पार्टी अनुशासन : एउटा सैद्धान्तिक प्रश्न

0
871

मोहनविक्रम सिंह

पार्टीभित्रका मतभेदहरुलाई वा पार्टीका स्वीकृत लाइनका विरुद्ध भिन्न मतहरुलाई सार्वजनिक रुपमा बाहिर लैजाने कि नलैजाने ? समान्यतः यो एउटा व्यवहारिक प्रश्न हो । त्यसका साथै यो एउटा गम्भीर सैद्धान्तिक प्रश्न पनि हो । त्यो प्रश्नमा कम्युनिष्ट आन्दोलनमा लामो समयदेखि नै बहस चल्दै आएको छ । माक्र्स–एंगेल्सले स्थापना गरेको प्रथम कम्यूनिष्ट अन्तर्राष्ट्रियको कालमा पार्टीका सदस्यहरुलाई आफ्ना मतभेदहरुलाई अनियन्त्रित रुपले बाहिर लैजाने वा बेग्लाबेग्लै ग्रुपहरु (फ्याक्शन) बनाउने समेत छुट थियो । त्यो प्रचलनलाई सामाजिक प्रजातन्त्रवादीहरुले अहिले पनि कायम राखेका छन् । तर लेनिनले त्यस प्रकारको प्रणालीमा आमूल परिवर्तन गरे र पार्टीभित्र कडा अनुशासन कायम राख्नुपर्ने प्रणाली विकसित गरे । त्यो प्रणालीलाई लेनिनवादी संगठनात्मक प्रद्धति भनिन्छ । पछि स्टालिन र माओले त्यो प्रणालीलाई परिमार्जित र विकसित गर्दै गए र संसारभरका माक्र्सवादी–लेनिनवादीहरुले त्यो प्रणालीलाई अभ्यास गर्दै आएका छन् । त्यसका साथै त्यो प्रणालीलाई अतिक्रमण गर्ने तथा पार्टीभित्र अनुशासनविहिनता र अराजकताका प्रवृत्तिहरुलाई प्रोत्साहित गर्ने प्रवृत्तिहरु पनि देखापर्दै आएका छन् । वास्तवमा भन्ने हो भने विश्वव्यापी रुपमा नै यी दुबै प्रवृत्तिहरुको बीचमा एक प्रकारले दुईलाइनको संघर्ष चल्दै आएको छ । हाम्रो पार्टी पनि अनुशासन सम्बन्धी त्यस प्रकारको दुइलाइनको संघर्षबाट बचेको छैन । हाम्रो पार्टीको इतिहासमा पनि एकातिर अनुशासित पार्टीको निर्माण गर्ने, अर्कोतिर, पार्टी अनुशासनलाई शिथिल र कमजोर पार्ने प्रवृत्तिहरु बारम्बार देखापर्दै आएका छन् ।

लेनिनले यो कुरामा जोड दिएका छन् कि आज साम्राज्यवादीहरुले क्रान्तिकारी शक्तिहरुमाथि जसरी चौतर्फी रुपमा आक्रमण गर्ने काम गरिरहेका छन, त्यो अवस्थामा एउटा खुकुलो प्रकारको र अनुशासनविहिन पार्टी संगठनले उनीहरुको सामना गर्न सक्दैन । उनले पार्टी, पार्टीको अनुशासन सेनाको जस्तो हुनुपर्ने कुरामा जोड दिएका छन् । त्यसैले पार्टी अनुशासनलाई सामान्य अर्थमा सैनिक अनुशासन भन्ने गरिन्छ । त्यसलाई लौह अनुशासन पनि भन्ने गरिन्छ । त्यस प्रकारको अनुशासन टुट्यो भने कम्यूनिष्ट पार्टी वास्तवमा कम्यूनिष्ट पार्टी रहँदैन । त्यसैले लेनिनले पार्टीमा अत्यन्त उच्च प्रकारको अनुशासन कायम गर्नुपर्ने कुरामा जोड दिएका छन् ।

