नथाहा निवेदन

0
168

हेम बहादुर गन्धर्व

महोदय,
खोई कसले
खोई के नाममा
मेरो गरिबी बैंक खातामा
एक थैलो हात्ती छाप दाम
फुत्त छिराई दिएछ
थाहा नै पाईन मैले
मत महोदय,
सिंहदरबार भित्रको महामान्छे
सिंहदरबार छेउमै
उभाएको छु माटै माटोको
पाँच तले
आधुनिक गौँथलीको गुँड
गुँड हुनेहरू
घरभाडामा आँखा गाड्न मिल्दैन
यो ऐन लेख्ने मै हुँ
तर महोदय,
धन भने पछि
महादेवका पनि तिन आँखा भन्छन्
मत
जम्मा दुई आँखाको मान्छे
मिडिया करायो
पत्रिका रङ्गियो
मेरो खातामा फुत्त छिरेका हात्तीहरु त
घरभाडा पो रैछ
थाहा नै पाईन मैले
महोदय,
अब मेरो
भ्वाङ परेको ईमान्दारी
प्वाल परेको छवि
फर्कनु पर्छ दुरुस्तै मेरै जीऊमा
बरु महोदय,
जति हात्ती छिरे खुसुक्क
मेरो खातामा
त्यति नै हात्तीहरू समात्नु
म रिबन काट्दै
उद्घाटनमा हिड्दा आर्जेको
मेरो पसिनाको पारिश्रमिकबाट
त्यसैले महोदय,
हात्ती छिरेको थाहा नै नपाएकोले
यो नथाहा निवेदन
हात्ती शाखामा पठाएको छु
हात्ती शाखामा बताएको छु ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here