टिका ग्रहण र ओलक

0
332
गोबिन्द राज पोखरेल

२०७५ सालको बिजया दशमीको राजकीय टिका ग्रहणको लागी सरकारले फरमान जारी गरे । बिशिष्ट पदाधिकारी सहित सर्बसाधारणलाई दिन, घण्टा र समय बिभाजित गर्दै समय मिलाए । आफुलाई देवत्व र अरुलाई रैति बनाउँदै प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा दासत्व स्वीकार्ने पद्दतीको फेरी अर्को जग बसाए । राष्टपति, प्रधानमन्त्रि, पार्टी अध्यक्ष हुँदै प्रमुख जिल्ला अधिकारीसम्म पनि क्रमबद्दता बनाउँदै लगे । घुँडा टेकाए, टिका लगाए । बिगतमा गाउँमा मुखिया जिम्मावालकोमा सर्बसाधारणहरु ओलक (एक प्रकारको कोसेली) लिएर जाने चलनलाई स्थापित गर्न खोज्दैछन । त्यसको नयाँ पद्दती बसाउँदैछन ।

बिगतमा मुखिया जिम्मावालहरुकोमा ओलक पनि लगेनन र टिका ग्रहणमा पनि सामेल भएनन भने उनको जग्गा अनेक तरहका साथ बेदखली गरिन्थ्यो । घर सम्पत्ति उनको हुँदैनथ्यो । ओलक कामीले हँसिया खुर्पा लैजान्थे । दमैले टोपी, सार्कीले जुत्ता, घरमा केरा हुनेले केरा वा अन्य जे फलफुल छ त्यही लैजान्थे । दही हुनेले दही लैजान्थे । लाहुरेहरुले रेशमी बर्को बोकेर जान्थे कोही काम पटयाउनेहरुले खसी बोका पनि लैजान्थे । यसरी ओलकले घरको कोठा चोठा नै भरीभराउ हुन्थे । ओलक ग्रहण नगरेमा घरमा के ग्रहण लाग्यो भनेर अनुमान गर्नु पर्ने हुन्थ्यो । टिका लगाए नलगाएको कुनै अर्थ हुँदैनथ्यो । रैतीहरु जग्गा जाने डरले पनि तालुकदारकोमा अनिवार्य उपस्थिति हुन्थे । हातमा, पातमा, निधारमा टिका ग्रहण गर्दथे जसलाई उनीहरु परंपरा भन्ने गर्दथे । बर्तमान अबस्थामा नया परम्परा पनि बसलियो श्रीतीनमा रहेको परम्परा फेरी प्रधानमन्त्रिमा पनि सरयो । टिका ग्रहण नगरे पद जाने हो वा प्रमोशन रोकिने हो कि वा अन्य कुनै अनिष्ट हुने डरले पनि फरमान पुरा गर्न कसैले घुँडा टेके, कोही कुप्रो परे । टिका ग्रहणको लागी लामबद्ध बने ।

टिका मान्यजन कहाँ गएर जसले पनि लगाउन सक्छ तर म कहाँ टिका लगाउन आउनु है भनेर कसैले पनि फरमान जारी गर्दैन । गाउँको बुढा बुढीकोमा सम्मान श्रद्धाले जाने अर्कै प्रसंंग हुन्छ तर सरकारी सम्पत्तिको दुरुपयोग गरेर टिका ग्रहणको लागी बोलाउनु जिम्मावाल, मुखिया वा तालुकदारमा जानै पर्ने श्रृजना जस्तो गरिनु सत्ता र पदीय राजनीतिको दम्भ बाहेक अरु हुन सक्दैन ।

टिका ग्रहण भन्ना साथै मान्यजनबाट ग्रहण गर्ने र आर्शिवाद लिने हो । आफनो रित परंपरा अनुसार परिवारका सदश्यहरुको मिलन हो । स्नेहता र अबिभाबकत्वलाई आत्माले स्वीकार्ने हो । टिका ग्रहण बरालिएकोलाई सपार्न जाने होइन नत निर्धालाई देखाउने तुजुक हो । तहगत रुपमा लगाउने परिपाटी हो । तर २०७५ सालको सरकारी दशैमा सामन्तहरुको रझाँइ जस्तो भयो । पद र शक्तिको दुरुपयोग गरियो । टिका कस्ले कसलाई लगाइ दिने भन्ने सम्बन्धमा गाउँ घरमा सामान्य भन्दा सामान्य नागरिकलाई पनि थाहा छ ।

बाबु आमाले छोराछोरी, नाती नातीना, ज्वाँइ, भान्जा भान्जी, भतिजा भतिजी वा नजिकको नातेदार भित्रकाहरुलाइृ मर्यादा अनुसार टिका ग्रहण गर्दछन । टिका लगाउने भनेर दश गाउँ पनि डुल्दैनन । बर्षे बाली भित्राए पछिको वा भित्राउँदै गर्दा मीठो मसिनो खाने र आफन्तहरु भेट भएर खुशी मनाउने पनि हो । युद्ध जितेपछिको खुशियाली हो । कतिपय स्थानका ब्राहमण क्षेत्रीहरुमा एउटै महिनामा दशैं तिहार परयो भने दशैको टिका दिदी भाइ र दाजु बहिनीको वीचमा ग्रहण गर्दैनन । दशैको टिका लगाए तिहारको टिका बर्जित गरिन्छ । आफनो कुल के हो ? परम्परा के हो ? वास्तै नगरी टिकाको लागी फरमान जारी गर्नु श्री ३ ले रैतीलाई डाके सरह हो । जिम्मावाल, मुखिया वा तालुकदारले कोषेली असुल्ने परिपाटी पनि हो ।

