उपभोक्तावादी संस्कृति, दलाल पूँजी र साम्राज्यवाद

0
284

विश्वव्यापीरुपमा भूमण्डलीय साम्राज्यवाद, शक्तिशाली बन्दै गैरहेको प्रष्ट नै छ । एकातीर साम्राज्यवाद, शक्तिशाली बन्दै जाने अर्कोतीर अल्पविकसित राष्ट्र कमजोर बन्दै गैरहेको अवस्था पनि हो । कमजोर यसकारणले कि अल्पविकसित राष्ट्रहरुले साम्राज्यवादसित प्रतिस्प्रता गर्न सकिरहेका हुदैनन् । राजनीतिक, आर्थिक, सांस्कृतिक रुपमा कमजोर राष्ट्रहरु चेपुवामा पर्दै गैरहेका हुन्छन् । जसको परिणामस्वरुप साम्राज्यवादी मुलुक तथा अल्प विकति राष्ट्रहरुबीचको अन्तरविरोध झन झन चर्किदै गैरहेको हुन्छ । साम्राज्यवाद अर्थात एकाधिकार पूँजीवाद झन पछि झन केन्द्रिकृत हुँदै गैरहेको हुन्छ जबकि कमजोर राष्ट्रहरु, दलाल पूँजीको भार बोक्दै गैरहेका हुन्छन् । र, हाम्रो मुलुकको वास्तविकता पनि यही हो ।

भूमण्डलीय साम्राज्यवादको चेपुवामा पर्दै गएका कारण नै हाम्रो मुलुक आर्थिक, राजनीतिक, सांस्कृतिकरुपमा कमजोर हुदै गैरहेको छ । यसप्रकारको चेपुवाका कारण उत्पादन, पूर्नउत्पादनको बिषयले महत्व पाउदैन । देशका कच्चा पदार्थहरु, सस्तो मुल्यमा निर्यात गर्ने अनी त्यही कच्चा पदार्थहरुबाट बनेका सामानहरु महंगोमा खरिद गर्ने । हामीले २ रुपैयामा बिक्रि गरेको अदुवा, भारत हुदै यूरोपियन मुलुक पुग्दा त्यसको मूल्य लगभग पन्ध्र सय हुन्छ । अर्बौ रुपैयाका जडीबुडी हामी भारत निर्यात गर्छौ अनी त्यहाँ तयार भएका आर्युवेदिक औषधिहरु महंगोमा खरिद गर्दछौं ।रामदेवको पतंजलीको नेपाली बजार बिस्तारले पनि दलाल पूँजीको बिस्तार हुने नै हो । सस्तोमा विद्युत उत्पादन हुुने संभावना रहेका कैयौ परियोजनाहरु विदेशीलाई सुम्पन्छौं । शिक्षाको अहिलेसम्मको स्थिति हेर्दा उच्च तथा प्राविधिक अध्ययन्को उचित वातावरण नहुँदा लाखौको संख्यामा विद्यार्थीहरु बाहिरिरहेको अवस्था छ । यी सबै गतिविधिहरुले राष्ट्रको अर्थतन्त्र कमजोर तथा दलाल पूूँजी बलीयो बन्दै गैरहेको प्रष्ट छ । यसप्रकारको परिस्थितिमा देशमा साम्राज्यवाद झनै मौलाउदै जाने प्रष्ट नै छ ।

साम्राज्यवादको चर्कोरुपमा विरोध गर्नु नै पर्दछ । साम्राज्यवादीहरुको दादागरिका विरुद्ध उत्पीडित राष्ट्र तथा त्यहाँका जनता सशक्तरुपमा अगाडि बढ्नुपर्दछ । साम्राज्यवादीहरुको चलखेलका लागि अनुकुल वातावरण बनाईदिने राज्यसत्ताका विरुद्ध पनि आन्दोलित हुनु नै पर्दछ । यो सच्चाईको एउटा पाटो भयो । हाम्रो भूमिका, त्यतीमा मात्र सिमित भएर पुग्दैन । हामीभित्र प्रवेश गरेको साम्राज्यवादका विरुद्धको लडाइर्, अझ जटिल बिषय हो ।हाम्रो सोंचाई, व्यहार तथा हरेक गतिविधिहरुमा साम्राज्यवाद प्रवेश गरेको हुन्छ । हाम्रो कला, संस्कृति, मूल्य मान्यता, दृष्टिीकोण आदि हरेक कुरामा साम्राज्यवादले रजाई गरिरहेको हुन्छ । त्यसप्रकारको रजाईका विरुद्ध संघर्षको बिषय अझ महत्वपूर्ण पक्ष हो ।

