स्टालिनको विषयमा रेडियोमा बहस गर्दागर्दै दुई पत्रकारबीच कुटाकुट

0
181

समा स्टालिनको विषयमा रेडियोमा प्रत्यक्ष बहस गरिरहेका दुई पत्रकारबीच कुटाकुट भएको छ। मंगलबार मस्कोस्थित कोम्सोमोल्स्काया प्राव्दा नेटवर्कमा बहस गर्दागर्दै दुई पत्रकार भिडेका हुन्।

बहसमा टेलिभिजन पत्रकार, राजनीतिक विश्लेषक तथा इतिहासकार निकोलाइ स्वानिज र काभपोलिट नामक एक वेबसाइटका प्रधान सम्पादक म्याक्सिम सेभचेन्को सहभागी थिए। स्वानिज स्टालिनले गरेको ज्यादतीको विरोध गर्दै थिए। उनले दोस्रो विश्वयुद्धको अन्त्यमा सोभियत संघको डरलाग्दो अवस्थाका लागि स्टालिनलाई जिम्मेवार ठहर्‍याएका थिए। ‘१९४१ मा स्टालिनकै कारण सोभियत संघमा ३८ लाख कैदी थिए,’ उनले भने।

तर सेभचेन्कोले भने स्टालिनको नेतृत्व अद्विीतीय भएको भन्दै उनको प्रशंसा गरे। ‘स्टालिनका कारण सोभियत संघ जर्मनीसँग घुँडा टेकेन,’ सेभचेन्कोले भने। उनले स्वानिजले स्टालिनको विरोध गरेर विश्वयुद्धमा मस्कोबाहिर मारिएका रुसीहरुको चिहानमा थुकेको आरोप लगाए।

त्यसपछि दुवै बहसकर्ता एकअर्काविरुद्ध गालीगलौजमा उत्रेका थिए। बाझाबाझ चलिरहँदा स्वानिजले भने, ‘यदि तिमी नजिक हुन्थ्यौ भने म तिम्रो अनुहारमा दनक दिन्थेँ।’

‘लौ म यहीँ छु, हानेर हेर त, लौ उठ,’ सेभचेन्कोले चुनौती दिए।

लगत्तै स्वानिजले उठेर उनको अनुहारमा थप्पड लगाए। तर कम उमेर र भारी शरीरका सेभचेन्कोले हिर्काएर स्वानिजलाई भुइँमा ढालिदिए। तत्काल रेडियो स्टेसनका कर्मचारी आएर दुवैलाई छुट्याए। बहसको सहजीकरण गरिरहेकी प्रस्तोता भने उनीहरुलाई नजुध्न आग्रह गरिरहेकी थिइन्।

सोभियत संघका नेता जोसेफ स्टालिनको विरासत आज पनि रुसमा विवादास्पद छ। केहीले स्टालिनको कठोर दमनबाट लाखौँले अनाहकमा ज्यान गुमाएको आरोप लगाउँछन् भने केही उनी चामत्कारिक नेता रहेको र उनकै कुशल नेतृत्वमा महान देशभक्तिपूर्ण युद्ध, अर्थात् दोस्रो विश्वयुद्धमा सोभियत संघले विजय हासिल गरेको भन्दै उनको प्रशंसा गर्छन्।

वर्तमान रुसी राष्ट्रपति भ्लादिमिर पुटिन नेतृत्वको प्रशासनले चाहिँ सोभियत विरासतबारे तटस्थजस्तो देखिने नीति अख्तियार गरेको छ। त्यहाँको सांस्कृतिक मन्त्रालयले गत जनवरीमा ‘डेथ अफ स्टालिन’ नामक फिल्मले सोभियत संघकै खिल्ली उडाएको भन्दै फिल्म वितरणको अनुमति रद्द गरेको थियो।

https://www.youtube.com/watch?time_continue=3115&v=P6tMf8qFWVw

कोम्सोमोल्स्काया प्राव्दा रेडियोले आफ्नो युट्युब च्यानलमा राखेको यो बहस र कुटाकुटको भिडियो ६ लाखभन्दा बढीले हेरिसकेका छन् भने त्यसमा ७ हजार बढीले टिप्पणी गरेका छन्। एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here