अब भन्नुहोस् छोरालाई संस्कार सिकाउने कि फासीमा चढाउने ?

0
1847

फेरि एउटा दुखद घटना घटेको छ । कंचनपुरमा १३ बर्षीया एक किशोरीको बलात्कारपछि हत्या भएको छ । घटना निकै दर्दनाक र बीभत्स छ । यसै महिना मात्रै कञ्चनपुरमा तीन वटा बलात्कारका घटना घटेका छन् । बलात्कारको यो नौलो घटना भने होइन । हरेक दिन जसो नेपालमा यसप्रकारका घटनाहरु घटी नै रहेका छन् । कति मिडियामा आउछन् कति गुपचुप रहन्छन् । तर घटना घटेपछि कुरैकुराले बाँचेका हामी, दुनियाँ कुरा काट्न सुरु गर्छौ । अनेक तर्क र कुतर्कका पहाडहरु उठाउछौं । केही दिनमा अर्को विषय उठ्छ फेरि त्यतै बहकिन्छौं । टुंगोमा पुग्ने र सार्थक बहस गर्ने हाम्रो चलन छैन नै ।

बलात्कारको घटना घटेपछि आजकल बलात्कारीलाई फाँसीको सजायको व्यवस्था गर्नुपर्ने तर्क जोडदार रुपमा उठ्न थालेको छ । तर मलाई बलात्कारीलाइ फांसीको सजाय गर्दैमा बलात्कारको घटनामा कमी आउँछ भन्ने कुरा सही हो जस्तो लाग्दैन र त्यो यस्ता घटना रोक्ने सही उपाए हो जस्तो पनि लाग्दैन । किनभने फाँसीकै सजाय भएका मुलुकमा पनि यसखालका घटनामा कमी भएको वा रोकिएको पाइदैन । केही दिन पहिले नेपाली कांग्रेसका सांसद्हरुले सदनमै फासीको सजाय दिनुपर्ने माग गरे । त्यो नेपालको संविधानअनुसार गैरकानुनी माग हो । नेपालको संविधान र संयुक्त राष्ट्रसंघमा गरेको प्रतिबद्धताअनुसार नेपालले फासीको कानुन बनाउन पाउँदैन । सडकमा नारा लाग्नु, आक्रोसको अभिव्यक्ति आउनु ठीकै हो । तर सदनमा कानुनी कारवाही गर्नु, बढी भन्दा बढी सजाय दिलाउने कानुन बनाउनभन्दा उत्तेजक कुरा गरेर सांसदहरुले जग हसाइरहेका छन् ।

बच्चाको व्यवहार निर्माण गर्न वंशाणुगत गुण र वातावरणले बराबरी भुमिका निर्वाह गर्ने कुरा बाल मनोबैज्ञानिकहरुले बताउछन् । बच्चा जन्मदा बाबुआमाबाट बंशाणुगत गुणहरु लिएर जन्मेको हुन्छ । त्यस्ताखालका गुणहरु अनेक प्रकारका हुन्छन् । ती गुणहरुको आधारमा बच्चाले समाजमा विभिन्न विषयमा प्रतिक्रियाहरु देखाउछ । यो बाहेक बच्चाको जन्म पश्चात् उसले उसको परिवार र वरिपरिको सम्पूर्ण वातावरणबाट कैयौं व्यवहारहरु सिक्दछ । यसरी बच्चाले आमाबाबुबाट प्राप्त वंशाणुगत गुण र वातावरणबाट प्राप्त अनुभवका आधारमा नै सिकाइ गर्दछ । यसरीनै बच्चाको मस्तिष्क निर्माण भएको हुन्छ ।

