4
पेमा: समाजको अवस्थामा परिवर्तन हुँदै आउनुको कारण के हो ?
कमल: मानिसहरुलाई बाँच्नको लागि सर्वप्रथम तीन कुराको आवश्यकता पर्छ-गास, बास र कपास । त्यसको लागि परिश्रम गर्नुपर्छ, आवश्यक सामानको उत्पादन गर्नुपर्छ । उत्पादन गर्नका लागि श्रमका औजार चाहिन्छ । तिनीहरु मात्र भएर काम चल्दैन, काम गर्ने मान्छे पनि चाहिन्छन्, काम गर्ने सीप र कुशलता चाहियो । त्यसरी उत्पादनका औजार र कुशलता यी सबैलाई मिलाएर उत्पादन शक्ति भनिन्छ । यिनीहरुको रुप सधैँ एकै रहन्न । त्यसमा परिवर्तन भएपछि उत्पादन-सम्बन्धका रुपमा पनि परिवर्तन हुन्छ ।
पेमा: उत्पादन-सम्बन्ध भनेको के हो ?
कमल: मानिसले परिश्रम एक्लै गर्दैन । परिश्रमको सिलसिलामा मानिसहरुका बीचमा बेग्लाबेग्लै किसिमको सम्बन्ध कायम हुन्छ, कुनै बेला बराबरीको कुनै बेला मालिक र दासको जस्तो । उत्पादक शक्तिहरु र उत्पादन-सम्बन्ध दुवैलाई मिलाएर उत्पादन प्रणाली बन्दछ । कुनैबेला मानिसहरुले शिकारद्वारा जीवननिर्वाह गर्दथे, कुनैबेला खेती वा उद्योगद्वारा । उत्पादन प्रणालीको रुप बदलिएपछि समाजको सम्पूर्ण ढाँचा बदलिन्छ । राज्य, कानुन, संस्कृति, दर्शन आदि सबै बदलिएर जान्छन् ।
पेमा: समाजको सबैभन्दा पहिलेको अवस्था कस्तो थियो र आजसम्म त्यसमा कति किसिमका परिवर्तन हुँदै आएका छन् ?
कमल: समाजको सबैभन्दा सुरुको अवस्थालाई आदिम साम्यवादी अवस्था भन्छन् । त्यसबेला सबै मानिसहरु बराबर थिए । शोषण थिएन । व्यक्तिगत सम्पत्ति थिएन । त्यसबेला वर्गहरु पनि थिएनन् ।
पेमा: वर्ग केलाई भन्दछन् ?
कमल: सामन्तवर्ग, किसानवर्ग, पुँजीपतिवर्ग, मजदुरवर्ग, वर्ग भनेका यिनै हुन् । उत्पादन गर्दा जुन मानिसहरुको समाजमा एकैप्रकारको स्थिति हुन्छ, तिनीहरुलाई एउटा वर्ग भनिन्छ अथवा उत्पादनका साधनहरु जस्तो कि जग्गाजमिन, कल-कारखाना आदिसित जसको एकैप्रकारको सम्बन्ध हुन्छ, उनीहरुलाई एउटा वर्ग भनिन्छ ।
पेमा: वर्गहरु कहिलेदेखि सुरु भए ?
कमल: दासयुगदेखि ।
पेमा: आदिम साम्यवादी युगपछि अहिलेसम्म कति किसिमका समाज अथवा व्यवस्था देखापरेका छन् ?
कमल: दासयुग, सामन्तयुग, पुँजीवादीयुग र समाजवादी । यो पछिल्लो अवस्थामा परिवर्तन भएपछि साम्यवादी युग आउँछ ।
पेमा: उसो भए समाजको सुरु पनि साम्यवादी अवस्थाबाट भएको रहेछ, अन्त्यमा पनि त्यही आउँदोरहेछ ।
कमल: सुरुको साम्यवादी जङ्गली थियो । पछिल्लो आधुनिक सभ्य हुन्छ । किनभने दुवैमा शोषण हुँदैन । दुवैमा व्यकितगत सम्पत्ति वा वर्गहरु हुँदैनन् । दुवैमा व्यापार, रुपियाँ, पैसा हुँदैनन् । तर यी सबैका बाबजुद दुवैका बीचमा एउटा ठूलो अन्तर पनि हुन्छ ।
पेमा: त्यो अन्तर के हो ?
कमल: पहिले उत्पादनको अवस्था पिछडिएको थियो । मानिसहरुले जीवननिर्वाहको लागि आवश्यक पर्नेभन्दा बढी पैसा उत्पादन गर्न सक्दैनथे, त्यसकारण उनीहरुको जीवन कष्टसाध्य थियो । तर अब आउने साम्यवादी कालमा उत्पादन प्रशस्त हुन्छ र शोषण गर्ने वर्ग हुँदैन । त्यसकारण जीवन सुखी हुन्छ ।
पेमा: बीचका बाँकी तीन युग कस्ता छन् ?
कमल: दासयुग, सामन्युग र पुँजीवादीयुग । तीनै शोषणप्रधान व्यवस्था हुन् । दासयुगमा दासका मालिकहरु शोषक र दासहरु शोषित हुन् । उत्पादनका साधनहरुमाथि तिनै मालिकहरुको नियन्त्रण हुन्छ । दासहरु शारीरिक दृष्टिकोणले पनि मालिकहरुका अधीनमा हुन्छन् । सामन्ती कालमा समाज ठूला सामन्त, जमिनदार र अर्कातिर किसानवर्गका बीच बाँडिन्छ । पहिलेका कमारा-कमारी, भूदास, अर्धदास बन्दछन् । शारीरिक दृष्टिकोणले किसानहरु स्वतन्त्र हुन्छन् । तर शोषण फेरी नयाँ रुपमा कायमै रहन्छ । यो बेला शोषणको माध्यम जमिन हुन्छ । त्यसपछि पुँजीवादी काल आउँछ ।
पेमा: यस कालका मुख्य विशेषता के हुन् ?
कमल: यसमा एकातिर पुँजीवादीवर्ग हुन्छ, अर्कातिर मजदुरवर्ग । कलकारखाना र जग्गा-जमिन आदि माथि पुँजीवादीवर्गको स्थायित्व हुन्छ । मजदुरहरुसित कुनै जीवननिर्वाहका साधन रहँदैनन्, उनीहरु सर्वहारा बन्दछन् ।
पेमा: सर्वहारा कस्तालाई भन्छन् ?
कमल: जोसित जीवननिर्वाहका कुनै साधन छैनन्, उनीहरुलाई नै सर्वहारा भन्छन् । पुँजीवादी कालमा शोषणले सबैभन्दा व्यापक र गम्भीर रुप लिन्छ । यसले राष्ट्रका सीमाहरुलाई तोडेर संसारभरि शोषण गर्न थाल्दछ ं पुँजीवादी यही विश्वव्यापी अवस्थालाई उपनिवेशबाट वा साम्राज्यवाद भन्छन् । यो पुँजीवादको चरम रुप हो ।
क्रमशः…….