२ कात्तिक, काठमाडौं । आज नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ ।
विजयादशमीको टीकाको शुभसाइत बिहान ९:५१ बजेदेखि जुरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
मीठो खाने, राम्रो लगाउने तथा पारिवारिक भेटघाट गरिने र स्नेह एवम् सद्भाव अभिवृद्धि गर्ने पर्वका रुपमा दशदिनसम्म मनाइने यो बडादशैँ पर्व धार्मिकमात्र नभएर सामाजिक–सांस्कृतिक पर्वका रुपमा समेत महत्वपूर्ण मानिन्छ ।
स्वदेश वा विदेशमा रहेका नेपालीहरु आजको दिन सपरिवार एकत्रित भई विजयादशमीको टीका, जमरा लगाएर आपसमा शुभकामना आदानप्रदान गर्दछन् ।