कार्टुनमा रमाउने बालबालिकाहरुको दिमागमा बेन टेन, स्पाइडर मेन जस्ता काल्पनिक पात्रहरुले कब्जा गर्दै गैरहेको छ । अनी साम्राज्यवादीहरुले आफ्नो हरेक सामानहरुको उत्पादनमा बेन टेन र स्पाइडरमेनको लोगो झुण्डाउने गर्दछ । र, त्यसले बजार कब्जा गर्दछ । बजारमा त्यही सामानको बिक्रि हुन्छ, जसको राम्रो विज्ञापन हुन्छ । प्रशस्त विज्ञापनमा खर्च गरेर जसले आफ्नो ब्राण्ड बनाउछ, त्यसको नै बजारमा प्रभुत्व हुन्छ । एडिडास र नाइकको जुत्ता लगाउन सकियो भने आफु ठूलो मानिस भएको अनुभुति गर्दछौं । घुडानेर च्यातीएको जीन्स पेन्ट लगायौं भने आफुलाई आधुनिक तथा ‘सभ्य’ भएको अनुभुति गर्दछौैं । नयाँ बर्ष र क्रिशमशका दिन अंग्रेजी गीतमा नाच्दा निकै आनन्दित भएको महसुस गर्दछौं । तर त्यसप्रकारको संस्कृति, फेशन र ब्राण्डको पछि दौडीदै गर्दा हामी कसरी साम्राज्यवादको चंगुलको फस्दै गैरहेका हुन्छौं ? त्यो कुरालाई हामी बुझ्न सकिरहेका हुँदैनौ ।

नेपाली समाजमा उपभोक्तावादी संस्कृति हावि हुँदै जाँदा साम्राज्यवादी चलखेलका लागि अनुकुल वातावरण तयार हुँदै गैरहेको हुन्छ । छोरा छोरीको बिहे गर्न पर्यो भने लाखौं रुपैया बैंकबाट ऋण लिएर पार्टी प्लेसमा भोज गर्नु पर्ने । जन्मदिन, ब्रतबन्ध लगायतका समारोहमा जती धेरै खर्च गर्यो त्यती आफु ठूलो भएको अनुभुति गर्ने । प्रशस्त गहना र मंहगों कपडाको प्रदर्शन गर्ने । केही कमाएको पैसा ब्यूटी पार्लर र महंगो विलासिताको सामानमा खर्च गर्ने । यी तथ्यहरुले पनि प्रष्ट गर्दछ, नेपाली समाजको खर्च अनुत्पादक क्षेत्रमा नै प्रयोग हुँदै आएको छ । अर्थात नेपाली समाजको अर्थतन्त्र, दलाल पूँजीको चंगुलको फस्दै गएको प्रष्ट हुन्छ । दलाल पूँजी बलियो हुँदै जानु भनेको राष्ट्रिय अर्थतन्त्र कमजोर हुँदै जानु नै हो ।

अहिलेको नेपाली समाज, कैयौं सामंती संस्कृतिबाट पनि आक्रान्त छ । रुढीवाद र अन्धविश्वासका थुप्रै मूल्य र मान्यताहरुबाट जकडिएको छ । परिवारमा पुरुषको हैकम चल्ने, पुरुषलाई भगवानको रुपमा मान्दै उसको खुट्टाको जल खानुपर्ने, संपतिमाथि पुरुषको कब्जा हुने, गाउघरमा अली हुनेखानेको हैकम सबैले मान्नुपर्ने आदि । यद्यपि शहरीकरण, आधुनिकिकरण, पश्चिमिकरणका साथ यसप्रकारका मूल्य मान्यताहरुमा केहि चोट पनि पुग्दै गैरहेको छ । परम्परागत मूल्य मान्यतामा बिस्तारै परिवर्तन हुँदै जाँदा घिनलाग्दो उपभोक्तावादी संस्कृतिले त्यसको स्थान लिदै गैरहेको छ । एउटा विकृतिको स्थान अर्को विकृतिले लिदैं गैरहेको छ ।

हामीले अंगीकार गरेको संस्कृति, देशको अर्थतन्त्रसित सम्बन्धित हुन्छ । मानिसको सोंचाई तथा दृष्टिकोणले देशको अर्थतन्त्रलाई प्रभावित पारिरहेको हुन्छ । केहि पैसा कमाएर गहना र फेशनमा खर्च गर्ने तथा भोज र पार्टी प्यालेसमा अत्यधिक खर्च गर्ने बानीले देशको अर्थतन्त्र प्रभावित भैरहेको हुन्छ । पैसा जम्मा गर्ने र ब्याजमा लगाउने अर्थात वित्तिय कारोबारमा मात्र सिमित हुने नेपालमा प्रशस्त सहकारीहरु छन् । सहकारीलाई त्यो रुपमा मात्र सिमित राखीयो भने त्यसले दलाल पूँजीलाई धक्का दिन सकिरहेको नै हुदैन ।

