–मोहनबिक्रम सिंह
मार्क्सवादी दर्शनको आधार द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद हो। द्वन्द्वात्मक भौतिकवाद मार्क्सको मौलिक सिद्धान्त होइन, तर त्यो जुन रूपमा विकसित भयो, त्यसको श्रेय मार्क्सलाई नै जान्छ। जहाँसम्म ऐतिहासिक भौतिकवादको प्रश्न छ, आर्थिक क्षेत्रमा अतिरिक्त मूल्यको सिद्धान्त जस्तै त्यो मार्क्सको मौलिक आविष्कार हो। ऐतिहासिक भौतिकवादको सिद्धान्त द्वन्द्वात्मक भौतिकवादको इतिहासको विकासको क्षेत्रमा प्रयोग हो। त्यसले यो व्याख्या गर्दछ कि समाज वा इतिहासको विकास पनि द्वन्द्वात्मक भौतिकवादका नियम अनुसार नै हुन्छ।
द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवादको सिद्धान्त समाजमा हजारौँ वर्षदेखि हुँदै आएको बौद्धिक चिन्तनको विकसित रूप हो। द्वन्द्ववादबारे प्राचीन युनानी र पूर्वीय दर्शनहरूले विचार गर्दै आएका छन्। त्यसै गरेर भौतिकवादबारे त विश्वव्यापी रूपमा प्राचीन कालदेखि नै विचार हुँदै आएको छ। अझ वास्तविकता त यो हो कि भौतिकवाद विश्वको सर्वप्रथम आदिम दर्शन हो। सबै देशका प्राचीन दार्शनिक भौतिकवादी नै थिए। उनीहरूले प्रकृति वा जड पदार्थहरूलाई मूल तत्व मान्दथे र त्यसबाट सबै जीव र जगतको विकास भएको मान्दथे। पछि भौतिक जगतदेखि बाहिर चेतना, आत्मा र ईश्वरलाई प्रधान र स्वतन्त्र अस्तित्व मान्ने प्रवृत्तिहरू देखा पर्दै गए। दर्शनको क्षेत्रमा त्यस प्रकारका आदर्शवादी प्रवृत्तिहरू बढ्दै गएपछि उनीहरूले सबै भौतिक जगत र जीव समेत चेतना वा ईश्वरबाट नै उत्पन्न भएको विचार प्रकट गरे। त्यो क्रम बढ्दै गएपछि अन्तमा भौतिक जगतको अस्तित्वलाई नै सम्पूर्ण रूपले निषेध गर्ने प्रवृत्तिहरू पनि देखा पर्न थाले! जस्तो कि भारतका शङ्कराचार्य र युरोपमा बर्कले।
प्राचीन कालदेखि नै विकसित हुदै आएको भौतिकवादको उच्चतम रूपमा जर्मनीको फायरवाखमा र द्वन्द्ववादको हेगेलमा विकास भयो। द्वन्द्ववादको अभावमा फायरवाखको भौतिकवाद यान्त्रिक भौतिकवाद बनेको थियो भने हेगेलको द्वन्द्ववाद, मार्क्सको शब्दमा, ‘टाउकोको भरमा, उभिएको थियो। मार्क्सले त्यसलाई खुट्टामा खडा गरिदिए। अर्को शब्दमा, हेगेलको द्वन्द्ववाद आदर्शवादी थियो। मार्क्सले त्यसलाई भौतिकवादी रूप दिए। त्यसरी उनले ती दुवै पक्षहरूलाई, अर्थात् फायरवाखको भौतिकवाद र हेगेलको द्वन्द्ववादलाई, रूपान्तर गरेर द्वन्द्वात्मक भौतिकवादको सिद्धान्तको प्रतिपादन गरे। दर्शनको क्षेत्रमा उनको त्योभन्दा महत्वपूर्ण र मौलिक देन यो रहेको छ : उनले यो सिद्धान्तको प्रतिपादन गरे कि सम्पूर्ण प्रकृति जस्तै समाज वा जीवनको परिचालन वा विकास पनि द्वन्द्वात्मक भौतिकवादको नियम अनुसार नै हुन्छ। त्यही ऐतिहासिक भौतिकवाद हो। मार्क्सको ऐतिहासिक भौतिकवादको सिद्धान्त विशुद्ध रूपमा उनको बौद्धिक वा आत्मगत चिन्तनको परिणाम थिएन। उनले सम्पूर्ण इतिहासको अहिलेसम्मको विकासक्रमको अध्ययन गरेपछि यो निष्कर्षमा पुगेका थिए कि सम्पूर्ण इतिहासको विकास पनि द्वन्द्वात्मक भौतिकवादको नियम अनुसार नै हुन्छ।