लेनिनले यो पनि स्पष्ट गरेका छन् कि कम्यूनिष्ट पार्टी सर्वहारा वर्गको पार्टी हो र त्यसको मुख्य उदेश्य सबै शोषित, पीडित र मेहनतकश जनताको सेवा गर्नु हो । तर सामान्य जनता उच्च स्तरको अनुशासनमा बस्नत सक्दैनन् । त्यसकारण लेनिनले सामान्य जनता होइन, जनता मध्ये अग्रगामी तत्वहरुलाई लिएर नै पार्टीको निर्माण गर्ने कुरामा जोड दिए । अर्का शब्दमा उनले पार्टीलाई आम जनताको होइन कार्यकर्ताहरुको पार्टी बनाउने कुरामा जोड दिए । त्यसरी पार्टीमा सामेल हुने कार्यकर्ताहरु आम जनता भन्दा बढी सचेत, अनुशासित र जुझारु हुन्छन् । त्यो आवश्यकता पूरा गर्नका लागि उनले पार्टी सदस्यताको नियमलाई पनि अपेक्षाकृत कडा बनाए । यही विवादमा मेन्शेविक र बोल्शेविक एक अर्काबाट अलग भए । त्यसले बताउँछ, लेनिनले पार्टी सदस्यता र अनुशासनको प्रश्नलाई कति गम्भिर अर्थमा लिन्थे ।

लेनिनको त्यस प्रकारको संगठनात्मक पद्धतिको उनको आप्mनो समयमा पनि पार्टी भित्र र बाहिर समेत कडा प्रतिवाद गरिएको थियो । रोजा लक्जमबर्गले मुट्ठिभर षडयन्त्रकारी व्यक्तिहरुको पार्टी बनाउन खोजेको भनेर लेनिनको आलोचना गरेकी थिइन् । मेन्सेविकहरुले पनि लेनिनले पार्टी सदस्यहरुलाई मेशिनको पूर्जा बनाउन खोजेको भनेर विरोध गरका थिए र त्यसबारे पार्टीमा तीब्र दुईलाईनको संघर्ष चलेको थियो । विरोधीहरुले त्यस प्रकारको अनुशासनको पद्धतिलाई पार्टी कार्यकर्ताहरुको स्वतन्त्रतामाथिको हमला भनेर विरोध गरेका थिए । त्यसबेला लेनिनले विकसित गरेको संगठनात्मक पद्धतिको विरोधको सिलसिला अहिले पनि एक वा अर्को प्रकारले चल्दै आएको छ ।

लेनिनले यो कुरामा जोड दिएका छन् कि छलफलमा स्वतन्त्रता हुनुपर्दछ, तर कार्यमा ऐक्यवद्धता हुनुपर्दछ । कुनै कार्यक्रम कसरी सम्पन्न गर्ने ? कुनै विषयमा कुन प्रकारको नीति निर्धारण गर्ने ? त्यसबारे कुनै पनि समितिमा स्वतन्त्रतापूर्वक खुलेर बहस हुन सक्दछ र बहस हुनु पनि पर्दछ । तर कुनै कार्यक्रम वा नीतिबारे बहुमत वा सहमतिद्वारा निर्णय भइसकेपछि कामको दौरानमा कुनै पनि प्रकारको मतभेद प्रकट गर्नु सही हुँदैन । कुनै पनि विषयमा छलफलको बेलामा बेग्लाबेग्लै मतहरु देखापर्न सक्दछन् । तर आप्mनो मत स्वीकृत नभएको भनेर मतभिन्नता प्रकट गर्ने, काममा बाधा हाल्ने, असहयोग गर्ने वा विपक्षमा प्रचार गर्ने काम गर्न थालियो भने त्यसबाट कामको सफलतामा बाधा पुग्ने कुरा प्रष्ट छ । कुनै बेला कुनै जुलुस वा सभाको आयोजना गर्ने, हडताल गर्ने, सम्मेलन गर्ने, चुनावमा भाग लिने, त्यसलाई बहिष्कार गर्ने आदि विभिन्न प्रश्नहरुमा भिन्न मत राख्ने साथीहरुले निर्धारित काममा विरोध गर्ने काम गरे भने त्यो कार्यमा बाधा पुग्ने कुरा स्वतः सिद्धछ । त्यस प्रकारको व्यवहारलाई हामीले अनुशासनविहिनता वा अराजकता भन्छौं । त्यस प्रकारको स्थिति उत्पन्त हुन नदिनका लागि लेनिनले छलफल स्वतन्त्रता र काममा एकताको सिद्धान्त प्रतिपादन गरेका हुन् ।

