नागरिकता विधेयक विरुद्ध काठमाडौंमा प्रदर्शन आन्दोलनकारीले जलाए गृहमन्त्रालयको परिपत्र

0
570

संसदमा विचाराधीन रहेको ‘नागरिकता सम्बन्धी ऐन संशोधन विधेयक’ राष्ट्रहित विपरित भएकोले तत्काल खारेज गर्नुपर्ने नेता केसीको भनाई ।

बैशाख २६, काठमाडौं । संसदमा विचाराधीन नागरिकता विधेयक विरुद्ध चरणबद्ध आन्दोलनमा रहेका बिभिन्न राजनीतिक दल एवं संघ संस्थाको संयुक्त आव्हानमा सोमबार राजधानीमा बृहत प्रदर्शन भएको छ । उक्त प्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको आयोजकले जनाएको छ ।

“नागरिकता ऐन संशोधन विधेयक फिर्ता गर”, “उच्चस्तरीय न्यायिक नागरिकता छानबिन आयोग गठन गर”, “नेपाल-भारत खुला सिमाना नियन्त्रण गर”, “गृह मन्त्रालयद्वारा जारी गरिएको चैत्र १९ को परिपत्र फिर्ता गर्”, “किर्ते नागरिकता खारेज गर” जस्ता नाराहरू लेखिएका प्लेकार्डसहित माइतीघर मण्डलामा भेला भएका प्रदर्शनकारीहरु जुलुससहित बानेश्वरतर्फ लागेका थिए । बानेश्वर पुग्नु अगावै प्रहरीले प्रदर्शनकारीमाथि हस्तक्षेप गरि बिचमै रोक्न खोज्दा दुबै पक्षबीच झडप भएको थियो।

भडपका बावजूद पनि प्रदर्शनकारीहरूले बानेश्वरमा गृह मन्त्रालयद्वारा जारी परिपत्रलाई जलाएका थिए । गृह मन्त्रालयले गत चैत १९ गते जिल्ला प्रशासन कार्यालयहरुलाई जारी गरेको परिपत्रमा जन्मको आधारमा नागरिकता पाएकाका सन्तानहरूलाई बंशजको नागरिकता प्रदान गर्नु भन्ने परिपत्र गरेको थियो ।

जुलुस प्रदर्शन पश्चात बानेश्वर चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गृहमन्त्रालयको परिपत्रका आधारमा धमाधम विदेशीहरुले नागरिता प्राप्त गरिरहेको उल्लेख गर्दै तत्काल उक्त परिपत्र फिर्ता गर्नुपर्ने बताए । उनले संसदमा विचाराधीन रहेको ‘नागरिकता सम्बन्धी ऐन संशोधन विधेयक’ राष्ट्रहित विपरित भएकोले तत्काल खारेज गर्न सरकारसँग माग गरे । सरकारले विदेशीलाई वंशजको नागरिकता दिनेगरी विधेयक बनाएकाले आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएको जनाउँदै नेता केसीले तत्काल विधेयक खारेज नगरे थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिए ।

प्रदर्शनमा राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिष्ट पार्टी (माले), नेपाल कम्युनिष्ट पार्टी (मसाल), जनसमाजवादी पार्टी नेपाल, माथिल्लो कर्णाली बचाऔँ राष्ट्रिय अभियान, राष्ट्रिय जागरण परिषद नेपाल लगायतका विभिन्न राजनैतिक पार्टी एवं संघसस्थाका नेता कार्याकर्ता, विद्यार्थी, बुद्धिजीवी, वकिल, प्रध्यापक, विज्ञहरु सहभागी भएको आयोजकले जनाएको छ ।

(फोटो: रातोपाटी र रितु केसी एवं गोबिन्द आचार्यको वालबाट)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here