-दुर्गा शर्मा, हाल स्पेन
सतिले सरापेको
होईन मेरो देश
सत्ता स्वार्थका निम्ति
शासकद्वारा
निचोरिएको हो
चिथोरिएको
अनि लुछिएको
हो मेरो देश ।
जसले हिजो लुटे
आज लुटिरहेछन
र भोलि लुट्ने
सपना देख्दैछन
र भन्दैछन
सतीले सरापेको देश ।।
अहोरात्र काममा
जोत्तिने
किसान र मजदुरको
खुन पसिनामा
ठडाएछन
उनिहरू
आलिसान महल
उनैको छ भड्किलो
जीवन शैली
तर जनता
एक छाकको
एकसरो लुगाको
एउटा सिटामोलको
ओत लाग्ने झुपडीको
अभावमा
तड्पिरहनु पर्ने
अनि फेरि भन्दैछन्
यो त कर्मको खेल
भाग्यको लिला
पूर्व जन्मको फल ।।
बहाना नानाथरीका
झुटको खेती
लुटको शासन
सत्ताको स्वार्थ
देशको ब्रमलूट
शोषकको रजाइँ
अनि उनैले भन्दैछन
सतीले सरापेको देश ।।
मेरो देश नत सतीले सरापेको हो
नत स्रोत साधनको अभाव
अभाव छ त केवल
इमान्दारिताको
स्वाभिमानको
राष्ट्र र जनताप्रति
समर्पणको
सच्याईको
स्पष्ट कार्यदिशाको
कर्तव्यपरायणताको
सामाजिक भावनाको ।।
स्वीकार्य छैन मलाई
सतीले सरापेको हो
यो त शासकले
अमुक चिजमा
दोष थोपरेर
आफ्नो अपराध
लुकाउन
सोझा निमुखा
जनतामाथि
रजाइँ गर्न
फैलाईएको हल्ला हो
होईन सतीले सरापेको मेरो देश
होइन सतीले सरापेको मेरो देश ।।
२७ मंसिर २०७५