नागरिकता विधेयक विरोधी आन्दोलन उत्कर्ष पुर्‍याउन केसीको आव्हान

0
523

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर के.सी.ले राष्ट्रघाती नागरिकता विधेयक विरुद्धको आन्दोलनलाई उत्कर्षमा पुर्‍याउनु पर्ने आवश्यकतामा जोड दिनु भएको छ । अखिल नेपाल कानुन व्यवसायी सङ्घको आयोजनामा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्दै उहाँले यस्तो अवधारणा व्यक्त गर्नु भएको हो ।

२०७५ वैशाख ३० गते राजधानी काठमाडौँमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष के.सी.ले भन्नु भयो–“यो सरकार नाम मात्रको वामपन्थी हो । त्यही भएर नै यसले वास्तविक वामपन्थीले जसरी काम गर्न सकिरहेको छैन ।” “त्यही भएर नै यो सरकारले अलि अलि कम्युनिस्टले जस्तो लाग्ने गरी काम गरिरहेको छ” । के.सी.ले अगाडि भन्नुभयो–“ नागरिकताको सवालमा पनि सरकारले प्रष्ट रूपमा काम गर्न सकिरहेको छैन ।” उहाँले अदालतले तत्कालै गृह मन्त्रालयको परिपत्र कार्यान्वयन नगर्न आदेश दिएकाले एउटा सङ्कट तत्कालका लागि टरेको स्मरण गर्नु भयो । “संसदमा नागरिकता विधेयक विचाराधीन छ, उता गृह मन्त्रालयले त्यही नागरिकता विधेयकमा भएका विषयहरू जारी गर्दछ, परिपत्र मार्फत्” उहाँले भन्नुभयो –“ तत्कालका लागि सर्वोच्चले अन्तरिम आदेश दिएकाले उहाँले राजमोले जन्मको आधारमा नागरिकता वितरण गरिनु हुन्न भनेर लामो समयदेखि आन्दोलन चलाइरहेको स्मरण गर्नु भयो । “२०६३ सालमा जन्मको आधारमा नागरिकता दिने प्रावधान आएदेखि नै हामी आन्दोलनमा छौँ । राजमो नेता के.सी.ले अहिले पनि आफूहरू आन्दोलनमा नै रहेको बताउनु भयो । नेकपा (मसाल), नेकपा (माले) सहित विभिन्न पार्टी र विषयविज्ञहरू सामेल भएको संयुक्त आन्दोलन चलिरहेकोतर्फ इङ्गित गर्दै उहाँले तत्कालका लागि राष्ट्रघाती नागरिकता विधेयक विरुद्धको संयुक्त आन्दोलन अन्तर्गत हस्ताक्षर अभियान सफल पार्न सबैलाई आग्रह गर्नु भयो । आगामी वैशाख १४ गतेसम्म नागरिकता विधेयक विरुद्ध हस्ताक्षर अभियान चल्ने बताउँदै नेता के.सी.ले उक्त आन्दोलनमा बढीभन्दा बढी सहयोग गर्न पनि अपिल गर्नु भयो ।
देश र जनताको हित विपरीत सङ्घीयतालाई नेपालमा जबरजस्ती र अनाधिकृत तवरले प्रवेश गराइएको बताउँदै नेता के.सी.ले अगाडि भन्नु भयो–“सङ्घीयताले पहिलो वर्ष नै रङ देखाउन थालिरहेको छ, जति जति समय बित्दै जानेछ, त्यति त्यति सङ्घीयताको पारो तात्दै जानेछ ।” उहाँले सङ्घीयताका कारणले स्थानीय विकासपछि परेको बताउनु भयो । “भएभरको बजेट कर्मचारीलाई तलव खुवाउन ठिक्क छ, केले विकास गर्ने” विकास खर्चतर्फ बजेट कम भएको र सामान्य खर्च नै बढी भएकोतर्फ उहाँको इसारा थियो । उहाँले सङ्घीयता रहेसम्म देशको विकासले गति लिन नसक्ने पनि ठोकुवा गर्नु भयो ।

कार्यक्रममा मन्तव्य राँख्दै उहाँले नागरिकता विधेयक जस्तो कानुनी विषय अधिवक्ताहरूले राम्ररी बुझ्न सक्ने बताउनुभयो । “तपाइँहरू त राम्ररी बुझ्नु हुन्छ नि, अहिले ल्याइएको नागरिकता विधेयक किन राष्ट्रघाती छ” अध्यक्ष के.सी.ले अगाडि भन्नुभयो –“यो विधेयकका राष्ट्रघाती प्रावधानबारे तपाइँहरूले जनतामा छर्लड्ड पार्नु पर्दछ ।” उहाँले अहिले चलिरहेको संयुक्त आन्दोलनमा कानुन व्यवसायीहरू व्यापक सङ्ख्यामा सहभागी हुन पनि आग्रह गर्नु भयो ।

