-होम कार्की
१९ वर्षदेखि साउदीको जेलमा फाँसी कुरिरहेका सन्तबहादुर श्रीमतीलाई पठाएको चिठीमा लेख्छन्- ‘म यहाँ अल्लाहलाई प्रार्थना गर्छु । तिमी त्यहाँ पशुपतिनाथसँग प्रार्थना गर ’
काठमाडौँ — सन्तबहादुर पुनलाई विश्वास छ, ‘मान्छेको भाग्य मात्रै होइन आयु पनि पहिल्यै लेखिएको हुन्छ । पहिल्यै लेखिएको हुन्थेन र कर्मअनुसारको फल पाइन्थ्यो भने म पहिले नै माटोमा मिलिसकेको हुनेथिएँ !’ उनी पत्नी मायालाई बारम्बार भनिराख्छन्, ‘मलाई कहिले के पर्छ भनेर चिन्ता गर्नुपर्दैन । जुन दिन ममाथि घटना घट्छ, त्यो दिन मात्रै रुने हो । दुःख मान्ने हो । जति दिनसम्म बाँच्न पाइन्छ, त्यति दिनसम्म म अनलाइन आइहाल्छु ।’
माया भने मनमा भने डर छ, सन्तबहादुर कुन दिन अफलाइन जाने हुन् ! १९ वर्षदेखि मृत्युदण्डको सजाय पर्खेर बसेका सन्तबहादुर साउदी अरबको कुरैयात जेलमा छन् । माया पर्वतको मोदी गाउँमा । झन्डै चार हजार किलोमिटर दूरीमा रहेका यी दुईलाई भूगोलले छुट्टाइदिए पनि इन्टरनेटले आमुन्नेसामुन्ने जोडेको छ । घण्टा–घण्टामा उनीहरूबीच भिडियो संवाद हुन्छ । ‘मलाई जेल परेको जस्तै लाग्दैन । तिमीलाई छुन नपाएको मात्रै त हो,’ सन्तबहादुर इमोमा भन्छन्, ‘जस्तो परिस्थिति सिर्जना हुन्छ । त्यसरी नै जिन्दगीको चोला चल्दोरहेछ ।’
केही वर्षअघिसम्म चिठी आएपछि मात्रै मायालाई लाग्थ्यो– श्रीमान् जीवितै छन् । अनि खुसी हुँदै गाउँघर, तीन छोरा र आफन्तको खबर समेटेर चिठी पठाउने गर्थिन् । अहिले छिनभरमै इन्टरनेटले सन्तबहादुरको हालखबर ल्याउँछ ।
२२ वर्षअघि सन्तबहादुर साउदी अरबको दक्षिण भेगस्थित गुरियतको नासफाह गाउँमा खेतीको काम गर्न पुगे । त्यो मजरामा उनीसँग गाउँले साथीभाइ पनि थिए । चार वर्षपछि बिदामा घर आए । घरबाट फर्केको ६ महिना हुँदै थियो । उनको साहुका भाइको भेडा चराउने सिरियन नागरिक हज गर्न मक्का गए । उनी हजबाट नफर्केसम्म झन्डै दुई सय भेडा चराउने जिम्मेवारी सन्तबहादुरलाई आयो ।
भेडा चराउने पहाड मजराबाट टाढै थियो । ओदह अइद हमोउद अल सरारी नाम गरको एउटा साउदी बारम्बार भेडा माग्न आउनथाल्यो । सन्तबहादुरले पहिलो दिन भेडा दिएनन् । दोस्रो दिन पनि आएर जबर्जस्ती गर्न खोज्यो । उनले एउटा बिरामी भेडा दिएर पठाए । त्यसपछि पनि ऊ भेडा लिन आइरहन्थ्यो ।
‘तिमीलाई भेडा दिन मिल्दैन, मलाई मालिकले मार्छ । मालिकसँग नै गएर माग,’ उनले ओदहलाई सम्झाए । तर, ती साउदीले टेरेनन् । नेपाली भेडागोठालालाई उनीले मान्छे नै गनेनन् । हप्कीदप्की गरेर, पिट्नै खोजे ।