समग्र रुपमा लेनिनको संगठन प्रणाली जनवादी केन्द्रीयताको सिद्धान्तमाथि आधारित छ । त्यसको अर्थ हुन्छ, तलबाट जनबाद र माथिबाट केन्द्रियता । सबै कमिटीहरु तलबाट निर्वाचित हुँदै जान्छन् । नीतिको निर्धारणको सिलसिलामा पनि विभिन्न समितिहरुमा छलफल हुने गर्दछ । तल्लो तहका कमिटीहरुबाट माथिल्लो तहका कमिटी वा नेतृत्वको कामको आलोचना हुन सक्दछ । तलबाट गएका प्रतिनिधिहरुका आधारमा नै माथिल्लो तहका कमिटीहरुको निर्वाचन हुन्छ । देशभरिबाट गएका प्रतिनिधिहरुका आधारमा नै केन्द्रीय समितिको निर्वाचन हुन्छ र पार्टीका आधारभूत नीतिहरुको निर्धारण हुन्छ, यो जनवाद हो । अर्कातिर, कुनै कमिटीको बहुमतले गर्ने निर्णयलाई सबै सदस्यले मान्नु पर्दछ । माथिल्लो कमिटीको निर्णय वा निर्देशनलाई सबै तल्ला कमिटीहरुले मान्नु पर्दछ । दुई महाधिवेशनका बीचमा केन्द्रीय कमिटी नै पार्टीको सर्वोच्च अंग हो । त्यसैले त्यसका निर्णय वा निर्देशनहरुलाई पार्टीका सबै समिति वा सदस्यहरुले मान्नु पर्दछ । यही नै जनवादी केन्द्रीयता हो । पार्टीको सम्पूर्ण संगठनात्मक प्रणाली त्यही प्रणालीमाथि आधारित हुन्छ ।

पार्टीमा कतिपय बेलामा जनवादको पक्षलाई कमजोर पार्ने प्रवृत्तिहरु पनि देखा पर्ने गर्दछन् । डा. केशरजंग रायमाझीको समयमा दोश्रो महाधिवेशनले पास गरेको गणतन्त्रको प्रस्तावलाई उपेक्षा गर्ने र पछि संविधानसभाको निर्णयको विरोध गर्ने कार्यहरु भए । पाँचौं महाधिवेशनपछि महाधिवेशनले पास गरेका त्यसका कैयौं निर्णयहरुलाई तोडमोड वा अतिक्रमण गर्ने काम गरियो । जब पार्टी केन्द्रीय समितिले आधारभूत रुपमा नीतिगत प्रश्नहरुमा नै त्यस प्रकारको व्यवहार गर्दछ, पार्टी सदस्यहरुलाई त्यसका विरुद्ध जाने वा विद्रोह गर्ने अधिकार पनि हुन्छ । त्यस प्रकारको विद्रोह सही हुन्छ वा हुँदैन ? त्यो इतिहासले फैसला गर्ने कुरा हो । दोश्रो महाधिवेशन र पाँचौं महाधिवेशनपछि हामीले विद्रोहको बाटो समातेका थियौं । अब इतिहासले यो प्रमाणित गरिसकेको छ कि हामीले लिएको विद्रोहको बाटो सही थियो । एकताकेन्द्रसित सम्बन्ध विच्छेद गर्ने हाम्रो निर्णय पनि सहि थियो । तर जुन बेलासम्म पार्टी एउटै रहन्छ, त्यो अनुशासित रुपमा नै नयाँ पार्टीको पनि अनुशासनका आधारमा नै निर्माण हुनुपर्दछ । त्यसभित्र देखापर्ने कुनै प्रकारको अनुशासनविहिनता र अराजकतालाई सहि भन्न सकिन्न ।

माथि हामीले द्वितीय वा पाँचौं महाधिवेशन पछि महाधिवेशनका निर्णयहरुको उलंघन भएका कतिपय उदाहरणहरुको उल्लेख गर्यौं । तर कार्यनीतिक रुपमा कतिपय प्रश्नहरुमा महाधिवेशनका निर्णयहरुलाई बदल्ने अधिकार केन्द्रीय समितिलाई हुन्छ । तर केन्द्रीय समितिले गर्ने त्यसप्रकारका सबै निर्णयहरु स्वतः सही हुन्छन् भन्ने होइन । तिनीहरु एकातिर रणनीतिकको सेवा गर्ने र, अर्कोतिर, कुनै खास बेलाको ठोस परिस्थितिसँग मेल खाने प्रकारको हुनुपर्दछ । कुनै खास बेलामा त्यसप्रकारका निर्णयहरु पार्टीका क्रान्तिकारी उदेश्यका विरुद्ध पनि हुन सक्दछन् । संसारका विभिन्न पार्टीहरुमा कार्यनीति सम्बन्धी प्रश्नहरुमा हुने विवादले नै गम्भिर रुप लिने गरेका वा फूट हुने गरेका पनि कैयौं उदाहरण पनि पाइन्छन् । हाम्रो पार्टीमा कुनै केन्द्रीय कमिटीले गरेका निर्णयहरुलाई अर्को केन्द्रीय समितिले गलत ठहर्याएको वा बदलेका कैयौं उदाहरणहरु छन् । त्यसप्रकारका प्रश्नहरुबारे बेग्लाबेग्लै समयमा बेग्लाबेग्लै निर्णयहरु गरिन्छन् र एउटै नीति एउटै समयमा सही र अर्को समयमा गलत पनि हुन सक्दछ ।

