अलविदा क.कमलराज रेग्मी

0
222

६० वर्षपहिले मोहनविक्रमलाई कम्युनिष्ट पार्टीको सदस्यता दिएका कमलराज रेग्मी ६० वर्षपछि उनैबाट सदस्यता लिएका थिए

काठमाडौं । बरिष्ठ कम्युनिष्ट नेता कमलराज रेग्मीको निधन भएको छ । नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको केही समयपछि नै कम्युनिष्ट पार्टीमा आवद्ध भएका रेग्मी जुझारु नेता थिए ।

२०१७ सालमा राजा महेन्द्रले बहुदलीय व्यवस्थामाथि प्रतिबन्ध लगएको पहिलो दिनमै गिरफ्तार भएका नेता रेग्मी लामो समयसम्म पञ्चायत विरुद्ध संघर्ष गरेपनि अन्तत: टिक्न सकेनन् र पञ्चायत प्रवेश गरे । तर, पछि आत्मालोचना गर्दै पुनः कम्युनिष्ट पार्टीमा फर्कने ईच्छा व्यक्त गरेका थिए ।

नेपालको कम्युनिष्ट आन्दोलनका भिष्मपितामह भनेर चिनिने नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहलाई २०१० सालमा रेग्मीले नै सदस्यता दिएका थिए । त्यसको करिब ६ दशकपछि उनै मोहनविक्रमसँग कम्युनिष्ट पार्टी प्रवेशका लागि रेग्मीले दरखास्त दिएका मसाल महामन्त्री सिंहले जनाएका छन् ।

रेग्मीको निधनप्रति महामन्त्री सिंहले गहिरो दुःख प्रकट गर्दै शोक वक्तव्य जारी गरेका छन् ।

यस्तो छ शोक वक्तव्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)
केन्द्रीय कार्यालय
वक्तव्य

का. कमलराज रेग्मीको निधनप्रति ने।क।पा। (मसाल)ले गहिरो दुःख प्रकट गर्दै उहाँप्रति श्रद्धाञ्जली प्रकट गर्दछ । त्यसका साथै उहाँको सन्तप्त परिवारप्रति पनि हामीले समवेदना प्रकट गर्दछौँ ।

का. रेग्मी पञ्चायती व्यवस्थाको स्थापना हुनुभन्दा पहिले कम्युनिष्ट पार्टीको एउटा अत्यन्त जुझारु र सक्रिय शीर्षस्थ कम्युनिष्ट नेता हुनुहुन्थ्यो । नेपालको किसान आन्दोलनमा उहाँको महत्वपूर्ण भूमिका रहेको थियो । खास गरेर पाल्पाको किसान आन्दोलन उहाँको नेतृत्वमा नै चलेको थियो । प्यूठामा जनता शिक्षण शिविरको सञ्चालन र कम्युनिष्ट पार्टीको स्थापनामा पनि उहाँको महत्वपूर्ण योगदान रहेको थियो ।

२०१७ साल पौष १ गतेको राजाले प्रतिगामी कदम चाल्दा उहाँ पहिलो दिनमा नै गिरफ्तार हुनुभएको थियो र लामो समयसम्म जेलमा रहनु भएको थियो । तृतीय महाधिवेशनपछि पार्टीको केन्द्रीय समिति कैयौँ टुक्राहरूमा बाँडियो र पार्टीको कुनै केन्द्र बाँकी रहेन । एकातिर देशको प्रतिकूल राजनीतिक परिस्थिति र अर्कातिर, पार्टीको कुनै केन्द्र नरहेको अवस्थामा उहाँ जेलबाट छुटेपछि पञ्चायती व्यवस्थामा सामेल हुनुभयो । पञ्चायती व्यवस्थामा सामेल भएपछि पनि उहाँले पार्टीप्रति आफ्नो सहानुभूति राखिराख्नु भयो र पार्टीसित लगातार सम्पर्क राख्ने प्रयत्न गर्नुभयो ।

गत लामो समयदेखि उहाँ अस्वस्थ हुनुहुन्थ्यो । करिब दुई वर्ष पहिले उहाँले आफ्नो पञ्चायतमा लागेको कार्यका लागि पश्चाताप गर्दै पार्टीको सदस्यताका लागि दर्खास्त दिनुभएको थियो । उहाँले २०१० सालमा पार्टीको सदस्यताका लागि मेरो दर्खास्त लिनुभएको थियो । त्यसको करिब ६ दशकपछि उहाँले पार्टीको सदस्यताका लागि मलाई दर्खास्त दिनुभएको थियो । उहाँले दर्खास्त दिने बेलामा भन्नु भएको थियो ः ‘पहिले मैले तपाईबाट पार्टी सदस्यताका लागि दर्खास्त लिएको थिए । अब मैले पार्टी सदस्यताका लागि तपाईलाई दर्खास्त दिंदै छु । अब मेरो वृद्धावस्था र स्वास्थ्यका कारणले मैले सक्रिय भएर पार्टीको कुनै काम गर्न सक्दिन । तैपनि मेरो मृत्युको बेलामा पार्टीको झण्डा मलाई ओढाइयोस् भन्ने मेरो ठूलो इच्छा छ ।’ तर उहाँको परिवासँग सल्लाह गर्दा उहाँलाई पार्टीको झण्डा ओढाउने कुरामा सहमति हुन सकेन र उहाँको जीवनको एउटा ठूलो इच्छा हामीले पूरा गर्न सकेनौँ । त्यसका लागि हामीलाई धेरै नै दुःख छ । तै पनि हाम्रो पार्टीले उहाँप्रति श्रद्धाञ्जली प्रकट गर्दछ । त्यसका साथै उहाँको पहिलेको सक्रिय पार्टी जीवन र उहाँका सबै सुःख दुःखमा जीवनभर साथ दिएकी उहाँकी जीवन साथी विमला रेग्मी प्रति पनि उच्च सम्मान प्रकट गर्दै उहाँप्रति गहिरो समवेदना प्रकट गर्न चाहन्छौँ ।
मिति :२०७४ चैत्र २२ गते
मोहनविक्रम सिंह
महामन्त्री

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here