त्यसकारण हामीले हाम्रा सन्तानलाई कस्तो खालको वातावरण र संस्कार दिन्छौं त्यसले नै उनीहरुको बानी र आचारणको विकास हुन्छ । जानीजानी कुनै आमाबाबुले आफ्नो सन्तान विगार्ने त गर्दैनन् तर परिवारभित्रका कैयौं व्यवहारहरुले सन्तान बिग्रेको पत्तै हुदैन । पारिवारिक सरसल्लाह, छलफल र घरमा निर्णय हुने हरेक विषयमा सन्तानको सहभागिताले बच्चाको व्यवहारिक पक्षको विकास गर्न महत्त्वपूर्ण भुमिका निर्वाह गरेको हुन्छ । बच्चालाई आफ्नो घर कसरी चलेको छ ? आफ्ना बाबाआमा वा दिदीदाजुहरुको भूमिका कस्तो छ ? उहाँहरु कुन अवस्थाबाट चलिरहनु भएको छ । बाबाले कति मेहनत गर्नुपरेको छ ? आमाले कति दुख गर्नु भएको छ ? जस्ता सामान्य विषय छोराछोरीलाई थाहा भएन वा थाहा दिइएन भने उनीहरु परिवारको खास अवस्था बुझ्न सक्दैनन् । आफ्नो परिवारको अवस्था बुझ्न नसक्नु भनेको अव्यवहारिक बन्नु हो । जब बच्चा अव्यवहारिक बन्छ उसले पारिवारिक दायित्व बुझ्न सक्दैन । न त त्यस्तो बच्चाले समाज, सामाजिक सम्बन्धहरु, संस्कारहरु, चालचलन आदि जस्ता पक्षहरु बुझ्न सक्छ । त्यसपछि उसले ठीक बेठीक छुट्टाउन सक्दैन । जब ठीक बेठीक छुट्टाउन सक्दैन त्यसपछि नकारात्मक कार्यहरु गर्नमा उत्तेजित हुन्छ । खराव संगतहरुमा लाग्छ । लागू पदार्थ, लागू औषध, धूम्रपान जस्ता कार्यहरुमा सहभागी हुन्छ । बिस्तारै त्यो अपराधहरुमा संलग्न हुन थाल्छ । चोरी, डकैती र अपराधहरुमा संलग्न हुन्छ ।

त्यसकारण आमाबाबुले सिकाउने संस्कार नै हो । दिने वातावरण हो । बच्चालाई धम्काएर, थर्काएर, कुटेर पनि हुँदैन, धेरै पुलपुल्याएर पनि हुँदैन । आवश्यक ठाउँमा माया, आवश्यक ठाउमा सजाय, आवश्यक ठाउँमा प्रशंसा, आवस्यक ठाउँमा आलोचना पनि गर्नुपर्दछ । व्यवहार सन्तुलित हुनुपर्छ । जब कुनै एक पक्षमा सन्तुलन गुमाएर व्यवहार गरिन्छ तब बच्चाले पनि आफ्नो सन्तुलन गुमाउँछ र फरक स्वभावको विकास गर्दछ । त्यसले बच्चालाई नकारात्मक काम गर्नतिर नै वाताबरण तयार हुन्छ । यसकारण बच्चालाई उपयुक्त मार्ग निर्देशन, सरसल्लाह, नियन्त्रण र उचित वातावरणको जरुरी हुन्छ । भारतीय लेखक गीजुभाइका पुस्तकहरु पढेर बालबालिकालाई कस्तो बनाउने भन्नेबारे समाजका पढेलेखेका, बुझक्कड, शिक्षित र शिक्षकहरुले ठूलो भूमिका खेल्न सक्छन् । ती किताबहरु अहिले नेपाली बजारमा प्रशस्त पाइन्छन् ।

हामीले खास गरि ११ देखि १७ र १८ वर्ष सम्मका छोराछोरीसङ्ग बाबुआमाले यौनका विषयमा, शरीरको बृद्धि र विकासको विषयमा निरन्तर कुराकानी गर्नु पर्छ । आमाले छोरीलाई र बुबाले छोरोलाइ शरीरको विकास कसरी कसरी हुन्छ, कस्ता प्रकारका परिवर्तनहरु देखापर्छन् ? जस्ता विषयमा सचेत गराउनुपर्दछ । यौन सामान्य कुरा हो, यसलाई छुट्टै रुपमा लिनु हुदैन भन्ने कुरा सम्झाउनुपर्दछ । समाजमा यी यी कुराहरु गर्नुहुँदैन, यस्तो कुरा गर्‍र्यो भने कानुन लाग्छ जस्ता विषयमा जानकारी गराउने गर्नुपर्दछ ।