पार्टीभित्र अनुशासनविहिनता र अराजकता कैयौं रुपमा देखापर्ने गर्दछ । प्रथम, कैयौं पल्ट केन्द्रीय समिति, माथिल्लो तहको समिति वा बहुमतको निर्णयप्रति पार्टी सदस्यहरु वा विभिन्न समितिहरुको विरोध हुन सक्दछ । पार्टीका कैयौं समिति वा सदस्यहरुको त्यस प्रकारका निर्णयहरुप्रति भिन्न मत वा असहमति हुन सक्दछ । तर त्यस प्रकारका भिन्न मत वा असहमतिका बाबजूद बहुमत, उच्च समिति वा केन्द्रीय समितिका निर्णय वा निर्देशनहरुलाई लागू गर्न सबै पार्टी सदस्य वा समितिहरु तयार हुनुपर्दछ । त्यसबारे देखाइने कुनै पनि प्रकारको मतभेद, असयोग वा पार्टीका नीति, निर्णय वा निर्देशनका विरुद्ध प्रत्यक्ष वा अप्रत्यक्ष रुपले विरोध गर्नु पार्टी अनुशासनका विरुद्धको कुरा हो । पार्टीमा त्यस प्रकारको स्थिति उत्पन्न भयो भने कुनै पनि कार्यक्रमलाई सफलतापूर्वक अगाडि बढाउन मुश्किल पर्दछ । त्यसकारण त्यस प्रकारको स्थिति उत्पन्न हुन नदिन पार्टीले संधै सतकर्ता र दृढतापूर्वक प्रयत्न गरिरहनु पर्दछ ।

द्वितीय, पार्टीभित्रका भिन्न मतहरुलाई कहाँसम्म, पार्टीभित्र तलसम्म वा बाहिर लैजान मिल्छ वा मिल्दैन ? त्यसबारे पनि पार्टीका खास संगठनात्मक नियमहरु हुन्छन् र हाम्रो पार्टीमा पनि छन् । केन्द्रीय समितिले स्वीकार गरेको अवस्थामा कतिपय विषयहरुमा सार्वजनिक रुपमा नै बहस चलाउन सकिन्छ र त्यस सम्बन्धी भिन्नमतहरुलाई सार्वजनिक रुपमा नै लैजान सकिन्छ । अन्तर्राष्ट्रिय कम्यूनिष्ट आन्दोलन सम्बन्धी प्रस्ताव, पार्टी इतिहास सम्बन्धी प्रस्ताव आदि विषयहरुमा सार्वजनिक रुपले नै बहस चलाइएको थियो । एकताकेन्द्रसित पार्टी एकता गरिसकेपछि पनि मतभेदका विषयहरुलाई खुला रुपले बाहिर लैजाने निर्णय गरिएको थियो । तर कुनै खास बेलामा कुनै खास विषयलाई पार्टीभित्र तलैसम्म वा पार्टी बाहिर पनि लैजाने निर्णय गरिएका विषयहरुमा बाहेक सामान्य अवस्थामा आफ्नो समितिभन्दा तल वा बाहिर पनि लैजान मिल्दैन । पार्टीका नै सदस्यहरु भए पनि आफ्नो समितिभन्दा बाहिरका असम्बन्धित पार्टी सदस्यहरुप्रति त्यसबारे कुनै कुराकानी गर्न मिल्दैन । कुनै विषयमा कुनै असन्तोष भए पनि असम्बधित कमिटी, पार्टी सदस्य वा बाहिर त्यसबारे कुनै अभिव्यक्ति प्रकट गर्न पाइँदैन । यहाँसम्म कि कोही केन्द्रीय कमिटीको सदस्य भए पनि सम्बन्धित कमिटीसित असम्बन्धित केन्द्रीय कमिटीको कुनै सदस्यसित पनि त्यसबारे विचार आदान प्रदान गर्न मिल्दैन । तर सम्बन्धित समितिले माथिल्लो तहको सम्बन्धित समितिलाई आफ्ना मतभेदहरुबारे लेखेर पठाउने वा रिपोर्ट गर्न सक्दछ । यी नियमहरुको उल्लंघन पनि अनुशासनविहिनता हुन्छ र कतै त्यसप्रकारको कार्य गरिएमा छानवीन गर्ने, स्पष्टिकरण माग्ने वा कार्वाही गर्न सकिन्छ ।