नेकपा (मसाल) का केन्द्रीय प्रवक्ता रामप्रकाश पुरीले कानुन व्यवसायीहरूले पार्टीप्रति उचित भूमिका निर्वाह गरेको बताउनु भयो । उहाँले भन्नु भयो– “पार्टीलाई आवश्यक कानुनी सल्लाह चाहिदा अखिल नेपाल कानुन व्यवसायी सङ्घका साथीहरूले आवश्यक सल्लाह प्रदान गर्नु भएको छ ।” भर्खरै सम्पन्न कानुन व्यवसायीहरूको चुनावको प्रसड्ड उठाउँदै उहाँले आगामी चुनाव सम्पुर्ण पदाधिकारी सहितको टिमले उम्मेदवारी दिने गरी काम गर्न कानुन व्यवसायी साथीहरूलाई सुझाव दिनु भयो ।
कार्यक्रममा धन्यवाद मन्तव्य राख्दै अखिल नेपाल कानुन व्यवसायी सङ्घका अध्यक्ष अधिवक्ता पदम रोकाले नागरिकता चार प्रकारको हुने बताउनु भयो । “पहिलो वंशजको आधारमा, दोस्रो जन्मको आधारमा, तेस्रो अङ्गीकृत र चौथो मानार्थ” अधिवक्ता रोकाले अगाडि भन्नु भयो– “वंशजको नागरिक नै त्यो देशका वास्तविक नागरिक हुन् ।” यसबारे व्याख्या गर्दै रोकाले अगाडि भन्नु भयो–“वंशजको आधारमा वितरण गरिने नागरिकता पाउने व्यक्तिको सम्बन्ध त्यो देशको माटोसँग पुर्खौँदेखि हुन्छ, उनीहरूका पुर्खाले उक्त राष्ट्र बचाउनका लागि बलिदान दिएका हुन्छन् । त्यस्ता व्यक्तिका सन्तानलाई वंशजको आधारमा नागरिकता दिंदा त्यस देशप्रति कुनै प्रकारको गद्दारी गर्दैनन् भन्ने विश्वास लिइएको हुन्छ ।” उहाँले जन्मको आधारमा दिइने नागरिकता मूलतः विकसित देशले जनसङ्ख्याको भार थेग्ने गरी ल्याइएको अवधारणा भएको बताउनु भयो । उहाँले नेपाल जस्तो सार्वभौमसत्ता नै स्वाधीन नभएको र आर्थिक रूपमा पिछडिएको देशका लागि जन्मको आधारमा दिइने नागरिकता वस्तुगत नभएको बताउनु भयो । उहाँले भन्नु भयो–“वस्तुगत आवश्यकता नभए पनि यदि जन्मको आधारमा नागरिकता वितरण गरिन्छ भने त्यसबाट देशको सार्वभौमसत्ता नै गुम्न सक्छ ।”

भर्खरै सम्पन्न चुनावको समिक्षा समेत गरिएको उक्त कार्यक्रमको अध्यक्षता सङ्घ अध्यक्ष पदम रोकाले तथा सञ्चालन महासचिव राम प्रसाद भुसालले गर्नु भएको थियो । चुनाव सहित सम्बन्धित विषयहरू सङ्घकातर्फबाट उम्मेदवार समेत रहनु भएको अधिवक्ता चुरामणि भुसालले राख्नु भएपछि कार्यक्रमलाई नेपाल सरकारका पूर्व सहसचिव विष्णु थापा, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का अध्यक्ष नारायण सापकोटा लगायतले मन्तव्य मार्फत शुभकामना दिनु भएको थियो ।

कार्यक्रममा अखिल नेपाल किसान महासङ्घका अध्यक्ष भैरवराज रेग्मी, राष्ट्रिय जनमोर्चाका नेता गोविन्द बहादुर थापा,राजमो नेता आनन्द शर्मा,अखिल नेपाल युवक सङघका अध्यक्ष अनिल किशोर घिमिरे, राजमो केन्द्रीय सदस्य घनश्याम न्यौपाने, अखिल (छैठौ) का अध्यक्ष बिमल पोखरेल, प्रगतिशील पत्रकार सङ्का अध्यक्ष नारायण शर्मा, अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निम बहादुर बुढा, प्रगतिशील लेखक सङ्घका महासचिव समिर सिंह, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सल्लाहकार सुर्या थापा, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सचिव हेमराज आश्रम, कानुन व्यवसायी सङ्घकै केन्द्रीय उपाध्यक्ष दीर्घलाल गिरी, कोषाध्यक्ष लक्ष्मणदेव पाण्डे, सल्लाहकार राम प्रसाद शर्मा, राजेन्द्र पुडासैनी, राम बहादुर राई, ज्ञानेन्द्र घले लगायतको आतिथ्यता रहेको थियो । (साभार: हाँक साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here