‘ऊ मलाई मार्न अगाडि सरेजस्तो लाग्यो । मसँग साथमा भएको चक्कु चलाएँ, उसको पेटभित्र छिरेछ,’ सन्तबहादुरले घटना सम्झिए, ‘ऊ ठाउँको ठाउँ भयो । मैले आफूलाई पनि चक्कु हानें । मलाई घाइते अवस्थामा प्रहरीले फेला पारेर अस्पताल पुर्यो ।’
उनले प्रहरीसमक्ष नै नढाँटी भएको सबै बताइदिए । ‘हामी नेपाली आफू सिद्धिएर अर्कोका लागि ज्यान दिने जात रहेछौं । एउटा भेडाका लागि मैले ज्यान लिएँ । सायद त्यो मेरो मूर्ख इमानदारी रहेछ । भेडा लैजान दिएको भए के जान्थ्यो र ? तर, मलाई मेरो साहुको अगाडि शिर निहुराउन मन लागेन,’ उनी भन्छन्, ‘मेरो जिम्मा भेडाको रेखदेख गर्नु थियो । त्यो जिम्मेवारी पूरा गरें ।’
हत्या प्रमाणित हुन समय लागेन । सन्तबहादुरले सप्रमाण आफू दोषी रहेको बताइदिएपछि प्रहरीलाई थप अनुसन्धान गर्न समय लागेन । उनलाई दुई वर्षसम्म नजरबन्दमा राखियो । कसैसँग बोल्न र भेट्न दिइएन । कुरैयात अदालतले २०५८ जेठमा मृत्युदण्डको सजाय दिने फैसला सुनायो ।
मृतकका तीन छोरा थिए । बालक कान्छो छोरा १८ वर्ष पुगेपछि मात्रै मृत्युदण्डको कार्यान्वयनको विषयमा अर्को निर्णय गर्ने फैसला सुनाइयो । मृत्युदण्ड दिन सबै परिवारको सहमति चाहिने भयो । त्यतिन्जेलसम्म सन्तबहादुर जेलमै बस्नुपर्ने भयो ।
मृत्युदण्डको फैसला पाएपछि उनलाई कुरैयात जेलमा सारियो । ‘यो अपराधीहरू बस्ने घर हो,’ फोन सम्पर्कमा आएका सन्तबहादुरले जेलभित्रैबाट भने, ‘यही घरभित्र बाँच्न सिकें ।’
जेल निकै ठूलो छ । उनी ३ नम्बर भवनमा बस्छन् । त्यो भवनमा झन्डै २ सय कैदी कहिल्यै घट्दैनन् । ‘हत्यामा मृत्युदण्ड पाएकालाई फाँसी दिन समय लाग्दोरहेछ,’ उनले भने, ‘लागूऔषध मुद्दाकालाई त तुरुन्तै फाँसी दिन्छ ।’ यस्तो सजाय हरेक मंगलबार कार्यार्न्वयन हुन्छ । १९ वर्षदेखि सन्तबहादुरको जीवनमा मंगलबारे खड्को टरिरहेको छ ।
एउटा कोठामा २० जना कैदीहरू बस्थे । कैदी बस्ने कोठाको सरसफाइको जिम्मेवारी सन्तले लिए । कैदीले महिनावारी १ सय २० रियाल पाउँछन् । उनीहरूले पैसा उठाएर सन्तलाई दिन्छन् । तीन छोरा र श्रीमतीको परिवारलाई सन्तबहादुरले त्यही कमाइबाट खर्च पठाउन थाले । उनले पठाएको कमाइको हरहिसाबको जानकारी मायाले चिठीमा गराउँथिन् । ‘१५ हजार पैसामा तिमीले ५ हजार चलाउनू भनेको थियो । तर, मैले छोराहरू बिरामी भएर १० हजार चलाएँ । बैंकमा ५ हजार लगेर राखें’ मायाले २०६० भदौ ५ गतेमा पठाएको चिठीमा लेखेकी थिइन्, ‘अब छोराहरूलाई पनि स्कुल पठाउनुपर्यो । लुगाफाटा पनि फेर्नुपर्यो । हरेक दिनजसो खर्च बढ्दै गइरहेको छ ।’