तृतीय, पार्टीमा मतभेद भएका वा असन्तोष भएका विषयहरुमा गोप्य प्रकारले भित्रभित्रै प्रचार गर्नु पार्टी केन्द्र, उच्च कमिटी वा बहुमतका निर्णयहरुका विरुद्ध प्रचार गर्नु वा आफ्ना भिन्न विचारहरुको पक्षमा समर्थन जुटाउने प्रयत्न गर्नु गुटबन्दी हो । कतिपय अवस्थामा कुनै कमिटीका विरुद्ध समान्तर बैठक वा परस्परमा सल्लाह गरेर पनि त्यसप्रकारको गुटबन्दी गर्ने गरिन्छ । त्यसप्रकारको कारवाही पनि गुटबन्दीको एउटा गम्भिर रुप हो । त्यसप्रकारको गुटबन्दी गरेर पार्टीलाई फुटाउन प्रयत्न गरेका कैयौं उदाहरणहरु हाम्रा अगाडि छन् । गतकालमा कैयौंपल्ट हामीले त्यसप्रकारको स्थितिको सामता गर्दै आउनु परेको छ । त्यसकारण पार्टीमा त्यसप्रकारको स्थितिको सृजना नहोस् र त्यसको परिणामस्वरुप पार्टीलाई गम्भिर प्रकारको क्षति पुग्न नपाओस् भन्नका लागि पनि हामीमा उच्च प्रकारको सतर्कता हुनुपर्दछ ।

हाम्रो पार्टीमा द्वितीय महाधिवेशन, तृतीय महाधिवेशन, चौथो महाधिवेनश, पाँचौं महाधिवेशन, वा छैठौं महाधिवेशन पछि वा एकताकेन्द्रसित पार्टी एकता गरेपछि बहुमत, उच्च कमिटी वा कैन्द्रीय समितिका स्वीकृत नीति वा दिर्नेशनलाई कार्यान्वयन गर्न अस्वीकार गर्ने, असम्बन्धित पार्टी सदस्यहरुसित खुला रुपले आफ्ना मतभिन्नताहरुबारे कुराकानी गर्ने, सार्वजनिक रुपले नै आफ्ना मतभेदहरुलाई बाहिर लैजाने कार्यहरु प्रसस्त मात्रामा हुने गरेका थिए । त्यसको परिणामस्वरुप कतिपयपल्ट फुट पनि भएका थिए । जस्तै कि द्वितीय, पाँचौं महाधिवेशनहरुपछि । तृतीय महाधिवेशनपछि पार्टी कैयौं टुक्राहरुका बाँडिएको थियो । पछि केन्द्रीय न्यूक्लसद्वारा नै विभाजित पार्टीलाई एकीकृत गरेर चौथो महाधिवेशन गरिएको थियो । मसाल र एकताकेन्द्र बीचमा भएको पार्टी एकता पछि टुटेको थियो । त्यसरी पार्टीका संगठनात्मक नियमहरुको उल्लंघन भएर अनुशासन विहिनता र अराजकताको स्थिति उत्पन्न भएपछि त्यसका कैयौं गम्भीर दुष्परिणामहरु हुने गर्दछन् । त्यसकारण त्यस प्रकारको स्थिति उत्पन्न हुन नदिनको लागि हामी संधै सतर्क र प्रयत्नशील हुनुपर्दछ ।

सातौं महाधिवेशनपछि पार्टीमा अनुशासनको कुनै गम्भीर समस्या देखापरेको छैन । तैपनि बीचबीचमा त्यो दिशातर्फ प्रयत्न नगरिएको भने होइन । भारतमा कार्यरत केही जिम्मेवार साथीहरुले भित्रभित्रै गुटबन्दी गरेर संगठनलाई टुक्राउन वा माओवादी संगठनमा सामेल गराउन संगठित र योजनवद्ध प्रकारले षडयन्त्र गरेका थिए । तर भारतस्थित कार्यकर्ताहरुको शतर्कताका कारणले उनीहरुको त्यो प्रयत्न असफल भएको थियो । त्यो बाहेक पार्टीभित्रका मतभेदहरु वा आफ्ना असन्तोषहरुलाई सार्वजनिक रुपले बाहिर लैजाने केही कार्यहरु अहिले पनि ठाउँठाउँमा हुने गरेका छन् । बाहिर वा असम्बन्धित स्थानमा लैजाने केही कार्यहरु कतैकतै हुने गरेका छन् । पार्टीले त्यस्ता विषयहरुमा आवश्यकतानुसार छानवीन गर्ने, स्पष्टिकरण माग्ने वा कारवाही गर्ने गरेको छ । पार्टीभित्रको एकता र अनुशासनलाई कायम राख्नका लागि अपनाइने त्यो सामान्य र आवश्यक कार्य पनि हो । त्यस प्रकारका कारवाहीहरु बढेमा पार्टी संगठन, पार्टीका नीति र कार्यक्रम वा आन्दोलनमा समेत गम्भीर आघात पुग्ने छ । त्यसकारण पार्टीमा त्यस खालका अनुशासनविहिन प्रकारका गतिविधिहरु बढ्न नदिनका लागि सबै पार्टी समिति वा सदस्यहरुमा उच्च प्रकारको सतर्कता आवश्यक हुन्छ ।