नेपालमा कृषि तथा जडिबुटिको प्रशस्त संभावना छ । भर्खरै चितवनका किसानहरु भारतीय टमाटरको घुसपैठका विरुद्ध आन्दोललित भएकोे समाचार आएको थियो । हामी जती राष्ट्रियताका कुरा गर्छौ, व्यवहारमा पनि राष्ट्रिय उत्पादनको दिशामा पनि किन अगाडि नबढ्ने । प्रशस्त उत्पादन गरेर विदेशी टमाटर, लसुन, चामल, स्याउलाई बिस्थापित गर्न सक्यौं भने पनि त्यसले बढ्दो दलाल पूँजीको प्रभुत्वलाई केहि न केहि धक्का दिन सक्नेछ । नेपालको हिमाली क्षेत्रमा अमूल्य जडीबुटी उत्पादन हुन्छ । हामी निकै सस्तो मूल्यमा यार्सागुम्बा विदेशीलाई बेच्छौं । सूनको मूल्यमा किनेको यार्सागुम्बाबाट विदेशीले हिरा बनाउछन । हामीले नै त्यसो किन गर्न नसक्ने ? यस्ता थुप्रै जडीबुटीहरु नेपालमा उत्पादन भैरहेका छन् । त्यसलाई स्वदेशमै सदुपयोग गर्न किन नसक्ने । त्यसको उचित अध्ययन् तथा अनुसन्धान गर्दै, आत्मनिर्भर अर्थतन्त्रको दिशामा किन अगाडि नबढ्ने ।

अर्थतन्त्रको विकास, राजनीतिसित पनि जोडिएको बिषय हो । दलाल पूँजीवाद बढ्दै जानुमा मुलुकको नकारात्मक राजनीति नै प्रमुख कारण हो । त्यसकारण एउटा ठूला रानीतिक क्रान्तिको आवश्यकता त छ नै । तर त्यसप्रकारको राजनैतिक क्रान्ति नहुँदासम्म आर्थिकरुपमा हामी आफैले केहि शुरुवात गर्नु नै हुँदैन भन्ने पनि होइन । हामी सडकमा साम्राज्यवाद र विस्तारवादका चर्का चर्का नाराहरु लगाउदा ‘म तथा मेरो सोचाई भित्र पसेको साम्राज्यवाद’का विरुद्ध नारा लगाउने पनि सोच्नुपर्दछ । ‘अहिले समाजवाद आएको छैन’, त्यसैले उपभोक्तावादी संस्कृतिमा जती मात्तीए पनि केहि हुदैन भन्ने सोच्नु हुदैन । सिंगो देशमा समाजवाद ल्याउन नसकेपनि आ–आफ्नो परिवार तथा गाउमा केहि समाजवादी मान्यताको बिजारोपण गर्न पहल गर्ने हो कि ? अनुत्पादक चीजहरु पैसा खर्च गरेर मात्तीने भन्दा त्यसलाई केहि हदसम्म भएपनि उत्पादनमा खर्च गरेर दलाल पूँजीलाई केहि हदसम्म भएपनि धक्का दिने हो कि ?यी प्रश्नहरुमा घोत्लीनुपर्ने नै हुन्छ ।

कुनै बेलाको समाजवादी चीन आज साम्रज्यवाद हो कि होइन भनेर बहस चलीरहेको छ । यसो किनभने अहिले चीनले आर्थिकरुपमा विश्वमा साम्राज्य कायम गर्दै गैरहेको छ । सन् १९९० ताका विश्व बजारमा चीनको जम्मा ३ प्रतिशत सामान खपत हुन्थ्यो भने अहिले बढ्दै गएर २५ प्रतिशत पुगीसकेको छ । विश्व बजारमा ५० प्रतिशत स्याउ त चीनको मात्र खपत हुन्छ जबकि दोश्रोमा रहेको अमेरिकाको जम्मा ६ प्रतिशत मात्र रहेको छ । त्यस्तै एयरकण्डिसन, मोबाइल, सिमेन्ट, जुता,सोलार सिस्टम, पानी जहाज आदि सबैको विश्व बजार, चिनले कब्जा गर्दै गैरहेको छ । अमेरिकामा प्रयोग हुने ९० प्रतिशत झण्डा चिनले नै बनाउछ । यी तथ्यहरुले पनि चीनको आर्थिक साम्राज्यको गति तिव्ररुपमा बढ्दै गैरहेको पुष्टि हुन्छ ।