लामो समय जेल बसिसकेपछि माफी पाएर छुट्ने हुन् कि भन्ने पनि मायालाई आशा छ । ‘परदेशी श्रीमान् तपाईं जेलबाट निस्कने कहिले हो ? बरु अलिअलि पैसा दिए निकाल्छ कि ? कसो हो ? कति सालको जेल दिएको हो ? हामीलाई थाहा नै दिएन ।’ मायाले अर्को पत्रमा लेखिकी थिइन्, ‘हाम्रो भेट हुन्छ कि हुँदैन ।’
सानोमै छोडेर हिँडेका छोराहरूलाई सन्तबहादुरको अनुहारको खास याद छैन । सन्तबहादुरका शिव, खड्ग र मीनबहादुर तीन छोरा । शिव शारीरिक रूपमा अशक्त छन् । २०७० सालमा माइला छोरा खड्गबहादुरले बाबुलाई पठाएको चिठीमा भनेका छन्, ‘तपाईको आशीर्वादले हामी बाँचिरहेका छौं । हाम्रो केही चिन्ता लिनुपर्दैन । तपाईंसँग भेट हुनका लागि यो चिठी लेख्दै छु । अहिले म चार कक्षा पास भएँ । राम्रो नम्बर ल्याउन सकेको छैन । र, पनि कोसिस गर्दै छु बाबा ।’
सन्तबहादुर बिहान ५ बजे उठ्छन् । उठ्नेबित्तिकै सलाह (प्रार्थना) गर्छन् । कुरानको पाठ पढ्छन् । जेल छिरेलगत्तै उनलाई इस्लाम धर्म कबुल गराइएको थियो । ‘इस्लाम धर्म कबुल गरेमा मलाई माफी मिल्छ भनेर ओदहकै जेठो छोराले भन्यो । उसले इस्लाम धर्म मानेपछि हामी दाजुभाइ हुन्छौं पनि भनेको थियो,’ उनले भने, ‘उसले माफी दिन्छु भनेको थियो । तर लिखित दिएको थिएन ।’
उनले दिनमा ५ पटकसम्म सलाह गर्छन् । सलाहपछि दिउँसो १२ बजेसम्म सरसफाइ गर्ने काम गर्छन् । लुगा धोइदिन्छन् । त्यसबाट आउने पैसा घरमा पठाउँछन् ।
जेलभित्र दिनमा तीनपटक खाना आउँछ । बिहान ८ बजे रोटी, अण्डा र दाल आउँछ । १२ बजे भात । हप्तामा तीनपटक माछा, कुखुरा र बाख्राको मासु मिलाएर दिन्छ । साँझ ६ बजे हलुका खाना दिन्छन् । ‘आधा जिन्दगी जेलकै खानामा बित्यो,’ उनी भन्छन्, ‘अझै कति दिन बित्ने हो ? जति दिनसम्म लम्बिन्छ । त्यति दिनसम्म खुसीखुसी बिताउँछु ।’
सन्तबहादुरलाई मृत्युदण्ड सुनाइपछि मायालो नेताहरूको घरदैलो पुगेर हारगुहार पनि गरिन् । उनीहरूले धेरै ठाउँमा गएर भन्नुको अर्थ नभएको भन्दै सम्झाएका थिए । ‘यो ठूलो काण्ड हो । मन्त्रीसँग कुरा गरेर हुने विषय होइन । जति कुरा जहाँ राखे पनि फाइदा छैन । कतै जानुपर्दैन । घरमा आनन्दले चुपचाप लागेर बस । यो पूर्णरूपमा पीडित परिवारको विवेकमाथि भर पर्छ,’ सन्तबहादुरले मायालाई सम्झाउँदै भन्ने गरेका छन्, ‘मेरो भाग्यमा फाँसी नै लेखेको रहेछ भने कसैले रोकेर रोकिन्न । नेपालमै गएर मर्नु लेखेको रहेछ भने कुनै न कुनै दिन फर्किहाल्छु । म यहाँ अल्लाहलाई प्रार्थना गर्छु । तिमी त्यहाँ पशुपतिनाथसँग प्रार्थना गर ।’