पार्टीमा अनुशासनविहिनता वा अराजकताका स्थिति किन पैदा हुन्छ ? यसबारे पनि गम्भीरतापूर्वक विचार गर्नुपर्ने आवश्यकता हुन्छ । सर्वप्रथमता यो एउटा वर्गीय समस्या हो । हाम्रा सबै जसो पार्टी सदस्यहरु निम्न पूँजीपनि वर्गबाट आएका हुन्छन् । पार्टी अनुशासन खास गरेर सर्वहारा वर्गको चरित्रगत विशेषता हो । निम्न पूँजीपति वर्गलाई आफ्नो चरित्रगत विशेषताका कारणले नै कडा अनुशासनमा बस्न कठिन हुन्छ । कुनै नियममा बाँधिएर बस्नु उनीहरुको स्वभाव नै हुन्न । सैद्धान्तिक प्रशिक्षण, जनताका बीचमा कार्य वा लामो पार्टी जीवनको अभ्यासपछि नै उनीहरु अनुशासनका लागि अभ्यस्त हुँदै जान्छन् । वास्तवमा आफ्ना निम्न पूँजीवादी स्वभावका कारणले कतिपय इमान्दार र कर्तव्यनिष्ठ पार्टी सदस्यहरुमा पनि अनुशासनका समस्याहरु देखापर्ने गर्दछन् । यसप्रकारका समस्याहरुलाई हामीले सामान्य सैद्धान्तिक र मैत्रीपूर्ण तरिकाले नै हल गर्ने प्रयत्न गर्नुपर्दछ ।

कतिपय अवस्थामा निम्न पूँजीवादी प्रवृत्तिहरु केही विकृत रुपमा पनि देखापर्ने गरेका छन् । निम्न पूँजीवादी प्रवृत्तिको एउटा स्वभावजन्य प्रवृत्ति के हो भने उनीहरुले पार्टीमा काम गर्दा पनि केही व्यक्तिगत लाभलाई प्राप्त गर्ने प्रयत्न गर्दछन् । त्यो व्यक्तिगत लाभको आकांक्षा कुनै कमिटीको सदस्य बन्ने, पदाधिकारी बन्ने व्यक्तिगत प्रतिष्ठा प्राप्त गर्ने आदि रुपमा प्रकट हुन्छ । त्यसप्रकारका आकांक्षाहरु पूरा गर्न गुटबन्दी गर्ने पनि गरिन्छ । खास अवस्थामा त्यसप्रकारका प्रयत्न पूरा नभएमा बदला, इस्र्या वा कुण्ठाका भावनाहरुले आफ्ना त्यसप्रकारका विकृत धारणाहरुका कारणले पार्टीभित्र अराजकताको स्थिति पैदा गर्ने, पार्टीलाई फुटाउने, दलबदल गर्ने पनि गर्दछन् । हाम्रो पार्टीमा गतकालका त्यसप्रकारका कैयौं उदाहरणहरु छन् । त्यसप्रकारका कैयौं व्यक्तिहरुलाई हामीले कारवाही गर्ने वा पार्टीबाट निष्काशन गर्ने पनि गर्नुपरेको छ । सामान्य प्रकारले पार्टीभित्र देखापर्ने अनुशासन सम्बन्धी कमजोरीहरुलाई सैद्धान्तिक र मैत्रीपूर्ण प्रकारले हल गर्न सकिन्छ । तर माथि उल्लेखित विभिन्न प्रकारका विकृति र नियतपूर्ण तरिकाले देखापर्ने अनुशासनविहिन सोंचाईहरुका कारणले पार्टीभित्र कैयौंपल्ट ध्वङ्सात्मक वा शत्रुतापूर्ण स्थितिको सृजना हुन्छ । तैपनि त्यसप्रकारका सोंचाईहरु पार्टीका साथीहरुमा भएका निम्नपूँजीवादी सोंचाईहरुका कारणले नै पैदा हुने गर्दछन् । त्यसैले त्यसप्रकारका सोंचाईहरुले ध्वङ्सात्मक र शत्रुतापूर्ण रुप लिन नपाउन् भन्नका लागि हामीले विशेष ध्यान दिनुपर्दछ ।

