहासिक सफलता

0
146

काठमाडौं । नेपालले एक दिवसीय क्रिकेटमा ऐतिहासिक सफलता हात पारेको छ । एक दिवसीय क्रिकेट खेल्ने मान्यता पाएको १० महिना मै नेपालले पहिलो आधिकारिक श्रृंखला जितेको छ । घरेलु टोली युएई विरुद्धको तीन खेलको श्रृंखला अन्तर्गत दुबईको आइसिसि एकेडमीमा २०७५ माघ १४ गते भएको तेस्रो तथा अन्तिम खेलमा चार विकेटको जीत हात पार्दै नेपालले श्रृंखला २–१ ले आफ्नो पक्षमा पारेको हो ।

श्रृंखलाको दोस्रो खेलमा नेपालले १४५ रनको फराकिलो अन्तरले युएईलाई हराएको थियो भने पहिलो खेलमा तीन विकेटले पराजित भएको थियो । एकदिवसीय क्रिकेटको यस ऐतिहासिक सफलतामा कप्तान पारस खड्काको योगदान पनि ऐतिहासिकनै रह्यो । तेस्रो तथा अन्तिम खेलमा जीत उनकै शतकिय इनिङका कारण सम्भव भएको थियो । उक्त सतक सँगै कप्तान पारस खड्काले एकदिवसीय मान्यता प्राप्त खेलमा शतक पूरा गर्ने पहिलो नेपाली खेलाडीमा आफ्नो नाम लेखाए । यस अघि दोस्रो खेलमा रोहित पौडेलले अर्को ऐतिहासिक रिकर्ड कायम गरेका थिए– अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धसतक पूरा गर्ने सबैभन्दा कान्छो पुरुष क्रिकेटरका रुपमा १६ वर्ष १४६ दिन उमेरका युवा व्याट्सम्यान रोहितले यस अघि भारतका महान् क्रिकेटर सचिन तेण्डुकर र पाकिस्तानी क्रिकेटर शहिद अफ्रिदीको नाममा रहेको रेकर्ड तोड्दै आफ्नो अर्धसतक पूरा गरेका थिए ।

सचिनले १६ वर्ष २१३ दिनको उमेरमा पाकिस्तान विरुद्धको टेस्ट खेलमा र अफ्रिदीले १६ वर्ष २१७ दिनको उमेरमा श्रीलंका विरुद्धको एक दिवसीय खेलमा अर्धसतक प्रहार गर्दै उक्त रेकर्ड आफ्नो नाममा लेखाएका थिए । तर नेपाली युवा व्याट्सम्यान रोहित कुमार पौडेलले तेण्डुकर र अफ्रिदी दुवैको उक्त रिकर्ड तोडेर अब त्यसमा आफ्नो नाम लेखाएका छन् ।

नेपाली क्रिकेट टिम यतिबेला नेतृत्वविहिन जस्तै छ । अभिभावकीय भूमिकामा हुनुपर्ने नेपाल क्रिकेट संघ (क्यान) निलम्वनमा परेको तीन वर्ष भैसकेको छ । साधारण सभा तथा नयाँ नेतृत्व चयन सम्बन्धी विवादले उग्ररुप लिएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसि)ले २०७३ वैशाखमा क्यानलाई निलम्बन गरेको थियो । त्यस यता नेपाली क्रिकेट नेतृत्वविहीन अवस्थामा छ । तर पनि नेपाली राष्ट्रिय टोलीले क्रिकेटमा एकपछि अर्को सफलता हात पार्दै आएको छ । क्यान निलम्वन रहेकै अवस्थामा गत वर्ष मात्र एक दिवसीय मान्यता पाएको नेपालले गत श्रावण महिनामा नेदरल्याण्डसँग पहिलो एक दिवसीय श्रृंखला खेलेको थियो । दुई खेलको उक्त श्रृंखला १–१ जीत सहित वराबरीमा सकिएको थियो ।

एक पछि अर्को गर्दै ऐतिहासिक सफलता प्राप्त गर्दे आइरहेको नेपाली क्रिकेटलाई अझै माथिल्लो स्तरमा पु¥याउनका लागि अब सरकारले पनि विशेष ध्यान दिनु आवश्यक देखिन्छ । क्यान विवादको शीघ्र समाधान गर्ने र भौतिक पूर्वाधारको विकास गर्दै खेलाडीहरुको हेरचाहमा सरकारले विशेष ध्यान दिने हो भने निश्चित छ–नेपाली क्रिकेटले अझै ठूला ऐतिहासिक उपलब्धीहरु हासिल गर्दै जानेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here