त्यसका साथै सच्चाईको अर्को पाटो के पनि हो भने चीनीया जनता दलाल पूँजीको चेपुवामा पर्नुपरेको छैन । जसको परिणाम के हुन गयो भने सन् १९७८सम्म चीनको जीडिपी १५५ डलर थियो तर २०१४ सम्म पुग्दा त्यसको जिडिपि ७५९० पुगीसक्यो । जसको परिणाम यो भयो कि अहिले चीनमा८० करोडभन्दा बढीमानिस गरीबीको रेखाभन्दा माथि छन् । दलाल पूँजीसित प्रतिस्प्रधा गर्न नसकेर हाम्रो देशको जमिन, बाँझो हुदै गैरहेका छन् । तर चीनमा एउटा किसानको मासिक आय १ लाख भन्दा बढी हुन्छ । त्यहाँ अझपनि किसानहरु सहकारि मोडलबाट कृषिमा आवद्ध छन् । र, उनीहर आफु किसान भएकोमा गर्व गर्छन् ।

आर्थिकरुपमा चीनले यती धेरै प्रगति गर्नुमा त्यहाँ भएको राजनैतिक क्रान्ति नै प्रमुख कारण हो । त्यहाँ समाजवादको पतन भएपनि समाजवादका अवशेषहरु अझ पनि बााँकि छ । जसले गर्दा आम मानिसमा सामूहिकताको भावना तथा दृष्टिकोण अझ पनि कायम छ । समाजवादको पतनसंगै त्यहाँ उपभोक्तावादी संस्कृति पनि मौलाउदै गैरहेको छ । तर अर्कोतीर समाजवादी अवशेष कायम रहेका कारण चीनीया जनतामा उत्पादन, पूर्नउत्पादनको संस्कृति सशक्तरुपमा कायम छ । यसप्रकारको संस्कृतिका कारण नै चिनिया उत्पादनले विश्व बजार कब्जा गर्दै गैरहेको छ ।

अर्थशास्त्रको सामान्य नियम के हो भने जती ठूलो मात्रामा सामानउत्पादन गर्यो त्यसको लागत त्यती नै कम हुन्छ । चिनले यही सूत्र प्रयोग गरेर यती धेरै मात्रामा उत्पादन गर्दछ कि विश्वका अन्य बजारले त्यसको प्रतिस्प्रधा गर्न नै सक्दैनन् । र, उसको आर्थिक साम्राज्य बढ्दै जाने भयो । भूमण्डलीय साम्राज्यवादको क्षेत्रमा उसको प्रभुत्व बढ्दै जाने भयो ।

चीनले अत्यधिक उत्पादन गर्दा उसको देशको अर्थतन्त्र त बलियो होला । उसको जीडिपि बढ्ने होला । त्यहाँको पूँजीवादी संरचना मजबुत हुने होला । तर उसको उत्पादन हाम्रो देशमा प्रवेश गर्दा त्यसले दलाल पूँजीको रुप धारण गर्दछ । रामदेवले पतंजली उद्योगलाई बिस्तार गर्दा भारतको अर्थतन्त्रलाई सहयोग पुर्याउला, बहुराष्ट्रिय उत्पादनलाई धक्का देला तर त्यही रामदेवका सामानहरु नेपालमा पुग्दा ‘कती सस्तो रहेछ’ भन्दै किन्नको लागि त मारामार हुने हो भने दलाल पूँजी नै बलियो हुने हो । त्यसको अथर्, देशमा भर्खरै उभिन खोजीरहेका जडीबुडी तथा राष्ट्रिय उत्पादनहरु ध्वस्त हुने हो ।

त्यसो भए विकल्प के त ? आमूल परिवर्तनको लागि राजनैतिक क्रान्ति त आवश्यक छ नै । तर राजनैतिक क्रान्ति नहुँदासम्म चुप लागेर बस्न पनि भएन । दलाल पूँजीलाई धक्का दिन केहि न केहि आर्थिक उत्पादनसित जोडिने बिषयहरुमा पनि संलग्न भैरहनु पर्यो । संस्कृतिले अर्थतन्त्रलाई प्रभावित पार्ने हुँदा उपभोक्तावादी संस्कृतिका विरुद्ध पनि अभियान चलाउदै जानु पर्ने भयो । बजारमा नेपाली स्याउ र चिनिया स्याउ देख्दा, ‘५ रुपैया पनि सस्तो भयो भने चिनिया स्याउ नै किन्ने’ संस्कृतिको तोड्नु पर्यो । र, त्यसप्रकारको संस्कृतिलाई सुधार गर्दै जानुपर्यो । दलाल पूँजीलाई धक्का दिन सहकारी आन्दोलनको पनि महत्वपूर्ण भूमिका हुन्छ । त्यसैले वित्तिय सहकारीमा मात्र सिमित रहेका हाम्रा देशका सहकारीहरुलाई उत्पादनमुखी सहकारीको रुपमा विकास गर्नुपर्यो । भूमण्डलीय साम्राज्यवादको विरोध त गरौं तर त्यसका साथै हामी आफै आत्मनिर्भर अर्थतन्त्रको निर्माणको दिशामा पनि अगाडि बढ्दै जाने बिषयमा गंभीर हुनुपर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here