अनुशासनसित जोडिएका एउटा अर्को पक्षतिर पनि हाम्रो ध्यान जानु पर्ने आवश्यकता छ । कैयौंपल्ट विरोधी पार्टीहरुले योजनावद्ध प्रकारले पार्टी फुटाउन पनि घूसपैठ गर्ने गर्दछन् । त्यसप्रकारका तत्वहरुले पार्टीभित्र पैदा गर्ने अनुशासनविहिनता, अराजकता वा गुटवन्दीको प्रकृति स्पष्ट रुपले पार्टी विरोधी हुन्छ । हाम्रो पार्टीको एकताकेन्द्रसँग पार्टी एकता भएपछि त्यो दिशामा योजनावद्ध प्रकारले प्रयत्न गरियो । हाम्रो भारतस्थित संगठनलाई फुटाएर माओवादीमा लैजानको लागि पनि योजनावद्ध प्रकारले गुटवन्दी र षडयन्त्र गरिएको थियो । कैयौंपल्ट पार्टीलाई फुटाउनको लागि दुश्मन शक्तिहरुले आप्mना एजेण्टहरुको घूसपैठ गर्ने गर्दछन् । तर हाम्रो पार्टीमा अहिले त्यसप्रकारको कुनै उदाहरण छैन वा त्यसबारे हामीलाई कुनै जानकारी प्राप्त भएको छैन । अन्य पार्टी वा संगठनहरुमा दुश्मन शक्तिहरुले घूसपैठ गरेका कैयौं उदाहरणहरु छन् । हाम्रो पार्टीमा अहिलेसम्म त्यस्तो नभएको भएपनि त्यसप्रकारका सम्भवानाहरुलाई हामीले पूरै अस्वीकार गर्नु हुँदैन र त्यसबारे ठूलो सतर्कता अपनाउनु पर्ने आवश्यकता छ । विश्वव्यापी रुपमा साम्राज्यावादको, भारतीय विस्तारवादको नेपालभित्र पनि दुश्मन शक्तिहरुको जुन ठूलो सञ्जाल छ, त्यो अवस्थामा त्यसप्रकारको सतर्कताको आवश्यकता कैयौं गुणा बढेर जान्छ ।

हामीले जुनसुकै प्रकारको भए पनि अनुशासनविहिनता वा अराजकताबाट पार्टीको रक्षाको लागि जुन जोड दिन्छौं, त्यसको उद्देश्य पार्टीका कुनै कार्यकर्ता वा सदस्यहरुप्रतिको वैमनस्यता वा पूर्वाग्रह होइन तर पार्टीको वृहत्तर हितमाथि ध्यान दिएर नै त्यसो गरिरहेका हुन्छौं । पार्टीभित्र बलियो एकता नभइकन पार्टीले कुनै पनि नीति वा कार्यक्रमलाई प्रभावशाली प्रकारले अगाडि बढाउन सक्दैन । अनुशासनका अभावमा पार्टीभित्रको एकता कायम रहन सक्दैन । पार्टीभित्र जतिसुनै मतभेद वा अन्तरसंघर्ष भए पनि अनुशासनले नै त्यसप्रकारको मतभेद र अन्तसंघर्षका बीचमा एकता कायम राख्दछ । त्यसप्रकारको अनुशासनको अभावमा पार्टीमा गम्भिर अराजकताको स्थिति पैदा गर्दछ र त्यसको परिणामस्वरुप पार्टी कैयौं टुक्रामा विभाजित हुन्छ (तेश्रो महाधिवेशन पछि जस्तै) । कुनै एउटा व्यक्तिमा पनि अनुशासनविहिनताको प्रवृत्ति देखा पर्यो भने समयमा त्यसलाई नियन्त्रण गरिएन भने त्यसले विष्फोटक वा विकराल रुप लिन पुग्दछ । त्यस्तो स्थिति पैदा हुन नदिनका लागि नै हामीले यो प्रश्नमाथि अत्यन्त गम्भिर दृष्टिकोण अपनाउने गरेका छौं र अपनाउनु पनि पर्दछ ।