सन्तबहादुरको सलाहबाट प्रभावित भएर मृतकको माइलो छोरा फाहदले जेलमै भेटेर माफी दिने वचन दिए । फाहद इस्लामिक स्कुल (मदरसा) का शिक्षक (मुतवे) हुन् । जेठो छोरा पनि माफी दिन तयार थिए । तर, कान्छो छोरा र मृतकका भाइहरू खुनका बदला खुन नै हुनुपर्ने भन्दै माफीको विपक्षमा उभिए ।
जेलका अधिकारीले सन्तबहादुरका मालिकलाई पीडितमार्फत माफी दिन प्रयास गर्न लगाए । मानेनन् । नेपाली दूतावासले मृतकको समुदायका स्थानीय नेतामार्फत् पनि माफीको प्रयास गरे तर संभव भएन । केन्द्रीयस्तरमा रहेको आममाफी कमिटीका अलकासिम क्षेत्रका गभर्नर, अलजोफ क्षेत्रका गभर्नर र मुख्य न्यायाधीश तीनैजना सन्तबहादुरलाई माफी दिने पक्षमा छन् । तर, मृत्युदण्ड दिने वा माफी दिनेसम्बन्धी विषय कानुनबमोजिम पीडित व्यक्ति तथा निजको परिवारको निजी अधिकार क्षेत्रभित्रको पर्ने हुँदा उच्च सरकारी निकायका अधिकारीहरूको प्रयास सफल भएन ।
साउदीको परराष्ट्र मन्त्रालयले अलकसिमस्थित मेलमिलाप गर्ने कमिटीलाई मेलमिलाप गराइदिन पत्र लेखेको थियो । कमिटीले ७ अक्टुबर २०१८ मा कुरैयातको जेलबाट फैसलाको प्रति मगायो । त्यस कमिटीले बोलाएर छलफल गर्दा पनि पीडित पक्ष सहमत भएनन् ।
परिवारका एक सदस्य मात्रै पनि माफीको विपक्षमा उभिए माफी दिन मिल्दैन । फैसलालाई कार्यान्वयन गराउनका लागि परिवारले दबाब दिएपछि जेठो छोरा फाहदले अदालतलाई पत्र लेख्दै फैसलालाई कार्यान्वयन गराउन पत्र दिइसकेको छ ।
अदालतले फैसलालाई कार्यान्वयन गर्नका लागि गृह मन्त्रालयलाई पत्र पठाइसकेको छ । दूतावासले गरेका सबै प्रयासहरू सफल भएनन् । सन्तबहादुरलाई बचाउने अन्तिम प्रयासस्वरूप राष्ट्र्रपति विद्यादेवि भण्डारीले गत हप्ता साउदी राजालाई पत्र लेखेर माफी दिन अनुरोध गरेकी छन् । यसको जवाफ आएको छैन ।
‘जिन्दगीमा एकपटक त मर्नु छँदैछ । के लेखेको छ, भाग्यमा हेरौं । माफ भए घर फर्कौंला, नभए हाँसीहाँसी फाँसी चढ्छु,’ सन्तबहादुरले मायालाई पठाएको चिठीमा एक ठाउँमा लेखेका छन्, ‘प्रिय माया, जिन्दगी आफ्नो हातमा छैन ।’
साभारः कान्तिपुर कोसेलीबाट