बर्तमान राष्ट्रपति दोस्रो पटक पदासिन भएकी हुन । प्रधानमन्त्रि पनि दोस्रो पटक पदासिन हुन । राजनीतिक रुपमा उनी नेकपा एमालेको उपाध्यक्ष पनि हुन प्रधानमन्त्रि अध्यक्ष हुन । सामन्तबादको बारेमा प्रशिक्षित महिला नेत्री पनि हुन । बर्ग शत्रु सफाया अभियानको सजाय स्वरुप १४ बर्ष जेल जीवन बिताएका हुन । सामन्तबादको पीडाले कम्युनिष्ट राजनीति सम्हालेकाले कति ठाउँमा प्रशिक्षण पनि दिएकी होलान । मानवीय दुरव्यबहार नहोस भन्ने बारेमा हिजो त सचेत थिए तर आज त्यो कुर्चिमा बस्दा बित्तिकै बिर्सिदिए । दम्भ देखाए । उनीहरुमा शक्तिको श्रोत प्राप्त भएको छ । भगवती, काली, देवी, देवता सबै प्राप्त भए जस्तो भएको छ । हुन त यिनले सुनको चम्चाले भात जिउनार गरेकी होइनन तर फेरी जीउनार गर्ने कोसिष गर्दैछन । साहेद यसै भएर होला अरुलाई घुँडा टेकाएर टिका लगाइदिनु उनका लागी सामान्य नै भयो ।

बिगतमा उनीहरु राष्ट्रपति वा प्रधानमन्त्रि हुँदा सत्ता मिलि जुलीको थियो तर अहिले त्यस्तो छैन । उनीहरुले बिगतको शासन परंपरालाई राजकीय रुप दिंदै आएकोले हिन्दु धर्मलाई जगेर्ना गरेको अबश्य हेइन । राष्ट्रपति वा प्रधानमन्त्रिले सेनाले बनाइदिएको परम्परा भएको, राष्ट्रपति सेनाको परमाधिपति भएकोले उनैको परम्परा बसालि दिएको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा स्वीकार गरेको देखिन्छ । सेनाको चेनअफ कमाण्डमा आफनो मात्र बचन नचलेकोले यस्तो कार्य गर्नु परेको हो र ! वा कसैको पनि मन जित्न नसक्ने टिका ग्रहण कुन दर्शन चिन्तनको प्रयोग हो आम नागरिकले बुझन सकेका छैनन । अहिलेका एकलौटी सत्ताको मतबाट निर्वाचित राष्ट्रपति र प्रधानमन्त्रि हुन त्यसैले जनमतको लागी अन्यत्र सापट खोज्न जानु पर्दैन । तर यिनीहरु आफुले बिगार्ने पुच्छरलाई दोष दिने अबस्था श्रृजना गर्दैछन । राष्ट्रपति कार्यालयमा सेनाको सानो टुकुडीलाई दोष पन्छाउँदै छन । बडाको अगाडि निहुरीनु पर्ने, समान आसनमा ग्रहण गर्न नपाइने सेनाको परंपरालाई विंडो थाम्न देशका अति बिशिष्ट व्यक्तिलाई टिका ग्रहण गर्न घुँडा टिकाउनु पर्ने कस्तो संस्कृतिले स्थान लिंदै छ । लाग्छ सत्ता सालिन र सभ्यहरुको होइन जोक्करहरुको जमातबाट निर्देशित हुँदैछ भन्ने अभ्यास गरिदै छ ।

जसरी राष्ट्रपति अगाडि आफुले गल्ति नगरे पनि सजाय भोग्न बाध्य भए त्यसको उपचार कसरी पाउलान । गोपाल पराजुली हुन कि सर्बेन्द्र खनाल, पुर्ण थापा हुन कि बामदेव गौतम टिका नथाप्दा सर्बश्व जाने हो कि भने झै घुडा टेक्न वा समाउन बाध्य भए । व्यक्तिगत रुपमा उनीहरुलाई सामान्य रुपमा लिन सकिन्छ तर ति व्यक्तिहरु संस्थागत व्यक्तित्व हुन । कहिले कुर्चि राख्ने कहिले झिक्ने यो प्रबृति मन नपरेको मोहीको जग्गा बेदखली गर्न बिगतका भु सामन्तहरुले गर्ने तुजुक भन्दा अरु रहेन ।

सत्ता फेरियो शासन फेरियन, पार्टी फेरियो सोंच फेरियन, समय फेरियो अबस्था फेरियन, तन्त्र फेरियो मन्त्र फेरियन कस्तो बिडम्बना । बलियाले खेदने निर्धाले थापिने प्रबृतिको अन्त्य संघीय लोकतन्त्रमा पनि देखिएन । माक्स एंगेल्सको कम्युनिष्ट घोषणा पत्र पढेकै हुन, माओको साँस्कृतिक क्रान्तिलाई आत्मसाथ गर्नेहरु नै सत्ताको बागडोर सम्हालेको अबस्था हो तर त्यो सत्ता ओलक बुझने संस्थाको रुपमा परिणत हुँदैछ । मुखिया जिम्मावालको शासन व्यबस्थामा परिणत हुँदैछ । जेल नेल युद्धबाट खारिएका राजनैतिक पात्रहरुको सत्ता रोहण फरक देख्ने कौतुहलता थियो । संस्कार र संस्कृतिको परिभाषा पुनरभाषित हुन्छ भन्ने लागेको हो तर उनीहरुको विचार संस्कार फाटेको जालोले छेकेर छेकिएन । जालोबाट छर्लङ्गै देखिन थालेको छ । धर्म अफिम थियो, संस्कार चाकडी थियो ? कि ओलक बुझने नयाँ शैली हो ? सरकार उत्तर पाउँ ।

pokharel.govind@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here