डडेलधुरामा बस दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति राष्ट्रिय जनमोर्चाद्वारा श्रद्धाञ्जली

0
397

मंसिर ७, काठमाडौं । डडेलधुरामा हिजो भएको बस दुर्घटना र त्यसमा १८ जना यात्रुहरुको मृत्यु तथा ठूलो संख्यामा मानिसहरू घाइते समेत भएको समाचार प्रति राष्ट्रिय जनमोर्चा स्तब्ध भएको छ । सो पार्टीले सबै मृतक व्यक्तिहरूप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । पार्टी प्रवक्ता दुर्गा पौडेलले एक विज्ञप्ती जारी गरि मृतक व्यक्तिहरूप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुका साथै सबै घाइतेहरूको समुचित उपचारका लागि पनि सरकारसित माग गर्नुभएको छ ।

प्राप्त जानकारी अनुसार गाडिमा त्यसको क्षमताभन्दा बढी यात्रुहरू राखेकाले र तीव्र गतिका कारणले त्यो दुःखद घटना हुन गएको थियो । “यो अहिलेको मात्र होइन, बारम्बारको समस्या हो । त्यसकारण यातायातमा नियम अनुसार गाडिहरूको सञ्चालनमा प्रहरी र प्रशासन कमजोर भएका कारणले नै बारम्बार त्यस प्रकारका घटना हुने गरेका छन् ।” पौडेलले विज्ञप्तीमा भन्नु भएको छ– “त्यसकारण यो समस्याको स्थायी समाधानका लागि विशेष ध्यान दिन हाम्रो पार्टीले सरकारसित माग गर्दछ ।”

त्यस्तै पौडेलले तराईका कतिपय जिल्लाहरूमा उँखुको भुक्तानी नपाएर किसानहरू गम्भीर रूपले पीडित भएको समस्याप्रति पनि पार्टीको गम्भीर ध्यान आकर्षित भएको विज्ञप्तीमा जनाउनु भएको छ । “लामो समयदेखि सरकारले ताकेता गर्दा पनि चिनी मिलका मालिकहरूद्वारा किसानहरूले आफ्नो भुक्तानी पाएका छैनन् । त्यसले गर्दा उँखुको नयाँ बालीबाट हुने उत्पादनलाई के गर्ने भन्ने विषयमा किसानहरूमा गम्भीर अन्यौल र समस्या उत्पन्न भएको छ ।” विज्ञप्तीमा अगाडि भनिएको छ– “त्यसले गर्दा किसानहरू उँखु खेतीको बेलामा लिएको ऋण तिर्न नसक्ने तथा उनीहरूको घरवास नै हुने गम्भीर समस्या देखापरेको छ । किसानहरूको त्यस प्रकारको समस्याको समाधानका लागि हामीले सरकारको गम्भीर ध्यान आकर्षित गर्न चाहन्छौँ ।”

विज्ञप्तीमा मार्फत राष्ट्रिय जनमोर्चाले उँखु किसानहरूले चिनीमिलका मालिकहरूबाट समयमा नै भुक्तानी नभएमा वा उनीहरूले आफ्नो उत्पादन बेच्न नसक्ने स्थिति उत्पन्न भएमा त्यसको जिम्मा सरकारले नै लिनु पर्ने मागलाई जोड दिएको छ ।

“चिनी मिलका मालिकहरूबाट किसानहरूलाई भुक्तानीको लागि आवश्यक कारवाही चलाउँदै वा आवश्यकतानुसार उनीहरूमाथि कारवाही गर्ने गरी किसानहरूलाई तुरुन्त राहत दिने वा उखुको मुल्य चुक्ता गर्ने सरकारको जिम्मेवारी हुनुपर्दछ ।” पौडेलले भन्नु भएको छ– “सरकारले जिम्मेवारी नलिएमा उँखु किसानहरू ठूलो सङ्कटमा पर्ने र त्यो कारणले उखु किसानहरू मात्र होइन, सबै क्षेत्रका उत्पादनमा गम्भीर आँच पुग्ने सम्भावना रहने छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here