यस बाहेक विद्यालयमा पनि शिक्षकहरुले निरन्तर बच्चालाई सकारात्मक काममा प्रेरणा गर्नु पर्दछ । बच्चालाई सकारात्मक र रचनात्मक क्रियाकलापमा निरन्तर सहभागी गराउनु पर्दछ । खेलकुद र शारीरिक कृयाकलापहरुमा सहभागी गराउनुपर्दछ । यसका साथै बच्चालाई सामाजिक संघ संस्थाहरु तथा विद्यार्थी संगठनहरुमा समेत सहभागी गरायो भने बच्चा सामाजिक बन्न सक्छ । व्यवहारिक बन्न सक्छ । यसो गर्यो भने बच्चाले आफ्नो धारणा सही बनाउछ, मानवीय संवेदना बुझ्न सक्दछ । यसरी नै बच्चालाई सही संस्कार दिएर हामीले धेरै समस्याबाट बचाउन सक्छौं । सुसंस्कृत समाज नहुँदा सम्म यस खालका घटनाहरु घटी नै रहन्छन् । त्यसकारण आफ्ना छोरी बलात्कार हुनु अगाडि नै छोरोलाइ उचित संस्कार दिउँ । घरबाट निस्कन लागेको छोरोलाई सोधौं बाबू तिमी कहाँ जाँदै छौ ? छिटो घर फर्क । छोरो फर्के पछि सोधौ तिमी कहाँ पुगेर आयौ ? के गर्यौ ? अब भन्नुस छोरोलाई फासीमा चढाउने कि संस्कार सिकाउने ???

हामीले संसद् र प्रहरी प्रशासनलाई पनि प्रश्न गरौं, नेपालमा हजारौं बलात्कारका घटना घटिसकेका छन् । हजारौं बलात्कारका घटनाहरु घट्दा त्यसको मनोवैज्ञानिक पक्ष कस्तो देखिएको छ । त्यसको उपचार कसरी खोज्न सकिन्छ, कानुन बनाएर, बलात्कारीलाई जेल हालेर मात्रै समस्याको समाधान हुन्छ कि संसद् र प्रशासन तथा समाजका हरेक तह र तप्काले बलात्कार मनोवैज्ञानिक पक्ष, वातावरणबारे पनि अध्ययन गरेर समस्याको समाधान खोज्न सकिन्छ । समाजमा खराब आचरण भएका व्यक्तिहरु मात्रै होइन, धेरै परिवारहरु नै हुन्छन् । तिनीहरुले अरुलाई क्षति पुराउने कुरामात्रै सोचीरहेका हुन्छन् । त्यस्ता परिवारहरुलाई सुधार्ने काम त्यहाँका जनप्रतिनिधिहरु, प्रशासन, राजनीतिक दलका नेताकार्यकर्ताको पनि हो । समाजमा भइरहेका बलात्कार र बलात्कारपछि भइरहेका हत्याका घटनाको सामाजिक, सांस्कृतिक, मनोवैज्ञानिक, आर्थिक कारणहरु पत्ता नलगाइकन समस्याको समाधान हुनेछैन । महिलाहरुलाई बलात्कार गर्ने अपराधिक मनोविज्ञान समाजबाट नै सिर्जना भएको छ । उन्नत समाजमा बलात्कारका घटना थोरै भएका छन् । बलात्कारका घटनाहरु पिछडिएको समाजमा नै धेरै भएका पाइन्छन् । त्यसले यो समाजको विकाससित पनि सम्बन्धित भएको बुझ्न सकिन्छ । आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृतिक, राजनीतिक विकासले उन्नत समाजमा यसप्रकारका आपराधिक घटनाहरु अत्यन्तै थोरै मात्रै हुन्छन् भन्ने कुरा आम जनतासमक्ष पुराउन ढिला भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here