अनुशासनको प्रश्न खाली कम्युनिष्ट पार्टीभित्रको मात्र समस्या होइन । वुर्जुवाहरुले पार्टीभित्रको अनुशासनको प्रश्नलाई सिद्धान्ततः नै गलत मान्दछन् र त्यसलाई पार्टीभित्रको अधिनायकवादी प्रणाली बताउँछन् । दक्षिणपन्थी संशोधनवादीहरुले पनि अहिलेको विश्वको परिस्थितिमा लेनिनले प्रतिपादन गरेको संगठनात्मक प्रणालीलाई परिमार्जन गुर्नपर्ने कुरामा जोड दिन्छन् । उनीहरुले केन्द्रीय कमिटीका नीति, निर्णय वा निर्देशनहरुलाई सबै पार्टी समिति वा सदस्यहरुले मान्नुपर्ने, तिनीहरुलाई पूरै पालना गर्नु पर्ने, आफ्ना मतभेदहरुलाई सार्वजनिक रुपमा व्यक्त गर्न नपाइने जस्ता नियमहरु आजको युगमा उपयुक्त नभएको बताउँछन् । उनीहरुको जोड अनुशासनमा भन्दा अभिव्यक्ति स्वतन्त्रतामा बढि हुन्छ । त्यसप्रकारका बुर्जुवा वा दक्षिणपन्थी संशोधनवादी विचारहरुको असर हाम्रा साथीहरुमा पनि अंशतः पर्ने गर्दछ । खासगरेर निम्न सैद्धान्तिक स्तर भएका र अपरिपक्क साथीहरुमा त्यसप्रकारको असर बढी पर्ने गर्दछ । कतिपय साथीहरु शिक्षाको दृष्टिकोणले माथिल्लो स्तरका भएपनि माक्र्सवादी–लेनिनवादी दृष्टिकोणको कम विकास भएका कारणले उनीहरुलाई पार्टी अनुशासन पालन गर्न मुश्किल पर्दछ । उनीहरुमा माक्र्सवादी–लेनिनवादी दृष्टिकोणको विकासका लागि हामीले प्रयत्न गर्नुपर्दछ । आम निम्नपूँजीपति वर्ग र किसानहरुको बीचबाट आएका कार्यकर्ताहरुलाई पनि उच्च प्रकारको सैद्धान्तिक प्रशिक्षण दिएर नै क्रान्तिकारी कार्यकर्ताको रुपमा बदल्ने प्रयत्न गर्नुपर्दछ ।

त्यसरी अनुशासनलाई स्थायी र ठोस रुप दिनको लागि माक्र्सवादी–लेनिनवादी शिक्षा, कार्यकर्ताको सर्वहाराकरण र सर्वहारा दृष्टिकोणको विकासमा नै मुख्य जोड दिनुपर्दछ । त्यसले नै अनुशासनको समस्यालाई पनि मूलभूत रुपमा समाधान गर्दछ । तर त्यसप्रकारको दृष्टिकोण र अनुशासनको निर्माणको समस्या सँधै नै एउटा जटिल प्रक्रिया हो र पार्टीमा देखापर्ने नयाँ नयाँ अवस्था अनुसार त्यसमा नयाँ नयाँ समस्याहरु देखापर्ने गर्दछन् । त्यसैले बेग्लाबेग्लै समयमा देखापर्ने नयाँ प्रकारको स्थिति, जटिलता र आवश्यकता अनुसार त्यसलाई ठोस रुपमा विकसित गर्ने प्रयत्न गरिरहनु पर्दछ । त्यसप्रकारको प्रक्रियाको बीचबाट हामी लामो समयदेखि अगाडि बढ्दै आएका छौं । तर त्यो दिशामा हाम्रा प्रयत्नहरु पर्याप्त नभएको कुरा अहिले पनि नयाँ नयाँरुपमा त्यसप्रकारका समस्याहरु पैदा हुने गरेको कुराबाट प्रष्ट छ । त्यसैले हामीले गतकालका सकारात्मक र नकारात्मक दुबै प्रकारका अनुभवहरुबाट शिक्षा लिंदै पार्टी अनुशासनलाई ठोस् रुप दिन र पार्टीको संगठनात्मक प्रणालीलाई सही माक्र्सवादी–लेनिनवादी पद्धतिमा विकसित गर्न प्रयत्न गरिरहनु पर्दछ ।

(हामीले मोहनविक्रम सिंहको यो लेख नव युवा गर्जन त्रैमासिक वर्ष ३, अंक ६, बाट लिएका हौं ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here