जब विज्ञानको कुनै नयाँ सिद्धान्तको पत्ता लाग्दछ, त्यसले संसारका कैयौं परिवर्तनहरू ल्याउँछ। समाजमा कुनै बेला मानिसहरूलाई आगोबारे ज्ञान थिएन। आगो पत्ता लागेपछि त्यसले समाज वा जीवनमा धेरै परिवर्तन ल्यायो। साइकल वा मोटरका पाङ्ग्राहरू अहिले सामान्य कुराहरू भएका छन् तर पहिले मानिसहरूलाई तिनीहरूबारे ज्ञान थिएन। पाङ्ग्राको आविष्कार भएपछि त्यसका कति ठूलो परिणामहरू भए! कृषिको विकास भएपछि समाजको स्वरूपमा युगान्तकारी परिवर्तन भयो। पहिले घुमन्ते मानिसहरू एकै ठाउँमा स्थायी रूपले बस्न थाले र गाउँ तथा शहरहरू अस्तित्वमा आए। राइट बन्धुले पत्ता लगाएको वाष्प शक्तिले विज्ञानमा ल्याएको परिवर्तनको विश्वव्यापी असर आम रूपमा थाहा भएको कुरा हो। अहिले आएर कम्प्युटरको विकासले सम्पूर्ण समाज वा जीवनमा जति परिवर्तनहरू ल्याएका छन्, त्यो पनि आम रूपमा थाहा भएको कुरा हो। वास्तवमा जब विज्ञानको कुनै सिद्धान्तको विकास हुन्छ, त्यसले समाजमा व्यापक परिवर्तन ल्याउँछ। त्यही कुरा द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादको सिद्धान्तबारे पनि सत्य हो।
अन्य दर्शनहरू जस्तै द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवाद विशुद्ध बौद्धिक चिन्तनको विषय होइन। त्यसको परिणाम स्वरूप संसारमा धेरै नै उथलपुथल भएको छ वा धेरै परिवर्तनहरू भएका छन्। आफ्नो जन्म कालदेखि अहिलेसम्म मार्क्सवादी दर्शनले संसारमा धेरै परिवर्तनहरू ल्याएको छ। मानिसहरूको चिन्तनमा वा सामाजिक जीवनमा पनि त्यसले विश्वव्यापी परिवर्तनहरू ल्याएको छ। मार्क्सवादका अनुयायीहरू मात्र होइन, त्यसका विरोधीहरूको चिन्तन र व्यवहारलाई पनि मार्क्सवादी दर्शनले काफी हदसम्म प्रभावित गरेको छ। मार्क्सले यो स्पष्ट गरेका छन् कि अन्य दर्शनले संसारलाई व्याख्या गर्ने कार्य गर्दछ तर दर्शनको त्योभन्दा महत्वपूर्ण कार्य हो– ‘संसारलाई बदल्ने। मार्क्सवादी दर्शनको प्रधान पक्ष पनि यही हो। मार्क्सवादी दर्शनले संसारमा ल्याएको परिवर्तनबाट त्यो कार्य अर्थात् संसारलाई बदल्ने दिशामा त्यसले महत्वपूर्ण भूमिका खेलेको कुरामा कुनै शङ्का रहन्न।
मार्क्सवादी दर्शन इतिहासको विषय भैसक्यो र अब त्यसको कुनै भविष्य छैन भन्ने तर्क सत्य छैन। त्यसको मूलभूत अन्तरबस्तु पहिले पनि सही थियो, अहिले पनि सही छ र त्यसले संसारमा भविष्यमा कैयौँ महान् र युगान्तकारी परिवर्तनहरू ल्याउने छ। त्यसरी के मान्न सकिन्छ भने मार्क्सवादी दर्शनको इतिहास मात्र गौरवपूर्ण छैन, त्योभन्दा कैयौँ गुना उज्ज्वल त्यसको भविष्य छ।
मार्क्सवादी दर्शनले यो व्याख्या गर्दछ कि समाज वा इतिहासको विकास पनि एउटा नियमित प्रक्रिया अनुसार हुन्छ। ऐतिहासिक भौतिकवादले ऐतिहासिक विकास क्रमको त्यो प्रक्रियाका नियमहरूमाथि नै प्रकाश हाल्दछ। मार्क्सले वैज्ञानिक समाजवाद वा साम्यवादका जुन सिद्धान्तहरूको प्रतिपादन गरेका छन्, तिनीहरू ऐतिहासिक भौतिकवादका नियमहरूमाथि नै आधारित छन्।