अरुण बराल
१. राष्ट्रिय स्तरका नेताले दुर्गम ठाउँ (म्याग्दी) को तातोपानी कुण्डमा नुहाएर आन्तरिक पर्यटनलाई बढावा दिनु सकारात्मक पक्ष नै हो ।
२. ठूला नेताको पनि व्यक्तिगत जीवन हुन्छ र हुनुपर्छ । उनीहरुले पनि घुमघाम गर्न पाउँछन् र पाउनुपर्छ । यसलाई पनि सकारात्मकरुपमै लिनुपर्छ ।
३.तर, शीर्षनेता अनि गृहमन्त्री र उनीहरुका जहान परिवार सरकारी खर्चमा सेनाको हेलिकोप्टर चढेर नुहाउन गएका हुन् भने त्यो चाहिँ गलत एवं भ्रष्ट परम्पराको निरन्तरता हो । त्यस्तो पारिवारिक भ्रमणको खर्चभार राज्यलाई कुनै हालतमा बोकाइनुहुँदैन । त्यसरी पारिवारिक स्नान गर्दा लागेको सम्पूर्ण खर्चको विवरण प्रचण्ड र बादलले जनतालाई सुनाउनु उपयुक्त हुन्छ । यदि निजी खर्चमै त्यो स्थान गरिएको रहेछ भने त्यो उनीहरुको ‘अधिकार’ को कुरो हो ।
४. तथापि सार्वजनिक जीवन यापन गरिरहेका नेताहरुको व्यक्तिगत जीवन आम नागरिकको जस्तो स्वच्छन्द हुन सक्दैन, उनीहरु नैतिक बन्धन र दायित्वहरुले अलि बढी नै बाँधिएका हुन्छन् । यो दायित्व र नैतिक बन्धनलार्इ ख्याल गरेर नेता र तिनका परिवारले गतिविधि गर्नुपर्छ । त्यसो हुनाले उनीहरु यदि व्यक्तिगत खर्चमै नुहाउन गएका रहेछन् भने पनि आम कार्यकर्ता र सर्वसाधारणले यसलाई राजसी बिलासिता एवं तडक-भडक ठानेर आलोचना गर्नु अस्वाभाविक हुँदैन । अझ माओवादीका नेताहरुको व्यवहारलाई त जनयुद्धमा सबथोक गुमाएका कार्यकर्ताहरुले ‘त्याग’ को चश्माले हेरिरहेका हुन्छन् भन्ने कुरा प्रचण्ड र बादलले अझै बढ्ता ख्याल गर्नुपर्ने हो, हेलिकोप्टर चढेर नुहाउन गइरहँदा ।
५. आखिर, प्रचण्ड, बादल र उनका परिवारजन तातोपानीमा जुनसुकै तरिकाले भए पनि नहाउन गइहालेछन् र त्यहाँ नुहाइ नै हालेछन् भने पनि पूर्वप्रधानमन्त्री एवं गृहमन्त्रीको अर्धनग्न भुँडीवाल तस्वीर सामाजिक सञ्जालमा पोष्ट गर्नु प्रचण्ड एण्ड बादल कम्पनीको हदैसम्मको केटाकेटीपन हो ।
बिचरा कार्ल मार्क्सले भनेकै थिए- एकपटक वयस्क भइसकेको मानिस फेरि वाल्यावस्थामा फर्कन सक्दैन । तर, केटाकेटीपनको शिकार चाहिँ बारम्बार भइरहन सम्भव छ !
(हामीले यो स्टाटस् अरुण बरालको फेसबुक वालबाट कपि गरेका हौं ।)